मुख्य समाचार
विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन
विदेशबाट फर्केर सूर्यमुखी फूल खेतीमा तल्लीन

। चितवन कालिका नगरपालिका र रत्ननगर नगरपालिका सीमामा अहिले सूर्यमुखी फूल ढकमक्क फुलेको छ । पाँच हेक्टर जग्गामा चार जना मिलेर गरेको यो खेतीमा अहिले सूर्यमुखी फूलको दाना लाग्ने बेला भएको छ ।

फूल हेर्न चितवन आसपासका मानिस अहिले खेतमै पुगेर मनोरम दृश्य हेरिरहेका छन् । नेपालमा खासै सुरु नभएको सूर्यमुखी फूलको व्यावसायिक खेती लगाउने चितवनका सञ्जीव गिरी हुन् ।



इजरायलको कृषि क्षेत्रमा काम गरेर आएका गिरी तीन वर्षदेखि व्यावसायिक खेती गरिरहेका छन् । उनले अन्य तीन साथीसँग मिलेर व्यावसायिक सूर्यमुखी फूल खेती पहिलोचोटि गरेका हुन् ।

गिरीले एक बिघाभन्दा धेरै जमिनमा तरकारी खेती लगाएका छन् । आगामी साता १० कठ्ठा जमिनमा मेवा रोप्ने योजना पनि गिरीको छ ।




‘पाँच हेक्टरमा हामी चार जना मिलेर सूर्यमुखी फूल खेती सुरु गरेका छौं । अघिल्लो पटक दुई जनाले भरतपुर महानगरपालिकामा लगाएका थिए,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले मसहित दुई जना मिलेर कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको बोर्डरमा लगाएका हौं । जग्गाबाहेक ७ लाख रुपैयाँ लगानी गरेका छौं । पाँच महिनामा प्रतिफल सहित नाफा निकाल्ने हाम्रो योजना छ ।’

गिरीले बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र चितवनले तेलहन खेतीमा ५० प्रतिशत अनुदान दिने थाहा पाएपछि खेती गर्न आँट आएको बताए ।

‘अनुदानमा तोरी र सूर्यमुखी लगाउन पाइने थियो, हामीले सूर्यमुखी खेती गर्‍यौं । नयाँ भएकाले पहिलो पटक थोरै लगानी गरेका हौं,’ उनले भने ।

एक किलो दाना उत्पादन गर्न सके आधा लिटर तेल निकाल्न सकिने उनले बताए । ‘हामीले ६ हजार किलो सूर्यमुखी फूलको दाना निकाल्ने अनुमान गरेका छौं । यहाँबाट ३ हजार लिटर तेल उत्पादन हुन सक्छ,’ उनले भने ।



के हो चुनौती ?

किसान गिरीका अनुसार रोपेको पाँच महिनाभित्र पूरै प्रतिफल दिने भए पनि उचित हेरचाह हुनुपर्ने बताए । उनले खेतीका लागि पानी जम्न दिन नहुने बताए ।

‘सूर्यमुखी फूलमा रोग किरा त्यति लाग्दैन, केही गरी लागिहाले निमको तेल र झोल मल प्रयोग गरे हट्छ । फूलमा दाना लाग्न थालेपछि भने सुगा एकदम नै लाग्छ,’ गिरीले भने, ‘सूर्यमुखीको दाना सुगालाई एकदमै मनपर्ने खाना पनि हो । यति जोगाउन सके खासै खेर जाँदैन ।’

उनका अनुसार सूर्यमुखी खेती गर्न राम्रोसँग जोतेर प्रांगारिक मल हालेपछि मकै जसरी नै रोप्नुपर्छ । यो फूलमा प्रशस्त मात्रामा प्रांगारिक मल प्रयोग गर्नुपर्ने हुन्छ । खेती सुरु गर्नु अगाडि खेतलाई राम्ररी जोत्नुपर्छ । माटो एकदम धुलो बनाउनुपर्छ ।

यो खेतीको लागि सुरुदेखि नै जमिन चिस्यान भइरहनुपर्ने उनको भनाइ छ । ‘सुक्खा लाग्ने अवस्थामा सिँचाइको व्यवस्था मिलाउनुपर्छ । यसको तेल निकाल्न तोरी पेल्ने मेसिन प्रयोग गर्दा पनि हुन्छ,’ उनले भने ।



के छ बजार ?

किसान गिरीका अनुसार सूर्यमुखी तेल प्रयोग गर्ने नेपालमा धेरै उपभोक्ता भए पनि आफ्नै उत्पादन भने कम हुने गरेको छ ।

‘आजभन्दा पहिले नेपालमा व्यावसायिक तरिकाले उत्पादन नभएका कारण स्थानीय समुदायमा यसको तेलबारे व्यापक प्रचार भए बजार राम्रो हुने थियो,’ उनले भने, ‘तेलसँगै सूर्यमुखीको दानाबाट पिना पनि निकाल्न सकिन्छ । पिनाको प्रयोग गाइभैंसीको दाना बनाउन पनि सकिन्छ । बहुउपयोगी हुन्छ ।’

गिरीले भनेजस्तै नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ फागुन मसान्तसम्म ११ अर्ब ९१ करोड रुपैयाँ बराबरको ८ करोड ८५ लाख ९५ हजार लिटर सूर्यमुखी तेल आयात भएको छ ।

चितवनमा जस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि सूर्यमुखी फूल खेती पहिलोचोटि भएको छ । मकवानपुरगढी गाउँपालिका–३ को धमिले फाँटमा किसान गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा सूर्यमुखी लगाएका हुन् । गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीका अनुसार परीक्षणको रूपमा लगाएको खेतीमा केही दिनदेखि चलेको हावाले भने असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ । पर्यटनसम्बन्धी कानुन संशोधन ...
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...