मुख्य समाचार
केही देशबाट विद्यार्थी भिसा आवेदन नै नलिने अष्ट्रेलियन शैक्षिक संस्थाको परिपत्र
केही देशबाट विद्यार्थी भिसा आवेदन नै नलिने अष्ट्रेलियन शैक्षिक संस्थाको परिपत्र

। अष्ट्रेलियाको प्रवेशाज्ञा (भिसा)मा कडाइसँगै शैक्षिक संस्थाहरूले सबै देशबाट विद्यार्थीका आवेदन अस्वीकार गर्ने नीति लिएका छन् । कतिपय निजी कलेजहरूले मुलुकलाई नै कालोसूचीमा राखेर ती देशका विद्यार्थीको आवेदन स्वीकार नगर्ने सूचना निकाल्न थालेका हुन् ।

अष्ट्रेलियाको समाचारपत्र सिड्नी मर्निङ हेराल्डका अनुसार अष्ट्रेलियाका दुई शैक्षिक संस्थाले भारत, पाकिस्तान र नाइजेरियाका विद्यार्थीहरूको प्रवेशाज्ञा अस्वीकृत हुने जोखिम बढिरहेकाले उनीहरूको आवेदन स्वीकार गरेका छैनन् ।


सिड्नी मर्निङ हेराल्डले अष्ट्रेलियामा चारवटा क्याम्पस सञ्चालन गरिरहेको इम्याजिन इजुकेशनले आफ्ना साझेदार संस्थाहरूलाई गरेको परिपत्र नै प्रकाशित गरेको छ ।

उक्त संस्थाले पठाएको परिपत्रमा एक दर्जन बढी मुलुकका नागरिकका लागि अष्ट्रेलिया बाहिरबाट गरिएका आवेदन आफ्नो संस्थाले स्वीकार गर्ने बताएको छ । जसमा युरोपका सबै मुलुक, ब्राजिल, अष्ट्रेलिया, अर्जेन्टिना, दक्षिण कोरिया, जापान, क्यानडा, अमेरिका, बेलायत, ताइवान, फिजी, मेक्सिको, पपुवा न्युगिनी रहेका छन् । यी बाहेक अन्य राष्ट्रका विद्यार्थीहरूको अष्ट्रेलिया बाहिरबाट आउने आवेदन स्वीकृत नगर्ने त्यस संस्थाको परिपत्रमा भनिएको छ ।




No description available.‘हाम्रो यस नीतिले हामीसँग सहकार्य गर्दै आएका संस्थाहरूमाथि पर्ने असरबारे हामी जानकार छौं । त्यसका बाबजुद पनि यसमा हामी लचक हुन नसक्ने जानकारी गराउँदछौं । विद्यार्थीहरूको प्रवेशाज्ञा अस्वीकृत हुने जोखिम बढिरहेका कारण यो नीति सबैका लागि हितकर नै छ भन्ने हाम्रो बुझाइ छ,’ त्यस संस्थाको परिपत्रमा भनिएको छ ।

सरकारले आप्रवासन नीतिमा गरेको बदलावले प्रवेशाज्ञा मूल्याङ्कन तरिकामा समेत परिमार्जन भएकाले शैक्षिक सेवा प्रदायक संस्थाहरू अन्यौलमा देखिएका छन् । सरकारले आप्रवासन नीति परिमार्जन गरेसँगै विद्यार्थीहरूको प्रवेशाज्ञा अस्वीकृत हुनेक्रमले रेकर्ड बनाएको छ ।

फेब्रुअरी ९ मा सिड्नी मर्निङ हेराल्डले प्रकाशित गरेको समाचार अनुसार विगतको तुलनामा विद्यार्थीहरूको प्रवेशाज्ञा रद्दको दर २० प्रतिशतले बढेको छ । यस वर्ष ३ लाख ७ हजार ५०० आप्रवासी थपिने प्रक्षेपण भएपनि प्रवेशाज्ञा रद्द दर हेर्दा २ लाख ५० हजार जतिमा सीमित हुने देखिएको उक्त अखबारमा उल्लेख छ ।

