मुख्य समाचार
पहिलो खेलबाटै लय समात्ने रणनीति
पहिलो खेलबाटै लय समात्ने रणनीति

— नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले मंगलबार (२१ः१५ बजे) आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा बहुप्रतीक्षित पुनरागमन गर्दै छ । दशकपछि ट्वान्टी–२० विश्वकपमा फर्किएको नेपालले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा हुने यहीं खेलबाट लय समात्ने आस गरिएको छ ।

समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपाल पहिलो खेलबाटै आफ्नो उत्कृष्ट दिने दाउमा छ । नेपालले समूह ‘डी’ मा नेदरल्यान्ड्सबाहेक श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । आईसीसी वरीयतामा होस् वा प्रदर्शनका हिसाबमा नेपालभन्दा सबै बलिया टोली हुन् ।

नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलिरहेको छ । यता पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । नेदरल्यान्ड्सको यो नै उल्लेखनीय सफलता होइन । सन् २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटको विजय हात पारेको थियो, त्यो पनि क्रिकेटको ‘मक्का’ मानिने लर्डसमा । सन् २०२२ मा दक्षिण अफ्रिकामाथि पनि नेदरल्यान्ड्सले ट्वान्टी–२० विश्वकपमै ३८ रनको स्मरणीय जित आत्मसात गरेको थियो ।

ठूला इभेन्टहरूमा बलिया राष्ट्रलाई ढाल्नु नै नेदरल्यान्ड्सको पहिचान हो । नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । यसपालिको विश्वकप अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले १ सय ८१ रन बनाउँदै श्रीलंकालाई १ सय ६१ रनमै अलआउट गरेको थियो । यसले डच टोलीको अलराउन्ड क्षमता प्रस्ट्याउँछ ।


नेपालसँग भने नेदरल्यान्ड्सको जितको शृंखला आलोपालो जस्तै छ । दुई टोलीबीचको पछिल्ला ५ खेलमा नेदरल्यान्ड्सले ३ र नेपालले २ खेलमा जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।

‘ट्वान्टी–२० मा कुनै पनि टोलीले अर्को कुनै टोलीलाई पराजित गर्न सक्छ । नेदरल्यान्ड्सले वार्मअप खेलमा श्रीलंकालाई पराजित गरिसकेको छ, अमेरिकाले पनि ट्वान्टी–२० शृंखलामा बंगलादेशलाई दुई पटक हराइसकेको छ । त्यसैले मलाई विश्वास छ, हामीले विश्वकपमा राम्रो गर्नेछौं,’ नेपालले सुपर एटमा पुग्ने लक्ष्य बनाएको जनाउँदै कप्तान रोहित पौडेल भन्छन्, ‘नेदरल्यान्ड्ससँगको खेलप्रति नेपाली टोली केन्द्रित छ । यहींबाटै लय समात्नु जरुरी छ । खेलाडीहरू पनि आफ्नो भूमिकालाई लिएर स्पष्ट छन् ।’

तर, नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । क्यानडासँगको अभ्यास खेलमा नेपाल ६३ रनले पराजित भएको थियो । १ सय ८४ रनको लक्ष्य पाएको नेपाल १ सय २० रनमै अलआउट भएको थियो । यस स्थितिमा नेपालको अर्को चिन्ता ओपनिङ ब्याटिङको छ । पछिल्ला खेलहरूमा कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ । एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेलमा शून्यमै आउट भए । वेस्ट इन्डिज ‘ए’ सँगको घरेलु ट्वान्टी–२० शृंखलाको चार खेलमा उनले ३२ रनमात्र बनाउन सके ।

सेन्ट भिन्सेन्ट र ह्युस्टनमा स्थानीय टोलीसँग खेलिएको अभ्यास खेलमा चल्न नसकेका भुर्तेलले क्यानडाविरुको अभ्यास खेलमा पनि १० रनमात्र बनाउन सके । उनको ओपनिङ जोडी आसिफ शेखले पनि पछिल्ला ६ खेलमा एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेनन् । यी दुई त्यही जोडी हो, जसले २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका थिए ।

