— निर्यात व्यापारमा सुधार नआएपछि सरकारले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तेस्रो पटक परिमार्जन गरेको छ । विगतका रणनीतिमा रहेका कतिपय क्रियाकलाप अधुरै रहेको र कतिपय नयाँ विषय आएको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकीकृत रणनीति तेस्रो पटक परिमार्जन गरेको हो । निर्यात व्यापारमा सुधार नदेखिएपछि मन्त्रालयले लाभका वस्तु परिमार्जन गरी पाँचवर्षे रणनीति तयार पारेको हो ।
देशले सबै क्षेत्रमा लगानी गर्न नसक्ने हुँदा लाभका वस्तु पहिचान गर्न रणनीति तयारी गरिन्छ । सरकारले सन् २०१० देखि नै तुलनात्मक लाभका वस्तु पहिचान गर्दै आएको छ । प्रत्येक वस्तुबाट एक अर्ब रुपैयाँको निर्यात लक्ष्य राखेको थियो । तर लक्ष्य भेटाउन मुस्किल पर्दै आएको छ । पछिल्लो समय निर्यात व्यापार निरन्तर घट्दै आएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा निर्यात व्यापार ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोडमा खुम्चिएको भन्सार विभागको ७ महिनाको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो ७ महिनामा निर्यात व्यापार ९३ अर्ब ४३ करोड थियो । ०७९/८० को कुरा गर्दा निर्यात व्यापार २१.४४ प्रतिशतले घटेर १ खर्ब ५७ अर्ब १४ करोड पुगेको छ । जब कि ०७८/७९ मा निर्यात व्यापार २ खर्ब ३ करोडको थियो ।
सन् २०११ पछिको पाँच वर्षमा गन्तव्य बजारमा सुविधाको मार्जिन ६७.९ बाट बढेर ८९.९ पुगेको मन्त्रालयले जनाएको छ । नेपाली निर्यातको व्यापार भारित भन्सार महसुल दर क्रमशः घटेको छ । वैदेशिक बजार पहुँचमा सुधार हुनुमा सामान्यतया अनुकूल द्विपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता र अतिकम विकसित राष्ट्रका रूपमा प्राप्त सुविधा छन् । तर नेपालबाट निर्यात क्षमता भने सन्तोषजनक छैन । ‘निर्यात मूल्य सूचकका आधारमा समान राष्ट्रसँग तुलना गर्दा नेपालको सूचक करिब स्थिर छ । निर्यात सूचक घटेका छन् । जब कि लाओसको सूचक दस गुणाले बढेको छ,’ नेपालको सम्भावित निर्यात बजारमा प्रवेश गर्ने क्षमता कमजोर छ,’ मन्त्रालयले जारी गरेको व्यापार एकीकृत रणनीति ०८० मा भनिएको छ ।
आयात–निर्यातको खाडल र व्यापार घाटामा सुधार नभएपछि रणनीति तेस्रो पटक परिमार्जन गरिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१० अन्तर्गत १९ वस्तु तथा सेवालाई तुलनात्मक लाभका भनेर पहिचान गरिएको थियो । यसमध्ये ७ कृषि खाद्य वस्तु, ५ हस्तकला तथा उद्योग वस्तु र ७ सेवा क्षेत्र थिए ।
‘महत्त्वाकांक्षी योजना भएकाले व्यापारजन्य तथा भन्सार पूर्वाधारमा सुधार, व्यापार सहजीकरण, गुणस्तर मापदण्डको तर्जुमा र कार्यान्वयन जस्ता विषयमा देखिने काम भए । तर आर्थिक लक्ष्य हासिल हुन सकेनन् । ६ वर्षपछि सन् २०१० को रणनीति परिमार्जन गरेर एकीकृत रणनीति २०१६ जारी भयो,’ एकीकृत रणनीतिमा भनिएको छ, ‘६ वर्षमा रणनीतिले पहिचान गरेका वस्तुको निर्यात वृद्धि दर नेपालको समग्र निर्यात वृद्धि दरभन्दा कम देखिन्छ । रणनीतिले प्रस्ताव गरेका कतिपय क्रियाकलाप अधुरा छन् । कतिपय नयाँ विषय आएका छन् । त्यसलाई दृष्टिगत गर्दै नयाँ रणनीति तर्जुमा गरिएको छ ।’
