मुख्य समाचार
विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा
विश्वकपअघि पर्याप्त तयारी, नतिजाको प्रतीक्षा

। तीन महिना अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त हुँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारी पूरा गरेको छ ।

गत फागुनमा क्यानडासँग तीन खेलको ओडीआई सिरिजदेखि वेष्टइण्डिज ए सँग पाँच खेलको टी–२० सिरिजसम्मको अभ्यास र तयारीपछि नेपाल विश्वकप खेल्न जान तयार भएको छ ।


पछिल्लो दुई महिनामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग त्रिक्रोणात्मक सिरिजका ५ खेल, आयरल्यान्ड ए सँग २ खेल, भारतमा फ्रेण्डसिप कपका ५ खेल, हङकङ त्रिकोणात्मक सिरिजमा ४ खेल, एसीसी प्रिमियर कपमा ६ खेल र वेष्टइण्डिज ए सँग ५ गरी कुल २७ टी–२० खेल खेलेको छ ।

कुनैपनि टोलीलाई खेलाडीको क्षमता हेर्न यो पर्याप्त खेल हो । यसअघि अन्तर्राष्ट्रिय खेलको अनुभव नेपाली टोलीको सबैभन्दा कमजोर पक्ष हुने गर्थ्यो । तर यस पटक त्यसमा कुनै कमी भएको छैन ।


वेष्टइण्डिज ए विरुद्धको सिरिज पछिल्लो तीन महिनामा नेपालले खेलेको सबैभन्दा उपल्लो स्तरको खेल थियो । नेपाल आएको वेष्टइण्डिज ए बाट विश्वकप खेल्ने टोलीमा जोनसन चार्ल्स, स्पिनर गुणाकेश मोती र रोस्टन चेश परेका छन् । सिनियर टोलीबाट खेलेका १२ खेलाडी नेपाल भ्रमणमा आएका थिए ।

तीन साताअघि ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपाल उपाधिको दाबेदार थियो । तर सेमिफाइनलमा यूएईसँग ६ विकेटले हार्दै एसिया कप पुगेर भारत र पाकिस्तानसँग खेल्ने योजना अधुरै रहेको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा पनि हङकङसँग हार्न पुग्यो ।

एसीसी प्रिमियर कपमा देखिएको खराब ब्याटिङ विश्वकप अघि नेपाललाई ठूलो चिन्ता विषय बनेको थियो । तर घरेलु मैदानमा बलियो मानिएको वेष्टइण्डिज ए विरुद्ध सिरिजबाट नेपालले राम्रो पूनरागमन र आशा देखायो ।

२०५ रनको विशाल लक्ष्य १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर नेपालले सिरिजको पहिलो खेल जित्यो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेल्दै नेपाली क्रिकेट समर्थकमा आशा जगाए । रोहितले प्रिमियर कपमा यूएईविरुद्ध १८ बलमा ५ रन बनाउँदा भोग्नुपरेको आलोचना पनि यो शतकबाट कम गरेका थिए ।

रोहितले दोस्रो खेलमा ७१ र चौथो खेलमा ८२ रन बनाए । तेस्रो खेलमा उनले विश्राम लिए भने पाँचौं खेलको अन्तिम समयमा क्रिजमा पुगेपनि कुनै बल खेल्नुपरेन ।

पाँचौं खेलमा १७३ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १८.५ ओभरमा पूरा गरेको थियो । यो खेलमा अनिल साहले ५८ र आसिफ शेखले ५१ रन बनाउनु थप सकारात्मक पक्ष हो ।

वेष्टइण्डिज एसँगको सिरिजमा गरेको प्रदर्शनकै आधारमा कमलसिंह ऐरी विश्वकप टोलीमा अटाएका छन् । सागर ढकालले पनि उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टोलीमा एक स्पिनर थप भए । तीव्र गतिका बलर अभिनाश बोहराले डेथ ओभरमा योर्करको लय समाउनु पनि यो सिरिजको सकारात्मक पक्ष रह्यो ।

तीव्र गतिका बलर सोमपाल कामी विश्वकपअघि भएको तयारीबाट सन्तुष्ट देखिए । उनले भने, ‘यो भन्दा राम्रो तयारी हुन सक्दैन । आयरल्यान्ड र वेष्टइण्डिजसँग खेल्न पायौं । एकदमै राम्रो भएको छ । मलाई आशा छ हामी विश्वकपमा राम्रो प्रदर्शन गर्ने छौं ।’

सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्ने टोलीका एक सदस्य सोमपाल यसपटक पनि विश्वकप खेलेर दुईवटा विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दैछन् ।

उनका अनुसार नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुँदा उनी निकै उत्साहित भएका थिए । ‘यो मेरो लागि उत्कृष्ट क्षण हो’, सोमपालले भने ।

विश्वकपका लागि टोली निर्माण गर्नुअघि नेपालले खेलाडीलाई प्रशस्त अभ्यास र प्रदर्शन देखाउने अवसर दिएको थियो । ब्याकअप ओपनरमा अनिल साह, लोकेश बम र विनोद भण्डारीबीच प्रतिस्पर्धा भएको थियो । उनीहरुमध्येबाट अनिल चुनिए ।

तीव्र गतिका बलरमा आकाश चन्द र कमलसिंह ऐरीबीच प्रतिस्पर्धा भएको थियो । जसमा कमलले बाजी मारे ।

विश्वकप खेल हुने वेष्टइण्डिजको पिचलाई ख्याल गरेर नेपालले आरिफ शेख र विवेक यादवलाई छाडेर सागर ढकाललाई मौका दिएको छ । यसअघि टोली घोषणा गर्दा खेलाडीहरुबीच यसरी प्रतिस्पर्धा हुने थिएन । अझ सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकपका लागि टिम बनाउँदा खेलाडीबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट छनोट गरिएको थिएन ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका छन् ।

वेष्टइण्डिजविरुद्ध पहिलो र अन्तिम खेलको जितले टेस्ट मान्यता प्राप्त टोलीलाई पनि हराउन सकिन्छ भन्ने मानसिकता नेपाली टोलीमा देखिएको छ । ओमानमा प्रिमियर कपमा गरेको कमजोर प्रदर्शनको पीडा बिर्सेर उच्च मनोबलका साथ नेपाली क्रिकेटर विश्वकप खेल्न जाँदैछन् ।

यो तयारीपछि विश्वकप खेल्न गएको नेपाली टोलीबाट समर्थक र शुभचिन्तक शानदार प्रदर्शनको अपेक्षा गर्नेछन् । तीन टेष्ट टोली र एसोसिएटको शीर्ष टोलीविरुद्ध विश्वकपमा नेपाली टोलीको प्रदर्शन भने प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...