मुख्य समाचार
ब्राजिलका उदीयमान स्टार एन्ड्रिक
ब्राजिलका उदीयमान स्टार एन्ड्रिक

। पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्हो, नेमार । यी सबै ब्राजिलका फुटबल स्टार हुन् ।

पेलेदेखि रोनाल्डोसम्म नेमारदेखि भिनिसियस जुनियरसम्म ब्राजिल फुटबल प्रतिभा जन्माउने कारखानाजस्तै बनेको छ । त्यसमा पछिल्लो समय थपिएको नयाँ नाम हो एन्ड्रिक ।

१७ वर्षका एन्ड्रिक अहिले नै युथ सेन्सेसन बनिसकेका छन् । उनले इंग्ल्याण्ड र स्पेन जस्ता ठूला टोली विरुद्ध ब्राजिलका लागि गोल गरिसकेका छन् । एन्ड्रिकले अर्को सिजन स्पेनिस जायन्ट रियल मड्रिडबाट खेल्दैछन् ।

कोपा अमेरिका २०२४ अघि वार्मअप खेलमा एन्ड्रिककै निर्णायक गोलमा ब्राजिलले मेक्सिकोलाई ३-२ ले हराएको थियो ।

आन्द्रेस परेइरा र गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाएका थिए । तर जुलियन क्वीनोनेस र गुइलेर्मो मार्टिनेज आयालाले गोल गर्दै मेक्सिकोलाई २-२ को बराबरीमा ल्याएका थिए ।



त्यसपछि एन्ड्रिकले भिनिसियस जुनियरको पासमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

गत डिसेम्बरमा रियल मड्रिडमा अनुबन्धका लागि सम्झौता गरेका एन्ड्रिक अब जुलाइमा स्पेन जाँदैछन् ।

उनले यसै साता एक सञ्चार माध्यमसँग भनेका थिए, ‘रियल मड्रिडसँग एक अद्भुत कथा हुनेछ र जीवनभरि मड्रिडमा रहने मलाई इच्छा छ ।’

ब्राजिलका युवा प्रतिभाले टिनएजमै युरोपमा गएर खेल्न थालेका छन् । त्यसमा पनि रियल, बार्सिलोना जस्ता विश्वकै ठूला क्लबको नजर युवा खेलाडीहरुमा छ ।

१६ वर्षमै राष्ट्रिय टिममा डेब्यु

उनको पूरा नाम एन्ड्रिक फेलिपे मोरेइरा डे सुयसा हो । उनी ११ वर्षको उमेरमा ब्राजिलियन क्लब पाल्मेइरासको युथ टिममा आवद्ध भएका थिए । उनले त्यहाँ ६ वर्ष बिताए र सन् २०२२ मा क्लबको सिनियर टिममा बढुवा भए ।

एन्ड्रिकले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । विश्वकप छनोट अन्तर्गत कोलम्बियाविरुद्धको खेलमा एन्ड्रिकले डेब्यु गरेको खेलमा ब्राजिल पराजित भएको थियो । त्यसपछि उनले अर्जेन्टिनाविरुद्ध पनि खेले ।

कोलम्बियाविरुद्ध पहिलो पटक टिममा पर्दा ब्राजिलका तत्कालिन प्रशिक्षक फर्नान्डो डिनिजले उनी राम्रो प्रतिभा भएको बताएका थिए । ‘उनी महान प्रतिभा भएकामध्ये एक बन्न सक्ने क्षमता भएका खेलाडी हुन्’, डिनिजले भनेका थिए ।

टिनएजमै उत्कृष्ट प्रदर्शन गर्दै आएका एन्ड्रिक यही जुन-जुलाईमा अमेरिकामा हुने कोपा अमेरिका २०२४ का लागि ब्राजिलको राष्ट्रिय टिममा छन् । नेमार चोटबाट पूर्ण रुपमा फिट नहुनु र गाब्रिएल जेसस, रिचार्लिसन जस्ता खेलाडी टिममा नपरेका बेला एन्ड्रिकले कोपा खेल्ने टिममा स्थान बनाएका हुन् ।

कोपा उनको लागि आफ्नो क्षमता देखाउँदै अन्तर्राष्ट्रिय फुटबलमा उदय हुने राम्रो अवसर बन्न सक्छ ।

प्रतिभाशाली बच्चा

मार्चमा इंग्ल्याण्ड विरुद्ध मैत्रीपूर्ण खेलमा गोल गरेपछि बीबीसीले एन्ड्रिक रोमारियो जस्तै भनेर एउटा लेख लेखेको थियो ।

एन्ड्रिकले सन् २०२२ मा फ्रान्समा भएको यू-१६ मोन्टाइगु टुर्नामेन्टमा सर्वाधिक ५ गोल गर्दै ब्राजिललाई जिताउन सहयोग गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्काउटको नजर उनीतर्फ परेको थियो ।

