मुख्य समाचार
के होला फुटबल प्रशिक्षक अल्बर्टो एनेसको भविष्य ?
के होला फुटबल प्रशिक्षक अल्बर्टो एनेसको भविष्य ?

। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिमसम्म मात्रै छ । एनेस २०७९ साल फागुन १७ गते नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा एक वर्षका लागि नियुक्त गरेको थियो ।

पछि नेपालले फिफा विश्वकप र एसियन कपको छनोटको दोस्रो चरण खेलिरहेकोले एन्फाले एनेसको कार्यकाल साढे ३ महिना थप्ने निर्णय गर्‍यो । एन्फाले छनोटको दोस्रो चरण सम्मका लागि पनि उनीसँगै सम्झौता थप्यो ।

गत पुसमा बसेको एन्फा कार्यसमिति बैठकले छनोटमा ४ खेल बाँकी रहेकोले उनको सम्झौता छोटो अवधिका लागि थप गर्ने निर्णय गरेको थियो । उक्त सम्झौता अनुसार अब उनको प्रशिक्षणमा अन्तिम खेल खेल्न बाँकी छ ।

अब नेपालले दोस्रो चरणमा समूह एचको अन्तिम खेल खेल्न बाँकी छ । यमनविरुद्धको उक्त खेल नेपालले जुन ११ अर्थात २९ जेठमा साउदी अरेबियाको दम्मानमै खेल्नेछ । उक्त खेल नै एनेसको वर्तमान कार्यकालको अन्तिम खेल हुनेछ । त्यसपछि उनी फेरि दोहोरिन्छन् या दोहोरिँदैनन् हेर्न बाँकी छ र नेपाली फुटबल प्रेमीको चासो पनि यसैमा छ ।

के छ एनेसको चाहना ?

उमेरले चार दशकमात्र भएका इटालियन नागरिक अल्बर्टो एनेसले भने आफू नेपालमै काम गर्न इच्छुक रहेको र नेपालमै बस्न मन भएको बताउँदै आएका छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले दोस्रो चरणमा ५ खेल खेलिसक्दा एक खेल पनि जित्न सकेको छैन । अझै ती सबै खेलमा एक गोल पनि गर्न सकेको छैन ।



यस्तोमा नेपाली टिम खेलाडी र प्रशिक्षक सबै गोल गर्नुपर्ने र अंक जोड्नुपर्ने स्वभाविक दबाबमा छन् । खेलाडीहरु विदेश पलायन हुने क्रम जारी रहँदा अहिले बलियो राष्ट्रिय टिम बनाउनु ठूलो चुनौती छ ।

यसअघि नेपालले बहराइनविरुद्ध गत चैतमा भएको विश्वकप छनोटका खेलको बेला एनेसले आफू नेपालमै बस्ने चाहना भएको सुनाएका थिए । अब यमनविरुद्धको खेलपछि उनको भविष्यबारे निर्णय हुनेछ ।

युएई र यमनविरुद्ध साउदी अरेबियामा खेल्न जानुअघि सम्झौताबारे सोध्दा प्रशिक्षक एनेसले आफू नेपालको टचलाइनमा अझै देखिने बताएका थिए । ‘छनोटको खेलपछि पनि तपाईंले मलाई नेपालको टचलाइनमा देख्नुहुनेछ’, उनले भनेका थिए ।


एन्फाले भने प्रशिक्षकको सम्झौताबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । एनेसलाई नै निरन्तरता दिने वा नयाँ प्रशिक्षक नियुक्त गर्ने भन्ने एन्फाबाट आधिकारिक रुपमा कुनै धारणा पनि राखेको छैन ।

तर एन्फाकै स्रोतका अनुसार एन्फा अर्को प्रशिक्षकको खोजीमा छ । एनेसको नेपाल बस्ने सम्भावना ५०-५० जस्तै छ । एन्फाले अहिलेसम्म नयाँ प्रशिक्षक नियुक्तिका लागि कुनै आवेदन खुलाएको छैन । यस्तै एनेसलाई निरन्तरता दिने जानकारी पनि गराएको छैन ।

