। हलिउड ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘जोकर : फोली ए ड्युक्स’ नाम दिइएको श्रृंखलालाई सन् २०२४ कै प्रतीक्षित हलिउड फिल्म मानिएको छ ।
ट्रेलरमा फिल्मका दुई मुख्य पात्र अपराधका क्लाउन प्रिन्स र हार्ले क्वीनले अहिलेको विश्वमा प्रेम सबैभन्दा आवश्यक रहेको बताउँछन् । फिल्मले दिन खोजेको सन्देश पनि यही हो ।
फिल्ममा अभिनेता जोकिन फिनिक्सले ओस्कार विजयी चरित्र आर्थर फ्लेक (जो पछि ब्याटम्यानको कुख्यात शत्रु बन्छ)को चरित्रलाई पुनः निर्वाह गरेका छन् । लेडी गायाले यसमा हार्ले क्वीनको भूमिका निर्वाह गरेकी छन् ।
अँध्यारो र डरलाग्दो दृश्य र रङ संयोजनसहितको ट्रेलर अर्खाम एसाइलमदेखि सुरु हुन्छ, जहाँ आर्थर फ्लेकलाई कैदमा राखिएको छ जसलाई हामीले पहिलो भागको अन्त्यमा हेरिसकेका छौं । त्यतिबेला आर्थरले अर्को विक्षिप्त बिरामी हार्ले क्वीन (तपाईंले अनुमान लगाइसक्नुभयो होला लेडी गागा)लाई भेट्छ ।
जेलका हलमा भेटेपछि उनी पागलजस्तै भएर प्रेममा डुब्छन् । उनीहरु त्यहाँ भागेर बाहिरी मुक्त संसारमा निस्कने योजना बनाउँछन् । यो घटनाले उनीहरुलाई गोथामको सडकमा ल्याउँछ, जहाँ उनीहरु दिल खोलेर नाच्छन् र सहर घुम्छन् ।
‘म कोही होइन । मैले मेरो जीवनमा तिमीले जस्तो केही गरेको छैन,’ हार्ले क्वीनले जोकरलाई भन्छिन् ।
फिल्मको पहिलो भागले जोकरको मौलिक कथा भन्छ, जहाँ मुख्य पात्र पार्ट टाइम क्लाउन र स्ट्यान्ड–अप कमेडियनको रुपमा संघर्ष गरिरहेको छ । दोस्रो श्रृंखलामा ऊ सडकमा आएर हार्ले क्वीनसँग सबै खाले प्रदर्शन गर्छ । हार्ले क्वीनले यसमा फिल्मको सिग्नेचर मेकअप लगाएकी छन् । यो सिनेम्याटिक यात्रामा जोकर एक्लो लाग्दैन ।
ट्रेलरको अन्त्यमा अर्खाम एसाइलमको सिसाको पर्खालबाट सुरु हुन्छ, जहाँ हार्ले क्वीनले म वास्तविक तिमीलाई हेर्न चाहन्छु भन्दै सिसामा लिपस्टिकले ह्याप्पी फेसको चित्र कोरेको देखिन्छ । जोकर मुस्कुराउँछ र ट्रेलर सकिन्छ ।
निर्देशक टड फिलिप्सले सिनेमा–कन्मा ट्रेलर सार्वजनिक गरेका थिए । ‘जोकर २’ अक्टोबर ४ मा प्रदर्शन हुनेछ ।