वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनका हेलचेक्र्याइँका कारणले राष्ट्रिय चलचित्र उद्योग पछाडि परेर गइरहेको अनुभूति हुन थालेको छ । तथापि, केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्र कर्मले आफ्नो अभियानलाई त्यस दिशातर्फ तीव्रता दिंदै सफलता हासिल गइरहेको अवस्था पनि छ ।
एउटा कोणबाट विश्लेषण गरेर हेर्दा यस्तो नभइदिए पनि हुन्थ्यो भन्ने कुराहरु पनि छन् । अर्को कोणबाट हेर्दा आज यो यति माथि उठ्यो हगि भनिनुपर्ने कुराहरु पनि छन् । यस्तै भनिनुपर्ने कुराहरुको द्वन्द्वबाट यसले आफ्नो अग्रगामी छलाङलाई पक्रिएर अघि बढेको छ । यी साह्रै हर्ष लाग्ने कुराहरु हुन् ।
थोरै मात्रामा भएपनि थोरै राम्रा सिनेमा बनेका छन् । हाम्रो चलचित्र कर्मलाई निश्चित रुपले एउटा अध्यायबाट अर्कोमा लैजान यसले मद्दत पुर्याएको छ । यो वाक्यांश यसअघि नै मैले भनिसकेको छु । थोरै सिनेमाले जुन मात्रामा हामीलाई विश्वास र श्रेय दिएका छन्, त्यो विश्वासको बोझ यति धेरै ठूलो छ कि, थुप्रै अरु सिनेमाले जति अविश्वास दिएका छन् र जति चलचित्र कर्ममा क्षति पुर्याएका छन्, त्यो ड्यामेजको तुलनामा राम्रा फिल्मले दिएको विश्वसनीयताको मात्रा असाध्य माथिल्लो श्रेणीमा भएको कारण राष्ट्रिय चलचित्र कर्म यहाँसम्म आइपुगेको हो ।
तसर्थ, बिना कुनै संकोच हामीले त्यस्ता चलचित्रकर्मीलाई हृदयदेखि नै आभार अभिव्यक्त गर्नुपर्ने हुन्छ । केही नामहरु छन् जसलाई आजकल हामीले ब्राण्ड भनेर चिन्ने गरेका छौं । हरेक साल असफल हुने ९५ वटा फिल्मका कारणले गर्दा चलचित्रकर्म यहाँसम्म आइपुगेको होइन । हरेक साल सफलताको श्रेणी चढेका पाँचवटा फिल्मले गर्दा चलचित्रकर्मीले यो श्रेणी चढेका हुन् । त्यो पाँच चारमा नझरुञ्जेल त्यो चार तीनमा नझरुञ्जेल हामीले दुःखमनाउ गर्नुपर्ने कुनै कारण नै छैन ।
पाँच ६ हुन सकेको दिन, छ सात हुन सकेको दिन, १२ हुन सकेको दिनमा हामी अझैपनि बढी हर्षित हुने स्थिति सिर्जना हुने आशा हामीले राखेका छौं । तमाम नेपाली दर्शकले राखेको आशा पनि त्यही हो । सिनेमासँग सम्बन्धित विभिन्न संघसंस्था, सरकारी निकायले राखेको अपेक्षा पनि त्यही हो । तसर्थ, त्यस्तो दिन आओस् भन्ने शुभकामना पनि अभिव्यक्त गर्न चाहन्छु ।
नेपालको चलचित्रकर्मले अन्तर्राष्ट्रियस्तरमा गरिमा प्राप्त गर्न सफल भएको छ । मलाई अर्को कुनै एउटा क्षेत्र देखाउनुस्, जसमा उसले त्यही श्रेणीको सफलता प्राप्त गर्न सकेको होस् । अविनाश शाहले कान्स फिल्म फेस्टिभलमा पटकथाको पुरस्कार जित्नुभएको छ । विश्वका उत्कृष्ट चलचित्र उत्सवमा नेपाली चलचित्रले आफ्नो जबर्जस्त उपस्थिति पेश गरेको छ ।
यी त स्मरणयोग्य अथवा नाम लिन योग्य समारोहहरु भए । वर्षभरि नै अन्य थुप्रै महोत्सव छन् संसारभर जहाँ सिनेकर्मले गौरवशाली इतिहास रच्न सफल भएको छ । उसले गौरवशाली इतिहास रच्ने उसकै क्षेत्रमा हो । नेपाली सिनेमाले स्पोर्ट्सको मैदानमा गएर स्वर्णपदक जित्ला भनेर हामीले अपेक्षा त गरेका हुँदैनौं । अर्थात्, मानवअधिकार कर्मका लागि मानवअधिकारको क्षेत्रमा काम गर्ने थलोमा नेपाली चलचित्रकर्म अभ्यास गरिरहेको व्यक्ति पुरस्कृत भएन भनेर चित्त दुखाउने ठाउँमा त हामी छैनौं । जसरी चलचित्रकर्मीले चलचित्रकर्मलाई अन्तर्राष्ट्रिय क्षेत्रको त्यो श्रेणीमा पुर्याउन सफल हुनुभयो, त्यसबाट अरु कर्मका मानिसले पनि सिक्नुहोस् । तपाईंहरुले अभ्यास गरेको कर्मलाई अन्तर्राष्ट्रियस्तरमा हेरिने त्यो श्रेणीमा उकाल्नुहोस् । विशेषगरी मेरो यो आग्रह नेपालका राजनीतिकर्मीहरुलाई छ ।
