मुख्य समाचार
लोप हुन लागेको रैथाने ‘थारु आलु’ जोगाउँदै किसान
लोप हुन लागेको रैथाने ‘थारु आलु’ जोगाउँदै किसान

: केही वर्ष पहिलेसम्म आफ्नो घर परिवारका लागि मात्रै रैथाने थारु आलु लगाउँदै आएकी कैलालीको टीकापुर नगरपालिका–३ कि सुमित्रा चौधरी दुई वर्षयता व्यावसायिक रुपमा थारु आलु लगाउँदै आएकी छन्।


आकारमा केही सानो भए पनि खानका लागि स्वादिलो तथा वर्षभरि भण्डारण गर्दा पनि नकुहिने रैनाथे थारु आलुको दिनप्रतिदिन माग बढ्न थालेपछि सुमित्राले व्यावसायिक रूपमा आलु खेती गर्न थालेकी हुन्। ‘पहिले घर परिवारलाई खानका लागि मात्रै एक दुई कठ्ठामा लगाउने गरेका थियौं,’ टीकापुरस्थित कृषि हाटबजारमा थारु आलु बेचिरहेकी उनले भनिन्, ‘घरसम्मै थारु आलु खोज्ने ग्राहकहरू आउँछन्, बजारमा पनि राम्रै माग भएपछि हामीले १० कठ्ठामा दुई वर्षदेखि थारु आलु लगाउँदै आएका छौं।’

सुमित्रा मात्रै होइनन् वडा नं.३ कै धनबहादुर थारुले चार वर्षदेखि एक बिघा बढी क्षेत्रफलमा रैथाने थारु आलुको खेती गर्दै आइरहेका छन्। सामान्य गोठे मलको प्रयोग गर्दा समेत उत्पादन राम्रो हुन थालेपछि रैथाने थारु आलु खेती गर्दै आइरहेको थारुले बताए।



‘अन्य जातको आलुमा विषादी प्रयोग गर्नुपर्ने, शित लाग्ने, किराले खाने जस्ता समस्या धेरै हुन्छन्, जसले उत्पादनका लागि खर्च बढी हुन्छ,’ थारुले भने, ‘थारु आलुमा एकपटक गोठे मल मात्रै प्रयोग गर्दा पनि उत्पादन ठीकै हुन्छ, अरु आलुभन्दा बढी मूल्यमा बिक्री गर्न सकिने हुनाले थारु आलु खेती गरिरहेका छौं।’

कैलालीकै जोशीपुर गाउँपालिका–२ का हरिराम चौधरीले बिक्रीका लागि अन्य जातका आलुको खेती गर्दै आए पनि घरपरिवारका लागि थारु आलु लगाउन थालेको वर्षौं भयो।

‘मौलिक जातको थारु आलु हो, हाम्रा पूर्खादेखि नै थारु आलु लगाउन थालिएको हो, दाना सानो भए पनि स्वादका लागि थारु आलु बराबर अर्को पुग्दैन,’ चौधरीले भने, ‘बिउ नै नपाउने अवस्थामा पुगिसकेको थारु आलु खेती पछिल्ला केही वर्षदेखि माग बढ्न थालेपछि विस्तार हुँदै गएको छ।’

चौधरीका अनुसार अन्य आलुभन्दा रैथाने थारु आलुमा रोग सहन सक्ने क्षमता बढी हुन्छ, दाना सानो हुने हुँदा सित्तिमित्तै कुहिँदैन। पकाउन थोरै समय लाग्छ। तराई क्षेत्रमा हिउँदमा हुने शितलहरले अन्य आलु खेती निकै प्रभावित हुने गरे पनि थारु आलुलाई खासै प्रभाव नहुने भएपछि विषादीको प्रयोग समेत कम हुन्छ।

