मुख्य समाचार
छिमेकीले आफ्नो हित अनुभूत गर्ने सहकार्य चाहन्छौं : जयशंकर
छिमेकीले आफ्नो हित अनुभूत गर्ने सहकार्य चाहन्छौं : जयशंकर

— भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसहितका छिमेकीसँग भारतले स्थायी सहकार्य चाहेको र त्यसैअनुसारको रणनीतिका साथ काम गरिरहेको बताएका छन् । त्यस्तो सहकार्यबाट छिमेकीले आफ्नो हित अनुभूत गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

इन्डिया टुडे ग्रुपको युट्युब च्यानल लल्लन टपलाई दिएको अन्तर्वार्तामा उनले नेपालसहित छिमेकीसँगको सम्बन्धमा स्थायी सहकार्यलाई जोड दिएका हुन् ।


नेपालसँग सम्बन्धमा भइरहेको उतार–चढावबारे सोधिएको प्रश्नमा जयशंकरले भने– ‘नेपाल, माल्दिभ्स वा अरू छिमेकी सम्बन्धमा केही तलमाथि भएको देखिन्छ । त्यहाँको आन्तरिक राजनीति पनि त्यसको कारण हो । गठबन्धनको संस्कृतिमा आज यो, भोलि त्यो पनि भइरहन्छ । त्यही बीचमा कसैले भारतबारेमा टिप्पणी गर्न सक्छन् । त्यहाँ कसरी राजनीति भइरहेको छ, त्यसमै निर्भर हुने कुरा हो ।’

उनले राजनीतिभन्दा बाहिर गएर सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । ‘हामी स्थायी सहकार्य गर्न चाहन्छौं भन्नुको अर्थ विद्युत् प्रसारण लाइन, सडक, वाटरवेज, रेल लाइन बनाऔं, यस्तो सहकार्य जुन राजनीतिक परिवर्तनले पनि नफेरियोस्,’ उनले भनेका छन्, ‘त्यस्तो सहकार्य गर्दा छिमेकीलाई लाग्नुपर्छ, यसबाट हामीलाई हित भएको छ ।’ पत्रकार सौरभ द्विवेदीको ‘भारतमाथि निर्भरता बढाइनुपर्छ भन्न खोज्नुभएको हो ?’ भन्ने प्रश्नमा जयशंकरले भने, ‘होइन सहकार्य गर्ने भनेको हो, जसको लाभ छिमेकीले पाएको महसुस गरोस् । भारतले मात्र गरिरहेको छ, त्यस्तो मात्रै सन्देश जान हुँदैन ।’

नेपालले पहिलो पटक भारतलाई बिजुली बेचिरहेको र त्यसबाट आयआर्जनसमेत गरेको विषयलाई जयंशकरले विशेष जोड दिए । प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी नीतिको पहिलो निचोड नै स्थायी सहकार्य रहेको उनले सुनाए । काठमाडौं वा कोलम्बोमा बसेर त्यहाँका नागरिकले भारतलाई आफ्नो बजारका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए ।

‘भारत हाम्रो बजार हो, ऊर्जाको ग्राहक हो, त्यहाँबाट पर्यटक आउँछन्, मालसामान आउँछ, उपचारका लागि बिरामी भारत आउँछन्,’ उनले भने, ‘उनीहरूले भारतबाट पाइरहेको लाभलाई हेर्न सक्नुपर्छ । जब उनीहरूले आफ्नो लाभ हेर्न थाल्छन् । त्यसबेला भारतलाई लिएर कायम असुरक्षाको भावना हटेर जानेछ ।’

