मुख्य समाचार
सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको
सिक्किम निर्वाचन : गोलेलाई चाम्लिङको डर, चाम्लिङलाई गोलेको

— सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

दुई मध्ये एक क्षेत्रबाट जित्ने दाउमा रहेका उनलाई पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङसँग डर छ । चाम्लिङ पुनः फर्किएलान् र कुर्सी खोसिएला भन्ने त्रासमा छन् तामाङलाई ।

सोरेङकै पोकलोक–काम्राङबाट उम्मेदवारी दिएका चाम्लिङलाई पनि ठीक गोलेलाई जस्तै डर छ । गोलेको सरकार दोहोरिए 'बर्बाद' हुन्छ भन्ने डरमा छन् चाम्लिङ । सिक्किमका दुई ठूला दलका यी शिर्ष नेतालाई एकअर्काको मात्रै डर छ । ‘उहाँहरूलाई अरु कुनै दलको खास डर छैन । डर छ त गोलेलाई चाम्लिङको र चाम्लिङलाई गोलेको मात्रै,' अखिल सिक्किम अनुसूचित जाति कल्याण संघका पूर्व सभापति शेखर सेवाले भने,‘यी दुई दलबीच कसले वढी सिट जितेर सरकार बनाउने भन्ने नै होड छ ।’

पूर्वोत्तर भारतको नेपालीभाषी बाहुल्य एक मात्रै हिमाली राज्य सिक्किममा शुक्रबार एकै दिन ११ औं विधानसभा र १८ औं लोकसभाको निर्वाचन हुँदैछ । लोकसभामा ६ दलका ६ र विधानसभा निर्वाचनमा ८ स्वतन्त्रसहित १ सय ४६ उम्मेदवार चुनावी मैदानमा ओर्लिएका छन् । करिब ७ लाख हाराहारी जनसंख्या रहेको यो पहाडी राज्यमा करिब साढे ४ लाख मतदाताले मतदान गर्ने मुख्य निर्वाचन कार्यालय गान्तोकले जनाएको छ ।

यसपटक आक्रामक रुपमा आएको केन्द्रको सत्ताधारी दल भारतीय जनता पार्टीले उत्तर सिक्किमको लाचेन–मंगन क्षेत्रबाहेक ३१ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ । लोकसभाको एक सिटमा पनि दिनेशचन्द्र नेपाललाई उम्मेदवार बनाएको छ ।

यद्यपि भाजपा प्रति सिक्किमका मतदाता सकारात्मक नरहेको गोलेको दलका सल्लाहकार वीरेन्द्र ताम्लिङले दाबी गरे । उनले भने,‘धेरै क्षेत्रमा उम्मेदवार त उठाएको छ तर, भाजपाको जित्ने सम्भावना ज्यादै न्यून छ ।’

उनका अनुसार ‘बाहिरिया दल’ प्रति सिक्किमे जनता त्यति विश्वस्त देखिन्नन् । विगतको नजिर के छ भने सिक्किममा क्षेत्रीय बाहेकका दलहरूले अहिलेसम्म न विधानसभा नत लोकसभा कुनै तहमा जितेको पाइँदैन ।

‘लोकल पार्टीहरूले सिक्किमको विकास गर्ने हो दिल्लीको पार्टीले गर्दैन,' एक मतदाता रुस्तम गुरुङले भने,‘हामीलाई यहाँ विकास चाहिएको छ । दिल्लीको पार्टीलाई जिताएर विकास ल्याउन कठीन हुन्छ ।’

भाजपाका सिक्किम प्रवक्ता नवीन भट्टराईका अनुसार उम्मेदवारी दिएका मध्ये यसपटक कम्तिमा १० सिट जित्ने दाबी गरे । भट्टराईले फोनमा भने,‘विगतको सिक्किममा जस्तो यसपटक भाजपा कमजोर छैन, झन् मजबुद बनेर आएको छ ।’

सिक्किम क्रान्तिकारी मोर्चा र सिक्किम डेमोक्रेटिक फ्रन्टले ३२ वटै स्थानमा उम्मेदवारी दिएका छन् । भारतीय राष्ट्रिय कंग्रेसले १२, स्वतन्त्र पार्टीले ८ र अन्यले ३१ क्षेत्रमा उम्मेदवार उठाएका छन् ।

एक सिटको सिक्किम लोकसभामा सत्तारुढ पार्टीले पुनः इन्द्रहाङ सुब्बालाई उठाएको छ । उनले अघिल्लो चुनावमा पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टका प्रेमदास राईलाई पराजित गरेका थिए । राई यसपटक पुनः उम्मेदवार बनेका छन् ।

