मुख्य समाचार
केजरीवाल पक्राउबारे प्रतिपक्षी दलः मोदीले लोकतन्त्र मृत बनाउन खोजे
केजरीवाल पक्राउबारे प्रतिपक्षी दलः मोदीले लोकतन्त्र मृत बनाउन खोजे

लोकसभा निर्वाचनको सम्मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीपछि भारतमा प्रतिपक्षी दलहरूमाझ आक्रोश पैदा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीलाई निषेध गर्न खोजेर लोकतन्त्रलाई मृततुल्य बनाउन खोजेको भन्दै प्रतिपक्षी दलहरू आक्रोशित भएका हुन् ।

वित्तीय अपराध सम्बन्धमा अनुसन्धानका लागि भन्दै केजरीवाललाई बिहीबार साँझ पक्राउ गरिएको थियो । यो पक्राउको चर्को विरोधसँगै प्रतिपक्षी दलहरूले प्रधानमन्त्री मोदीविरुद्ध संघर्ष सुरु गर्नेसम्म बताएका छन् ।




बिहीबार बिहान मात्रै प्रमुख प्रतिपक्षी कंग्रेसले लोकसभाको सम्मुखमा आफ्नो दलको खाता सरकारले बन्द गरिदिएको बताएको थियो । प्रतिपक्षीहरूमाथि निरन्तर प्रहारको आरोप खेपिरहेको भाजपा सरकारले बिहीबार साँझै केजरीवाललाई गिरफ्तार गर्‍यो ।

केजरीवालको गिरफ्तारीपछि दिल्लीमा अप्रत्यासित संवैधानिक संकटसमेत निम्तिएको छ । बहालवाला मुख्यमन्त्री गिरफ्तार भएसँगै त्यहाँ संवैधानिक संकट निम्तिएको हो । आम आदमी पार्टीले भनेको छ–‘हामी सरकार छोड्ने छैनौं बरु जेलबाटै सरकार चलाउने छौं ।’




भारतीय प्रवर्द्धन निर्देशनालय ईडीले मदिरा नीति कार्यान्वयन सम्बन्धमा घोटाला गरेको भन्दै सन् २०२२ देखि केजरीवालमाथि अनुसन्धान गरिरहेको थियो । आर्थिक घोटाला गर्दै निजी बिक्रेताहरूलाई लाभ हुनेगरी नीति बनाएको सम्बन्धमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।

गिरफ्तारअघि ईडीले केजरीवाललाई बयानका निम्ति ९ पटक बोलाएको थियो । मुख्यमन्त्री रहेका केजरीवालले बयानमा जान अस्वीकार गरेका थिए । उनीसँगै आम आदमीका उच्चपदस्थ नेतृत्व जेल पुगेका छन् । त्यसमा पूर्वउपमुख्यमन्त्री मनीष सिसोडिया र पूर्वमन्त्रीद्वय सत्यन्द्र जैन र सन्जय सिंह रहेका छन् । उच्च नेताहरूको गिरफ्तारीसँगै दिल्ली र पन्जाबमा नेतृत्व गरिरहेको दल संकटमा परेको छ ।

आम आदमी पार्टीले सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेताहरू गिरफ्तार गरेको बताएको छ । ‘प्रधानमन्त्रीको मनमा जे लाग्छ, त्यही गर्छन् । यो सरकारले दुई जना मुख्यमन्त्रीलाई गिरफ्तार गरेको छ । अरु मुख्यमन्त्री पनि गिरफ्तार हुनसक्छन्’, दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले वक्तव्यमा भनेका छन् ।

गत महिना मोदी सरकारले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई गिरफ्तार गरेको थियो । झारखण्ड मुक्ति मोर्चा पनि भाजपा विरोधी गठबन्धनमा आबद्ध रहेको दल हो । लोकसभा निर्वाचनको सम्मुखमा प्रतिपक्षी पार्टी र नेताहरूमाथिको दमन भाजपाकै लागि जोखिम हुनसक्ने कतिपय विश्लेषकले तर्क गरेका छन् । यो कदमपछि प्रतिपक्षी दलहरू थप सशक्त र एकजुट हुने उनीहरूको आकलन छ ।

केजरीवाल पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका ३४ वर्षीय देवेन्द्र सिंहले मोदी सरकारले ज्यादती गरेको बताएका छन् । ‘भारतीय लोकतन्त्रको कुरुप प्रदर्शन योभन्दा अरु हुन सक्दैन । बहालवाला मुख्यमन्त्रीलाई यातना दिंदै मोदीले कस्तो प्रतिशोध लिन लागेका हुन् ?’ उनको प्रश्न छ ।

