मुख्य समाचार
श्रीलंका चाहन्छ नेपाली पर्यटक
श्रीलंका चाहन्छ नेपाली पर्यटक

। एक वर्षअघि सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली विदेश सयर गएको सरकारी तथ्यांक छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार ‘आउट बाउन्ड टुरिज्म’ मा सबैभन्दा धेरै नेपाली पुगेको देश भारत हो । दोस्रो स्थानमा युनाइटेड अरब इमिरेट्स (यूएई) र तेस्रो स्थानमा थाइल्यान्ड छ ।




यही सूचीको १६औं स्थानमा श्रीलंका छ । गत वर्ष १ हजार ४ सय ८३ नेपालीले श्रीलंका घुमेर नजिकको पर्यटन गन्तव्यको मजा लिए ।

पछिल्लो पटक नेपाली पर्यटकको बढ्दो संख्याले श्रीलंका पनि उत्साहित देखिएको छ । किन पनि उत्साहित छ भने, श्रीलंकाले अहिले नेपाली पर्यटकका लागि आकर्षक मूल्यका ‘टुर प्याकेज’ तयार पारेको छ । यसमा उसको सरकारी वायुसेवा कम्पनी श्रीलंकन एयरलाइन्स प्रत्यक्ष जोडिएको छ ।




‘हामी नेपाललाई ठूलो पर्यटन स्रोत बजारका रूपमा हेरिरहेका छौं,’ श्रीलंकन एयरलाइन्सका नेपाल प्रमुख निलिन पाथिरना भन्छन्, ‘नेपाली पर्यटकको नयाँ र आकर्षक गन्तव्य हामी बन्न सक्छौं ।’

केही वर्षयता विशेषगरी कोरोना महामारी निस्तेज भएपछि नेपाली पर्यटकको बढ्दो विदेश सयरको आँकडा बढिरहेको छ । २०२४ मा अझै बढ्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष नेपाल घुम्न आउने पर्यटकबाट भएको खर्च र विदेश घुम्न जाने नेपालीले गरेको वैदेशिक मुद्रा खपतको हिस्सा लगभग उस्तै छ ।

यसरी विदेश घुम्ने नेपालीको बढ्दो संख्यासँगै केही परको छिमेकी श्रीलंकाको पर्यटन क्षेत्रले नेपाली पर्यटकलाई आफ्नो देशमा प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट सेवा दिन तम्तयार छ ।

नेपालमा साताको पाँच उडान गरिरहेको श्रीलंकनका नेपाल प्रमुख पाथिरना भन्छन्, ‘जति रकम तिरेर नेपाली दाजुभाई यूएई, थाइल्यान्ड, भियतनाम जानुहुन्छ, त्योभन्दा प्रतिस्पर्धी मूल्यमा स्वागत गर्न श्रीलंका तयार छ ।’

नेपाली आउटबाउन्ड पर्यटकको प्रवृत्ति अध्ययन गर्दै नेपालीले चाहे अनुसार सुविधा दिन श्रीलंका तयार रहेको सन्देश प्रवाह भइरहेको उनी बताउँछन् ।



अहिले श्रीलंकनले नेपाल र कोलम्बोलाई सिधा उडानबाट जोडिरहेको छ । नेपालबाट कोलम्बोमा साताको पाँच उडान गरिरहेको कम्पनीले स्थानीय होटल र ट्राभल कम्पनीसँगको साझेदारीमा नेपाली पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेज समेत बेच्न थालेको छ ।

अहिले प्रतिव्यक्ति ९० हजार रुपैयाँ हाराहारीमा ४ रात ५ दिनको टुर प्याकेज सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । श्रीलंकामा आफूले घुम्न चाहेको गन्तव्य अनुसार थप प्याकेज लिएर जान सकिने उनी बताउँछन् ।

योसँगै ७० प्रतिशतभन्दा बढी बौद्धमार्गी जनसंख्या भएको देश हो श्रीलंका । यहाँ दोस्रो स्थानमा हिन्दु धर्मावलम्बीको बाहुल्य छ । श्रीलंकन नागरिकलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनी र पशुपतिनाथ दर्शनमा आकर्षित गर्न श्रीलंका सरकार आफैं प्रवद्र्धनको काम गरिरहेको पाथिरना बताउँछन् ।

‘हामीले एकअर्का देशबाट नागरिक जोड्न खोजिरहेका छौं,’ उनी थप्छन्, ‘यसले दुवै देशलाई फाइदा पुग्छ ।’

रामायण सर्किटदेखि गौतम बुद्धको दाँतसम्म

हिन्दु मान्यता अनुसार श्रीलंका रावणको देश हो । नेपाल सीता माताको भूमि हो । श्रीलंकाले नेपालमा देखेको ठूलो बजार धार्मिक पर्यटकको हो । रामायणसँग जोडिएका कतिपय भूमि र किस्सा श्रीलंकामा छन् । यी पुरातात्विक सम्पदालाई श्रीलंका सरकार र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेर संरक्षण गरिरहेका छन् ।



