मुख्य समाचार
भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण
भारतमा लोकसभा निर्वाचन सम्पन्न, मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण

— शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ ।

शनिबार सातौं तथा अन्तिम चरणको मतदान सकिएलगत्तै एक्जिट पोलहरूले चुनावी नतिजाको प्रक्षेपण सार्वजनिक गरेका छन् । अधिकांश ‘एक्जिट पोल’ ले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण गरेका छन् । २०१४ र २०१९ को चुनावमा अत्यधिक बहुमतले भारतीय जनता पार्टीले चुनाव जितेको थियो । मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।


आधा दर्जन बढी ‘एक्जिट पोल’ को नतिजाले भाजपा नेतृत्वको राष्ट्रि लोकतान्त्रिक गठबन्धन (एनडीए) पुनः भारी बहुमतका साथ तेस्रो पटक सत्तामा पुग्ने देखाएको छ । एक्जिट पोलहरूले भाजपा नेतृत्वको एनडीएले ३ सय ५० देखि ३ सय ८० सिटसम्म जित्ने प्रक्षेपण गरेका छन् । लोकसभामा बहुमतका लागि २ सय ७२ सिट चाहिन्छ । एक्जिट पोलहरूले भाजपा नेतृत्वको गठबन्धनलाई त्यो भन्दा धेरै सिट जित्ने प्रक्षेपण गरेका छन् ।

विपक्षी गठबन्धन इन्डिया गठबन्धनलाई प्रायः एक्जिट पोलले १ सय २५ देखि १ सय ६० सिट मात्रै दिएको छ । न्युज नेसन टीभी, साम जकिबात, इन्डिया न्युज, रिपब्लिक भारत, रिपब्लिक टीभीलगायतले आफ्नो एक्जिट पोलमा एनडीएलाई न्यूनतम ३ सय ४२ देखि ३ सय ९२ सिट सम्म दिएका छन् । विपक्षी गठबन्धनलाई १ सय २५ देखि १ सय ६९ सम्म सिट दिएका छन् ।

एक्जिट पोलको नतिजा सधैं सही ठहरिन्छ भन्ने हुँदैन । २०१९ को लोकसभा चुनावमा प्रायजसो एक्जिट पोलको नतिजा र वास्तविक परिणाम करिब करिब मिलेको थियो । तर, २००४ को चुनावमा अधिकांश एक्जिट पोलले अटलबिहारी वाजपेयीको नेतृत्वमा भाजपाले पुनः जित्ने दाबी गरेको थियो । तर, त्यसको ठीकविपरीत कंग्रेस नेतृत्वको विपक्षी गठबन्धनले जित हात पारेको थियो ।


यस पटक एक्जिट पोलहरूले प्रतिकूल नतिजा प्रक्षेपण गरे पनि प्रतिपक्ष कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने २ सय ९५ सिटभन्दा बढी जित्ने दाबी गरेको छ । शनिबार कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको दिल्लीस्थित निवासमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि खड्गेले ग्राउन्ड लेभलबाट आएको रिपोर्टिङका आधार तथा गठबन्धन दलका नेताहरूसँगको छलफलपछि उक्त निष्कर्ष निकालिएको बताए । उनले मत गणनाका बेला पूरा सतर्कता र तयारीका साथ बस्न गठबन्धनका कार्यकर्ताहरूलाई निर्देशनसमेत दिइएको जानकारी दिए ।

अर्कोतिर, भाजपाका अध्यक्ष जेपी नड्डाले भाजपा एक्लैले ३ सय ७० सिट जित्ने पुरानो अडान दोहोर्‍याएका छन् । उनले एनडीए गठबन्धनले चार सय सिट पार गर्नेसमेत दाबी गरे । सत्तारुढ भारतीय जनता पार्टीले तेस्रो पटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा होमिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यस पटक जितेको खण्डमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूपछि मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् । कट्टर हिन्दुवादी पार्टीका रूपमा चिनिएको भाजपाले हिन्दु मतलाई आफ्नो पक्षमा ध्रुवीकृत गरेर चुनावमा जित्ने रणनीति लिएको थियो ।

भाजपालाई कंग्रेस नेतृत्वको विपक्षी ‘इन्डिया’ गठबन्धनले देशैभर चुनौती दिएको छ । कंग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धनको अगुवाइ गरी चुनावभरि देश दौडाहा गरेका थिए । समाजवादी पार्टीका नेता अखिलेश यादव, आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरू भाजपालाई हराउन चुनावी मैदानमा डटेका थिए ।

पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकरे र शरद यादव समेतका नेताहरू भाजपालाई चुनौती दिन चुनावी अभियानमा सक्रिय थिए । चुनाव प्रारम्भसँगै भाजपाले चार सय पारको नारा दिएको थियो । तर, विपक्षी गठबन्धन बलियो हुँदै गएपछि उक्त नारा कमजोर हुँदै गएको विश्लेषण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...