मुख्य समाचार
घरेलु मैदानमा फाइनल हार बढ्दै
घरेलु मैदानमा फाइनल हार बढ्दै

— ओपनर माइकल लेभिट र साइब्रान्ड इंगेलब्रेक्टले आक्रामक इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको उपाधि जितेको छ । नेदरल्यान्ड्सले मंगलबार फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

नेपाललाई हराएर ट्वान्टी–२०आई त्रिकोणात्मक शृंखला जितेपछि नेदरल्यान्ड्सका खेलाडी ट्रफी उचाल्दै । विजेतालाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी प्रदान गरेका थिए । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । लेभिट र इंगेलब्रेक्टले समान २९ बल खेल्दै क्रमशः ५४ र ४८ रन बनाएपछि नेदरल्यान्ड्सले १९.३ ओभरमा १ सय ८९ रन बनायो । पहिलो १२ ओभरमा १ सय ११ रन जोडेको नेपालले ब्याटिङका लागि सहज विकेटमा त्यसपछि ४ ओभरभित्र २६ रनमात्र जोड्दा हार बेहोर्न पुगेको हो ।



‘जसरी हामीले सुरुआत गरेका थियौं, त्यसअनुसार यो रक्षा गरिने स्कोर थिएन । विशेष गरी ब्याटिङमा हामीले परिस्थिति हेरेर खेल्न सकेनौं । ठूलो शट पनि हान्यौं र त्यही बेला विकेट पनि गुमाउन पुग्यौं । हामीले २ सय माथि रन बनाउने सम्भावना गुमायौं, त्यसैले मलाई लाग्छ ब्याटिङमा १५ रन जति कम बनायौं,’ नेपालका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङमा आफ्नो टोलीले फिनिसिङ गर्न नसकेको सुनाए ।

नामिबियासम्मिलित डबल राउन्ड रोबिनको यस प्रतियोगितामा नेदरल्यान्ड्सले नेपाललाई दोस्रो पटक हराएको हो । पहिलो खेलमा नेदरल्यान्ड्सले बनाएको १ सय ८४ रन पछ्याउनेक्रममा नेपाल २ रनले पछाडि परेको थियो । राउन्ड रोबिनको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १ सय २० रनमा अलआउट गरेपछि नेपालले ६ विकेटको विजय हात पारेको थियो ।

नेपालले वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध नै जुन ४ मा डालासमा खेल्दै छ । घरेलु मैदानमा आएको यस नतिजालाई स्वाभाविक नै लिँदै प्रशिक्षक मोन्टीले भने, ‘नेदरल्यान्ड्सले धेरै पटक ठूला टोलीलाई पराजित गर्दै आएको छ । उसको टोलीका अझ राम्रा खेलाडी आउन बाँकी छ, त्यसैले विश्वकपअघि हामीले अझै गृहकार्य गर्नैपर्छ ।’


घरेलु मैदानमा नेपाल लगातार तेस्रो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजित भएको हो । दसैंपछि नेपाल यूएई र हङकङसम्मिलित प्रतियोगिताको फाइनलमा यूएईसँग पराजित भएको थियो । त्यसलगत्तै नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रको फाइनलमा ओमानसँग हारेको थियो ।

मंगलबार लेभिटले म्याक्स ओ’डडसँग मिलेर ८ ओभरमा ८३ रन जोड्दै डच टोलीलाई उत्कृष्ट सुरुआत दिलाए । म्याक्स २३ बलमा २२ रन बनाई कुशल मल्लको पहिलो बलमा आउट भए । मल्लले त्यही ओभरमा लेभिटलाई पनि आउट गरेर नेपाललाई खेलमा फर्काएका थिए । ओपनर लेभिटले सर्वाधिक ५४ रन बनाउनेक्रममा ६ चौका र ३ छक्का प्रहार गरे ।

नवौं र दसौं ओभर निकै कसिलो बलिङ गरेपछि नेदरल्यान्ड्स ८६–२ को स्थितिमा थियो । नेदरल्यान्ड्सले त्यसपछि दुई यस्तो ओभर आफ्नो पक्षमा बनायो, जसले खेल नै पकडमा ल्यायो । देव्रेहाते ब्याटर विक्रमजित सिंहले देव्रेहाते स्पिनर मल्ललाई ११ औं ओभरमा ३ छक्का प्रहार गरे । यस ओभरमा डच टोलीले २० रन जोडेको थियो ।

१७ औं ओभरको समाप्तिमा डच टोली १४५–४ को स्थितिमा पुग्यो । १८ बलमा ४० रन चाहिने अवस्थामा खेल नेपालको पक्षमा ढल्किएको थियो । तर, १८ औं ओभरमा इंगेलब्रेक्टले अविनाश बोहरालाई समान २ चौका र छक्कासहित २१ रन प्रहार गरे । अन्तिम २ ओभरमा १९ रन चाहिँदा इंगेलब्रेक्टलाई मल्लले पहिलो र तेजा निडामानुरुलाई चौथो बलमा आउट गरे पनि डच टोलीले १९ औं ओभरमा १२ रन जोडेको थियो ।

इंगेललब्रेक्टपछि आएका टिम भान डेर गुग्टेनले ५ बलमा समान २ चौका र छक्कासहित अविजित २१ रन बनाए । उनले विजयी रन बटुल्नेक्रममा करण केसीको बलमा क्रमशः चौका र छक्का प्रहार गरे । नेपालबाट मल्लले ३ ओभरमा ३३ रन खर्चेर ४ तथा अविनाश र दीपेन्द्रले १–१ विकेट लिए । त्यसअघि नेपालबाट ओपनर कुशल भुर्तेल १० बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेर २० रन जोडेर आउट भए । रिभर्स स्विप हान्न खोजेका उनलाई गुग्टेनले बोल्ड गरे । कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए । उनी पनि रिभर्स स्विप हान्ने चक्करमै आउट भए ।

ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी दुर्भाग्यपूर्ण एलबीडब्लू आउट भए । ओपनर दुवैलाई लेभिटले आउट गरे । नेदरल्यान्ड्सका फिल्डरले आसिफ २ र ३६ रनमा हुँदा दुई पटक क्याच छाडेका थिए । दीपेन्द्र १ रनमै आउट भए ।

कुशल मल्लले ११ बल खेल्दै ३ छक्का प्रहार गरी २६ रन बनाए । करण केसी ९ रनमा आउट भए । आरिफ शेख पहिलो बलमै आउट भए । यसक्रममा नेपालले ८ बल अन्तरमा ४ विकेट गुमाएको थियो । सोमपाल कामी र प्रतिश जिसी समान ६ रनमा अविजित रहे । नेदरल्यान्ड्सबाट फ्रेड क्लासेन, गुग्टेन, लेभिट र इंगलब्रेक्टले २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...