मुख्य समाचार
केजरीवालको 'जेलयात्रा' : 'इन्डिया' गठबन्धन संकटमा छ ?
केजरीवालको 'जेलयात्रा' : 'इन्डिया' गठबन्धन संकटमा छ ?

— दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि भ्रष्टाचारको आरोप र उनको गिरफ्तारीले आम आदमी पार्टी(आप) संकटमा परेको छ । परम्परागत र पुराना राजनीतिक पार्टीहरूलाई चुनौती दिन केजरीवालले साधारण मानिसलाई छुने गरी पार्टीको नाम नै ‘आम आदमी’ र चुनाव चिह्न ‘झाडू’ रोजेका थिए ।

भारतमा १८औं लोकसभा चुनाव घोषणा भइसकेको छ । २५ दिनपछि १९ अप्रिलमा पहिलो चरणको मतदान हुँदैछ । देश चुनावमा होमिएको बेला गत बिहीबार राति केन्द्र सरकारमातहतको जाँच एजेन्सी प्रवर्तन निर्देशनालय(ईडी)ले केजरीवाललाई उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । मदिरा बिक्री वितरणको अधिकार निजी क्षेत्रलाई दिने नीति ल्याएर केजरीवाल नेतृत्वको दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोप छ । उनी पक्राउ पर्ने आशंका केही महिना पहिलेदेखि नै थियो । ईडीले उनलाई ९ पटक हाजिर हुन आउने पत्र (समन) दिइसकेको थियो ।


उनले हरेक पटक त्यसलाई गैरकानुनी भन्दै ईडी कार्यालय जान अस्वीकार गरे । उनले सार्वजनिक रूपमै आफूलाई पक्राउ गर्न केन्द्र सरकारले ईडीमार्फत षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आए । केही महिना अगाडि उनले पार्टी कार्यकर्तामार्फत दिल्लीका जनतामाझ आफू पक्राउ परे राजीनामा दिनुपर्ने कि नपर्ने विषयमा सर्वेक्षणसमेत गराएका थिए । दिल्लीका जनताले पक्राउ परेको स्थितिमा जेलबाटै सरकार चलाउने आदेश दिएको सर्भे रिपोर्ट सार्वजनिक गरिएको थियो ।

त्यसैलाई टेकेर भारतको राजनीतिमा केजरीवालले ‘नयाँ अभ्यास’ सुरु गरेका छन् । उनी मुख्यमन्त्रीको पदमै रहेर हिरासतमा गएका छन् । राजीनामा नदिएर ईडीको हिरासतबाटै सरकारी आदेश पनि दिइरहेका छन् । यसअघि भ्रष्टाचारको आरोपमा कैयौं मुख्यमन्त्री पक्राउ परेका छन् । लालु यादवदेखि जयललितासम्मले जेल जानु अगाडि राजीनामा दिएका थिए । पछिल्लो उदाहरण हुन्, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन । ईडीका अधिकारीले नियन्त्रणमा लिनुअघि जानुपूर्व उनले राजीनामा दिएका थिए । तर, आम आदमी पार्टीले भनेको छ, ‘केजरीवाल दिल्लीका मुख्यमन्त्री बनिरहेनछन्, चाहे जेलबाटै सरकार किन चलाउन नपरोस् ।’ आरोप लाग्दैमा केजरीवाललाई राजीनामा दिनुपर्ने कानुनी बाध्यता भने छैन, कुरा नैतिकताको मात्र हो । दिल्लीमा केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी(भाजपा)ले भने जेलबाट सरकार नचल्ने भन्दै राजीनामा माग्दै प्रदर्शन, धर्ना गरिहेको छ । भाजपाले उपराज्यपाललाई ज्ञापनसमेत बुझाएको छ ।

पार्टी स्थापनाकालका योगेन्द्र यादव, प्रशान्त भूषणजस्ता सहयात्रीले पहिल्यै केजरीवालको साथ छाडिसकेका छन् । केजरीवालपछि पार्टीको दोस्रो नम्बरमा रहेका दिल्लीका पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया एक वर्षदेखि मदिरा भ्रष्टाचारकै आरोपमा जेलमा छन् । अर्का प्रखर नेता राज्यसभा सांसद सञ्जय सिंह पनि त्यही मुद्दामा केही महिनादेखि जेलमा छन् । केजरीवाल मन्त्रिपरिषद्का प्रभावशाली सदस्य पूर्व स्वास्थ्यमन्त्री सत्येन्द्र जैन दुई वर्षदेखि जेलमा छन् । उनलाई ईडीले ‘मनी लाउन्डरिङ’ को मुद्दामा पक्राउ गरेको हो ।

