मुख्य समाचार
सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन
सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन

: प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।


सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले सास्ती खेप्नु परेको गुनासो सार्वजनिक भएसँगै समितिले उक्त निर्देशन दिएको हो।

समितिले आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए/गरेको कामकारबाही तथा आगामी कार्ययोजनाबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरे र साल्ट्र ट्रेडिङका उच्च अधिकारीसँग छलफल गरेको थियो।




समितिले नुन, चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै देशभर सहजै उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ।

बैठकमा सहभागी सांसदले आम नागरिकको भान्छासँग जोडिएको नुन तथा सहजरुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मुख्यतः बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको यसअघिको उदाहरण प्रस्तुत गर्दै मलको अभाव नहुने गरी आपूर्ति सुनिश्चित गराउन जोड दिए।

सांसद महेन्द्रबहादुर शाहीले दुर्गमका जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालयसम्म मात्रै आयोडिनयुक्त नुन उपलब्ध भएको तथ्य प्रस्तुत गर्दै अति दुर्गम क्षेत्रमा पनि नुनको सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराए। सांसद कान्तिका सेजुवालले जनताको मागअनुसार नुन आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे। उनले दुई/तीन दिनको बाटो हिँडेर दुई केजी मात्रै नुन पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

सांसद हेमराज राईले नुन, चिनी तथा रासायनिक मललगायत अत्यावश्यक वस्तु बिक्रीवितरणको जिम्मेवारी लिएको साल्ट ट्रेडिङले मागअनुसार आपूर्तिको सुनिश्चितता गर्नुपर्ने बताए। सांसद सूर्यमान दोङले रासायनिक मलको सहज आपूर्ति र वितरणको योजना के छ भनी प्रश्न गरे।

सांसद गणेश पराजुली, सीता मिजार, शान्ति चौधरी र अमृतादेवी अग्रहरीले बर्खाको समयमा रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न तथा दुर्गममा नुनको ढुवानीको व्यवस्था मिलाउन आग्रह गरे।

‘अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध’

छलफलमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले नुन, चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताए। ‘अत्यावश्यक वस्तुको अभाव हुन दिइने छैन, आपूर्ति सहज बनाउन आवश्यक कार्ययोजना बनाउँदैछौँ’, उनले भने।

मन्त्री भण्डारीले समयमै रासायनिक मलको आयातको व्यवस्था मिलाउन ठोस योजना बनाइएको बताए। मल आपूर्तिलाई सहज बनाउन मन्त्रलायले थप कूटनीतिक पहल गरिरहेको उनको भनाइ थियो। मन्त्री भण्डारीले कृत्रिम अभाव, गुणस्तरहीन सामग्रीको बिक्रवितरण तथा कालोबजारी नियन्त्रण गर्न मातहतका निकायलाई व्यवस्थित ढंगबाट परिचालित गरिएको स्पष्ट पारे।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले नेपाल सरकारको निर्देशनबमोजिम विभिन्न खाद्य तथा गैरखाद्य वस्तुको उत्पादन तथा बजारीकरणमा कम्पनी क्रियाशील रहेको बताए। उनले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गरिदिन आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेलम्ची खानेपानी आयोजनाको बाँध रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान क्षेत्रमा पानी पर्न थालेपछि काठमाडौंंमा पानी पथान्तरण बन्द गर्ने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ। पानी परेपछि आउन सक्ने बाढी पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै गत वर्षजस्तै यसपटक पनि पानी बन्द गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए। ‘ठ्याक्कै यही मितिबाट ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए। गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि ...
: जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो। अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी भएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक ...
: अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। मुत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र ...