मुख्य समाचार
तारे होटलको हब बन्दै नेपालगन्ज
तारे होटलको हब बन्दै नेपालगन्ज

: हस्पिटालिटी क्षेत्र (होटल र रेष्टुरेन्ट)मा नेपाली ‘टिपिकल स्वाद’को पहिचान बनाएको पौवा ग्रुपले बाँकेमा पाँचतारे होटलको निर्माण सुरु गरेको छ। नेपालगन्ज सहरनजिकै पश्चिममा हुलाकी राजमार्गमा पर्ने खजुरा रोडको दक्षिणमा जानकी गाउँपालिका–३ मा बिहीबार होटल पौवा वेस्टर्नको शिलान्यास गरिएको हो। होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार नौतले भवनमा फरक–फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, एक हजार पाँच सय क्षमताका चार ठूला सभाहल, १४ वटा मिटिङ हल, सातवटा स्विट रुमसहित ८० वटा डिलक्स कोठा, स्वीमिङ पुल, क्यासिनो, स्पालगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होे। ‘सुरुको एक वर्षभित्र रेष्टुरेन्टलगायतका काम सञ्चालन हुने छन्’, अध्यक्ष भण्डारीले भने, ‘अर्को एक वर्षभित्र होटलका कोठाहरू निर्माण सम्पन्न गरी दुई वर्षभित्रै फाइभ स्टार होटल सञ्चालनमा आउनेछ।’ दुई बिघा दुई कठ्टा क्षेत्रफलमा निर्माण हुने होटल पौवा वेस्टर्नले झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरेको छ।


५० करोड लगानीमा चार तारेबाट सुरु भएको नेपालगन्जको सुर्खेत रोडमै रहेको सिग्नेट इन कृष्णा होटल पनि दोब्बर बढी लगानी थपेर नयाँ व्यवस्थापनका साथ होटल डायमन्ड प्यालेसका नाममा पाँच तारा होटलको स्तनोन्नतिको तयारीमा छ। ‘सन् २०२५ को नयाँ वर्षबाट फाइभ स्टार सुरु गर्ने हाम्रो तयारी छ’, सञ्चालक सुरेन्द्रबहादुर सिंह भन्छन्, ‘हामी पूर्वाधार पुनर्निर्माण गरेर नयाँ स्वरूपमा डिजाइन बनाइरहेका छौं। आगामी साउनसम्म फाइभ स्टार सञ्चालन हुनेछ।’ एक अर्ब बढीको लगानी रहेको होटल डायमन्ड प्यालेसमा ९९ वटा कोठा छन्।

जिल्लामा कोठा र शय्याको आधारमा नेपालगन्जको भ्यू होटल सिद्धार्थ अग्रस्थानमा छ। जहाँ फाइभ स्टार लेभलको सुविधा छ। राजधानी बाहिर फाइभ स्टार होटलका लागि ८० कोठा भए पुुग्छ। यो होटलमा १२५ कोठा छन्। शय्या त १७० छन्। होटलका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने दाबी गर्छन्, ‘हाम्रो सेवा सुविधा फाइभ स्टारभन्दा कम छैन हामी निकट भविष्यमै फाइभ स्टार सञ्चालनको तयारी गरिरहेका छौं।’



०७५ सालदेखि नेपालगन्ज उपमहानगरपालिका–१९ मा ८१ कोठासहित १ अर्ब २५ लाख रुपैयाँको लगानीमा सोल्टी वेस्टेन्ड प्रिमियर र कोहलपुर नगरपालिका–४ मा ६० करोड लगानीमा ८० कोठाको होटल सेन्ट्रल प्लाजा पाँचतारे होटल सञ्चालमा छन्।

