मुख्य समाचार
प्रयोग धेरै गर्दा गुम्यो घरेलु शृंखला
प्रयोग धेरै गर्दा गुम्यो घरेलु शृंखला

— भीम सार्की र आरिफ शेख नेपाली क्रिकेटमा एकदिवसीय क्रिकेट संरचनाका लागि विशेष छन् । क्रिजमा डटेर लामो समय खेल्ने भएकाले उनीहरू वर्तमान नेपालको ट्वान्टी–२० संरचनाभन्दा केही बाहिर छन् । क्रिकेट विश्वकप लिग–२ मा उनीहरूलाई आइतबार क्रमशः सातौं र आठौं नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो ।

सन् २०२७ को विश्वकप छनोटको आधार रहेको लिग २ को पहिलो शृंखलामा नेपालले धेरै पटक गरेको प्रयोगका कारण उनीहरूको मात्र नभई अरूको पनि ब्याटिङ स्थान निश्चित हुन सकेन । आरिफ त शृंखलामा आफ्नो पहिलो खेल खेलिरहेका थिए । नेपालको यस्तै जोखिमको फाइदा उठाउँदै नेदरल्यान्ड्सले खेल ८ विकेटले जितेको थियो । एकदिवसीय विश्वकप खेलेर आएको नेदरल्यान्ड्स जस्तो टोलीविरुद्ध नेपालले ब्याटिङको प्रयोग नै प्रयोग र खराब शटलाई निरन्तरता दिएको थियो ।



ब्याटिङमा धेरै केन्द्रित भए पनि पहिला ब्याटिङ गर्दा नेपालले तीनै खेलमा ठूलो स्कोर बनाउन सकेन भने घरेलु मैदानको स्पिनमैत्री ट्र्याकमा नेपालले आफ्ना बलरहरूप्रति पूर्ण विश्वास देखाउन सकेन । बलिङ अलराउन्डर गुलशन झाले नेदरल्यान्ड्सविरुद्ध नवौं नम्बरमा ब्याटिङ गरेका थिए । तर उनले बलिङ गरेनन् ।

यसको मतलब नेदरल्यान्ड्सविरुद्ध नेपालबाट करण केसी र ललित राजवंशीमात्र प्रमुख बलरका रूपमा थिए ।

सोमपाल कामी पनि नखेलाइएको अवस्थामा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र रोहित पौडेलले नेदरल्यान्डविरुद्धको खेलमा बलिङ गरेका थिए । उनीहरूको मुख्यतः भूमिका ब्याटिङ हो । देव्रेहाते स्पिनर ललित लिग २ को यस शृंखलामा नेपाल एक्लो विशेषज्ञ बलरको रूपमा रहे । नेपाली टोलीमा रहे पनि अर्का देव्रेहाते स्पिनर सूर्य तामाङलाई कुनै खेलमा खेलाइएन ।


घरेलु मैदानमा हार्दा निकै दुःख लाग्ने जनाउँदै नेपालका प्रशिक्षक मोन्टी देसाइले आफ्नो टोलीले पुरानै गल्ती दोहोर्‍याएको बताए । ‘स्तरीय प्रतिद्वन्द्वीविरुद्ध यस्तो चुनौतीपूर्ण विकेटमा खेल्दा टिकेर खेल्नुपर्ने हुन्छ र आफ्नो बहादुरी देख्नुपर्ने हुन्छ । तर, हामीले अझै धेरै सिक्न बाँकी छ,’ मोन्टीले भने, ‘एसोसिएटको नम्बर एक बन्ने लक्ष्य छ भने घरेलु मैदानबाहिरको खेल पनि त्यति नै महत्त्वपूर्ण हुन्छ ।’

नेदरल्यान्ड्ससँगको हार जारी लिग २ मा नेपालको ४ खेलमा तेस्रो थियो । नेपालले लिग २ को एक घरेलु शृंखलामा दुई खेल जित्न नसेकेको यो पहिलो अवसर हो । सन् २०२० मा अमेरिका र ओमानविरुद्धको लिग २ को घरेलु शृंखलामा नेपालले २ खेलमात्र जितेको थियो । नेपालले ओमानसँगको दुवै खेलमा हार बेहोरे पनि अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो ।

