— आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ र यससँगै डिसेम्बरयता पहिलो पटक लिग तालिकाको शीर्षमा उक्लेको छ । यो जितपछि आर्सनलको ६४ अंक भएको छ र कम्तीमा एक दिन पहिलो स्थानमा रहनेछ । उसको पछाडि लिभरपुल ६३ र म्यानचेस्टर सिटी ६२ अंकमा छन् ।
उपाधिको छिनोफानो हुन सक्ने लिभरपुल र सिटीबीचको खेल अगाडि आर्सनलले यो जित निकालेको हो । इमिरेट्समा भएको खेलमा काइ हाभरटेजले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि उसले डेक्लेन राइसको गोलले अग्रता लिएको थियो । तर गोलरक्षक आरोन राम्सडेललको भुलमा ब्रेन्टफोर्डको गोल सम्भव भएको थियो र यो योने विसाको नाममा रह्यो ।
शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० र उल्भ्सले फुलहमलाई २–१ ले हरायो । बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ र क्रिस्टल प्यालेस र लुटन टाउनले १–१ को बराबरी खेले ।