मुख्य समाचार
कुशलकै सामुन्ने टुट्यो विश्व कीर्तिमान
कुशलकै सामुन्ने टुट्यो विश्व कीर्तिमान

— नेपालका कुशल मल्लले ५ महिनाअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो बनाएको शतकको कीर्तिमान मंगलबार कीर्तिपुर मैदानमा आफ्नै आँखाले टुटेको देख्नुपर्‍यो । नामिबियाका जान निकोलस लफ्टी इटनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा कुशलको विश्व कीर्तिमानी शतकलाई एक बलले उछिनेका थिए ।

लफ्टी इटनको विश्व कीर्तिमानी इनिङ्सपछि ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको छ । लफ्टी इटनले ३३ बलमै शतक बनाए । कुशलले सेप्टेम्बरमा चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाएर अविजित कीर्तिमान बनाएका थिए ।


लफ्टी इटनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको पहिलो खेलमा उनै दीपेन्द्रको बललाई फाइन लेग क्षेत्रमा चौका प्रहार गर्दै विश्व कीर्तिमानी शतक पूरा गरेका थिए । यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा इटनको उच्च स्कोर २८ रन थियो । ‘एकदमै विशेष अनुभव भइरहेको छ, मेरा लागि यो विशेष दिन बन्यो । नामिबियाबाट यो मेरो पहिलो शतक हो,’ रिभर्स स्विप शटहरू खेलेर नेपाली बलरलाई हैरान बनाएका लफ्टी इटनले भने, ‘१७ औं ओभरतिर मलाई शतक बनाउन सकिन्छ जस्तो लागेको थियो, त्यतिखेर २० बल जति बाँकी थियो । मलाई सबैभन्दा छिटो शतक कुशल मल्लको २९ बलमा हानेजस्तो लागेको थियो । तर कुनै खेलाडी आएर यो ट्वान्टी–२० अन्तर्राष्ट्रियको सबैभन्दा छिटो शतक भनेपछि मात्र थाहा भयो ।’

उनले १२ औं ओभरमा आफूले सामना गरेको दोस्रो बलमै गुलशन झालाई छक्का प्रहार गरे । सोही ओभरमा थप १ चौका र १ छक्का प्रहार गरेका इटनले अर्को ओभरमा कप्तान रोहित पौडेललाई लगातार दुई छक्कासहित १८ रन प्रहार गरे । त्यसपछि उनले चौका र छक्काको वर्षा गराए । अन्तिम ओभरमा उनलाई अविनाश बोहराले आउट गरेका थिए ।

उनको प्रयासमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ६ रन बनायो । जवाफमा आएको नेपाल १८.४ ओभरमा १ सय ८६ रनमा अलआउट भयो । नामिबियाले पहिलो १० ओभरमा ६० रनमात्र बनाउन सकेको थियो । ११ औं ओभरमा आएका क्रिजमा आएका लफ्टी इटनले १७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३६ बल खेल्दै ११ चौका र ८ छक्का प्रहार गरे । इटेन र डेब्यु गरिरहेका मालन क्रुगरले चौथो विकेटमा ५४ बलमा १ सय ३५ रनको साझेदारी गरे । नामिबियाले अन्तिम ९ ओभरमा १ सय ४० रन जोडेको थियो ।


इटन क्रिजमा आउँदा २९ बलमा २१ रनमा खेलिरहेका क्रुगर कुल ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५९ रनमा अविजित रहे । माइकल भान लिङ्गेन २०, जेपी कोट्जे ११ र यान फ्रालिन्क ५ रनमा आउट भए । लिङ्गेनलाई करण केसीले आउट गरे भने कप्तान रोहित पौडेलले कोट्जे र फ्राइलिन्कलाई पेभिलियन फर्काएका थिए ।

नेपाल फेरि एक पटक प्रमुख नियमित बलरविना खेलेको थियो । नेपाली टोलीमा रहेका दुबै देव्रेहाते स्पिनर ललित राजवंशी र सागर ढकाल प्लेयिङ ११ मा थिएनन् ।

नामिबियाको टोलीमा धेरै देव्रेहाते ब्याटर रहेका कारण ललित र सागरलाई नखेलाइएको कप्तान रोहितको तर्क थियो । रोहितले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर २ विकेट लिए । नेपालको ट्वान्टी–२० टोलीमा फर्किएका विशेषज्ञ बलर अविनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, करणले ३ ओभरमा ३२ रन खर्चे ।

दीपेन्द्रले ४८ रन बनाए पनि नेपाल जित नजिक पुगेर रोकिएको थियो । उनल ३२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै १९ औं ओभरमा आउट भए । रुबेन ट्रम्पलमनले बाउन्सर बलमा दीपेन्द्रलाई विकेटकिपरबाट क्याच गराए भने त्यसको अर्को बलमा अविनाश बोहरालाई बोल्ड गरी नामिबियालाई जिताए ।

नेपालको सुरुआत राम्रो रहेन । ट्रम्पलमनले इनिङ्सको पहिलो बलमै कुशल भुर्तेललाई एलबीडब्लू आउट गरी नेपाललाई ठूलो झट्का दिए । अर्का ओपनर आसिफ शेखले पनि ६ रनमात्र बनाउन सके । रोहित र दीपेन्द्रले तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । रोहितले २४ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे । त्यसपछि आएका गुलशनले १ चौका र १ छक्कासहित ६ बलमा १२ रन बनाए । सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए । तर, सोमपालले ११ बलमा १ चौका र लगातार ३ छक्का प्रहार गर्दै २६ रन बनाएपछि नेपालको आस ब्युँतिएको थियो ।

ट्रम्पलमनले ३.५ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । बर्नान्ड स्कोट्ल्ज, फ्राइलिन्क र लफ्टी इटनले २–२ विकेट लिए । नियमित कप्तान जेर्राहर्ड इरासमसलाई आराम दिएको नामिबियाबाट जेजे स्मिटले टोलीको नेतृत्व गरेका थिए ।

नेपाल र नामिबियाले एकअर्काविरुद्ध पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिरहेका हुन् । यी दुई टोलीबीच सन् २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यताप्र्राप्त नभएको उक्त खेल वर्षाले रद्द भएको थियो ।ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपाल, नामियिबासहित नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ । यी तीनै टोली अमेरिका र वेस्ट इन्डिजले जुनमा गर्ने ट्वान्टी–२० विश्वकपमा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...