। लोक तथा दोहोरी गायक राजु परियारले लोकदोहोरी संगीत क्षेत्रमा पछिल्लो समय मौलाएको भनिएको विकृति र विसंगतिबारे प्रतिक्रिया दिएका छन् । उनले नेपाली समाज अनुकूलको गीत-संगीत पस्किन आग्रह गरे ।
एक अवार्ड समारोहको क्रममा मिडियासँग कुराकानी गर्दै उनले आफ्ना गीतको सेन्सर आफैं गर्न सुझाव दिए ।
उनले भने, ‘बुढेसकालमा मेरो नाति र नातिनीसँग बसेर सुन्न लायक बन्छ कि बन्दैन अहिले गाएका गीतहरु भन्ने कुरा यसको अर्थ आफ्नो सेन्सर आफैं हो ।’
उनले गीत गाउनुपूर्व परिवार र समाजको बारेमा पनि सोच्न आग्रह गरे । ‘मेरो छिमेकी छन् । मेरो आमाबुबाले सुन्नुहुन्छ । आफन्त र नातेदारले सुन्नुहुन्छ । स्वयं म आफैंले पनि परिवारसँग बसेर सुन्नुपर्छ भन्ने कुरा ख्याल राखेमा त्यो आफैं सेन्सर भएर जान्छ भन्ने कुरामा दुईमत छैन,’ उनले भने ।
‘आफू त्यो बाटोमा छु, छैन भन्ने कुरा आफैंले मनन् गर्ने कुरा हो । यो उस्तो, ऊ उस्तो भनेर मैले दोषारोपण गर्नुभन्दा पनि म मेरो नातिनीसँग बसेर त्यो गीत सुन्न पाऊँ । यति मात्र कल्पना गर्छु,’ उनले भने ।
सबैभन्दा प्रमुख सेन्सर स्वयं आफैं हुने उनको भनाइ छ । ‘आफैंले नै यसलाई दायरा बनाउने हो । संस्थागत निर्णय संस्थामा बस्ने साथीलाई थाहा होला । क्षेत्रलाई धमिल्याउने काम कतैबाट नहोस् । सङ्लो पानीमा जाऔं । पानीको आखिरी रुप भनेको सङ्लिनु नै हो,’ उनले भने ।
उनले अहिले अमर्यादित र अभद्र गीत गाउने गायक-गायिका एक दिन सही मार्गमा आउने आशा व्यक्त गरे । ‘एक दिन उहाँहरु सही मार्गमा आउनुहुन्छ भन्ने आशा गरौं,’ उनले भने, ‘सङ्लो पानीको परिकल्पना गरौं, सबैले पिउन मिल्ने पानी होस् ।’
नयाँपुस्ताबाट पनि आफूले धेरै कुरा सिकिरहेको उनले बताए । ‘म नयाँ पुस्ताबाट पनि शिक्षा लिइरहेको हुन्छु । उहाँसँग गाउने शैली पनि सिकेको हुन्छु,’ उनले भने, ‘अहिलेका भाइबहिनीलाई उमेरमा दाइको नाताले भन्छु- राम्रो मात्र गाउनुस् । भोलि समाजमा तपार्इं जानुपर्छ । भोलि समाजमा जाँदा के छ फुपू, के छ माइजू भन्दा त्यो गीतले नझस्काओस् ।’
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले अभद्र गीत गाउने १२ दोहोरी गायक-गायिकालाई स्पष्टीकरण सोधेको छ । सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन अल्टिमेटम समेत दिएको छ । एक जना केन्द्रीय सदस्य तथा गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरिएको छ ।