श्रीलंकाको केन्द्र भागमा पर्ने ‘सेन्ट्रल प्रान्त’ स्थित दाम्बुल्ला नामक सहर नजिकै मताले जिल्लामा अवस्थित विशाल संरचनासहितको किल्लालाई हिन्दु धर्मावलम्बी रावण दरबार मान्छन् ।

यस सम्पदासम्म भारतीय पर्यटक आकर्षित गर्न श्रीलंकाले रामायण सर्किट अवधारणा अनुसार पर्यटन प्रवद्र्धन गरिरहेको छ । नेपालबाट समेत यस भूमिले धेरै पर्यटक आकर्षित गर्न सक्ने श्रीलंकाको विश्वास छ ।



यस भेगमा सीता माताको मन्दिर, रावण झरनादेखि विभिन्न मन्दिर र संरचना छन् । जसलाई श्रीलंकाले पर्यटक आकर्षणको माध्यम बनाएको छ । अर्कातर्फ, बौद्धमार्गीका लागि श्रीलंका आफैंमा ठूलो तीर्थस्थल हो । यस मुलुकको हरेक गल्लीमा भगवान गौतमबुद्धका मूर्ति राखिएको छ ।

यो मुलुकका लागि गौतमबुद्धसँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण सम्पदा हो ‘टुथ रेलिक टेम्पल’ । जहाँ गौतमबुद्धको दाँत सुरक्षित राखिएको मान्यता छ । यस मन्दिरको अवलोकनका लागि विश्वभरिबाट लाखौं पर्यटक यस स्थानमा पुग्ने गर्छन् । यो मन्दिर केन्डी नामक सहरमा छ ।

आकर्षक सामुद्रिक किनार

नेपालीलाई विदेश भ्रमणमा आकर्षित गर्ने एक माध्यम हो समुद्र । किनकि, नेपाल भूपरिवेष्ठित मुलुक हो । भारतको दक्षिणी भेगका राज्य नपुगेसम्म नेपालीले समुद्र देख्न पाउँदैनन् । तर, ती भेगमा पुग्न सिधा हवाई सम्पर्क स्थापित छैन ।



यस्तोमा थाइल्यान्ड वा यूएईजस्ता मुलुकले नेपालीलाई आकर्षित गरिरहेका छन् । श्रीलंकाले नेपाली पर्यटक लक्षित गर्ने प्याकेजमा पर्छ सामुद्रिक किनार । यसको राजधानी कोलम्बो आफैंमा सामुद्रिक किनारमा अवस्थित छ । चारैतर्फ समुद्रले घेरिएको श्रीलंका ठूलो टापु हो । सामुद्रिक किनारका सबैजसो क्षेत्रमा पाँचतारे होटल बनाएर पर्यटक आकर्षित गरिएको छ ।



ती होटलले समेत विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गरिरहेका छन् । कोलम्बो नजिकै पर्ने गल सिटी सामुद्रिक गतिविधिको प्रयोजनले धेरै पर्यटक जाने सहर हो । यस सहरमा युरोपेली शासकले श्रीलंकालाई आफ्नो अधिनमा लिएर शासन गर्दाका धेरै संरचना र अवशेष जीवन्त राखिएको छ । जसलाई आज श्रीलंका युरोपेली पर्यटक आकर्षित गर्ने एक प्रमुख माध्यमका रूपमा यी अवशेष र संरचनालाई प्रयोग गरिरहेको छ ।



समुद्रमा पौडी खेल्न होस् वा जहाज, मोटरबोट र डुंगा चढेर पानीजन्य गतिविधिमा रमाउन, श्रीलंकामा पर्यटकका लागि लक्जरी सुविधा उपलब्ध रहेको पाथिरना बताउँछन् ।

क्यासिनो

नेपालीलाई नेपालभित्र क्यासिनो खेल्ने अनुमति छैन । सोहीकारण नेपालीले क्यासिनो खेल्न भारत वा खाडी मुलुक छान्ने गर्छन् । त्यसमाथि हङकङ र मकाउ समेत नेपालीका क्यासिनो गन्तव्य हुन् । श्रीलंकाली पर्यटनले नेपाली स्रोत बजारमा देखेको अर्को ठूलो सम्भावना क्यासिनो खेलाडी समेत हुन् ।



श्रीलंकाली राजधानी कोलम्बो पछिल्लो समय क्यासिनो सिटीका रूपमा समेत स्थापित भइरहेको छ । जहाँ भारतीयहरू निजी जहाज र चार्टर्ड जहाजमा यहाँ आउने गर्छन् । कतिपय नेपाली समेत कोलम्बोमा क्यासिनो खेल्ने पुग्ने गरेको कोलम्बोस्थित बेल्लिज क्यासिनोका एक अधिकारीले बताए ।

