। १९औं एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र एसियाडमै खेलेका विप्लवलाल श्रेष्ठले यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिकाको टेक्सासमा यही मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराते खेलाडीले जितेको पहिलो र एक मात्र हो ।
एरिका इन्डोनेसियामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
नेपाली टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् । कुशल बाहेक ३ सदस्यीय टोली सोमबारै अमेरिका प्रस्थान गर्नेछन् । कुशल भने मंगलबार जानेछन् ।
टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाए ।