मुख्य समाचार
‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा
‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

— यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।


यसबाट चर्चित निर्देशक सञ्जयलीला भन्साली पनि ओटीटीमा डेब्यु गरेका छन् । भारतीय मिडियामा यो सिरिजबारे चारैतर्फ चर्चा छ । मनीषा स्वयंले पनि अलिकति धेरै नै भावुक भएर अन्तर्वार्ता पनि दिइरहेकी छन् । सबैलाई थाहा छ, भन्सालीको बलिउडमा छुट्टै छाप र प्रभाव दुवै छ ।


सबैभन्दा पहिले भन्सालीसँग काम गर्न पाएकैमा मनीषा खुसी छिन् । उनीहरू दुई जनाले केही खासखास फिल्ममा सँगै काम पनि गरेका छन् । जस्तो, ‘१९४२ : ए लभ स्टोरी’ र ‘खामोसी : द म्युजिकल’ । त्यसमध्ये खामोसीमा त भन्साली आफैं निर्देशक थिए । यो फिल्म आफैंमा सफल रह्यो । आलोचकले पनि यसलाई मन पाएका थिए । अनि यसमा मनीषाको अभिनयलाई पनि रुचाइएको थियो । सन् १९९६ मा खामोसी रिलिज भएको थियो, अब त यो पनि २८ वर्ष पुरानो कुरा भयो ।

त्यही बेलादेखि मनीषाको मनमा एउटा कुरा थियो, फेरि दोहोर्‍याएर भन्सालीसँग काम गर्ने । तर यो पूरा भयो, धेरै पछि, सन् २०२४ मा आएर । अनुहारभरि हाँसो सजाएर मनीषाले भनेकी छन्, ‘फेरि अर्को काम सँगसँगै गर्न २८ वर्ष नलगाऔं है भन्साली ।’ हिरामन्डीमा उनले कसरी अवसर पाइन् त ? उनले आफैं सुनाएअनुसार, जति बेला भन्सालीले यसबारे कुराकानी गर्न चाहे, त्यतिबेला मनीषा काठमाडौंमा थिइन् । बगैंचातिर आफूलाई व्यस्त राखिरहेको बेला थियो ।

तर जतिबेला भन्सालीको प्रस्ताव सुने, दंग परिन् । उनको प्रगति देखेर मनीषा आफैं खुसी थिइन् । खामोसी बनाएका भन्साली र अहिलेका तिनै भन्सालीमा धेरै फरक छ । यसमा उनको करियरको ग्राफले माथि मात्र चढ्न जानेको छ । मनीषा आफैं पनि अब त्यस्ती रहिनन्, जस्तो खामोसीको बेला थिइन् । खासमा यति धेरै समयपछि यति राम्रो सिरिजमा उत्तिकै राम्रो निर्देशकसँग काम गर्न पाएकोमा मनीषालाई अत्यधिक खुसी लागेको हो ।

उनले साँच्चै भावुक भएर भनेकी छन्, ‘मलाई क्यान्सरले छोएको थियो । त्यो पनि चौथो स्टेज पुगिसकेको थियो । तर म अझै ज्युँदै छु । मेरा लागि त यो दोस्रो जीवन जस्तै हो । मलाई आफू बाँच्ने हो अथवा होइन, थाहा थिएन । न त कति समय बाँच्ने थाहा थियो । अहिले मैले हिरामन्डी जस्तो सिरिजमा काम गर्ने मौका पाएकी छु । उत्तिकै महत्त्वपूर्ण भूमिका पाएको छु । यो त कोही पनि अभिनेताका लागि दोस्रो जीवन हो जस्तै लाग्छ ।’

यसपल्ट हिरामन्डीमा मनीषा खेल्न लागेको भूमिका भने ‘मल्लिका जान’ को हो । यो सिरिजमा उनी मात्र छैनन्, अरू धेरै भूमिमा अरू धेरै अनिनेता अभिनेत्री छन् । जस्तो, सोनाक्षी सिन्हा, सन्जिदा सेख, ऋचा चढ्ढा, अदीति राव हैदरी । मनीषा भन्छिन्, ‘कलाकारका रूपमा सबैलाई राम्रो पटकथामा काम गर्ने इच्छा हुन्छ । हामीलाई राम्रो भूमिका र पटकथा मात्र होइन, उत्तिकै राम्रा ‘फिल्ममेकर’को मूल्य थाहा छ । भन्साली केही राम्रो गर्न कहिल्यै सम्झौता गर्ने खालका होइनन् ।’