उनले नेपालमा राजनीतिक समीकरण फेरिएको सन्दर्भमा आफूलाई केही पूर्वाभास रहेको संकेत दिएका छन् । अघिल्लो सत्ता गठबन्धनभित्र केही समस्या रहेको थाहा पाएको उनले बताए । ‘प्रचण्डजीसँग जनवरीमा मेरो युगान्डामा भेट भएको थियो । हामीले त्यो बेला कुरा गरेका थियौं । त्यतिबेला नै गठबन्धनमा केही समस्या रहेको आभास भएको थियो । त्यसपछि पनि हामी सम्पर्कमै थियौं’ उनले भने, ‘छिमेकमा हाम्रा अब्बल राजदूतहरू छन् । घटनाक्रमलाई नजिकबाट अवलोकन गर्नुहुन्छ । कतिपयले आफैं पनि हामीसँग सेयर पनि गर्नुहुन्छ ।’

युगान्डाको भेटमा चीनतर्फबाट गठबन्धन तोड्न दबाब आएको प्रचण्डले केही सुनाएको हो ? भन्ने प्रश्नमा जयशंकरले ‘होइन, त्यो कुरा छाड्नुस’ भन्दै पन्छिए । उनले नयाँ गठबन्धनबाट सरकार बनेको र आफूहरू यो सरकारसँग काम गर्न तयार रहेको बताए । उनले नेपालको नयाँ विदेशमन्त्रीलाई बधाई दिएकोसमेत उल्लेख गरे । सत्ता समीकरणको फेरबदल राजनीतिमा सामान्य रहेको र गठबन्धनको राजनीतिमा अझ बढी हुने उनको भनाइ थियो ।

२०१५ मा संविधान जारी हुने बेला परिस्थिति, नाकाबन्दी र सीमा विवाद लगायतका सन्दर्भमा पनि जयशंकरले आफ्नो भनाइ राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बैठकमा लिखित दस्ताबेजमै जयशंकरले नेपाली राजनीतिक पार्टीलाई संविधान निर्माणका सन्दर्भमा आफूबाट ‘धम्की’ दिएको चर्चा गलत भएको दाबी गरे ।

‘के लाग्छ ? म कसैलाई धम्क्याउन सक्छु ?’ जयशंकरको जवाफ थियो । उनले संविधानको सन्दर्भमा भारतबाट कुनै पनि विषयमा सुझाव नभएको बताए । ‘मधेशमा जुन बन्द र रोकावट भएको थियो, त्यो नेपालतर्फबाटै भएको थियो । हाम्रोतिर थिएन,’ उनले भनेका छन्, ‘उनीहरूले आफ्नैतर्फ गम्भीर परिस्थितिको राजनीति सिर्जना गरेका थिए ।’ त्यतिबेला आफू नेपाल जानुको उद्देश्य परिस्थिति थप खराब हुन नदिन आग्रह गर्नु मात्र रहेको बताए । ‘हामीले कहिल्यै पनि यो गर्नुस्, त्यो गर्नुस् भनेर प्रेस्क्रिप्सन दिएनौं, मेरो जानुको उद्देश्य परिस्थिति थप खराब हुनुपूर्व केबल सोच्नुहोस् भन्ने मात्रै थियो,’ जयशंकरले भने, ‘मधेशमा खराब स्थिति थियो, तनाव कम गर्नुस् । परिस्थिति थप बिग्रन नदिनुस् भन्ने मात्र थियो ।’

सीमा विवादका सन्दर्भमा नेपालले गरेको संविधान संशोधनप्रति भने उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि व्यक्त गरे । सीमा विवादका सन्दर्भमा सोधिएको प्रश्नमा उनले केही क्षेत्रमा ‘विवाद’ रहेको र त्यो लुकाउने कुरासमेत नभएको बताए । उनले विदेश सचिवस्तरमा त्यस विषयमा छलफल चलिरहेको स्मरण गराए । ‘कुनै विवाद छ र हामी बसेर कुरा गरिरहेका छौं भने त्यो बेला मेरो यो अपेक्षा हुँदैन कि ती कुराहरू बाहिर जाओस्, जसले परिस्थितिलाई भड्काउन सक्छ,’ उनले भने । नेपाल र भारतबीचको खुला सीमा पूरै दुनियाँमा एउटा विश्वासको नमुना रहेकोसमेत उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...