रणनीति २०८० अनुसार कृषि क्षेत्रमा ५ वस्तु पहिचान गरिएको छ । ती वस्तु अलैंची, अदुवा, दलहन, जुट र चिया हुन् । विश्व बजारमा यी वस्तुको माग उच्च छ । तर उत्पादनको अवस्था हेर्दा मध्यम मात्रै छ । मागअनुसार उत्पादन र निर्यात गर्न सकिएको छैन । चियाको निर्यात र निर्यात वृद्धिदर झन् न्यून रहेको रणनीतिमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा माग हुँदाहुँदै यी वस्तुको उत्पादन बढाउन लगानी पनि बढाउन सकेका छैनौं । वन क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हाते कागज र रोजिन र टर्पेन्टाइन लाभका वस्तु परेका छन् । यी वस्तुको माग रहे पनि उत्पादन, निर्यात र लगानी बढेको छैन ।
ठूला उद्योगमा फलाम तथा स्टिल, धागो तथा कपडा, जुत्ता, तयारी पोसाक व्यापार एकीकृत रणनीतिमा परेका छन् । तयारी पोसाकको माग उच्च रहेको मन्त्रालयले जनाएको छ । अन्यको हकमा माग मध्यम छ । उत्पादन र लगानी पर्याप्त छैन । साना तथा घरेलु उद्योग क्षेत्रमा गलैंचा, गहना, पस्मिना, पास्ता, ऊनबाट बनेका सामान (फेल्टसहित) लाभका वस्तुमा परेका छन् ।
‘एकीकृत रणनीतिले पहिचान गरेका वस्तु तथा सेवाको निर्यात वृद्धिदर कमजोर छ । नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने निर्णयसँगै सन् २०२६ पछि नेपालले अतिकम विकसित राष्ट्रको हैसियतले अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा कटौती हुँदै छ । मुलुक संघीय शासन पद्धतिमा गएकाले आन्तरिक आपूर्ति तथा मूल्यशृंखला
निर्माणमा नयाँ अवसर सिर्जना भएको छ,’ रणनीतिमा भनिएको छ, ‘व्यापारले गरिबी निवारण र समावेशी विकासमा सहयोग गर्ने पर्याप्त दृष्टान्त रहेको सन्दर्भमा रणनीतिलाई लैंगिक सशक्तीकरण र सामाजिक समावेशीकरणको अवधारणाअनुरूप परिमार्जन गर्नुपर्ने भएको छ ।’
व्यापार रणनीतिले उदीयमान वस्तु तथा भविष्यमा सम्भावना भएका वस्तुसमेत पहिचान गरेको छ । ती वस्तु सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसला (दालचिनी, बेसार, लसुन, केसर, जिरा, मरीच र तेजपात), हस्तकला, लामा रेसाका कपडा (अल्लो र हेम्पका रेसा), कफी, पीपीसी सिमेन्ट, छुर्पी र मह हुन् ।
‘विश्व बजारमा यी वस्तुको माग उच्च छ । नेपालको उत्पादन र निर्यात न्यून छ,’ नयाँ रणनीतिमा भनिएको छ, ‘नयाँ तथा भविष्यमा सम्भावना हुने वस्तुको कुरा गर्दा हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनको परिधिभित्र रही स्थानीय वातावरण र जनजीवनमा प्रतिकूल असर नपर्ने गरी खानीजन्य, नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुंगा तथा ढुंगाजन्य अन्य उत्पादन छन् । सरोकारवालासँगको समन्वयमा आवश्यक नीतिगत तथा कानुनी परिमार्जन गरी हेम्प वा हेम्प जस्तै वनस्पति एवं त्यसबाट बनेका औषधीय गुण भएका सुगन्धित वस्तु पनि हुन् ।’
