मुख्य समाचार
टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका, चीनले भन्यो : जवाफ दिन्छौं
टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका, चीनले भन्यो : जवाफ दिन्छौं

— अमेरिकामा सामाजिक सञ्जाल प्लाटफर्म टिकटक प्रतिबन्ध हुनसक्ने विषयले अहिले सामाजिक सञ्जाल क्षेत्र तरंगित बनेको छ । अमेरिकी संसदको तल्लो सदनले यो साता एक विधेयक पारित गरेसँगै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका एक कदम अघि बढेको छ ।

टिकटकलाई स्वामित्व बिक्री वा प्रतिबन्ध लगाउने कानुनको पक्षमा ३२६ र विपक्षमा ६५ सांसदहरूले यही बुधबार मतदान गरेका थिए । आफ्ना ३६ राज्य र संघीय रूपमै सरकारी स्वामित्वका डिभाइसहरूमा अमेरिकाले यसअघि नै कुनै न कुनै रूपमा टिकटकको प्रयोग रोकिसकेको थियो । पछिल्लो कानुनमार्फत अमेरिकाले टिकटकको प्यारेन्ट कम्पनी ‘बाइटडान्स’लाई सो एपको स्वामित्व छोड्न वा अमेरिकी एपस्टोरहरूमा प्रतिबन्धको सामना गर्ने व्यवस्थासहितको कानुन पारित गरेको हो ।



उक्त कानुन अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित हुन बाँकी नै छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै औपचारिक रूपमा लागू हुनेछ । संसद्ले पठाउनासाथ आफूले तुरून्तै सो कानुनमा हस्ताक्षर गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरिसकेका छन् । तथापि, उनीसम्म पुग्न केही समय लाग्ने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

झन्डै १५ करोड अर्थात अमेरिकी जनसंख्याको लगभग आधाले टिकटक चलाउने र औसत एक घण्टा सो एपमा बिताउने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । विश्वव्यापी रूपमा झन्डै एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको सो एपको स्वामित्व राख्ने कम्पनी बाइटडान्सको कूल बजार मूल्य सन् २०२३ को अन्त्यमा झन्डै दुई खर्ब २३ अर्ब डलर पुगेको थियो । अमेरिकी संसद्को पछिल्लो कानुनले बाइटडान्सलाई आफ्नो टिकटक स्वामित्व बिक्री गर्न १६५ दिनको समय दिने प्रस्ताव गरेको छ ।

नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तानजस्ता देशमा टिकटक पूर्णरूपमा प्रतिबन्धित छ । अमेरिका, क्यानडा, युरोपेली संघ, अस्ट्रेलिया, बेलायतलगायत देशमा भने सरकारी स्वामित्वका डिभाइससहित विभिन्न सार्वजनिक संस्थामा प्रतिबन्धको सामना गरिरहेको छ । चीन सरकारसँग साँठगाँठ रहेको र अमेरिकी लगायतका प्रयोगकर्ताहरूबारे विभिन्न तथ्यांक चिनियाँ कम्युनिस्ट पार्टीसम्म पुर्‍याएको आरोप टिकटकमाथि लाग्ने गरेको छ । सो एपले अमेरिकी संसदीय समिति र विभिन्न सार्वजनिक फोरमहरूमा आफूहरूले अमेरिकी प्रयोगकर्ताका कुनै पनि तथ्यांक दुरूपयोग नगरेको र दुरूपयोग रोक्न 'प्रोजेक्ट टेक्सस' नामक नयाँ अभियानसमेत सुरु गरेको दाबी गर्दै आएको छ ।

गएको तीन वर्षयता उन्नत प्रविधिका सेमिकन्डक्टर चिपसँगै प्रविधिका अन्य विभिन्न विषयमा अमेरिका-चीन एकअर्काको आमने-सामने र एक किसिमको व्यापार युद्धमा छन् । टिकटकमाथिको अहिलेको रबैयाका कारण थप तनाव उत्पन्न हुनसक्ने चीनको प्रतिक्रिया छ । 'यो अमेरिकाको धम्कीपूर्ण कदम हो र यस्तो व्यवहार अमेरिकाकै लागि प्रत्युत्पादक हुनसक्छ,' चीनको विदेश मन्त्रालयले भनेको छ, 'अमेरिकाले यतिका समय प्रयास गरेर टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने कुनै पक्ष नभेट्दा पनि शत्रुतापूर्ण व्यवहार गर्न छोडेन ।' विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिन भन्छन, 'खुला प्रतिस्पर्धामा आफूले जित्न नसकेका क्षेत्रमा धम्कीपूर्ण व्यवहार गर्ने अमेरिकाको चलन नै हो, यस्तो व्यवहारले बजार र लगानीकर्ताको मनोभावनामा असर गर्नुका साथै विश्वव्यापी वित्तीय व्यवस्थामै क्षति गर्नसक्छ ।'