कांग्रेस नेतृत्वको मनमोहन सिंह सरकारको दोस्रो कार्यकालको उत्तरार्द्धमा १२ वर्ष अगाडि दिल्लीको सडकमा भ्रष्टाचारविरोधी आन्दोलन चर्किएको थियो । अन्ना हजारेले त्यसको अगुवाइ गरेका थिए । अरविन्द केजरीवाल त्यसमा सक्रिय थिए । भारतीय राजस्व सेवामा आयकर अधिकारीको पदबाट राजीनामा दिएर उनी सुशासन, पारदर्शिताको वकालत गर्दै भ्रष्टाचारविरोधी आन्दोलनमा होमिएका थिए । केजरीवालसहितको अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनले मनमोहन सिंह सरकारको जग हल्लाइदिएको थियो । २०१४ को लोकसभा चुनावमा त्यसको असर देखियो । कांग्रेस नराम्रो पराजय भोग्यो भने भारतीय जनता पार्टीले बहुमत ल्यायो ।

भ्रष्टाचारविरोधी आन्दोलनबाट राजनीतिमा होमिएका केजरीवालले राष्ट्रिय राजधानी दिल्लीलाई आफ्नो केन्द्र बनाए । २६ नोभेम्बर २०१२ मा दिल्लीको जन्तरमन्तरबाट पार्टी घोषणा गरे । एक वर्षभित्रै भएको विधानसभा चुनावमा दिल्लीका मतदाताले केजरीवालको पार्टीलाई रुचाए, आपले ७० सदस्यीय दिल्ली विधानसभामा पहिलो पटक नै २८ सिट जित्यो । तर बहुमतबाट थोरै टाढा ।

केजरीवाल र भाजपाको लहरले सत्तासीन कांग्रेस पार्टी ८ सिटमा खुम्चिन पुगेको थियो । भाजपा ३२ सिट जितेर पहिलो पार्टी बनेको थियो । केजरीवालले दिल्लीका तत्कालीन मुख्यमन्त्री शिला दीक्षितलाई पराजित गरेका थिए । राजनीतिमा होमिएको वर्ष दिनभित्रै कांग्रेसको समर्थनमा केजरीवाल दिल्लीको मुख्यमन्त्री बने । २८ डिसेम्बर २०१३ मा मुख्यमन्त्री बनेका केजरीवालले कांग्रेससँगको खटपटपछि ४९ दिनमै राजीनामा दिएका थिए । कसैको सरकार नबन्ने परिस्थितिका कारण केही समय राष्ट्रपति शासन लागू भयो ।

२०१५ मा भएको विधानसभा चुनावमा आपले सबैलाई चकित पार्दै ७० मध्ये ६७ सिट जित्यो । बाँकी ३ सिट भाजपाले जित्दा कांग्रेस शून्यमा झर्न पुगेको थियो । केजरीवालको लोकप्रियता चुलिँदै थियो । तर, त्यो लोकप्रियता दिल्लीको सहरिया मतदातामाझ मात्रै केन्द्रित रह्यो । २०१४ को लोमसभा चुनावमा उनले नरेन्द्र मोदीविरुद्ध वाराणसीमा उम्मेदवारी दिएका थिए । देशैभर ४ सय ३४ उम्मेदवार उतारेका थिए । तर, पञ्जाबमा चार सिटमा जितबाहेक कतै पनि सफलता हात लागेन । दिल्लीका मतदाताले पनि लोकसभा चुनावमा आपलाई रोजेन । २०१९ को लोकसभा चुनावमा पनि त्यस्तै देखियो । दिल्लीका ७ वटै लोकसभा निर्वाचन क्षेत्रमा आप पराजित भयो । देशभरबाट पञ्जाबमा एक सिट मात्रै जित्न सफल भएको थियो ।

तर, २०२० को विधानसभा निर्वाचनमा दिल्लीका जनताले पुनः केजरीवाललाई रोजे । ७० मध्ये ६२ सिट आपले जित्यो । केजरीवाल लगातार तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बने । ९ वर्षदेखि उनी दिल्लीको मुख्यमन्त्री छन् । अन्ना आन्दोलनबाट ‘भ्रष्टारविरोधी प्रखर नेता र सत्यको योद्धा’का रूपमा पछिल्लो दशकमा उदाएका व्यक्ति हुन केजरीवाल । भ्रष्टाचार विरोधी आन्दोलनले उनलाई नयाँ उचाइ र अवसर एकैसाथ प्राप्त भयो । दिल्लीका मुख्यमन्त्रीका रूपमा निम्न र मध्यमवर्गीय परिवारका लागि ल्याएका योजनाहरुले उनी थप लोकप्रिय हुँदै आए । निःशुल्क बिजुली, पानी, सरकारी शिक्षा र स्वास्थ्यको क्षेत्रमा ल्याएको बदलाव, महिलालाई निःशुल्क बस यात्रा जस्ता योजनाले दिल्लीका जनताले प्रचण्ड बहुमत दिँदै आएका छन् ।