पर्यटन विभागले २६ पुस २०८० मा सार्वजनिक गरेको पाँच तारा होटलको तथ्याङ्कमा देशभर संख्या १६ वटा मात्र छन्। सबैभन्दा धेरै १० वटा (सोल्टी, डेला अन्नपूर्ण, तारागाउँ रिजेन्सी (हायात रिजेन्सी), द मल्ल, सांग्रिला, मेरियट, अलफ्ट, हायात प्लेस, ल्हासा र अकामा त संघीय राजधानी काठमाडौंमा मात्र छन्। बाँकेमा दुइटा (सोल्टी वेस्टेन्ड प्रिमियम नेपालगन्ज र सेन्ट्रल प्लाजा कोहलपुर) पाँचतारे होटल छन्। कास्कीमा पोखरा ग्राण्ड, रुपन्देहीमा टाइगरवान र झापामा होटल द किङ्ग्सबरी सञ्चालमा छन्। राजधानीपछि सबैभन्दा धेरै फाइभ स्टार होटल बाँकेमा छन्। आधा दर्जनभन्दा बढी चारतारे होटलमा पनि क्यासिनो सञ्चालन भएको बाँकेमा तारे होटल पाँच तारेमा स्तरोन्नतीको चरणमा रहेकाले बाँके स्टार होटलको हबको रुपमा विकास हुँदै गएको छ।

होटलको इतिहास

२०३० सालमै एसी र अट्याचरुमको व्यवस्था गरेर भेरी गेस्ट हाउस नेपालगन्जले पहिलो स्टार होटल सञ्चालन गरेको थियो। त्यसको पाँच वर्षपछि २०३५ सालमा स्नेह होटलले टु–स्टारको मान्यता पायो। अहिले स्नेह फोर स्टार भइसकेको छ। भ्यू–होटल सिद्धार्थ सन् २००९ मा थ्रीस्टार पाउने पहिलो होटल बन्यो। अहिले फोर स्टारका रूपमा सञ्चालन भइरहेको छ। जिल्लाको पहिलो फाइभ स्टार भने सोल्टी हो। २३ माघ २०७५ मा सोल्टीले फाइभ स्टारको मान्यता पायो। सोल्टीले फाइभ स्टारको मान्यता पाएको एक महिनापछि १४ फागुन २०७५ मा कोहलपुरको होटल सेन्ट्र प्लाजाले पनि फाइभ स्टारको मान्यता पायो। यो जिल्लाकोे यो दोस्रो फाइभ स्टार होटल हो। पहिलो स्वीमिङ पुलसहित बाटिका होटल नेपालगन्जमा खुलेको हो। अहिले सबै स्तरीय होटलमा स्विमिङ पुल सञ्चालनमा छ। होटल व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलका अनुसार जिल्लामा साना ठूला ३ हजार होटल छन्। झन्डै ५ हजार शय्या क्षमता छ। एकैपटक १० हजार पर्यटकलाई राख्न सकिने क्षमता राख्छ। साना र स्टार होटलमा गरी झन्डै ३० अर्ब जति लगानी भएको छ। कम्तीमा एक लाखदेखि बढीमा डेढ अर्ब रुपैयाँ होटलमा लगानी भएको छ। तारे होटलमा मात्र १५ अर्बभन्दा बढीको लगानी भइसकेको होटल संघ नेपाल बाँकेको दाबी छ।