‘हाम्रोमा २० जनाजति नेपाली कर्मचारी काम गर्नुहुन्छ,’ उनी भन्छन्, त्यसबाहेक नेपाली ग्राहक समेत हुनुहुन्छ, जो नियमितजसो क्यासिनो खेल्न यहाँ आउनु हुन्छ ।’

यो श्रीलंकाको सबैभन्दा ठूलो र व्यस्त क्यासिनो मानिन्छ । यसबाहेक क्यासिनो मारिना, बेल्लागिओ, कन्टिनेन्टल क्लब, स्टारडस्ट, द रिट्ज क्लब, एमजीएमजस्ता क्यासिनो कोलम्बोमा बढी व्यस्त मानिन्छन् ।

पहाडी रेलदेखि चिया बगानसम्म

क्यान्डीबाट इल्लासम्म चल्ने श्रीलंकाको ऐतिहासिक रेलयात्रा श्रीलंकाले पस्कने अर्को आकर्षक अनुभव हो । युरोपेली शासकको पालामा बनेको यो रेल अझै पनि पुरानै स्वरूपमा चल्छ । पहाडी इलाकाका घुम्तीमा बेगसँग चल्ने यो रेलले पर्यटकलाई साहसिक अनुभूति समेत दिलाउँछ ।



तत्कालीन शासकले गर्मी छल्न विकास गरेको अर्को सहर हो, नुवारा इलिया । यो सहरलाई अहिले श्रीलंकाले चियाँ बगानका रूपमा विकास गरेको छ । श्रीलंका अहिले संसारकै चौथो ठूलो चिया उत्पादक हो । यसमा नुवारा इलियाको ठूलो हात छ ।

अहिले पनि सामुद्रिक किनारमा चर्को तापक्रम हुँदा श्रीलकंनहरू समेत शितल खोज्दै पहाड चढ्ने गन्तव्य बनेको छ नुवारा इलिया । यस भेगमा जाँदा नेपालीलाई इलामेली चिया बगानको झल्को आउँछ ।



भव्य पूर्वाधारसँगै दिगो पर्यटनमा जोड

श्रीलंकाले सडक पूर्वाधारमा ठूलो लगानी गरेको छ । सोहीकारण यात्रा अवधिभरि सडकका कारण सास्ती भोग्नु पर्दैन । अधिकांश सहर द्रुतमार्गबाट राजधानी कोलम्बोमा जोडिएका छन् ।



कम ट्राफिकका कारण जाममा फस्नु पर्दैन । सोहीकारण यो देशले हवाई यातायातमा धेरै लगानी गरेको छैन । श्रीलंकामा आन्तरिक हवाई यातायातको सुविधा छैन ।

जसले गर्दा राजमार्गहरूमा ठूलो लगानी देखिन्छ । तर, पूर्वाधार निर्माणसँगै श्रीलंकाले जंगल, प्रकृति र भूमि जोगाउँदै दिगो पर्यटनलाई प्राथमिकता दिएको छ । जसले प्रकृतिप्रेमीलाई सहजै आकर्षित गर्छ । हात्तीको देश भनेर चिनिने यहाँ घरपालुवा र जंगली हात्तीको गतिविधि अवलोकन सुविधा समेत छ ।



नरिवलका परिकार र रैथाने खाना

श्रीलंकाले पर्यटकलाई विदेशीभन्दा स्वदेशी स्वाद चखाउन प्रोत्साहित गर्छ । होटलका मेनुमा स्वदेशी रैथाने परिकार अनिवार्य छ । श्रीलंकाली रैथाने खानामा पर्यटकको आकर्षण समेत उत्तिकै देखिन्छ । धेरैजसो खानामा नरिवलका परिकार मिसाइएको हुन्छ ।



पर्यटकले उपहारका रूपमा समेत नरिवलका चकलेट श्रीलंकाली स्वादमा पाउँछन् । श्रीलंका, भारत र नेपाली परिकारको स्वादमा ठूलो अन्तर नभएका कारण यहाँ जाने पर्यटकले खाना के खाने होला भनेर चिन्ता समेत गर्नुपर्दैन । नरिवल यस मुलुकको आफ्नै उत्पादन भएका कारण समेत श्रीलंकाले यसका परिकारलाई उच्च प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । शुक्रबार ओस्लोमा आयोजित एक समारोहमा पुरस्कारको घोषणा गर्दै, समितिले माचाडोको ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणको लागि संघर्ष’ को प्रशंसा गर्‍यो। एक्समा गरिएको एक ...
। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ । गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो । यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल ...
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...