। एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमयर लिगमा वल्भसलाई ५-१ ले सहजै पराजित गरेको छ ।
हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको सिटी लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा छ ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । १२औं मिनेटमा पेनाल्टी गोलबाट सिटीलाई अग्रता दिलाएका हालान्डले ३५औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले तेस्रो गोल पनि पेनाल्टीबाटै गरे ।
यस्तै ५४औं मिनेटमा व्यक्तिगत चौथो गोल गरे । हालान्डलाई नै रिप्लेस गरेका जुलियन अल्भारेजले सिटीका लागि ८५औं मिनेटमा गोल गरे ।
वल्भसका लागि ह्वाङ ही चानले ५३औं मिनेटमा एक मात्र गोल गरे ।
जितपछि सिटीको ३५ खेलबाट ८२ अंक जोडेको छ । एक खेल बढी खेलेको आर्सनल ३६ खेलबाट ८३ अंसकिहत शीर्ष स्थानमा छ । प्रिमियर लिगको उपाधि होडमा अब यही दुई क्लब छन् ।