६२ वर्षीय श्रेथा थाभिसिन पेशाले घरजग्गा कारोबारी हुन् । व्यापारिक पृष्ठभूमिका थाभिसिनले व्यापारबाटै थाइल्याण्डको अर्थतन्त्र सुधार्न खोजेका छन् ।
प्रधानमन्त्री बनेयता उनले वैदेशिक लगानी भित्र्याउनका लागि १० वटा भ्रमण गरिसकेका छन् । थाइल्याण्डको अर्थतन्त्र उकास्ने गरी लगानी भित्र्याउन उनी चीन, जापान, अमेरिका, स्वीजरल्याण्ड आदि देशमा भएको विश्व आर्थिक मञ्चमा पुगिसके ।
प्रधानमन्त्री कार्यालयको भित्तामा उनले सेतो पाटी राखेका छन् । जसमा विद्युतीय भुक्तानी, राष्ट्रिय हवाइ केन्द्र, पोटास खानी, विद्युतीय गाडी टेस्लाबारेका केरमेट योजना छन् । सेतो पाटीमा कोरिएका योजनालाई सार्थक बनाउन र वैदेशिक लगानी भित्र्याउन उनको दौडधुप छ । गत नोभेम्बरमा मात्रै अमेजन, गुगल र माइक्रोसफ्टले थाइल्याण्डमा कुल ८.३ अर्ब डलर लगानी गरिसकेका छन् ।
बिक्रेता पृष्ठभूमिका थाभिसिनप्रति देशभित्र देखिएको अद्भुत आकर्षणले यो सम्भव भएको हो । उनले टाइमसँग भनेका छन्, ‘व्यापारका लागि थाइल्याण्ड खुला छ भन्ने सन्देश म विश्वलाई प्रवाह गर्न चाहन्छु ।’
दुई दशकसम्म मुलुकमा सैन्य सत्ता हुँदा थाभिसिनसँगै थाइल्याण्डकै आर्थिक अवस्था डामाडोल भयो । कुनै समय दक्षिणपूर्वी एशियाली मुलुकमध्ये दोस्रो ठूलो अर्थतन्त्र रहेको थाइल्याण्डको अर्थतन्त्र खुम्चिँदै गयो । सन् २०१८ सम्म आइपुग्दा १ प्रतिशत मानिसको हातमा ६६.९ प्रतिशत सम्पत्ति थियो । यो असमानता र सैन्य सत्ताको ज्यादतीविरुद्ध युवाहरुले ठूलो आन्दोलनको सुरुवात गरेका थिए ।
दुई दशकयता हेर्ने हो भने ७ करोड जनसंख्या रहेको थाइल्याण्डको कुल ग्रार्हस्थ्य उत्पादन(जिडिपी) औसतमा २ प्रतिशत मात्र छ । छिमेकी मुलुक फिलिपिन्स, इन्डोनेसिया, भियतनामले भने थाइल्याण्डको तुलनामा करिब तेब्बरले जिडिपी बढाएका छन् । मुख्यतया पर्यटनमा आश्रित थाइल्याण्डको अर्थतन्त्र सन् २०१९ को कोरोना महामारीपछि थप बिथोलियो । ‘महामारीपछिको आर्थिक सुधारमा थाइल्याण्ड निकै पछि परेको छ । एशियाली मुलुकहरुसँग तुलना गर्दा थाइल्याण्ड निकै खराब स्थितिमा छ’, अर्थविद् ग्यारेद लेदरले टाइमसँग भनेका छन् ।
मुलुकको अर्थतन्त्रको जटिल चित्र प्रधानमन्त्री श्रेथाले स्वीकार गरेका छन् । आर्थिक संकटबाट गुज्रिरहेको मुलुकलाई तंग्र्याउन लागि परेको उनको भनाइ छ । यसका निम्ति उनले केही कदम समेत चालेका छन् । कृषकहरुलाई इन्धन शुल्कमा छुट, संकटमा रहेका कृषकहरुलाई तीन वर्षसम्म ऋणमा छुट र युवालाई विद्युतीय भुक्तानीमार्फत २८० डलर दिने योजना अघि सारेका छन् ।
यस्तै, उनले कतिपय मुलुकका लागि भिषा लिन नपर्ने नीति लिएका छन् । अहिलेका निम्ति चीन र भारतका लागि लागु गरिएको यो नीति विस्तारै अन्य मुलुकका लागि पनि थप्ने उनको योजना छ । पर्यटनका अलावा स्वास्थ्य सेवा र आर्थिक हबका रुपमा थाइल्याण्डलाई अघि बढाउने उनको योजना छ ।
