मुख्य समाचार
अन्तिम समयमा अनियन्त्रित नेपाल
अन्तिम समयमा अनियन्त्रित नेपाल

— प्रशिक्षक मोन्टी देसाईको भनाइलाई मान्ने हो भने नेपालले बलिङमा सुरुको १८ ओभर र ब्याटिङमा अन्तिम १७ ओभर आफ्नो पक्षमा राखेको थियो । यसबाहेकको ५ ओभरमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो अनुभव देखायो र नेपालविरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा १० रनको विजय हात पार्‍यो ।


टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज त्रिवि क्रिकेट मैदानमा सुरुआतदेखि दबाबमा थियो । १८ ओभरमा ११९–७ को स्थितिमा रहेको वेस्ट इन्डिजको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोड्यो । सो क्रममा दीपेन्द्रले फालेको अन्तिम ओभरमै टोलीले २२ रन जोडेको थियो । गुडाकेश मोटी ८ बलमा २ चौका र ४ छक्का प्रहार गरी ३३, म्याथ्यु फोर्ड ६ बलमा ११ रन बनाई अविजित रहे ।



प्रतिद्वन्द्वीले खेलको अन्त्यतिर प्रहार गरेको केही बाउन्ड्रीले खेलको नक्सा मोडेकाले यो क्षणलाई नियन्त्रण गर्न नसकेकामा प्रशिक्षक देसाईको गुनासो थियो । उनले भने, ‘१७ ओभरको समाप्तिसम्ममा पनि हामी नै अगाडि थियौं, त्यसैले भन्नुपर्छ बलिङको अन्तिम समय र ब्याटिङको अन्तिम समय खेलको निर्णायक क्षण बन्यो ।’

मोटीको यो प्रयासमा १६०–७ को स्कोर बनायो । सागर ढकाल, कुशल भुर्तेल, कुशल मल्ल कसिलो बलिङ गरेपछि बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो १८ ओभर आफ्नो नियन्त्रणमा राख्न सकेको थियो । अनुभवी एन्ड्रयु फ्लेचरले एउट एन्डबाट विकेट जोगाएर खेले पनि नियमित विकेट गइरहँदा क्यारेबियन टोली ठूलो स्कोर बनाउन असफल रह्यो ।

सोमपाल र आकाशले १–१ ओभर फालेपछि ल्याइएका देब्रेहाते स्पिनर सागरले पहिलो ओभरमै २ विकेट लिँदै नेपालको वर्चस्वको सुरुआत गरेका थिए । सागरले एलिक एथान्जेलाई ६ रनमा मल्लबाट क्याच आउट गराएका थिए । त्यसको दुई बलपछि उनले जोहनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे ।

त्यसपछि चम्किने पालो लेग स्पिनर भुर्तेलको थियो । लेग स्टम्पभन्दा निकै बाहिर पिच भएको बलमा भुर्तेलले वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई अस्वाभाविक हिसाबमा बोल्ड गरे । फ्लेचरसँग तेस्रो विकेटमा ४८ रन जोडेका चेजले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरी २३ रन बनाए । भुर्तेलले केइसी कार्टीलाई पनि १० रनमा आउट गरे ।

किमो पल ८ र हेडन वाल्स ९ रनमा रनआउट भए । सातौं खेलाडीका रूपमा आउट भएका फ्लेचरले ३६ बल खेली ३ छक्कासहित ४३ रन बनाए । उनलाई दीपेन्द्रले आउट गरे । सागरले ४ ओभरमा १९ र भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २–२ विकेट लिए । मल्लले ४ ओभरमा २३ रन मात्र खर्चेका थिए । दीपेन्द्रले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

‘अन्तिममा उनीहरूले जसरी प्रहार गरे, त्यसले उनीहरूलाई स्कोर रक्षा गर्ने स्थितिमा पुर्‍यायो,’ देसाईले भने, ‘ब्याटिङमा पनि हामीले राम्रै सुरुआत गरेका थियौं । त्यही बेला लोकेश बम क्र्याम्प हुन पुगे । यसले हाम्रो लय अर्कै हुन पुग्यो । ६ ओभरको पावर प्लेमा हामीले ४५–५० रन बनाउन सकेको भए अझ राम्रो हुने थियो ।’

कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि त्यसले नेपाललाई जित दिलाउन सकेन । जवाफी ब्याटिङमा आएको नेपालले ९ विकेट गुमाई १ सय ५० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता भएको समयमा नेपालले ६ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरको पहिलो बलमा १ रन लिन अस्वीकार गरेका रोहितले दोस्रो बलमा म्याथ्यु फोर्डेलाई चौका प्रहार गरे पनि दोस्रो बलमा २ रन लिन खोज्दा आकाश चन्द रनआउट भएका थिए । त्यसपछि आएका सागरले लेग बाईमा १ रन लिएर स्ट्राइक दिए पनि रोहितले अन्तिम दुई बलमा कुनै रन बनाएनन् ।

योसँगै वेस्ट इन्डिजको टोली शृंखला १–१ को बराबरीमा ल्यएको छ । रोहितको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो ।

रोहित ७१ रन बनाई अविजित रहे । उनले ४८ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । नेपालको सुरुआत राम्रो थिएन । कुशल भुर्तेलले पुनः निराश बनाए । उनी २ रन मात्र बनाई ओबेड म्याकोयको बलमा आउट भए । अनिल साहले पनि १ रन मात्र बनाउन सके । लोकेश बमले दुई छक्कासहित १७ रन बनाएपछि ‘क्रयाम्प’ भएका कारण रिटायर्ट हर्ट भएका थिए । तर पुनः आएर उनी सोही स्कोरमा बोल्ड भए ।

मल्ल लगातार दोस्रो खेलमा रनआउट भए । सर्ट फाइन लेगमा रहेका फिल्डर केएसी कार्टीको हातमा रहेको बलमा १ रन लिन खोज्दा नन स्ट्राइकमा रहेका रोहितले फर्काइदिएपछि मल्ल रनआउट हुन पुगेका थिए । गुलसन झाले आफूले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरे । उनले कुल ११ बल खेली ३ चौका र २ छक्कासहित २६ रन बनाए । आरिफ शेख १६ बलमा १२ र दीपेन्द्रसिंह ऐरी १ रन मात्र बनाई आउट भए । सोमपाल कामी ३ र आकाश चन्द ७ रनमा रनआउट भए ।

वेस्ट इन्डिज ‘ए’ बाट गुडाकेश मोटीले ४ ओभरमा २२ र म्याकोयले ४ ओभरमा २४ रन खर्चेर २–२ तथा कप्तान रोस्टन चेज र ओसाने थोम्सले १–१ विकेट लिए । नेपालले पहिलो खेलबाट ५ खेलाडी परिवर्तन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...