सरकारको नयाँ नीति अनुसार भाषा परीक्षामा राम्रो अंक हुनुपर्ने, उनीहरूले पेश गर्ने सबै कागजात वास्तविक हुनुपर्ने र प्रवेशाज्ञाको अवधिभरमा पढाइ सकेर काम नपाएको अवस्थामा फेरि विद्यार्थी बन्न नपाउने नीति अघि सारेको थियो ।

शैक्षिक संस्थालाई र्‍याङ्किङ घट्ने दर

अष्ट्रेलियाको गृह मन्त्रालयले सरकारको मूल्याङ्कनमा राम्रो सूचीमा रहेका शैक्षिक संस्थाहरूका लागि आएका आवेदनलाई मात्रै प्राथामिकता दिन भनेको थियो । अष्ट्रेलियामा शैक्षिक संस्थाहरूलाई लेभल वान, टू र थ्रीमा वर्गीकृत गरिन्छ ।

लेभल वानमा आठ र लेभल टूमा आठ वटा विश्वविद्यालय रहेका छन् । विश्वका १०० विश्विद्यालयका सूचीमा पर्नेहरू लेभल वान र २००-३०० भित्र अटाएका विश्विद्यालयहरूलाई लेभल टूमा राखिएको छ ।

लेभल कम हुने शैक्षिक संस्थाहरूमा फर्जी कागजात पेश गर्नेक्रम बढेको र त्यहाँबाट उत्पादित जनशक्तिहरूमा ओभरस्टेको समस्या देखिएकाले त्यस्ता शैक्षिक संस्थाहरूका आवेदन प्राथामिकतामा नराख्ने नीति गृह मन्त्रालयलले लिएको सिड्नी मर्निङ हेराल्डले लेखेको छ ।

अष्ट्रेलियामा सबैभन्दा बढी विद्यार्थी भारत, चीन, नेपाल, पाकिस्तान, भियतनाम, इन्डोनेसिया, मलेसियाबाट जाने गर्छन् । इम्याजिन इजुकेशनले जारी गरेको परिपत्रमा यी मुलुकका विद्यार्थीको अष्ट्रेलिया बाहिरबाट आउने आवेदन स्वीकार नगर्ने उल्लेख छ ।

यस्तै कप्लान बिजनेस कलेजले पनि आफ्ना साझेदारहरूलाई पाकिस्तान र नाइजेरियाबाट आवेदन नपठाउन भनेको छ । ‘पाकिस्तान र नाइजेरियाका विद्यार्थीहरूले अष्ट्रेलियाको मापदण्ड पूरा गर्न सक्ने आधार न्यून रहेकाले त्यहाँबाट कुनैपनि आवेदन नलिने जानकारी गराउँदछौं । यस्ता निर्णय गर्नेमा हामी मात्रै नभएर अन्य शैक्षिक प्रदायक पनि थप हुँदै जानेछन्,’ उसको विज्ञप्तिमा भनिएको छ ।

शैक्षिक प्रदायक संस्थामा आएका आवेदनहरूले जति बढी प्रवेशाज्ञा पाए उनीहरूको मूल्याङ्कन उतिनै बलियो हुन्छ भने प्रवेशाज्ञा अस्वीकृत हुने क्रम बढेमा उनीहरूको मूल्याङ्कन पनि घट्छ । मूल्याङ्कनमा प्रभाव नपरोस् भन्नका निम्ति शैक्षिक प्रदायक संस्थाहरूले सरकारको कडा नीतिलाई कडाइका साथ पालना गरिरहेका छन् ।