विश्वमाझ थाइल्याण्डको चिनारी बढाउनका निम्ति पनि उनी उत्तिकै सक्रिय छन् । जनवरीमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई स्वागत गरेका थिए । यस्तै चिनियाँ विदेशमन्त्रीलाई समेत आमन्त्रण गर्दै उनले छलफल गरेका थिए ।
अमेरिकासँग पुरानो सहकार्य र चीनसँग सांस्कृतिक सम्बन्ध रहेको थाइल्याण्ड प्रतिद्वन्द्वी मुलुकबीचको सम्बन्ध सुधारमा पुल हुनसक्ने उनको विश्वास छ । ‘अन्तर्राष्ट्रिय जगतमा थाइल्याण्ड चम्किएको हेर्नुछ’, उनी भन्छन् ।
उनको चाहनाका बीच अगाडिको बाटोमा केही जटिलता पनि छन् । गत मेमा भएको आम निर्वाचनमा उनको पिउ थाइ पार्टीले बहुमत ल्याउन सकेन । उनको दल दोस्रो भयो । बहुमत ल्याएको मुभ फर्वाड दललाई सिनेटमा रोक्दा श्रेथाले सत्ता सुरक्षित गर्नसके ।
विरोधाभासपूर्ण कुरा के छ भने जसले मुलुकको अर्थतन्त्र तहनहस बनायो उनीहरुसँगै सहकार्य गरेर श्रेथा अर्थतन्त्र सुधारमा लागेका छन् । आफूलाई प्रमाणित गरेरै छोड्नुपर्ने दबाबमा उनी छन् । ‘चुनावमा दोस्रो हुँदा मैले रत्तिभर पनि दबाब महसुस गरिन । थाइ जनताको जीवनस्तर सुधार र मुलुकको अर्थतन्त्र सुधारका विषयले म हरेक दिन दबाबमा हुन्छु’, उनी भन्छन् ।
कतिपय थाइहरु श्रेथाको राजनीति उकालो लागिरहेको देख्छन् । निर्माण कम्पनी सानसिरीका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेथा सन् २०२२ मा पिउ थाइ पार्टीमा आवद्ध भए । प्रधानमन्त्री हुनुअघिसम्म उनी कुनैपनि सार्वजनिक पदमा थिएनन् । बैंककको प्रतिष्ठित विश्वविद्यालय चुलङकोर्नबाट सिभिल इन्जिनियरिङ गरेका उनले म्यासाचुसेट्सबाट अर्थतन्त्रको अध्ययन गरे । उनलाई निड भनेर चिन्नेहरु पनि छन् । थाइ भाषामा यसको अर्थ छोटो पनि हो । ६ फिट ३ इन्चका श्रेथालाई नजिकबाट चिन्नेहरु भन्छन्, उनी गतिशील र रिसाहा स्वभावका छन् ।
भीडबाट अलग रहुनु उनको स्वभाव हो । थाइल्याण्डको इतिहासमा उनी दोस्रो प्रधानमन्त्री हुन् जसले आफ्नो कार्यालयमै शयन कक्ष राखेका छन् । बैंककका गल्लीहरुबाट यात्रा गरेर सर्वसाधारणलाई बाधा पुर्याउनुभन्दा उनी त्यहीँ बसेर काममा केन्द्रित हुन चाहन्छन् । ‘कार्यालयमै शयन कक्ष राख्नुको फाइदा धेरै छ । सबेरैको बैठक होस् वा मध्यरातको म यहीँ गर्नसक्छु । अर्कोतर्फ ट्राफिक अस्तव्यस्त बनाएर भीआईपी सवारी गर्दै अरुलाई बाधा पुर्याउन मेरो रुची छैन’, उनी भन्छन् ।
श्रेथाको डेस्कमा कुनै कागज छैन । उनको साथमा हमेसा ३६ वर्षअघि जर्मनीमा खरिद गरेको ब्याग ब्रिफकेस हुन्छ । कागजरहित डेस्कबारेको जिज्ञासामा उनी भन्छन्, ‘यो डेस्क मैले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको फोन संवादमा मात्रै प्रयोग गरेको छु ।’
सरकार सञ्चालनमा समेत श्रेथाको कर्पोरेट गतिशीलता झल्किन्छ । मन्त्रिपरिषद बैठकमा समेत यस्तै भाव आउने मन्त्रीहरु बताउँछन् । अक्टोबर ७ मा इजरायलमा हमासले हमला गर्दा ३९ जना थाइ नागरिक मारिए भने ३२ जना बन्धक भए । उनको सरकारले सबै बन्धकहरु रिहा गर्न पहल गर्यो ।
