: एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई पराजित गर्दै नेपाल अविजित यात्रा तय गर्ने दाउमा छ।
खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेल अगाडि नै नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
सोमबार समूह चरणको तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै एक खेल अगाडि नै नेपाल सेमिफाइनल पुगेको हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो।
समूह ‘ए’ मा नेपालसहित साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन्। उक्त समूहमा नेपालको ६ अंकको साथ शीर्ष स्थानमा छ। त्यसैगरी,कतारको ४ अंक, साउदी,मलेसिया र हङकङको समान २ अंक छ।
समूह ‘ए’बाट मलेसिया र हङकङ पनि आज नै खेल्दैछन्।
समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान ६ अंकका साथ शीर्ष स्थान, कुवेत र युएई चार अंककै साथ दोस्रो स्थानमा छन्। आज ओमान र कुवेत, यूएई र कम्बोडियाबीच पनि खेल हुँदैछ।