चीनले खुला बजार प्रतिस्पर्धाको हवाला दिने गरे पनि आफ्नो देशमा भने अमेरिका र अन्य देशका चर्चित एपहरूलाई प्रतिबन्ध लगाउने गरेको छ । चीनमा गुगल, युट्युब, एक्स (ट्वीटर), इन्स्टाग्राम, फेसबुकलगायत एपको प्रयोगमा प्रतिबन्ध छ । गुगलले सन् २०१० मै चीनको मुख्य भूमिमा आफ्नो सेवा बन्द गरेको थियो । चीन सरकारको प्रयोगकर्ताहरूका बारेमा तथ्यांक उपलब्ध गराउनुपर्ने कठोर शर्तका कारण कम्पनीहरूले चीनमा बजार छोडेको र हाल टिकटकले पनि झन्डै १७ करोड अमेरिकीहरूको व्यक्तिगत तथ्यांक चीन सरकारलाई बुझाउनसक्ने भयका कारण अमेरिका सो एपमा कठोर बन्दै आएको छ ।

साइवर सुरक्षा विज्ञहरूले चाहिँ सो किसिमको जोखिम हालसम्म शंकामै सीमित रहेको बताउँदै आएका छन् । तथापि, कम उमेरका प्रयोगकर्तामाझ अत्यन्तै लोकप्रिय टिकटकको सम्बन्धमा चीन सरकार आफैंले सुरु गरेको प्रतिबन्धजस्ता खराब अभ्यासको सिकार बनेको सीएनएनको निष्कर्ष छ । टिकटक प्रतिबन्ध लगाउने विषयको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रयोगकर्ताहरूले प्रदर्शनी गरेका छन् ।

बाइटडान्सले बुधबार नै जारी गरेको विज्ञप्तिमार्फत सांसदहरूले अमेरिकी अर्थतन्त्र, त्यहाँका ७० लाख व्यवसाय र १७ करोड प्रयोगकर्तामाझ टिकटकले पुर्‍याएको सकारात्मक प्रभावको मूल्यांकन गर्नेछन् भन्ने विश्वास रहेको जनाएको छ । युवामाझ चर्चित रहेका टिकटकका प्रमुख कार्यकारी अधिकृत सोउ जी चीउलाई बाइटडान्सले अमेरिकी संसद् क्यापिटल हिलमा पठाउनुका साथै सम्भावित प्रतिबन्धबारे प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरहरूलाई अवगत गराउने जिम्मासमेत दिएको छ । उनले एक्समा सेयर गरेको भिडियोमार्फत अमेरिकी कन्टेन्ट क्रिएटरहरूलाई प्रतिबन्धविरुद्ध सांंसदहरूलाई घच्चघच्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...
: थाइल्यान्ड (थाई) अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राविरुद्ध लगाइएको शाही अपमान र देशद्रोहको आरोप खारेज गरेको छ। यो आरोप २०१५ मा निर्वासनमा रहँदा थाक्सिनले दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तासँग सम्बन्धित छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुने थियो। अन्तर्वार्तामा उनले थाइल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसहित ʻइजरायललाई स्वीकार्यʼ सर्तमा गाजा युद्ध अन्त्यका लागि वार्ताको निर्देशन दिएका छन्। नेतान्याहूले इजरायली सेनालाई बताएअनुसार मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र घरेलु विरोधका बाबजुद गाजा शहरको उत्तरी भागमा ठुलो आक्रमणको योजनालाई अनुमोदन गरेको छ। कतार र इजिप्टका मध्यस्थकर्ताले तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा हमास सोमबार सहमत भएको छ। कतारका अनुसार ...
: श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथिको यो आरोप राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको त्यहाँको प्रहरीले जनाएको छ। सन् २०२३ मा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभाबाट फर्कने क्रममा उनी सरकारी खर्चमा व्यक्तिगत कामका लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ। उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट ...
— अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो । यसअघि २००७ मा अवैध आप्रवासीको संख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ । पछिल्लो ...