सबैभन्दा पहिले थाइ ८ जना बन्धक रिहा गर्न उनको सरकार सफल भएको थियो । ‘मलाइ बन्धकको भन्दा पनि मृत्यु भएका थाइ नागरिकको संख्याले सताएको थियो । सुरुमा ८ जना मारिएको खबर आयो त्यसपछि विस्तारै संख्या बढ्दै गयो । कहाँ पुगेर यो संख्या रोकिन्छ भन्ने तनाव थियो’, उनी भन्छन् ।
त्यसयता, मुलुकलाई गतिशील बनाउनका निम्ति उनको ध्यान केन्द्रित छ । प्रधानमन्त्री रहेका श्रेथाले अर्थ मन्त्रालय पनि सम्हालिरहेका छन् । थाइल्याण्डले अझैपनि राष्ट्रिय बजेट पास गरेको छैन । निर्वाचनपछिको वातावरणले उनलाई काम गर्न अलि कठिन भएको छ । विद्युतीय भुक्तानीमार्फत युवालाई २८० डलर दिने योजनामा केन्द्रीय बैंकले सहमति दिएको छैन । १५ अर्ब डलर राष्ट्रिय ढुकुटीबाट एकैपटक बाँड्दा मन्दी बढ्ने केन्द्रीय बैंकको भनाइ छ ।
‘म प्रमुख कार्यकारी अधिकृत हुँदा कम्पनीमा सीमित शक्ति ममा हुन्थ्यो । तर त्यो सीईओमा भन्दा कम शक्ति प्रधानमन्त्रीको हुन्छ भन्ने महसुस गर्दा म छक्क परिरहेछु’, उनले भने ।
पिउ थाइको राजनीतिमा अर्को बादल पनि मडारिरहेको छ । अर्बपति थाक्सिन सिनावात्राको घरफिर्ती र सैन्य सत्तासँगको सहमतिले पार्टीभित्रै असन्तुष्टि छ । सिनावात्राको स्वदेश फिर्तीपछि सैन्य सत्तासँगको सम्झौताको विरोध गर्दै समर्थकहरुले सिनावात्राको पुत्ला समेत जलाए । सिनावात्राका समर्थक रहेका सांसद वेङ तोजिकङले भनेका छन्, ‘पिउ थाइले जनतालाई धोका दियो ।’
सैन्य सत्तालाई घुँडा टेकाउँदै मुलुकको राजनीति सुधार गर्ने प्रतिवद्धतामा धोका भएको धेरै समर्थकको बुझाइ छ । श्रेथाले सुधारका अवधारणा अघि सारेपनि उनी सिनावात्राको कठपुतलीभन्दा माथि उठ्न नसक्ने आरोप कतिपयको छ ।
‘श्रेथालाई चलाउने रिमोट सिनावात्राकै हातमा छ । उनकै इसारामा श्रेथा अघि बढ्नेछन्’, भ्रष्टाचार विरुद्धका अभियन्ता चोइत क्याम्लोभिचले भनेका छन् ।
यो आरोपप्रति केही आक्रोशित हुँदै श्रेथाले स्वीकारे, ‘हो म नियन्त्रणमै छु ।’
आफू नियन्त्रणमा रहेको विषयमा उनी जति स्पष्ट छन् आफ्ना एजेण्डा र ध्यानबारे पनि उत्तिकै स्पष्ट छन् । वैदेशिक लगानी, व्यापार अभिवृद्धि गरेर उनी अर्थतन्त्र सुधारमा दृढतापूर्वक अघि बढेका छन् । उनको यो आकांक्षाले थाइ मूल्य मान्यतामा समेत असर परेको आरोप कतिपयले लगाएका छन् ।
थाइल्याण्डमा सुधारवादी नीतितर्फ पनि उनले काम गरिरहेका छन् । समलिंगी विवाह तथा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको अधिकारको सवालमा उनले काम गरिरहेछन् । यसका निम्ति कानुन बनाउन उनको ध्यान केन्द्रित छ । यो कानुन पारित भएमा पर्यटनमा अर्को आयाम थपिने र ‘पिंक डलर’ आर्जन हुने विश्वास उनको छ ।
आर्जनमा ध्यान दिएका श्रेथाले मानवअधिकारमा भने ध्यान नदिएको आरोप लाग्ने गरेको छ । सन् २०२० र ०२१ मा राजनीतिक आन्दोलनमा सहभागी दुई हजार जना युवाले अझैपनि मुद्दा खेपिरहेका छन् । २ सय भन्दा बढी युवा अन्य मुद्दामा पक्राउ परेका छन् र उनीहरुलाई रिहा हुनुपर्ने माग भइरहेको छ । श्रेथा भन्छन्, ‘निष्पक्ष न्यायका निम्ति प्रक्रियागत सुनुवाई पनि जरुरी हुन्छ । निष्पक्ष न्यायको माग गर्नेहरुले सुनुवाइको अधिकारबारे पनि बुझ्नुपर्छ ।’