त्यसपछि नेपालले २०२३ मा स्कटल्यान्ड र नामिबिया तथा यूएई र पपुवा न्युगिनीविरुद्धको लिग २ को दुई फरक शृंखलाको सबै ८ खेल जितेर ‘क्लिन स्विप’ गरेको थियो । २०१९–२३ को लिग २ को साइकलमा घरेलु मैदानमा खेलिएको १२ मध्ये १० खेल जितेर विश्वकप छनोटमा सोझै स्थान बनाएको नेपाललाई यसपालि घरेलु मैदानमा भोगेको खराब नतिजाले अप्ठ्यारोमा पार्न सक्छ । आठ राष्ट्र सहभागी लिग २ का शीर्ष चार टोलीले विश्वकप छनोटमा स्थान पाउने प्रावधान छ ।

कमजोर ब्याटिङ निरन्तर

कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएपछि नेपालले निकै खराब नतिजाका साथ क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंग्याउनुपरेको हो । विक्रमजित सिंह र सिब्रान्ड इन्गेलब्रेक्टले तेस्रो विकेटमा १ सय २ रनको अविजित साझेदारी गरेपछि नेदरल्यान्ड्सले १ सय ७३ रनको लक्ष्य ३७.४ ओभरमै पूरा गरेको हो । प्लेयर अफ द म्याच विक्रमजितले ९२ बल खेल्दै ७ चौकासाथ ५८ र इन्गेलब्रेक्टले ७५ बलमा ३ चौकासहित ४६ रनमा अविजित रहे ।

म्याक्स ओ डड र माइकल लेभिटले ६१ रनको साझेदारी गरी नेदरल्यान्ड्सलाई राम्रो सुरुआत दिलाए । दीपेन्द्रको बलमा इनसाइड एज लागेर नवौं ओभरमा बोल्ड भएका लेभिटले ३४ बल खेल्दै ३ चौका र ४ छक्कासाथ ३९ रन बनाए । ओ डडलाई ललितले आउट पारे । उनले २६ बल खेल्दै समान २ चौका र छक्कासाथ २८ रन बनाए ।

यसअघि कुशल भुर्तेलले अर्धशतक बनाए पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपाल ४९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो । नेपालले यस शृंखलामा तेस्रो पटक टस हारेको हो । यसक्रममा पहिला ब्याटिङ गर्दा बनाएको यो उच्च स्कोर हो । यसअघि नामिबियाविरुद्धको पहिलो दुई खेलमा नेपाल क्रमशः १ सय ३२ र १ सय ६८ रनमा अलआउट भएको थियो ।

पहिलो ८ ओभरमा विनाक्षति ४१ रन बनाएको नेपालले ३० ओभर पुग्दा ९६–६ को स्थितिमा पुगेको थियो । आसिफ शेख आउट हुने पहिलो खेलाडी थिए । उनले २७ बल खेल्दै २ चौका प्रहार गर्दै १७ रन बनाए । १ छक्का प्रहार गरेका अनिल शाह ११ बल खेलेर ७ र कुशल मल्ल २ रनमा आउट भएपछि नेपाल फेरि दबाबमा आएको थियो ।

कप्तान रोहितले भुर्तेललाई साथ दिन खोजे पनि पुनः गलत शट खेलेर आउट हुन पुगे । रोहितले ४० बलमा २ चौकासहित १६ रन बनाए । दीपेन्द्र १ रनमा रनआउट भए भने भीमलाई बास डी लिडले शून्यमा बोल्ड गरे । सातौं खेलाडीको रूपमा आउट भएका भुर्तेलले ९३ बल खेल्दा ८ चौकासहित ६६ रन बनाए । गुलशन १७ बलमा ५ रनमा आउट भए । आरिफले २२ रन बनाए । उनले ५० बल खेल्दा १ चौका प्रहार गरे । आठौं ब्याटरको रूपमा आएका उनी ४९ औं ओभरमा आउट भएका थिए । करण केसी २७ बल खेल्दै २६ रनमा आउट भए । उनले ४८ औं ओभरमा लगातार २ छक्का प्रहार गरे ।

डचबाट अफ स्पिनर आर्यन दत्तले ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १६ रन खर्चेका थिए । नेपालले नेदरल्यान्ड्ससँगको अघिल्लो खेलमा दत्तलाई ३ ओभरमा ४४ रन प्रहार गरेको थियो । भिभिएन किङ्मासँग नयाँ बल लिएर आएका देव्रे हाते स्पिनर रोइल्फ भान डेर मर्वीले १० ओभरमा १ मेडन राख्दै २३ रनमात्र खर्चेर १ विकेट लिए । किङ्माले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । डी लिडले पनि २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...