त्यसबाट हामीले दुईटा अभूतपूर्व शिक्षा लिन सक्छौं, जसको बारेमा शिक्षित हुने प्रयत्न हामीले गरेजस्तो देखिंदैन । एउटा मान्छेले जीवनभर गर्ने एउटा राम्रो काम भनेको एउटै मात्र हो । जुन काम फिडेल देवकोटा, सुशन प्रजापति, मीनबहादुर भाम, अविनाश शाहहरुले इमान्दारी र निष्ठापूर्ण ढंगले गरिरहुनभएको छ । नेपालमा उहाँहरु कुन स्थानमा हुनुहुन्छ मलाई थाहा छैन, अन्तर्राष्ट्रियस्तरमा फिल्ममेकरको रुपमा उहाँहरुको नाम अत्यन्त प्रतिष्ठाका साथ लिइने गरिन्छ ।
यो पाठ हामीले किन सिक्नुपर्छ भने प्रत्येक पेशा अभ्यास गर्दा, त्योसँग जोडिएको निष्ठा कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा सिक्न सक्नुपर्दछ । निष्ठा त्यति महत्वपूर्ण कुरा हो । उहाँहरुले ती कर्महरु निष्ठापूर्ण ढंगले गर्नुभएको छ, त्यसकारण उहाँहरु त्यो स्थानसम्म पुग्न सक्नुभएको हो । दोस्रो– ‘मेनस्ट्रिम’को सिनेमाले त्यो लेभलको पुरस्कार जित्यो रे भन्ने आजसम्म तपाईंले आजसम्म सुन्नुभएको छ ? जुन सिनेमालाई हामी ‘मेनस्ट्रिम’को सिनेमा भन्छौं र जुन सिनेमाको विकास भएन भनेर रातदिन रोइलो गर्छौं । अर्काले देखाइसकेको कुराहरु नक्कल गर्छौं र यो हाम्रो हो, तैंले हेर्नैपर्छ किन हेरिनस् भनेर नहेर्नेलाई रिस गर्छौं ।
दोस्रो पाठ भनेको नेपालले अलौकिक ढंगमा संसारको सिने भूमिमा आफ्नो विशिष्ट स्थान हासिल गर्न सक्छ भने त्यो ‘सर्ट फिल्म’को आधारमा मात्र गर्न सक्छ । साउथका सिनेमाबाट नक्कल गरिएका, हिजोसम्म भारतको बम्बै (हाल मुम्बई)का सिनेमाबाट नक्कल गरिन्थ्यो, बम्बैका सिनेमाबाट नक्कल गरिएका सिनेमाले हामीलाई त्यो स्थान दिंदैनन् । तर हामीले विश्व मस्तिष्क जित्न सक्ने पाँच मिनेटको सिनेमा बनाउन सक्यौं भनेपनि एउटा नेपाली सिनेकर्मीले नेपाली सिनेकर्मलाई पहिचान दिलाउन सक्छौं ।
मैले जोड दिन खोजेको कुरा हामीले अर्जुनदृष्टि राखेर अगाडि बढ्नुपर्ने दिशा भनेको ग्रामीण भेगमा भेटिने हाम्रा लोक र दन्त्य कथाहरु, प्रत्येक समुदायका पाइला-पाइलामा भेटिने आफैं कथालाई सकेजति सारांशमा विश्व प्लेटफर्ममा हामीले पस्कन सक्यौं भने हामीले त्यो कर्ममा समृद्धि प्राप्त गर्नेछौं । सर्ट फिल्मलाई त फिल्मको श्रेणीमै नराखिएको देशको जनता हौं हामी । जुन किसिमका सिनेमा हरिवंश, मदनकृष्णजीहरुले बनाउनुहुन्थ्यो, जुन किसिमको सिनेमाहरु अहिले उपेन्द्र सुब्बाजीहरुले लेखिरहनुभएको छ, त्यस्ता सिनेमाहरु अहिले रामबाबु गुरुङजीहरुले बनाइराख्नुभएको छ, दयाहाङजीलाई नयाँ धारको नायकको रुपमा प्रस्तुत गरेर । यी सिनेमालाई त सिनेमाको रुपमा वर्गीकरण गरिंदैन थियो नि ।
धेरै टाढा जानैपर्दैन । २२-२४ वर्षअघि सम्म पनि । तसर्थ, यदि कसैले आफ्नो दृष्टिकोण बदल्न आवश्यक छ भने सबैभन्दा पहिले हामी आफैंले आफ्नो दृष्टिकोण बदल्नुपर्छ । अब हामीले मेनस्ट्रिम सिनेमा भनेर सातवटा गाना राखिएको, ६ वटा फाइट राखिएको, हिरो र हिरोइन नाचेको, बीचबीचमा खलनायक आएको, त्यसले केहीबेर डिस्टर्ब गरेको, अनि हिरोइनलाई लुटेर लगेको, केहीपछि हिरो गएर मुक्का हानेर ढालेको, अनि हिरोइनलाई जितेर आएको सिनेमा बनाएर । त्यसमा राज्यले सकेसम्म बढी सुविधा दिनुपर्छ भन्ने कराएर । यसरी कहीं पनि पुग्नेवाला छैनौं ।
अब हाम्रो सबै ध्यान सर्ट फिल्ममा केन्द्रित हुनुपर्छ । जो विश्वमा सफल सावित भइसके । जसले विश्वमा दर्शकलाई आफ्नो मातहत ल्याउन सफल भइसके । यस सम्बन्धमा राष्ट्रिय नीति बन्नुपर्छ भन्ने कुराको माग यही प्लेटफर्मबाट गर्न चाहन्छु ।
(वरिष्ठ फिल्म निर्देशक, निर्माता तथा अभिनेता नीर शाहले सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन समारोहमा राखेको मन्तव्यको सम्पादित अंश)