मुख्य समाचार
एन्जिला तुम्बापो : ५० खेलको उपलब्धि
एन्जिला तुम्बापो : ५० खेलको उपलब्धि

। पछिल्लो पटक नेपालको महिला फुटबल टिमले साउदी अरेबियामा वाफ वुमन्स च्याम्पियनसिप खेल्यो र त्यसमा उपविजेता बन्यो । त्यही च्याम्पियनसिपमा नेपाली फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि ५० गोल गर्ने कीर्तिमान बनाइन् । धेरै गोल गर्ने खेलाडी भएकाले उनको सबैतिर चर्चा भयो ।

त्यसैमा नेपाली टोलीको कप्तानी गरेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि नेपालका लागि ५० अन्तर्राष्ट्रिय खेल खेल्ने उपलब्धि हासिल गरिन् । त्यो समय नेपाली टोलीको प्रदर्शनको चर्चा धेरै भएकाले होला एन्जिलाको ५० खेलको चर्चा खासै भएन । तर, नेपाली फुटबलको लागि भने यो आफैंमा ठूलो उपलब्धि हो । नेपाली फुटबल खेलाडीका लागि ५० खेल खेल्नु ठूलै व्यक्तिगत उपलब्धि मानिन्छ ।


सन् २०१४ देखि राष्ट्रिय टिममा परेकी एन्जिलाले एक दशकमा ५० खेलको उपलब्धि हात पार्दा गर्व लागेको बताइन् । ‘२०१४ मा राष्ट्रिय टिममा पर्दा सानै थिएँ । सिनियर खेलाडीहरु भएकाले पनि खेल्न पाइनँ । २०१६ मा मैले श्रीलंकाविरुद्ध डेब्यु गरें अनि २०१७ मा सेटमा खेल्ने अवसर पाएँ,’ एन्जिलाले नेपालका लागि खेल्न सुरु गर्दाको क्षण सम्झिइन्, ‘त्यो बेला दुई वर्ष जति टिममा फाइट गर्नुपर्‍यो । कडा मिहिनेत गरें । त्यसपछि अहिलेसम्म निरन्तर खेलिरहेकी छु । नेपालका लागि ५० खेल खेल्न पाउनु गर्वको कुरा हो ।’

नेपाली महिला फुटबल टिमको अन्तर्राष्ट्रिय सहभागिता करिब चार दशक पुरानो भए पनि नियमित रुपमा अन्तर्राष्ट्रिय खेलहरु खेल्न थालेको सन् २०१० पछि मात्रै हो ।




सन् १९८६ मा पहिलो पटक एसियन वुमन्स कप खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । त्यसपछि ९० को दशकसम्म ३ पटक एसियन कप खेल्यो । बीचमा एक दशक नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय सहभागिता जनाएन । सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु भएपछि नेपालले फेरि अन्तर्राष्ट्रिय खेलहरु खेल्न थालेको थियो ।

पछिल्लो डेढ दशक भने नेपाल महिला टिमले साफ च्याम्पियनसिपदेखि साग, ओलम्पिक क्वालिफायर, एसियन कप क्वालिफायर, एसियन गेम्सदेखि केही समयअघि वाफ वुमन्स च्याम्पियनसिपसम्म खेल्यो ।

यस बीचमा धेरै खेलाडीहरुले नेपालका लागि खेले । तर थोरैले मात्र राष्ट्रिय टिममा निरन्तरता दिन सके । २०१४ मै डेब्यु गरेकी सावित्रा भण्डारी अहिले नेपालका लागि सर्वाधिक गोलकर्ता छिन् । यस्तै त्यही बेला टिममा परेकी अनिता बस्नेत पनि हाल टिममा छिन् ।

उनीहरुभन्दा अघि डेब्यु गरेकी रेनुका नगरकोटेले पछिल्लो पटक चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालको कप्तानी गरेकी थिइन् । तर उनी चोटका कारण यसपटक टिममा नपरेपछि एन्जिलाले नेपालको कप्तानी गरेकी थिइन् ।



एन्जिलाले यसअघि नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालको कप्तानी गरिसकेकी थिइन् । उनी नेपालको लागि कप्तानी गर्ने दशौं खेलाडी हुन् । एन्जिला अघि रमा सिंह, कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना, निरू थापा र रेनुका नगरकोटेले नेपालको कप्तानी गरिसकेका छन् ।

उनले कप्तानी गरेको दुवै प्रतियोगितामा नेपाल फाइनल पुगे पनि उपाधि जित्न सकेन । साफ फाइनलमा घरेलु मैदानमै नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । यस पटक भने नेपाल पहिलो पटक वाफ खेल्दा जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै उपविजेता बनेको थियो ।