केजरीवालले सन् २०११ मा आम आदमी गठन गरेका थिए । केजरीवाल स्वयम् भ्रष्टाचार विरोधी अभियानमा सक्रिय भएर आएका पात्र हुन् । ७० सिटको राज्य सभामा आम आदमी सन् २०१५ मा ६७ र सन् २०२० मा ६२ सिट जितेको थियो ।

सन् २०१९ को लोकसभामा दिल्लीबाट आम आदमी कुनै सिट भने जित्न सकेन । अहिले केजरीवालको लोकप्रियताप्रति मोदी सरकार डराएको टिप्पणी हुन थालेको छ । यसले भाजापलाई नै घाटा हुने राजनीतिक विश्लेषक असिम अलीले अलजजिरासँग भनेका छन्– ‘मोदी सरकारले अहंकारी मात्रै नभएर अधिनायकवादी शैली अपनायो । यसले भाजपालाई नै घाटा छ । अब लोकसभामा या त आम आदमीप्रति सद्भावको मत आउँछ वा भाजपाप्रति आक्रोश व्यक्त गर्न कंग्रेसमा मतदान बढ्ने सम्भावना छ ।’

गिरफ्तारीको सर्वत्र विरोध
केजरीवालको गिरफ्तारीलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थादेखि प्रतिपक्षी दलहरूले समेत चर्को विरोध गरेका छन् । एम्नेस्टी इन्टरनेशनल इण्डियाले विज्ञप्ति मार्फत भनेको छ– ‘सरकारले कानुनी छिद्रहरूलाई प्रतिपक्षी र विरोधीहरूमाथि ज्यादतीको सहारा बनाएको छ । कानुनको पालना अन्य व्यक्तिको अधिकारको सम्मान गरेर गरिनुपर्छ ।’

सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएसँगै केन्द्रीय अनुसन्धान निकाय र ईडीले ९५ प्रतिशतभन्दा बढी मुद्दा प्रतिपक्षी दलसँग सम्बन्धित विषयका हेरेका छन् ।

कडा जवाफ दिने प्रतिपक्षी गठबन्धनको चेतावनी

केजरीवालको गिरफ्तारीको कडा उत्तर दिने चेतावनी प्रतिपक्षी दलहरूले दिएका छन् । केजरीवाल पक्राउको विरोधमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसका नेता राहुल गान्धीले भनेका छन् –‘साधु तानाशाहले भारतीय लोकतन्त्रलाई मृत बनाउन खोजेका छन् ।’

तृणमूल कंग्रेसले पनि केजरीवाल पक्राउको विरोध गरेको छ । ‘बहालवाला मुख्यमन्त्री र प्रभावशाली प्रतिपक्षी नेताहरूलाई गिरफ्तार गरेर कसरी निष्पक्ष चुनाव हुनसक्छ ?’ तृणमूल कंग्रेसका नेता देरेक ओ ब्राइनले भनेका छन् ।

तामिलनाडुका मुख्यमन्त्री एमके स्टलिनले मोदी फासीवादतर्फ उन्मुख भएको बताएका छन् । यस्तै केरलाका मुख्यमन्त्री पिनरयी विजयनले भनेका छन्– ‘निर्वाचनअघि प्रतिपक्षी दलहरूमाथिको निशाना ज्यादतीपूर्ण छ ।’

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले यो गिरफ्तारीले मोदी सरकारविरुद्ध नयाँ संघर्ष सुरु गर्ने बताएका छन् । ‘प्रतिपक्षी नेतालाई जेल हालेर वा दमन गरेर आफू शक्तिशाली बन्न खोज्ने प्रपञ्च विरुद्ध भारतमा नयाँ संघर्ष सुरु हुनेछ’, उनले भनेका छन् ।

प्रारम्भिक सर्वेक्षणहरूले ५४३ सिटमा हुन गइरहेको निर्वाचनमा भाजपाले सहज जित निकाल्ने देखाइरहेका छन् । भाजपाले ४०० सिट ल्याउने लक्ष्य राखेको छ । केजरीवालको गिरफ्तारी र प्रतिपक्षी विरुद्धको ज्यादती यही लक्ष्य हासिलका निम्ति भएको आरोप आम आदमी पार्टीले लगाएको छ । ‘उनीहरूले केजरीवाललाई गिरफ्तार गर्न सफल भए तर आम आदमीको सिद्धान्तलाई उनीहरूले हरण गर्न सक्दैनन्’, त्यस दलले भनेको छ ।

यता भाजपाले केजरीवालको गिरफ्तारी जायज भएको बताएको छ । भाजपाका प्रवक्ता साम्बित पत्राले भनेका छन्– ‘अरविन्द केजरीवाल व्यक्ति होइनन्, विचार हुन् । खराब विचारले समाजको हानि गर्छ । यो गिरफ्तारी जायज छ । घोटालालाई माफी दिन सकिंदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...