हिरामन्डीसँगै अभिनेता फरदिन खानले पनि पुनरागमन रच्दै छन्, त्यो पनि १४ वर्ष लामो समयपछि । फरदीप आफैं पनि भावुक हुने भए नै । यी पछिल्ला १४ वर्षमा फरदिनका जीवनमा धेरैथोक भयो । बलिउडबाटै उनै पूरापूर हराएको स्थितिमा पुगेका थिए । उनलाई धेरैले सम्झन पनि छाडेका थिए । हिरामन्डीमा उनी ‘वाली मोहम्मद’ को भूमिका हुनेछन् । ‘यति धेरै लामो समयपछि पुनरागमन गर्नका लागि यो भूमिका मेरो उमेरको आधारमा पनि सही हो ।’

हिरामन्डीसँग जोडिएका अनेक कथा छन् । ती त्यसै पनि दोहोर्‍याएर सुनिने हुन्छ । अझ यसैबारे सिरिज आउने भएपछि चर्चा चुलिने भयो नै । यो सिरिजलाई पछ्याउने हो भने यसको इतिहास अलिकति भए पनि बुझ्न भने आवश्यक हुन्छ । सिरिजको ‘फर्स्ट लुक’ जारी भइसकेको स्थितिमा धेरैले हिरामन्डीबारे बुझ्न पनि खोजेका छन् । यसका लागि हामी भौगोलिक रूपमा पाकिस्तानको लाहोर जानु पर्ने हुन्छ । अनि समयको आधारमा मुगलकालतिर पनि फर्किनुपर्ने हुन्छ ।



खासमा हिरामन्डी लाहोरमा रहेको ‘रेडलाइट एरिया’ हो । कुनै समय यसलाई शाही मोहल्ला पनि भनिन्थ्यो । जति बेला भारत र पाकिस्तान टुक्रिएका थिएनन्, त्यति बेला यो खुबै चर्चित थियो । भनिन्छ, त्यहाँको कोठामा माया प्रेम मात्रै साटिन्न । त्यहाँ राजनीति पनि हुन्छ । राजनीति भनेपछि धोका हुने भयो नै । मुगलकालमा यहाँ टाढाटाढा देशबाट पनि महिला ल्याइन्थ्यो । त्यहाँ संगीत र नृत्य प्रस्तुत हुन्थ्यो । यो संस्कृतिकै एक भाग जस्तै थियो ।

त्यहाँ नामी राजामहाराजा पुग्थे । समयसँगै हिरामन्डी त्यस्तो रहेन । मुगलकाल समाप्त भएसँगै त्यहाँ ब्रिटिस राज सुरु भयो । हिरामन्डीले त्यसको वास्तविक परिचय र चमक गुमायो । इतिहासले के भन्छ भने त्यो समय मन्त्री रहेका हिरासिंह डोगराबाटै यो ठाउँको नाम जुरेको थियो । उनी सिख राजा रणजित सिंहका मन्त्री थिए । यी मन्त्रीले अन्न राख्ने मन्डी बनाएका थिए । त्यसैले यसको नामै हिरामन्डी भयो । अचेल सूर्य ढल्यो कि यो ‘रेडलाइट एरिया’का रूपमा बदनाम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘पुष्पा २ : द रुल’ले यतिबेला इन्टरनेट प्लाटफर्ममा उछाल ल्याएको छ । नेपाल सीमावर्ती भारतीय राज्य विहारको गान्धी मैदानमा आइतबार बेलुका निर्माताले फिल्मको बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरे । युट्युब र सामाजिक सञ्जालका प्लाटफर्ममा अपलोड गरेपछि यसले इन्टरनेटमा आँधी ल्यायो । रिलिजको एक घण्टाभित्रै लाखौं भ्युज सिर्जना भए । मिथ्री मुभी मेकर्सको युट्यब च्यानलमा ट्रेलर रिलिजको ...
। यस वर्षका ठूला सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति कमजोर देखिएको छ । मिस अर्थ र मिस इन्टरनेसनलमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिनुपर्‍यो । नेपाली समयानुसार आइतबार बिहानको मिस युनिभर्सको प्रतिस्पर्धामा पनि नेपालले ठोस उपलब्धि हासिल गर्न सकेन । अन्तिम ३० मा नेपालले स्थान बनाउन सकेन । मेक्सिको सिटीमा आयोजित भव्य ग्राण्ड फिनालेमा डेनमार्ककी भिक्टोरिया जैरले ताज चुम्दा ...
। बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् । ६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ । निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ...
। चर्चित भारतीय हास्य कलाकार सुनिल ग्रोवरले नेपालमा प्रस्तुति दिने भएका छन् । १४ मंसिरमा होटल एभरेस्टको मैदानमा हुने ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ इभेन्टमा उनले प्रस्तुति दिनेछन् । सुनिलले नेपाली प्रशंसकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भिडियो सन्देश पनि जारी गरेका छन् । आफ्नो कमेडीलाई प्रत्यक्ष हेर्न र उपस्थित हुन उनले दर्शकलाई अनुरोध गरेका छन् । पर्दामा ...
। पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ । तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको ...