मुख्य समाचार
बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा
बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा

: बेलायतमा नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। पासा पुचः गुथि यूकेको आयोजनामा लन्डनको प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सम्पन्न जात्रामा १७ सय बढी बेलायतवासी नेपाली सहभागी बने।


जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरू आएका थिए। उनीहरूमध्ये झण्डै आधा गैरनेवार थिए।

गैरनेवार समुदायका नेपालीसहित जात्राका अधिकांश सहभागीहरू मौलिक नेवारी पहिरनमा सजिएको दृश्य देखिन्थ्यो। निरन्तर गुञ्जिरहेका धिमेबाजा र ढाः बाजाको साथमा मौलिक भैरव, कालभैरव र ख्या नाचका दृश्य साँच्चिकै भक्तपुरकै झल्को दिलाउने खालका थिए।


जात्राको मुख्य आकर्षण बेलायतमै निर्माण गरिएका भैरवनाथ र भद्रकालीका रथहरू थिए। परम्पराअनुसार मौलिक बाजा गाजा र नाचगानसहित दुवै रथहरूलाई तान्दै ख्य (मैदान)मा ल्याएर योसिंद्यो(लिंगो) उठाएपछि बिस्का जात्रा सुरु भएको थियो। त्यसपछि जात्राका सबै सहभागीलाई समे बजी दों बाँडिएको थियो। अन्त्यमा योसिंद्यो ढालेर दुवै रथलाई तीनपटक जुधाइएको थियो।

जात्रामा आयोजक गुथिका शाखाहरूसहित जम्मा ८ वटा समूहले लगातार दिनभर धिमे बाजा र ढाः बाजाको प्रस्तुति गरेका थिए। बेलायतमै जन्मिएका यतै हुर्किएका किशोरकिशोरीहरू समेत मौलिक नेवारी बाजाहरू बजाउँदै रम्दै गरेको निकै सुन्दर देखिन्थ्यो।

सो अवसरमा प्रस्तुत मौलिक भैरवनाच, कालभैरव नाच र ख्या नाच हेर्न जात्राका सहभागीहरू उत्सुकतापूर्वक झुम्मिएका थिए। बेलायतमा पछिल्लो १० वर्षमा पहिलोपटक ख्या नाच देखाइएको थियो।

जात्रास्थलमा मौलिक नेवारी कला,संस्कृति झल्काउने कल्चरल एण्ड हेरिटेज फोटो प्रदर्शनी गरिएको थियो। जसमा नेपाल र बेलायतमै खिचिएका ८० तस्बिर प्रदर्शन गरिएको थियो। लन्डन बिस्का जात्रास्थलमा नेवारी तथा नेपाली खानाको पनि महोत्सव थियो।

बिस्का भ्वयः, समे बजी, योमरी, वोः, छोइला, सेकुवा, मम, पानीपुरी, सेलरोटी, चटपटेजस्ता स्वादिष्ट परिकार उपलब्ध विभिन्न सात वटा फुड स्टलमा सहभागीहरूको दिनभर भीड लागेको थियो। बालबालिकाको लागि पनि फेस पेन्टिङ, आइसक्रिम भ्यानदेखि कला, संस्कृतिसम्बन्धि प्रश्नहरूको सहि जवाफ दिनेलाई पुरस्कृत गर्ने कार्यक्रम समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले जात्राबाट बेलायतमा नेवारी संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको बताए। आगामी दिनमा जात्रालाई सबै नेपाली र गैरनेपाली समुदाय समेतमा बिस्तार गर्दै जानुपर्ने धारणा उनले राखे। लन्डन बिस्का जात्राले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएको भन्दै राजदूत आचार्यले आयोजकलाई धन्यवाद दिए।

सो अवसरमा विशेष अतिथिहरू लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट र गुठी तथा सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठले पनि शुभकामना मन्तव्य दिएका थिए। जात्रा संयोजक माधवलाल श्रेष्ठले स्वागत तथा गुथिका अध्यक्ष सुशील प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए। महासचिव नगेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

आयोजक गुथिका अध्यक्ष सुशील प्रजापतिले जात्रामा उत्साहजनक सहभागिताले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिए। अहिले देखिएका कमीकमजोरीहरू सुधार गर्दै भावी दिनमा जात्रालाई झन् व्यापक बनाउंदै लैजान गुथि प्रतिवद्ध रहेको उनले जनाए।

जात्रा संयोजक एवम् गुथिका साउथ इष्ट शाखा अध्यक्ष माधवलाल श्रेष्ठले जात्रालाई सफल पार्न अहोरात्र खटिएका गुथिका सबै सदस्य, स्वयमसेवक एवम् सहभागीलाई धन्यवाद ज्ञापन गरे। सन् २०२२ मा पहिलोपटक आयोजित लन्डन बिस्का जात्राको यो दोस्रो संस्करण थियो। भविष्यमा बिस्का जात्रालाई हरेक वर्ष आयोजना गर्नेसम्मको सोच गुथिको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...