‘अन्य जातका आलु लगाउँदा राम्रै फल्छ भन्ने ग्यारेण्टी छैन किनभने रोग धेरै लाग्छ, शितलहरले दुई दिनमै बारी सखाप हुने अवस्था हुन्छ, विषादी त्यस्तै प्रयोग गर्नुपर्छ,’ चौधरीले भने, ‘विषादीको प्रयोग नै नगरे पनि रोग नलाग्ने हुनाले जति फल्छ,राम्रै हुन्छ।’

चाँडै फल्ने, राम्रो फसल दिने साठा, कार्डिनल, लालगुलाब, टीपीएस जातका आलुमा भन्दा कम उत्पादन लागतमा उत्पादन गरेर बढी मूल्यमा बिक्री गर्न सकिने भएपछि किसान थारु आलु खेती गरिरहेका छन्। आलु उत्पादन हुने सिजनमा अन्य जातका आलु प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाइन्छ भने रैथाने थारु आलु ४० देखि ६० रुपैयाँमा बिक्री हुँदै आएको छ। वर्ष दिनसम्म भण्डारण गर्दा पनि नकुहिने हुनाले बेमौसममा यसको मुल्य अझै बढी हुने गरेको किसानहरू बताउँछन्।

थारु समुदायले लगाउने भएकाले यो जातको आलुलाई ‘थारु आलु’ भनिएको हो। यो घरैया आलु’ का नामले समेत प्रख्यात छ। खानको लागि मिठो हुने र नकुहिने भएपछि थारु आलु उत्पादन हुने सिजनमा वर्षौंभरीका लागि खरिद गर्ने उपभोक्ताहरू समेत बढ्दै गएका छन्। टीकापुर नगरपालिका वडा नं.१ का भुपेन्द्र खड्काले चार वर्षयता ५० किलो आलु सिजनमै खरिद गर्दै आएको बताए।

‘यो आलुको स्वाद नै मिठो छ, राम्रोसित पाक्ने हुनाले पनि एकैपटक वर्षभरिलाई पुग्ने खरिद गर्ने गरेको छु,’ खड्काले भने, ‘अन्य आलु ५० किलोमा ५ किलो बढी कुहिन्छ भने थारु आलु एकदमै कम कुहिन्छ, जहाँ राखे पनि फरक पर्दैन।’

टीकापुरकै अर्का उपभोक्ता रामबहादुर साउद पनि खानका लागि थारु आलुको प्रयोग गर्न थालेको वर्षौं भएको बताउँछन्। ‘थारु गाउँमै हुर्किएको हुनाले पनि थारु आलु धेरै पहिलेदेखि खाने गरेका छौं’ साउदले भने, ‘गोठे मलबाट उत्पादन हुने हुनाले अर्गानिक पनि हुने,नकुहिने र स्वाद पनि मिठो हुनाले यसका उपभोक्ता बढिरहेका छन्।’

परम्परागत रूपमा जैविक विधि प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यबर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवालगायतका रोग सहनसक्ने क्षमता भएकाले थारु आलुको माग बढ्दै गइरहेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले बताए।

‘रैथाने जातको यो आलु खेतीको लागि जैविक विधि प्रयोग हुन्छ, आलुमा धेरै देखिने डढुवालगायतका रोगहरू सहन सक्ने क्षमता यसमा बढी छ,’ कृषि प्रसार अधिकृत चौधरीले भने, ‘विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ, जसले कुहिँदैन, वर्षैभरि भण्डारण गरेर राख्न सकिने हुनाले पनि किसानहरूको आकर्षण बढ्दै गएको हो।’

अधिकृत चौधरीले विकासे आलुको उत्पादन लागत बढी हुने र भारतबाट आउने आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा पनि किसानहरू थारु आलुप्रति आकर्षित भइरहेको बताउँछन्। खानमा स्वादिलो थारु आलुको बजार मागसमेत बढ्दै गएका र विषादीको प्रयोग नै नगरी उत्पादन गर्न सकिने हुनाले यसको संरक्षणका प्रयासहरू भइरहेको उनले बताए।