किन बढे तारे होटल

सन् २०१८ मा नेपालगन्ज हुँदै चीनको कैलाश मानसरोवर तीर्थ यात्रामा १० हजार पर्यटक आए। यो संख्या नेपालगन्जका तारे होटलमा बास बसेका यात्रीको मात्र हो। तारेस्तरका होटल र सामान्य होटलमा बसेका यात्रीको संख्या जोड्दा यो संख्या अझै बढी हुन आउँछ। कुनै बेला साविकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरू नेपालगन्जका होटलले धानेका थिए। पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायमा मारमा प¥यो। ‘कार्यक्रम प्रदेश राजधानीमा केन्द्रित भए। बुकिङ भएका हलको पनि पैसा फिर्ता गर्नुप¥यो। होटल व्यवसाय त धराशायी हुने अवस्थामा नै पुग्यो’, बाँकेमा दोस्रो फाइभ स्टार होटल सेन्ट्रल प्लाजा सञ्चालन गरेका देवानन्द अर्यालले त्यत्तिबेलाको अनुभव सुनाए, ‘संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको हो।’ अर्याल सेन्ट्रल प्लाजा बेचेर अहिले बर्दियामा रिसोर्ट खोलेर बसेका छन्। भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुने भएपछि तीर्थयात्रीलाई लक्षित गरी सुविधासम्पन्न होटल खुल्न थाले। नेपालगन्जबाट हुम्ला सिमीकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण होटलमा लगानी गर्ने क्रम बढिरहेको छ।

नेपालगन्ज क्यासिनो सिटी

कैलाश मानसरोवरका तीर्थयात्रीलाई लक्षित गरेर तारे होटलमा लगानी बढेको नेपालगन्जमा अहिले क्यासिनोकै कारण स्टार होटल चल्न सक्ने मान्यता स्थापित हुँदै गइरहेको छ। होटल संघ नेपाल (हान)का बरिष्ठ उपाध्यक्ष केशव न्यौपाने क्यासिनो सञ्चालन हुँदा त्यसैका ग्राहकलाई राखेर होटल सञ्चालन हुनसक्छ भन्ने मान्यताले फोर स्टार र फाइभ स्टार होटलमा लगानी बढिरहेको बताउँछन्। ‘कथंमकदाचित क्यासिनो बन्द भए भने कसरी ग्राहक आकर्षित गर्न सकिन्छ भन्नेबारे पनि सोच्ने बेला आएको छ’, चार तारा होटल भ्यू होटल सिद्धार्थका क्षेत्रीय प्रबन्धकसमेत रहेका न्यौपानेले चिन्ता गर्छन्, ‘हिजो कैलाश मानसरोवरलाई लक्षित गरेर सुरु भए। त्यो पनि ठूलो बिजनेस थिएन। अहिले क्यासिनो खेल्न आउने ग्राहकलाई गनेर स्टार होटलमा लगानी बढ्दै छ। दिगो रूपमा ग्राहकलार्ई कसरी सेवा दिन सकिन्छ भन्नेबारे सोच्नुपर्छ।’

त्यसो त नेपालगन्जमा क्यासिनो सञ्चालनको १३ वर्षको अनुभव छ। यहाँ २०६७ सालमै होटल स्नेहमा सुरेन्द्रबहादुर सिंहले मिनी क्यासिनो ह्याप्पी आवर सञ्चालन गरेका थिए। नेपालगन्ज भारतको चर्चित सहर लखनउको सीमावर्ती सहर पनि हो। यहाँका क्यासिनोमा अधिकांश भारतीय नै हुन्छन्। होटल स्नेहको छेवैमा होटल वाटिका सञ्चालन गरेका नेपालगन्ज उपमहानगरपालिकाका पूर्वनगर प्रमुख डा.धवलशमशेर राणाले क्यासिनोमा विदेशी पर्यटकको आकलन गरेर नै नेपालगन्जलाई क्यासिनो सिटीको रूपमा विकास गर्ने अवधारणा अघि सारेका थिए।