यही प्रशिक्षकलाई निरन्तरता दिने वा नयाँ प्रशिक्षक खोज्ने भन्ने विषयमा अहिले एन्फा आन्तरिक छलफलमा छ र यसबारे छिटै यसबारे निर्णय गर्ने तयारीमा छ ।

अहिलेसम्मको बुझाइअनुसार एन्फाले नेपाली फुटबललाई लागि योग्य नयाँ प्रशिक्षक भेटेमा उसैलाई नियुक्त गर्ने तयारी गरिरहेको छ । यदि त्यस्तो नभएमा भने एनेसले नै निरन्तरता पाउने सम्भावना पनि छ ।

यमनसँगको खेलपछि सम्भवत: यसबारे निर्णय आउन सक्छ ।

एनेसको प्रशिक्षणमा नेपालको प्रदर्शन

अल्बर्टो एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कप फुटबल, साफ च्याम्पियनसिप, विश्वकप छनोट र केही मैत्रीपूर्ण खेलहरु खेलेको छ । उनको प्रशिक्षणमा नेपालले पहिलो प्रतियोगिता प्रधानमन्त्री कप थ्री नेसन्स कप उपाधि जितेको छ ।

उक्त प्रतियोगितामा नेपालसहित लाओस र भुटान सहभागी थिए जहाँ नेपालले फाइनलमा लाओसलाई हराएर उपाधि जितेको थियो ।



त्यसपछि बेंगलुरुमा गत जुनमा भएको साप च्याम्पियनसिपमा साविक उपविजेताको रुपमा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

कुवेत र भारतसँग पराजित भएको नेपालले पाकिस्तानलाई मात्र पराजित गरेको थियो । त्यतिबेलै प्रशिक्षक एनेसले नेपाली टिम छाड्ने हल्ला चलेको थियो तर उनले बेंगलुरुमै नेपाली पत्रकारहरुसँग कुरा गर्दै आफूले नेपाली टिमसँगै हुने बताएका थिए ।

यस्तै फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले अहिलेसम्म ७ खेल खेल्यो । जसमा नेपालले लाओसविरुद्ध प्रारम्भिक चरणमा एक खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । त्यसयता विश्वकप छनोटको दोस्रो चरणमा नेपालले खेलेको सबै ५ खेलमा पराजित भएको छ ।

प्रारम्भिक चरणमा नेपालले लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गरेको थियो । घरेलु मैदान १-१ को बराबरी खेलेको नेपालले अवे मैदानमा लाओसलाई १-० ले पराजित गरेको थियो ।

यस्तै विश्वकप छनोटको दोस्रो चरणमा भने नेपाल जितविहीन छ । युएईसँग दुवै खेलमा समान ४-० ले पराजित भएको नेपाल बहराइनसँग ५-० र ३-० ले पराजित भएको थियो । यस्तै घरेलु मैदानमा भएको यमन विरुद्धको खेलमा पनि नेपाल २-० ले पराजित भएको थियो ।

यस बाहेक एनेसको प्रशिक्षणमा नेपालले केही मैत्रीपूर्ण खेल पनि खेलेको थियो । जसमा साफ च्याम्पियनसिप अघि खेलिएको फिलिपिन्ससँग मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपपछि नेपालले सिधै सेप्टेम्बरमा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भयो ।

यस्तै नेपालले मलेसिया र इंग्ल्याण्ड सी सँग अनअफिसियल खेल खेलेको थियो । तर दुवैमा नेपाल पराजित भएको थियो ।

एनेसको प्रशिक्षणमा नेपालले थ्री नेशन्स कपमा ३ खेल, साफ च्याम्पियनसिपमा ३ खेल, विश्वकप छनोटमा ७ खेल तथा ३ मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ । जसमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ । यस्तै ३ खेल बराबरी खेल्दा १० खेलमा पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...