२०२२ को अन्त्यमा भएको दिल्ली नगर निगम चुनावमा आपले मोदीको लहरलाई परास्त गर्न सफल भयो । नगर निगममा १५ वर्षदेखि भाजपाको कायम सत्तालाई केजरीवालले विस्थापित गरे । भ्रष्टाचारविरोधी अभियान र दिल्लीको विकास मोडलको प्रचारले केजरीवाललाई २०२२ मा पञ्जाब विधानसभा चुनावमा जित दिलायो । दिल्लीपछि पञ्जाबमा आम आदमी पार्टीको सरकार छ । उत्तर प्रदेश, हिमाचल प्रदेश र उत्तराखण्ड विधानसभा चुनाव लडे पनि उपलब्धि शून्य रह्यो । गोवा र गुजरात चुनावमा पनि केजरीवालले सक्दो जोडबल लगाएका हुन् । गोवामा २ र गुजरातमा ५ सिट जितेर स्थापनाको १० वर्षभित्रै केजरीवालको आम आदमी पार्टी राष्ट्रिय पार्टीको दर्जा पाउन सफल भयो ।

२०२४ को लोकसभा चुनावका लागि पार्टीले तयारी गरिरहेका बेला केजरीवाल र उनीपछिका प्रभावशाली नेताहरू जेल पुगेपछि आम आदमी पार्टीका अगाडि चुनौती थपिएको छ । भ्रष्टाचारको गम्भीर आरोपमा माथिल्लो पंक्तिका नेताहरू जेल पर्नुले पार्टीमा ‘स्टार प्रचारक’कै अभाव देखिएको छ । पार्टीमा केजरीवाल र सिसोदियाको अभावले सिंगो पार्टीलाई एकत्रित राख्ने अनुहारको अभाव देखिन्छ । चुनावअघि नै केजरीवाल जेलबाट रिहा भएनन् भने पञ्जाबका मुख्यमन्त्रीसमेत रहेका नेता भगवन्त मनलाई पार्टीले प्रचारकका रूपमा अगाडि सार्न सक्ने देखिन्छ । डिजिटल प्लाटफर्मको सुरुवात हुनुअघि नै भगवन्त मान पञ्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित पनि छन् । सन् २०११ देखि राजनीतिक यात्रा सुरु गरेका मान सन् २०१९ मा लोकसभा सदस्यमा निर्वाचित भएका थिए । लोकसभा बैठकमा समेत उनका भाषण निकै रोचक हुने गर्थे । पञ्जाबमा लोकप्रिय भए पनि पूरा भारतभर भने उनले केजरीवालले जस्तो प्रभाव पार्न सक्ने छैनन् ।

मोदीको प्रखर आलोचक र दिल्लीमा रहेर केन्द्र सरकारसँग निरन्तर भिडिरहने केजरीवालको अनुपस्थितिले विपक्षी ‘इन्डिया’ गठबन्धनलाई धक्का पुगेको छ । मुख्य रूपमा कांग्रेससँग ‘शत्रुतापूर्ण’ व्यवहार गरेर उनी राजनीतिमा स्थापित भएका हुन् । तर, यतिबेला उनको साथमा कांग्रेस पार्टी उभिएको छ । मोदीको लोकप्रियताका कारण खुम्चिँदै गएको कांग्रेस केजरीवालका कारण दिल्ली र पञ्जाबको सत्ता गुमाइसकेको छ । २०१४ को लोकसभा चुनावमा कांग्रेसले नराम्रो पराजय भोग्नु पछाडिको प्रमुख कारणमा पनि अन्ना–केजरीवालको आन्दोलन मानिन्छ ।