जब अक्टोबर २०२२ मा एन्ड्रिकले पाल्मेइरासको सिनियर टिमबाट डेब्यु गरे त्यही महिना उनका अभिभावकले चेल्सीको मैदान भ्रमण गरेका थिए । तर प्रिमियर लिग क्लब चेल्सीले उनको सम्झौतामा सहमति गर्न सकेन । अनि स्पानिस जायन्ट रियल मड्रिडले एन्ड्रिकका लागि अघि बढेको थियो ।

अर्को महिना जुलाइमा १८ वर्ष लागेपछि एन्ड्रिक स्पेन जानेछन् । जहाँ ब्राजिलकै भिनियस जुनियर र रोड्रिगोसहित इंग्ल्याण्डका जुड बेलिङ्घम र फ्रान्सका केलिएन एमबाप्पेसहित खतरनाक अट्याक लाइन हुनेछ ।

एन्ड्रिकको पहिलो अन्तर्राष्ट्रिय गोल १७ वर्ष हुँदा इंग्ल्याण्डविरुद्ध थियो । उनले यसै मार्चमा लण्डनस्थित वेम्बली मैदानमा भएको इंग्ल्याण्ड विरुद्ध गोल गरेका थिए । उनकै गोलमा ब्राजिल १-० ले विजयी भएको थियो ।

उक्त गोलमा एन्ड्रिकले वेम्बलीमा क्लब वा देशका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान पनि बनाएका थिए । जतिबेला उनी १७ वर्ष २४६ दिनका थिए ।

त्यस खेलमा गोल गर्दा उनी ब्राजिलको सिनियर टिममा रोनाल्डो (१९९४) पछि गोल गर्ने कान्छो खेलाडीसमेत बने ।

मार्चमै स्पेनविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले गोल गरेका थिए । उक्त खेल ३-३ को बराबरीमा सकिएको थियो । त्यसपछि उनले मेक्सिको विरुद्धको खेलमा गोल गरे । एन्ड्रिकले अहिलेसम्म ब्राजिलका ५ खेलमा ३ गोल गरिसकेका छन् ।

इंग्ल्याण्ड विरुद्धको खेल उनको सिनियर करियरमा तेस्रो खेल मात्रै थियो । तर उनले मैदान प्रवेश गरेको ९ मिनेटमै गोल गरे ।

त्यसबेला साउथ अमेरिकन फुटबल एक्सपर्ट टिम भिकेरीले बीबीसी रेडियो फाइभ लाइभसँग एन्ड्रिक प्रतिभाशाली बच्चा भएको बताएका थिए । ‘पेलेले कहिले पनि नखलेको मैदानमा एन्ड्रिक पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै इंग्ल्याण्डविरुद्ध विजयी गोल गरे’, टिमले भनेका थिए, ‘त्यो बच्चा प्रतिभाशाली हो ।’

यस्तै ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरले यसै प्रसंगमा भनेका थिए, ‘यदि उनले अहिलेसम्म देखाएको मनोवृत्ति कायम राखे भने उनी ब्राजिलियन फुटबल र विश्व फुटबलमा धेरै महत्त्वपूर्ण नाम हुनेछन् ।’

फुटबल प्रतिभाको खानी र विश्व स्टार खेलाडीहरु जन्माएको ब्राजिलका एन्ड्रिक भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबाट इन्सपायर भएको उनका बुबाले बताएका थिए ।

इएसपीएन फुटबलले गत नोभेम्बरमा ब्राजिलका २१ वर्षमुनिका उत्कृष्ट ट्यालेन्टहरुको सूची बनाउँदा एन्ड्रिक विशेष प्रतिभासहित खेलाडी भन्दै एक नम्बरमा राखेको थियो ।

‘उनी न्याचुरल ट्यालेन्ट हुन् र उनमा अझ धेरै पनि छ । उनीसँग साहसको भावना छ, राम्रो गर्नका लागि जागरुक छन्’, ईएसपीएनले लेखेको छ, ‘उनले ट्याप इनबाट उत्कृष्ट गोलहरु पनि गर्दै आएका छन् । उनी साँच्चै एक विशेष प्रतिभा जस्तै देखिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो एकदिवसीय वरीयतामाभारतीय स्टार क्रिकेटर विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी चौथो स्थानमा रहेका थिए। आईसीसीले बुधबार सबै ढाँचाका लागि पछिल्लो वरीयता जारी गर्‍यो। रोहित शर्मा ७८१ अंकका साथ एकदिवसीयमा शीर्ष स्थानमा कायमै छन् भने विराट कोहलीको ७७३ अंकसहित दोस्रो स्थानमा छन्। यी दुई बाहेक कप्तान शुभमन गिल ७२३ ...
— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ । फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने ...