— नेपालले क्रिकेट विश्वकप लिग-२ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डसले आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले नामिबियाविरुद्धको अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख र गुलशन झालाई देव खनाल र सोमपाल कामीको स्थानमा ल्याइएको छ । शृंखलामा आरिफको यो पहिलो खेल हो । नेदरल्यान्ड्सले सारिज अहमदको स्थानमा विक्रमजित सिंहलाई खेलाएको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी र ललित राजवंशी रहेका छन् ।
यस शृंखलाको यो अन्तिम खेल हो । नेपाल र नेदरल्यान्ड्सले पहिलो ३ खेलमा २ मा पराजय बेहोरिसकेका छन् । नेपाल र नेदरल्यान्ड्सले जसले जिते पनि शृंखलामा दोस्रो विजय हात पार्नेछन् । नामिबियाले शृंखलाको ४ मध्येको तीन खेल जितेको थियो ।