नेपालको हालैका कमजोर नतिजाहरूलाई लिएर कप्तान रोहित समर्थकलाई चिन्ता नगर्न भन्छन् । ‘१–२ खेल तलमाथि हुन्छ, तर मलाई राम्रो खेल्नेमा आफ्नो टोलीमाथि विश्वास छ, चाहे त्यो ओपनिङ ब्याटिङमा होस् वा अन्यमा । ओपनिङ ब्याटिङले राम्रो गर्‍यो भने अरूलाई पनि सजिलो हुन्छ,’ रोहितले भने ।

नेपाली ब्याटिङको ठूलो आशा उनीमाथि छ । कुशल मल्ल, सन्दीप जोरा, गुलशन झाले मध्यक्रममा उनलाई साथ दिनेछन् । १० वर्षअघिको विश्वकप टोलीबाट हाल खेलिरहेका एकमात्र सदस्य सोमपाल कामीले करण केसीको साथ मध्यम गतिको बलिङ सम्हाल्ने छन् । स्पिनमा देव्रेहाते ललित राजवंशी र सागर ढकालमध्ये एकले मात्र स्थान बनाउन सक्छन् । अविनाश बोहरा क्यानडासँग राम्रो लयमा देखिएका थिए । ‘डेथ ओभर’ मा उनको बलिङ नेपाललाई निकै महत्त्वपूर्ण रहेको छ ।

नेदरल्यान्ड्सले कोलिन अकरमनको अनुपस्थितिमा माइकल लेभिटलाई टोलीमा राखेको छ । ४ महिनाअघि नेदरल्यान्ड्स टोली काठमाडौं आउँदा लेभिटले नेपालसँगको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको ३ खेलमा २ मा अर्धशतक बनाएका थिए । सोही शृंखलामा नामिबियाविरुद्ध उनले ६२ बलमै १० चौका र १२ छक्का प्रहार गरी १ सय ३५ रन बनाएका थिए ।

स्कट इडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्स टोलीमा बास डे लिड, लोगान भान बिक, म्याक्स ओ डावड, सिब्रान्ड इन्गेलब्रेक्ट, विक्रम सिंह, वेस्ली बारेसी जस्ता अनुभवी खेलाडी छन् । एसोसिएट वर्ष खेलाडी अलरान्डर डे लिड टोलीका प्रमुख खेलाडी हुन् । तर २४ वर्षे उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट कमैमात्र ट्वान्टी–२० क्रिकेट खेलेका छन् ।

सन् २०२२ को ट्वान्टी–२० विश्वकपमा १३ विकेट लिएका उनले हालै आएर आयरल्यान्ड, स्कटल्यान्डविरुद्ध ट्वान्टी–२० का साथै श्रीलंकासँगको अभ्यास खेलमा खेलेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रसिंह ऐरीले खेल्ने निश्चित जस्तै छ । दुई साताअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा एङ्कलमा चोट लागेयता उनले खेलेका छैनन् । अमेरिकाविरुद्धको अभ्यास खेलमा उनी टोलीमै थिए । तर वर्षाका कारण त्यो खेल एक बल पनि फाल्न नपाई रद्द भयो । उनी टोलीमा फर्किएपछि अनिल साहले प्लेयिङ ११ बाट स्थान गुमाउनुपर्ने वातावरण बन्न सक्छ । लयमा देखिएका अनिलले क्यानडाविरुद्धको अभ्यास खेलमा १६ बलमा २४ रन बनाएका थिए ।

टेक्सासको मौसम बदलिएको छ । पछिल्ला चार दिनमा नियमित जस्तो वर्षा भइरहेको छ । अन्यथा उच्च आर्द्रतामा खेल्न सबै टोलीलाई कठिन बन्ने गरेको छ । नेपालले डालास नजिक रहेको सहर ह्युस्टनमा एक साता अभ्यास गर्दै दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि डालास आएर क्यानडासँग अभ्यास खेल खेलेको हो । अमेरिकासँग भने वर्षाका कारण खेल हुन सकेन । ग्रान्ड प्रेरीको विकेटमा खेलिसकेका हुनाले यो फाइदा नेपाली टोलीलाई छ ।

फ्लोरिडामा श्रीलंकासँग अभ्यास खेल खेलेको नेदरल्यान्ड्सको क्यानडासँग अभ्यास खेल वर्षाका कारण टस पनि नभई रद्द भएको थियो, जसका कारण टोलीले डालासको विकेटबारे बुझ्न पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...