भाजपालाई हराउन आपले कांग्रेससँग पहिलो पटक चुनावी सहकार्य गदै आपले दिल्लीको ७ सिटमा ३ सिट कांग्रेसलाई दिने गरी गठबन्धन गरेको छ । केजरीवालको गिरफ्तारीले विपक्षी पार्टीलाई एकजुट हुन सघाएको छ । छरिएर रहेका विपक्षी पार्टी उनको गिरफ्तारीविरुद्ध एकजुट भएर उभिएका छन् । विपक्षी दलका नेताहरूले निर्वाचन आयोग पुगेर चुनावको मुखमा विपक्षी पार्टीमाथि सरकारी संयन्त्रबाट भइरहेको कारबाहीलाई रोक्न भनेका छन् ।

भाजपाले सरकारी संयन्त्रलाई विपक्षीविरुद्ध प्रयोग गरेर चुनावी लाभ लिन खोजेको आरोप लगाइरहेका छन् । ईडीद्वारा गरिएको कारबाहीले पनि त्यो संकेत गर्छ । २०१४ यता ईडीले १ सय २१ नेतामाथि कारबाही चलाएकोमा त्यसमध्ये १ सय १५ जना विपक्षका नेता छन् । ईडीको कारबाहीमा ९५ प्रतिशत विपक्षी दलका नेता परेका छन् । जबकि केन्द्रदेखि अधिकांश राज्यमा भाजपा नेतृत्व वा गठबन्धनको सरकार छ । भाजपामा प्रवेशपछि ‘ईडी’ को कारबाहीबाट कतिपय नेता चोखिएका उदाहरण पनि छन् । त्यही भएर विपक्षी खेमाले भाजपालाई ‘वासिङ मेसिन’ पनि भन्दै आएको छ ।

पछिल्लो डेढ महिनायता विपक्षी खेमाका दुई जना मुख्यमन्त्री नै जेल पुगेका छन् । एकपछि अर्को विपक्षी नेताहरू सरकारी एजेन्सीको ‘जालो’मा पर्नुलाई विपक्षी नेताहरूले देशमा संकटकालीन स्थिति र अलोकतान्त्रिक व्यवहार भनेर टिप्पणी गरेका छन् । पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले विपक्षी नेताहरूलाई जेलमा राखेर मोदीले रूसको पुटिन मोडलमा चुनाव गराउन खोजेको टिप्पणी गरेका छन् ।

केजरीवालको गिरफ्तारीले भारतीय राजनीतिमा कैयौं प्रश्न उठेको छ । भ्रष्टाचारविरोधी अभियन्ता केजरीवाल साँच्चिकै भ्रष्ट नेताको सूचीमा चढेका हुन् ? वा मोदी आफ्नो तेस्रो पटकको सत्तारोहणका लागि एक्लैले दुई तिहाईभन्दा बढी सिट ल्याउन चुनावअगाडि सम्पूर्ण विपक्षी कित्तालाई भ्रष्ट देखाउने ‘दुष्प्रयास’मा छन् ?

त्यही रणनीतिबाट भाजपा केजरीवालसहित विपक्षी नेतामाथि आक्रामक आरोपका साथ चुनावी मैदानमा उत्रिएको छ । दिल्लीमा केजरीवालका समर्थकले प्रदर्शन गरिरहँदा भाजपाले पनि भ्रष्टाचारमा मुछिएका मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शनलाई जोड दिएको छ । चुनाव नजिकिएसँगै केन्द्रमा सत्तासीन भाजपा र विपक्षीबीच टकराव बढ्दैछ । केजरीवालको जेल यात्राको लाभ भाजपाले पाउने हो कि त्यसको सहानुभूतिको लाभ विपक्षी कित्ताले पाउनेछन्, केही महिनामै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
लेबनानमा मङ्गलबार पेजर मेसिनबाट गराइएको विष्फोटमा इरानका राजदूतसहित २ हजार ८ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्रीका अनुसार विष्फोटमा एक बालकसहित अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतलगायत अन्य धेरै ठाउँमा विस्फोटहरू भएका थिए। इरानी राजदूतकी पत्नी मोजतबा अमानीले आफ्ना श्रीमानलाई सामान्य चोट लागेको र अस्पतालमा रहेको बताएकी ...
: श्रीलंकामा शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। पछिल्लो सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके दौडमा अगाडि छन्। उनलाई चीन समर्थक भनेर आलोचना गरिन्छ। अनुराले जितेपछि अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका छन्। अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन्। सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्। वर्तमान ...
। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो ...
। दक्षिण अमेरिकी राष्ट्र जिम्बाबे पछिल्लो चार दशकदेखि भयानक खडेरीबाट गुज्रिरहेको छ । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्तोमा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको छ । जसअनुसार त्यहाँका २ सय जंगली ...
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...