पहिलो पटक वाफ खेल्दा नेपालले नयाँ टिमहरुसँग राम्रो प्रदर्शन गरेकाले धेरै चर्चा पनि पायो र महिला फुटबल टोलीले पनि अवसर पाउँदा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको छ । ‘यस पटक सबै खेलाडीले राम्रो प्रदर्शन गरे । हामी च्याम्पियन हुने लक्ष्यसहित गएका थियौं तर फाइनलमा पेनाल्टीमा पराजित भयौं,’ एन्जिलाले भनिन्, ‘पेनाल्टीमा पुगे पनि जित्छौं भन्ने आशा थियो । मेरो लागि पनि राम्रो अवसर थियो । पेनाल्टी भनेको लकको कुरा हो । कहिले आफ्नो पक्षमा हुन्छ कहिले हुँदैन ।’

अबको लक्ष्य

वाफ च्याम्पियनसिपबाट नेपाली महिला फुटबलले धेरै सम्भावना देखाएका छन् र पछिल्लो समय विभिन्न क्षेत्रबाट महिला टिमलाई सम्मान पनि भइरहेको छ । यसले खेलाडीलाई हौसला र प्रेरणा मिल्ने एन्जिला बताउँछिन् । ‘एउटा नयाँ आशा जगाएको छ । सबैजनाबाट पोजिटिभ सन्देश आइराछ । सम्मानहरु गरिहनुभाछ, खुशी लाछ । पैसाभन्दा पनि सम्मान गर्दा ठूलो खुशी मिल्छ,’ उनले भनिन् ।

यस्तै नयाँ टिमहरुसँग खेल्दा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्दै आफ्नो क्षमता समेत देखायो । यस पटक नेपाल कति क्षमतावान छ भनेर अरु टिमले पनि देख्न पायो ।

नेपालको महिला टिमले अहिलेसम्म ११ पटक फाइनल खेले पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । यस पटक पनि नेपाललाई उपाधि खडेरी तोड्ने अवसर थियो । तर फाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदा अभागी बन्यो ।

नेपालले अब आउने अक्टोबर-नोभेम्बरमा साफ महिला च्याम्पियनसिप खेल्दैछ । अब नेपालको एउटै लक्ष्य साफ च्याम्पियनसिप जित्ने छ । सबै खेलाडीहरुको अहिलेको लक्ष्य त्यही हो । ‘अब हाम्रो लक्ष्य भनेको साफ च्याम्पियसिप हो । त्यसमा गोल्ड मेडल दिने हो,’ हाल सेथु एफसीबाट इन्डियन वुमन्स लिग खेलिरहेकी एन्जिलाले भनिन् । उनी त्यहाँ पनि कप्तानको भूमिकामा छिन् । घरेलु फुटबल भने एपीएफबाट खेल्छिन् ।

पछिल्लो समय महिला फुटबलमा केही राम्रो संकेत देखिन थालेको छ । एन्जिलासहित ६ खेलाडी भारतमा लिग खेल्छन् । सावित्रा भण्डारीले फ्रेन्च लिग खेल्ने पहिलो नेपाली फुटबलको कीर्तिमान बनाउँदै नेपाली फुटबलमा युरोपसम्म जोडेकी छन् ।

‘महिला टिममा फेरि राम्रो भइराछ र केही न केही गरम भन्ने उत्साह छ । नेपालमा वुमन्स लिग पनि हुन लाछ । खुशी लाग्छ । हामी भारतमा लिग खेलिरहेका छौं । राम्रो योजना बनाएर अघि बढ्नुपर्छ,’ चिनियाँ ब्राण्ड लि-निङको ब्राण्ड एम्बास्डर समेत रहेकी एन्जिलाले भनिन् । लि-निङको नेपाली आधिकारिक विक्रेता चाइना ट्रेड लिंकले उनको नाममा ‘एटीउस१६’ नामक ब्राण्ड समेत तयार गरेको छ ।

एन्जिलाको नाममा चलचित्र

यस्तै एन्जिलाको नाममा चलचित्र ‘अन्जिला’ समेत निर्माण भएको छ । यस चलचित्रको फस्ट लुक समेत सार्वजनिक भइसकेको छ र रिलिजको लागि तयार छ । ‘मुभी पनि आउँदैछ । यसलाई सबैले हेरेर समर्थन गर्नुहोला,’ उनी भन्छिन् ।

पाँचथरमा २०५४ सालमा जन्मेकी एन्जिलाले १२ वर्षको उमेरमा फुटबल खेल्न थालेकी थिइन् । एक स्थानीय प्रतियोगितामा नियमित गोलकिपर नआउँदा उनी संयोगले गोलकिपर बनेकी थिइन् । २०६८ सालमा भएको छैठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल छनोटको फाइनलमा ताप्लेजुङलाई हराएपछि एन्जिलाको चर्चा हुन थाल्यो ।

गोलकिपिङमै उनले खेल्न थालिन् । एक वर्षपछि नै उनले आफूलाई उक्त भुमिकामा पोख्त बनाइन् ।

धनगढीमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा पनि उनले आफूलाई प्रमाणित गरेपछि विभागीय टोली एपीएफले एन्जिलालाई अनुबन्ध गर्‍यो । त्यसपछि उनको खेल करियर वास्तविक रुपमा अघि बढ्यो । अनि राष्ट्रिय टिमको नम्बर वान गोलकिपरसम्म बनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...