मुख्य समाचार
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र संघीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र संघीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री

: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्। खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।


'स्थानीय सरकारबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुनसक्छ,'प्रधानमन्त्री प्रचण्डले भने, 'त्यसैले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ ।' गाउँमा आएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय जनप्रतिनिधि,कर्मचारी र सुरक्षा अङ्गको सोच्ने तरिका कस्तो छ भन्ने विषयले सेवाप्रवाहमा अवस्था स्पष्ट हुने बताए। उनले आगामी दिनमा खैरहनी नगरपालिकाले खैरहनी बासीको आवश्यकता र आकांक्षाहरूको सम्बोधन मात्रै नभएर सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यसम्पादन गर्ने विश्वास व्यक्त व्यक्त गरे।

उनले भने,'सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ । यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधलाई केन्द्रमा राखेर प्रभावकारी काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।'




सरकारले सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेख्य कामहरू गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे। तेस्रोपटक सरकारको नेतृत्व सम्हालेको १६ महिनाको अवधिमा सबैभन्दा बढी आफूले सङ्घीयता कार्यान्वयनमा ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुईवटा बैठकहरू सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए।

प्राकृतिक साधनस्रोतको संरक्षण र बहुआयमिक परिचालन,ग्रामीण अर्थतन्त्रको सशक्तिकरण,सामाजिक सूचकहरूमा बढोत्तरी लगायतका रणनीतिक महत्वका कामहरूका साथै सेवाप्रवाहका क्षेत्रमा स्थानीय सरकारहरूले महत्त्वपूर्ण काम गर्न सक्ने प्रधानमन्त्रीको भनाइ छ । उनले प्रदेश र स्थानीय तहको साझा अधिकार सूचिसमेतको सहीरूपमा लागू गर्दा ग्रामीण अर्थतन्त्रको सवलीकरणसहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज सबैका लागि गौरवको विषय भए पनि बेलाबेलामा मानव र वन्यजन्तु बीचको द्वन्द्वले निकुञ्ज वरिपरिका नागरिकको जीउधनको क्षति भएको खबर सुन्दा आफूलाई दुःख लाग्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन गर्दै चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका जनताले अधिकतम लाभ लिने वातावरण सिर्जना गर्न वन ऐनमा संशोधन गरिने जानकारी गराए।

'वर्षायाममा डुवान तथा कटानको समस्याले खैरहनीलगायत पूर्वी चितवनमा बर्सेनि जनधनको क्षति हुने गरेको छ,'उनले भने,'राप्ती खोला, कयर खोला,ढुङ्ग्रे खोलालगायतका खोलामा तटबन्ध गरी नगरबासीको सुरक्षाका लागि सरकारले स्थानीय तहहरूसँग समन्वय गरी कार्य सम्पादन गर्नेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ। कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले जानकारी गराएका हुन्। कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत ...
: विराटनगरको कोशी अस्पतालमा स्त्री रोग तथा प्रसूति विभागको माथिल्लो तलामा सुत्केरीलाई राख्न ‘पोस्टनेटल वार्ड’ बनाउने योजना अनुरूप ट्रस निर्माण गरियो। सुत्केरीलाई राख्ने ठाउँको अभाव भएपछि ट्रस निर्माण गरेर एकपटकमा ४० जनासम्म अटाउन सकिने हल निकालिएको छ। अस्पतालले अघिल्लो आर्थिक वर्षमै ट्रस निर्माणको ठेक्का लगाएको थियो। लक्ष्मण कन्स्ट्रक्सनले ६५ लाखमा ठेक्का पायो। ठेकेदार कम्पनीले जस्तापाताको ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभागीय जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखको जिम्मेवारी आफैंले राखेका छन्। त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको हो।
: देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हुम्ला हो। देशका ७६ जिल्लामा सडक सञ्जालको पुगिसकेको छ। तर हुम्ला जिल्ला हालसम्म सडक सञ्जालको पहुँच पुगेको छैन। २०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८० सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन। देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ। ...
: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए। उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको बताए। अध्यक्ष ...