उनी पर्यटनसम्बन्धी आफ्ना हरेक भाषणमा नेपालगन्जलाई क्यासिनो सिटीको रूपमा विकास गर्नुपर्ने कुरा छुटाउँदैैनथे। राणाको पाँच वर्षे कार्यकाल सकिए लगत्तै नभन्दै बाँकेमा सातवटा क्यासिनो सञ्चालन भइसकेका छन्। एउटा पाँचतारा होटल (सोल्टी), पाँचवटा चारतारा होटल (भ्यू होटल सिद्धार्थ, होटल स्नेह, स्टारलाइट, कल्पतरु र सिटी प्यालेस) र एकतारा होटल होटल स्वीट ड्रिमल्यान्डमा मिनी क्यासिनो सञ्चालन भइरहेका छन्। क्यासिनो व्यवसायी सिंह एउटा क्यासिनोले मात्र कम्तीमा १५० जनादेखि बढीमा ६०० जनालाई रोजगारी दिने बताउँछन्। नेपालगन्जको एउटा क्यासिनोमा औैसत २०० जनाले रोजगारी पाइरहेको सिंहको दाबी छ। बाँकेका अझै केही होटलमा क्यासिनो सञ्चालनकै तयारीमा छन्। ती सबै सञ्चालमा आउँदा झन्डै एक दर्जन क्यासिनो त नेपालगन्जमा मात्र पुग्नेछन्। अहिले पनि नेपालमा संघीय राजधानी काठमाडौंभन्दा दोस्रो धेरै क्यासिनो नेपालगन्जमै छन्।

देशभरि २४ वटा क्यासिनो सञ्चालनमा रहेकोमा बाँकेका ७ वटा होटलको देशभरका कुल क्यासिनोको झन्डै एक तिहाइ (२९.१६ प्रतिशत) नेपालगन्जमा मात्रै छन्। नेपालगन्ज साँच्चीकै क्यासिनो सिटीको रुपमा विकास भइरहेको छ। अहिले बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्वनगर प्रमुख राणा ‘संघीयताले मारमा परेको नेपालगन्जलाई क्यासिनो सिटीले फेरि एकपटक गुल्जार बनाउने’, अपेक्षा गर्छन्।

क्यासिनो जति विदेशी कम्पनीको कब्जामा

नेपालमा २०३८ सालदेखि विदेशी लगानी भित्रिन थालेको छ। देशमा विदेशी लगानीसम्बन्धी विदेशी लगानी नीति २०७१ छ। नेपालको अन्तरिम संविधान २०६३ ले राष्ट्रिय विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिई देशमा वैदेशिक पुँजी र प्रविधिलाई आकर्षित गर्ने नीति राज्यले अवलम्बन गर्ने उल्लेख गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ ले पनि विदेशी पुँजी, लगानी र प्रविधिलाई स्वागत गरेको छ। यही ऐनमा आधारित रहेर बनेको क्यासिनो नियमावली २०७० (चौथो संशोधन २०७६)ले मन्त्रालयको स्वीकृति लिएर विदेशी कम्पनीसँग संयुक्त लगानीमा क्यासिनो सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ।

नेपालमा सञ्चालन गरिएका क्यासिनोहरू अधिकांश विदेशीको कब्जामा पुग्न लागेका छन्। त्यहाँ नेपालीलाई नाम मात्रको १० प्रतिशत सेयर दिएर नाम मात्रको साझेदार बनाइएको नेपाली क्यासिनो व्यवसायीहरूको गुनासो छ।

‘विदेशीले होटल व्यवसायमा लगानी गरेका छैनन्। नेपालीले खोलेका होटलमा विदेशीले १५ देखि २० करोड रुपैयाँको लगानीमा क्यासिनो खुलेका छन्। नाफा जति विदेशीको हातमा पुगेको छ’, नेपाली क्यासिनो सञ्चालक व्यवसायीको माग छ, ‘जसरी १०० शय्याको आफ्नै अस्पताल भएको स्वास्थ्य संस्थालाई मात्र नर्सिङ शिक्षाको अनुमति दिइएको छ, त्यसरी नै आफ्नै तारे होटल भएको कम्पनीलाई मात्र क्यासिनो सञ्चालनको अनुमति दिनुपर्छ। अनि मात्र क्यासिनोको लगानी स्वदेशमै रहन्छ।’ सार्क मुलुकहरू भारत, बंगलादेश, श्रीलंकाले क्यासिनोमा विदेशी लगानीमै प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...