— पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।
सांसदका रूपमा संघीय संसद छिर्न लागेका ३३ वर्षीय सुहाङले राजनीतिमार्फत बाबु सुवासकै पदचाप पछ्याउने लक्ष्य तय गरेका छन् । उपनिर्वाचन र प्राप्त नतिजामा केन्द्रित भई सुहाङ नेम्बाङसँग कान्तिपुरका लागि पर्वत पोर्तेल र लक्ष्मी गौतमले गरेको कुराकानीको सम्पादित अंश :
यो जितलाई कसरी लिनुहुन्छ ?
यसलाई ठूलो अवसरसँगै जिम्मेवारीको रूपमा लिएको छु । तमाम इलामेली आमा वुवा, दाजु भाइ तथा दिदी बहिनीले विश्वास गरेर मलाई जिताउनु भएको छ । म प्रति उहाहरुले गरेको विश्वासलाई घात गर्ने छैन । उहाँहरुका तमाम समस्या समाधानमा म अवका तीन वर्ष सक्रिय वन्नेछु ।
तपाईंका चुनावी एजेन्डा के थिए ?
सर्वप्रथम त इलाममा हामीले अघिदेखि नै विकासका एजेन्डा उठाएका थियौँ । खासगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनतिर हाम्रो ध्यान थियो । कृषिमा उत्पादन, सहयोग र बजारीकरण र मूल्य निर्धारणका विषयमा हामी गम्भीर थियौँ । त्यससँग जोडिएका तमाम समस्या समाधानका लागि नीति निर्माणसँगै व्यवस्थित बजारीकरणका लागि पहल गर्ने छु । विशेषगरी इलामको पर्यटनमा मेरो फोकस रहने छ ।
इलाममा सडकको अवस्था ज्यादै दयनीय देखिन्छ । यो समस्या निराकरणका लागि तपाईंको योजना कस्तो छ ?
विकासका आधारहरू जे–जे छन्, मुख्य कुरा त बाटोघाटो नै हो । बजेट नआउने होइन, आएको पनि थियो । ठेक्कामार्फत काम अघि पनि बढेको थियो । तर, कतिपय कामले प्राविधिक कारण या लापर्वाहीले पूर्णता नपाएको देखियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा बाटो नै आवश्यक पर्छ । तसर्थ बाटोघाटो र पूर्वाधार विकासलाई म प्राथमिकतामा राख्नेछु । सुशासनप्रति म गम्भीर भएर लाग्ने छु । सांसद भएका नाताले बजेट ल्याउने मात्रै होइन, बजेट कार्यान्वयन भयो कि भएन समय समयमा अनुगमन पनि गर्ने छु ।
तपाईंको जितको आधारचाहिँ के मान्नुहुन्छ ?
एमालेसँगै इलामेलीको विरासत नै मेरो जितको मूल आधार हो । हाम्रो संगठन विगतदेखि नै बलियो थियो । त्यसमाथि माओवादी,नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेपाल परिवार दलसँगको सहकार्यले मेरो जित निश्चित भयो । । इलामका सबै दाजुभाइ, दिदीबहिनी आमाबुवाको विश्वासका कारण मैले जितेको हो ।
यो खुसीको क्षणमा बुवालाई कसरी सम्झिनुहुन्छ ?
अघिल्लो वर्ष विजय र्यालीपछिको सभामा बुवा र म सँगै थियौँ । उहाँले मेरो काँधमा हात राखेर विजय सभालाई सम्बोधन गर्नु भएको थियो । ४२ वडा घुमेका थियौँ । त्यो सबै कुरा अहिले रिल जस्तो झलझली सम्झना आउँछ । उहाँ मेरा बुवा मात्र नभई अभिन्न मित्रजस्तो हुनुहुन्थ्यो । उहाँ जहिल्यै कानुन र न्याय कहिल्यै छाडेर हिँड्नुहुन्न भन्नुहुन्थ्यो । त्यही कारणले उहाँले देखाएको बाटोमा इमानदारिता र निष्ठापूर्वक हिँड्ने छु ।
छोरा राजनीतिमा आओस् भन्ने बुवाको पनि चाहना थियो कि ?
म राजनीतिमा आउँछु भन्ने विश्वासचाहिँ उहाँमा थियो तर राजनीतिमा आउनैपर्छ भन्ने दबाब रहेन । सुरुमा म कानुन पढ्न थालेँ । कानुन पढ्दा बुवा खुसी हुनुहुन्थ्यो । पछि वकालत गर्न थालेँ, कानुनी परामर्श केन्द्र खोलेर प्राक्टिस पनि सुरु गरेँ ।
बुवा र म राजनीतिबारे बाक्दै छलफल गर्थ्यौं । खासगरी राजनीतिका नकारात्मक पक्षलाई कसरी सुधार्न सकिन्छ भन्ने सुझाव म बुवालाई दिन्थेँ । उहाँले पनि वकालतबारे मलाई सल्लाह दिनुहुन्थ्यो । त्योबखत उहाँलाई लागेको हुनुपर्छ, ‘छोरो राजनीतितिरै आओस् ।’ पारिवारिक माहोलले राजनीतिप्रति रुचि त थियो नै । सँगसँगै राजनीतिक चेतनाले पनि हुटहुटी त बढाएको थियो नै ।
राजनीति चुनौतीसँगै अवसर पनि हो । अब त संघीय सांसद बन्नु भएको छ । अगाडिको बाटो कस्तो देख्नुहुन्छ ?
विशेष परिस्थितिका कारण जुटेको मौका हो यो । यो मेरा लागि राम्रो अवसर पनि हो । अग्रजहरूले बगाउनु भएको रगत पसिना र योगदानबारे म बेखबर छैन । देशमासकारात्मक परिवर्तन र आर्थिक समृद्धि गरुम् भन्ने मेरो पहिलादेखिकै हुटहुटी भएका कारणले यो मेरा लागि अवसरसँगै चुनौती पनि हो ।