सन् २०१४ मा भने राईले सिक्किम क्रान्तिकारी मोर्चाका टेकनाथ ढकाललाई पराजित गरेर लोकसभा सांसद बनेका थिए । ‘लोकसभामा केन्द्रीय दलहरूले जित्ने सम्भावना ज्यादै कम छ,' सिक्किमका पत्रकार प्रकाश अधिकारीले भने,‘सधै क्षेत्रीय दलले नै जित्दै आएको इतिहास छ ।’

सिक्किम यतिबेला लोकसभा चुनावले भन्दा राज्य विधानसभा निर्वाचनका कारण गर्मराएको छ ।

विधानसभा चुनावमा मुलतः मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस गोले) को दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिडको दल सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) बीच द्विपक्षीय प्रतिष्पर्धा हुने आकलन गरिएको छ ।

अघिल्लो चुनावमा करिव ३० वर्ष पुरानो सिक्किम डेमोक्रेटिक फ्रन्टलाई पाखा लगाउँदै सन् २०१४ मा उदाएको सिक्किम क्रान्तिकारी मोर्चाले कुल ३२ मध्ये १७ सिट जित्दै सरकार गठन गरेको थियो । एसडीएफले १५ सिटमा चित्त बुझाएर विधानसभामा विपक्षी दल बनेको थियो ।

सन् २०१४ मा २३ सिट एसडीएफले जित्दा एसकेएम ९ सिटमा खुम्चिएको थियो । सन् १९९४ देखि निरन्तर मुख्यमन्त्री बन्दै आएका चाम्लिङलाई गोलेले सन् २०१९ बाट पदच्युत गरेका थिए । सिक्किमका पाँचौ मुख्यमन्त्री चाम्लिङ सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने पहिलो भारतीयको कीर्तिमान पनि बनाएका थिए ।

७ जिल्लामा समेटिएको सानो भूगोलको सिक्किममा ग्याल्जिङ र सोरेङमा ४/४, नाम्चीमा ८, गान्तोकमा ७, पाक्योङमा ५, मंगनमा ३ र एक धार्मिक सिट छ । यसपटक सोरेङ क्षेत्र अलि बढी रोचक बन्ने छ । यसै क्षेत्रमा मुख्यमन्त्री गोले, पूर्व मुख्यमन्त्री चाम्लिङ र फुटबलर भाइचुङ भुटिया उम्मेदवार बनेका छन् । गोले सोरेङ–चाकुङ क्षेत्रबाट, चाम्लिङ पोकलोक–काम्राङबाट र भुटिया बरफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् । गोले र चाम्लिङको दलले ३२ वटै क्षेत्रमा उम्मेदवारी दिएका छन् । सन् २०१९ मा १२ क्षेत्रमा उम्मेदवारी दिएको भाजपाले यसपटक ३१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

चाम्लिङलाई भाइचुङको साथ

राजनीतिमा सक्रिय भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुड भुटिया अघिल्लो पटक हाम्रो सिक्किम पार्टी (एचएसपी) मार्फत उम्मेदवार बनेका थिए । सन् २०१८ मा उनकै नेतृत्वमा बनेका यो पार्टी यसपटकको चुनावको केहीअघि चाम्लिङको एसडीएफसँग विलय भएको थियो । विगतमा चाम्लिङलाई पराजित गर्न कम्मर कसेर लागेका उनी यतिबेला चाम्लिङकै निकट छन् ।

भाइचुङ सन् २०१४ को लोकसभा चुनावमा दार्जिलिडबाट तृणमूल कंग्रेसको उम्मेदवार बन्दा भाजपा नेता एसएस आहलुवालियासँग पराजित भए ।

लगत्तै सन् २०१६ मा पुनः तृणमुल कंग्रेसबाट पश्चिम बंगाल विधानसभा चुनावमा सिलिगुडी क्षेत्रबाट भिडेका उनी त्यो वेला पनि नमज्जाले पछारिए । बंगालका पुराना वामपन्थी नेता अशोक भट्टचार्यले उनलाई हराएका थिए । दुवै निर्वाचन हारेर सिक्किम उक्लिएका उनी पार्टी निर्माण गरी अघिल्लो चुनावमा होमिए पनि आशातित सफलता हात नपरेपछि पूर्वमुख्यमन्त्री चाम्लिङको साथ लागेर पुनः चौथो पटक उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...