विश्व बजारमा बढ्दो मागका कारण नेपाल अलैंचीको ठूलो निर्यातकर्ता बन्न सक्ने रणनीतिमा उल्लेख छ । तर करिब ९० प्रतिशत निर्यात एकै मुलुकमा केन्द्रित छ । जमिनको खस्किँदो स्तर र ढुसी तथा भाइरस आक्रमणले उत्पादन घटेको छ । कमजोर खेती व्यवस्थापन र उत्पादकत्व घट्दो क्रममा छ । अदुवामा पनि विश्वकै चौथो ठूलो उत्पादक नेपाल हो । अन्य बालीसँग मिसाएर बाली लगाउन सकिन्छ । तर गुणस्तरयुक्त बीउको अभाव छ । भण्डारण र प्रशोधन सुविधा छैन, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला र सबै प्रतिमानको परीक्षणको अभाव छ ।
अन्य बालीको पनि उच्च सम्भावना रहेको रणनीतिमा जनाइएको छ । तर सँगसँगै निर्यातका क्रममा कागजात आवश्यकता र तयारीमा लाग्ने समय, महसुल तथा करको भुक्तानी, सामान क्लियरेन्समा विलम्ब र व्यापार पूर्वाधार (लजिस्टिक्स) को अपर्याप्तता चुनौती रहेको रणनीतिमा उल्लेख छ । ‘कतिपय निर्यातमा आवश्यक कागजातको संख्या अत्यधिक छ, जसले गर्दा कागजातसम्बन्धी कामका लागि धेरै समय लाग्ने गरेको छ ।
नेपाल र भारतबीच सूचना प्रविधिमा आधारित प्रणाली भएकाले विद्युतीय माध्यमबाट कागजात पठाउने कार्य सम्भव भए तापनि व्यवहारमा अझै पनि भौतिक रूपमा कागजात प्रयोग हुने गरेको छ,’ रणनीतिमा भनिएको छ, ‘भन्सार नाकामा महसुल तथा शुल्क भुक्तानी अझै पनि विद्युतीय माध्यमबाट हुन सकेको छैन । कतिपय भन्सार नाकाबाट बैंक टाढा छन् । करिब ६० प्रतिशत कार्गोको भौतिक परीक्षण हुने गरेको छ । कृषिजन्य वस्तु र खाद्यपदार्थको हकमा भन्सार बिन्दुमै उपयुक्त प्रयोगशाला नहुँदा समय लाग्ने गरेको छ । एकीकृत जाँच चौकीबाहेकका भन्सार नाकामा गुणस्तरीय पूर्वाधार नभएकाले समेत क्लियरेन्समा ढिलाइ हुने गरेको छ ।’
यी हुन् निर्यात सम्भावनाका वस्तु
कृषि
अलैंची, अदुवा, दलहन, जुट र चिया
वन
जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हाते कागज, रोजिन र टर्पेन्टाइन
ठूला उद्योग
फलाम तथा स्टिल, धागो तथा कपडा, जुत्ता, तयारी पोसाक
साना तथा घरेलु उद्योग
गलैंचा, गहना, पस्मिना, पास्ता र ऊनबाट बनेका सामान (फेल्टसहित)
उदीयमान वस्तु तथा सम्भावना भएका
सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू (दालचिनी, बेसार, लसुन, केसर, जिरा, मरीच र तेजपात), हस्तकला, लामा रेसाका कपडा (अल्लो र हेम्पका रेसा), कफी, पीपीसी सिमेन्ट, छुर्पी, मह
नयाँ तथा सम्भावना भएका
हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, स्थानीय वातावरण र जनजीवनमा प्रतिकूल असर नपर्ने गरी खानीजन्य, नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुंगा तथा ढुंगाजन्य अन्य उत्पादन, हेम्प वा हेम्प जस्तै वनस्पति एवं त्यसबाट बनेका औषधीय गुण भएका सुगन्धित वस्तु