गत वर्षदेखि सरकारले लेभल वानमा रहेका शैक्षिक प्रदायकहरूलाई मात्रै प्राथामिकतामा राखेर उनीहरूका लागि आएका आवेदन स्वीकृत गरिरहेको छ । विद्यार्थी भिसामा आएर अष्ट्रेलियामा काम मात्रै गर्नेहरूको सङ्ख्या बढेपछि यस्तो नीति लिन बाध्य भएको तर्क सरकारको छ ।

‘पहिले जस्तो सहज अवस्था पक्कै छैन’

केही शैक्षिक प्रदायकहरूले अहिले आवेदन रोकेका समाचार सार्वजनिक भएपनि नेपाली विद्यार्थीहरूको आवेदन फिर्ता भने भएका छैनन् । भाषा परीक्षामा राम्रो अंक प्राप्त गरेका, शुल्क तिर्नका निम्ति सक्षम रहेका, वास्तविक कागजात पेश गरेका र त्यहाँ पढ्नका निम्ति आवश्यक अन्य मापदण्ड पूरा गरेका विद्यार्थीहरूलाई कुनै पनि समस्या छैन ।

केही पहिला आठ वटा शैक्षिक प्रदायक संस्थाले विद्यार्थीहरूको आवेदन रोकेका थिए । अहिले पनि केही शैक्षिक प्रदायकले यस्ता सूचना निकालेका छन् । यो सूचना निकाल्नुको पछि कारण छ । हरेक वर्ष मार्चमा त्यहाँका शैक्षिक प्रदायक संस्थाहरूको मूल्याङ्कन हुन्छ ।

मूल्याङ्कनको आधार मध्येका मापदण्डमा प्रवेशाज्ञा स्वीकृति र बदरको दर पनि प्रमुख हो । आप्रवासन नीति कडा रहेको यो समयमा उनीहरूले आवेदन रोक्नुको अर्थ आफ्नो मूल्याङ्कनमा फेरबदल नहोस् भन्नका निम्ति हो ।

पहिलेको जस्तो सहज अवस्था भने अहिले पक्कै छैन । सरकारले नै आप्रवासी सङ्ख्या कटौती गर्ने नीति लिएपछि उसले मापदण्डहरू कडिकडाउ बनाइरहेको छ । राम्रो लेभल भएका विश्वविद्यालयमा आवेदन दिंदा कुनै पनि समस्या छैन । ती विश्वविद्यालयमा नेपालदेखि दिइएका कुनैपनि आवेदन फिर्ता भएका पनि छैनन् ।

अहिलेको समयमा देश छोड्नु नै उपलब्धि हो भन्ने मानसिकता नयाँ पुस्तामा हाबी भइरहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरू मात्रै नभएर उनीहरूको अभिभावक समेत परामर्शमा आउन जरुरी छ । विद्यार्थीहरूको प्रारम्भिक आवेदन मात्रै अस्वीकृत हुँदा ३-४ लाख खर्च हुने परिस्थिति छ ।

अष्ट्रेलियालाई अहिले पढाइको बहानामा काममा जोतिने जनशक्ति चाहिएको छैन । त्यहाँको आप्रवासन नीति, छोराछोरी त्यहाँ पठाएपछि उनीहरूले पाउने सुविधा वा द्विविधा दुवै बारे अभिभावक जानकार हुनैपर्छ ।

आवश्यक सम्पूर्ण कागजात पेश गरेर राम्रा लेभल भएका शैक्षिक प्रदायक संस्थामा आवेदन दिने विद्यार्थीहरूको हकमा कुनै समस्या छैन । हाल केही शैक्षिक प्रदायक संस्थाले आवेदन स्थगन गरे पनि मार्चपछि यो अवस्थामा परिवर्तन आउनेछ ।

(अष्ट्रेलियाका लागि शैक्षिक परामर्शदाता संस्था एआइपी एजुकेशनका कार्यकारी अध्यक्ष सुजन थापासँग गरिएको कुराकानी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए। इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी ...
: श्रीलंकामा शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन्। उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ। अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन्। अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन्। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्। वर्तमान ...
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...