विदेश नीतिमा पनि उनी आक्रामक रुपले अघि बढिरहेका छन् । अक्टोबरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट गरे । उनीसँगको भेटपछि ३ अर्ब डलर चिनियाँ लगानी सुनिश्चित गरे । सीबारे उनको दृष्टिकोण छ, ‘विश्व नेता बन्ने खालको छवि छ उनको । उनी सबैसँगै समस्यारहित व्यापार गर्न चाहन्छन् । सी युद्धको पक्षमा छैनन् ।’
अक्टोबरमै उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरे । रुस र पुटिनबारेको दृष्टिकोणका सन्दर्भमा श्रेथाले भने, ‘रुस र पुटिनलाई हेर्ने हाम्रो दृष्टिकोण फरक छ । हामी कसैको आँखाबाट पुटिन वा रुसलाई हेर्दैनौँ ।’
रुसको राहदानी बाहकलाई थाइल्याण्डमा ९० दिनसम्म भिसा शुल्क लाग्दैन । अमेरिकी भन्दा तीन गुणा समय उनीहरुले विना शुल्क त्यहाँ बिताउन पाउने भएका छन् । कम्तीमा वर्षमा १० लाख रुसी पर्यटक थाइल्याण्ड भित्र्याउने लक्ष्य उनले राखेका छन् । रोबर्टसनले भनेका छन्, ‘पर्यटक भित्र्याउँदै व्यापार बढाउने सवालमा श्रेथाले कुनै कसर बाँकी राख्ने छैनन् ।’
थाइल्याण्डमा लगानी भित्र्याउन दौडाहामा रहेका श्रेथाका लागि केही चुनौती पनि छन् । त्यहाँको अर्थतन्त्र केही व्यापारिक घरानामा सीमित छ भन्ने विषयमा प्राय जानकार छन् । दुई परिवारले त्यहाँको ८ अर्ब डलर बराबरको बजार कब्जा गरेका छन् । सरकार निकट व्यापारिक घरानालाई भन्सारमा समेत विशेष ग्राह्यता छ । एयरपोर्टको ड्युटी फ्री इलाकामा एकै परिवारको कब्जा छ ।
‘अन्तर्राष्ट्रिय कम्पनीहरु थाइल्याण्डको टेलिकम, रिटेल र पेय क्षेत्रमा लगानी गर्न इच्छुक छन् । तर ती क्षेत्र केही परिवारको कब्जामा पहिल्यैदेखि छ’, थाइल्याण्डबारे जानकार प्राध्यापक डनकन एमकर्गोले टाइमसँग भनेका छन् ।
पिउ थाइको घोषणापत्रमा व्यापारिक घरानाको शक्ति कटौती गर्ने प्रतिवद्धता थियो । तर त्यसविपरीत प्रधानमन्त्री श्रेथा व्यापारिक घरानाका भोजमा सहभागी भएको तस्वीर सार्वजनिक भएसँगै उनको आलोचना भएको थियो ।
श्रेथा स्थानीय तथा विश्वस्तरका व्यापारिक घराना दुबैका लागि थाइल्याण्ड खुला रहेको मत राख्छन् । ‘थाइल्याण्डमा हाल जमिरहेका व्यापारिक घराना र विश्व व्यापारका घराना दुबैका लागि लगानी गर्न थाइल्याण्ड उपयुक्त छ । यथास्थितिको विरोध गरेर मात्रै समस्याको हल हुँदैन’, उनले भनेका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट सिधै मुलुकको कार्यकारी बन्न पुगेका श्रेथा भन्छन्, ‘कम्पनीको कार्यकारीबाट मुलुकको कार्यकारी हुँदासम्म धेरै कुरा सिकेँ । बोर्ड रुमझैँ यहाँ पनि शक्तिको समान बाँडफाँट नहुने रैछ । यद्यपि मुलुकको अर्थतन्त्र सुधार गरेरै छोड्नुपर्नेछ । व्यापारमा हुँदा कम्पनीलाई मुनाफामा लगेझैँ प्रधानमन्त्रीका रुपमा थाइ अर्थतन्त्रलाई मजबुद बनाउने दायित्व पूरा गर्नैपर्नेछ’, उनले कुराकानी टुंग्याए ।
टाइम म्यागेजिनबाट अनुवाद गरिएको