थारू आलुको प्रवद्र्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷०७७ देखि नै विशेष कार्यक्रम लागू गरिरहेको छ। प्रदेशले कृषि ज्ञान केन्द्र कैलालीमार्फत रैथाने जातको थारू आलुमा आकर्षण बढाउन ‘थारु आलु संरक्षण’तथा ‘चक्लाबन्दीमा थारु आलु उत्पादन’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। केन्द्रले थारु आलुको बीउ प्रवद्र्धनका लागि शीत भण्डारणमा लाग्ने शुल्क प्रतिकेजी ५ रुपैयाँ अनुदानसमेत दिँदै आएको छ।

‘जैविक विधिको प्रयोगबाट उत्पादन हुने,बजार मागसमेत राम्रै भएको रैथाने थारु आलु लगाउने व्यावसायिक किसानले केन्द्रले प्रतिहेक्टर १ लाख रुपैयाँ अनुदान दिने गरी सम्झौता गरेको छ,’ कृषि प्रसार अधिकृत चौधरीले भने, ‘हामीले ६० हेक्टरमा अनुदान दिने लक्ष्य राखेकोमा ४५ हेक्टरका लागि सम्झौता भएको छ । बीउका लागि कोल्डस्टोरमा राख्न प्रतिकेजी ५ रुपैयाँसमेत अनुदान दिँदै आएका छौं।’

ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले थारु आलु खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कैलालीमा हाल ६० हेक्टर क्षेत्रफलमा कार्यान्वयमा रहेको जानकारी दिए। ‘विगत वर्षदेखि थारु आलु प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ, चालु आर्थिक वर्षमा कैलालीमा मात्रै ६० हेक्टरमा यो कार्यक्रम कार्यान्वयनमा रहेको छ,’ सूचना अधिकारी जोशीले भने, ‘रैथाने आलुका जातको संरक्षणका लागि कृषि अनुसन्धान परिषद्अन्तर्गत जीन बैंकमार्फत जातीय सम्वद्र्धन कार्यक्रम भइरहेको छ।’

ज्ञान केन्द्रका अनुसार कैलाली जिल्लामा हाल ५ हजार २ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ भने बर्सेनि ७५ हजार मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ। सीमावर्ती भारतीय बजारका कारण विकासे आलुसँग प्रतिस्पर्धा गर्न नसकेका कैलालीका किसानहरू रैथाने आलु खेतीको विस्तार गरी उत्पादन बढाएर मनग्य आम्दानी लिइरहेका छन्। जैविक रूपमा उत्पादन हुने विषादीको प्रयोग नभएको र खानका लागि समेत स्वादिलो हुनाले रैथाने थारु आलु उपभोक्ताका लागि उत्तिकै लाभदायक छ। लोप हुने अवस्थामा पुग्न लागेको रैथाने थारु आलु पछिल्ला वर्षहरूमा स्थानीय तह तथा प्रदेश सरकारको पहलमा विस्तार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कन्टेनरको उचित व्यवस्थापन नहुँदा सिर्सिया सुक्खा बन्दरगाहमा फेरि कन्टेनरको चाङ लागेको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । बिहीबार बन्दरगाह परिसरमा १ हजार ७ सय ६५ खाली र ९ सय ९० मालबाहक समेत गरी २ हजार ७ सय ५५ कन्टेनर रहेका छन् । इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख ...
— एसियाली विकास बैंक (एडीबी) ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण ...
: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी ...
— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको ...
: विकास साझेदारबाट लगानीको प्रत्याभूति नहुँदा माथिल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रभावित भएको छ। १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजनामा विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी), जाइका लगायतका साझेदार निकायले लगानी गर्ने भन्ने थियो। तर, सन् २०२४ को अक्टोबरमा गर्ने भनेको वित्तीय व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन। आयोजनाको लगानी भूराजनीतिक कारणले अनीर्णित बनेको स्रोत बताउँछ। ...