मुख्य समाचार
भारतको अहिलेसम्मकै ठूलो टेस्ट जित
भारतको अहिलेसम्मकै ठूलो टेस्ट जित

— यसस्वी जैसवालको अविजित दोहोरो शतकको मद्दतले भारतले आइतबार आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट जित आत्मसात् गरेको छ । उसले इंग्ल्यान्डलाई तेस्रो टेस्टमा ४ सय ३४ रनले हराएको हो । यससँगै भारत पाँच टेस्टको सिरिजमा २–१ ले अगाडि रह्यो ।

जितका लागि ५ सय ५७ रनको लक्ष्य पाएको इंग्ल्यान्डको ब्याटिङ तासको पत्तिझैं एकपछि अर्को ढलेको थियो । टेस्टको चौथो दिन इंग्ल्यान्ड १ सय २२ रनमै अलआउट भयो । दिनको अन्तिम सेसेनमा इंग्ल्यान्डले आठ विकेट गुमाएको थियो ।


प्रभावशाली जितपछि जैसवालले भने, ‘टेस्ट क्रिकेटमा जति बेला राम्रो खेलिरहेका हुनेछौं, त्यही बेला त हो, ठूलो स्कोर बनाउने । टेस्ट क्रिकेट आफैंमा कठिन छ । त्यसैले जति बेला म खेलिरहेको हुनेछु, आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछु ।’

रवीन्द्र जडेजाले मार्क उडलाई ३३ रनमा आउट गरे र यो नै अन्तिम विकेट रह्यो । जडेजाको आफ्नै भने यो यस इनिङ्सको पाँचौं विकेट रह्यो । रनका आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित सम्भव भएपछि जडेजाले पिचलाई झुकेर चुम्बन गरे । इंग्ल्यान्डका लागि भने यो अहिलेसम्मकै दोस्रो ठूलो अन्तरको हार हो । यसअघि सन् १९३४ मा इंग्ल्यान्ड अस्ट्रेलियाको हातबाट ५ सय ६२ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डले चिया सेसन अगाडि नै आफ्ना दुवै ओपनरलाई गुमाएको थियो । त्यसमा अघिल्लो इनिङ्समा शतक बनाएका बेन डकेट चार रन मात्र बनाएर रनआउट भए । त्यसपछि जडेजाले आफ्नो बायाँ हाते स्पिन आक्रमणको मद्दतले इंग्ल्यान्डको मध्यक्रमलाई ध्वस्त पारे । उनी नै प्लेयर अफ द म्याच भए । पूरा टेस्टमा उनले सात विकेट लिए ।


त्यस्तै उनले भारतको पहिलो इनिङ्समा १ सय १२ रनको सानदार शतकीय प्रदर्शन पनि गरेका थिए । इंग्ल्यान्डका लागि खराब लयबाट गुज्रिरहेका जोनी बियरस्टो र जोए रुट दुवै फेरि एकपल्ट असफल रहे । बियरस्टोले चार रन मात्र बनाए भने रुटको ब्याटबाट सातै रन मात्र निस्क्यो । कप्तान बेन स्टोक्सले भारतीय बलिङ आक्रमणविरुद्ध आक्रामक रहेर धावा बोल्ने प्रयास गरे पनि उनी आफ्नो सयौं टेस्टमा १५ रन बनाएर बायाँ हाते स्पिनर कुलदीप यादवको सिकार बने । हारपछि स्टोक्सले भने, ‘अब हामी सिरिजमा २–१ ले पछाडि पर्‍यौं । तर अझै दुई टेस्ट बाँकी छन् । अब हामी यो खेललाई बिर्सन चाहन्छौं । हामीलाई अबको बाँकी दुई टेस्ट नै जित्नुपर्नेछ, यदि सिरिज पनि आफ्नो नाममा लेखाउने हो भने ।’

बायाँ हाते ओपनर जैसवालले दोहोरो शतक बनाएपछि भारतले चार विकेट गुमाएर ४ सय ३० रनमा आफ्नो दोस्रो इनिङ्सको समाप्ति घोषणा गरेको थियो । त्यसमा २ सय ३६ बलको सामना गरेर २ सय १४ रन बनाएका जैसवालले अघिल्लो दिन रिटायर्ड हर्ट भएयता फेरि खेल्न सुरु गरेका थिए । त्यति बेला उनी १ सय ४ रनको स्थितिमा थिए । ढाडको समस्याले उनले त्यति बेला क्रिज छाडेका थिए । ‘आज म फेरि फर्कें किनभने खेललाई आफैं अगाडि बढाउन चाहन्थें र अन्त्यसम्म ब्याटिङ गर्न चाहन्थें,’ उनले थपे ।

रुटको बलमा एक रन बटुल्नै उनले सिरिजमा लगातार दोस्रो दोहोरो शतक पूरा गरे र उफ्रिँदै खुसी मनाए । उनले १२ छक्का प्रहार गरे । यसमा जेम्स एन्डरसनविरुद्ध लगातार तीन छक्का पनि सामेल थियो । इंग्ल्यान्डका लागि १ सय ८५ टेस्टमा ६ सय ९६ विकेट लिएका भेट्रान एन्डरसनले लगातार तीन बलमा छक्का खाएको यो नै पहिलो पटक हो । जैसवालले टेस्टको एकै इनिङ्समा १२ छक्काको प्रदर्शन पनि बराबर गरेका छन् ।

यसअघि वासिम अक्रमले सन् १९९६ मा जिम्बावेविरुद्ध एकै इनिङ्समा १२ छक्का प्रहार गरेका थिए । जैसवालले डेब्यु गरिरहेका सरफराज खानसँग नटआउट १ सय ७२ रनको म्याराथन साझेदारी पनि गरे । खानले आफ्नो दोस्रो अर्धशतक पूरा गर्ने क्रममा ६८ रन बनाए । दोस्रो टेस्टमा पनि जितका लागि निर्णायक सावित २ सय ९ रनको इनिङ्स खेलेका २२ वर्षीय जैसवालले यस शृंखलामा ५ सय ४५ रन बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...