मुख्य समाचार
बिरामीको स्याहार गर्दागर्दै स्विट्जरल्यान्डको संसद भवन पुगे रामकुमार
बिरामीको स्याहार गर्दागर्दै स्विट्जरल्यान्डको संसद भवन पुगे रामकुमार

। बिहान पौने ६ बजे उठ्नु, बिरामीलाई नुहाइदिनु, खाना खुवाइदिनेदेखि समय समयमा औषधि दिनु, दिशा पिसाब गर्न अप्ठयारो भएका सहयोग गर्नु – यो सबै स्विट्जरल्यान्डमा स्टाफ नर्सको रुपमा कार्यरत ४४ वर्षीय रामकुमार दासको यो दैनिकी हो ।

बारा जिल्लाको कलैया स्थायी घर भएका उनी ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) रहेको ‘कन्भिभो खुरमा’ काम गर्दछन् ।




रामकुमारलाई लाग्छ -‘पीडा र दुःखमा रहेका बिरामीहरुको समस्या आफैंले अनुभव गर्नुपर्छ । डेढ दशक ‘कन्भिभोमा’ काम गर्दा २० जना बिरामी गुमाइसके । उनीहरुसँगको सम्झना दासको मनस्पटलमा ताजै छन् ।

भन्छन्, ‘यो स्याहार केन्द्र जस्तै हो । बिरामीहरु परिवारभन्दा पनि हामीसँग धेरै नजिक भएका हुन्छन् । हामीलाई पनि असाध्यै माया लाग्छ ।’




कुनै दुर्घटना भएर घरमा बस्न सक्ने अवस्था नभएपछि ‘कन्भिभोमा’ आउने गरेको रामकुमार बताउँछन् । शारीरिक अपांगता वा मस्तिष्कमा चोटपटक भएका बिरामीहरु बढी हुन्छन् । उनी बिरामीले गर्न नसक्ने अवस्थालाई गर्न सक्ने र सम्भव तुल्याउने कोशिस गरिरहेका हुन्छन् । भन्छन्, ‘बाँकी रहेको उनीहरुको जीवनको समयलाई सहज बनाउने काम हाम्रो हो ।’

बिरामीको स्याहारमा खटिएका उनै रामकुमारका पाइला अब स्विट्जरल्याण्डको प्रदेश संसद भवनसम्म (ग्रोस रात) पुगेका छन् । सोमबार उनले ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) प्रदेश सांसदको भूमिकामा रहने गरी सपथ लिएका हुन् । सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्याण्ड (एसपी) को सक्रिय राजनीतिमा समेत लागेका रामकुमारलाई यो अवसर मिलेको हो ।

आफ्नो पार्टीको एक सांसद फिर्ता भएपछि आफूलाई दुई वर्षका लागि प्रदेश सांसदको रुपमा काम गर्ने अवसर मिलेको उनले अनलाइनखबरलाई बताए । ‘जर्मन भाषामा ‘स्टेलफ्रेतेतुङ् भनिन्छ । कोही प्रतिनिधि फिर्ता भयो भने त्यहाँ स्टेलफ्रेतेतुङ्को रुपमा अर्को बढी मत प्राप्त गरेको उम्मेदवारलाई संसदमा पठाउने नियम छ’, उनले भने, ‘त्यो अवसर मलाई मिलेको छ । मंगलबार संसद बैठकमा भाग पनि लिएँ ।’



स्विट्जरल्याण्डको राजनीतिमा लागेर प्रदेश सांसदको भूमिकामा रहने सम्भवत: नेपाली मूलका पहिलो व्यक्ति हुन् । स्विट्जरल्यान्ड पुरानो संघीय मुलुक हो जहाँ २६ वटा प्रदेश (क्यान्टोन) छन् । त्यो एक ग्राउबुन्डेन प्रदेशको सदरमुकाम खुर क्षेत्रबाट उनले राजनीति सुरु गरेका थिए ।

नेपालमा छँदा पत्रकारितामा सक्रिय बनेका उनी स्विट्जरल्यान्डमा आएपछि भने स्टाफ नर्स अध्ययन गर्दै त्यही पेसालाई अपनाए । सन् २००८ देखि स्विट्जरल्यान्डमा बस्दै आएका उनी एक छोरा एक छोरी र श्रीमतीको साथमा बस्दै आइरहेका छन् ।​​

भाषा सिके, अवसर पनि

सुरुवआतमा पत्रिका बेच्नेदेखि सफाइको काम गरेका रामकुमारले स्विट्जरल्याण्डको संसद भवनमा पुगेर काम गर्छु भन्ने सोचेकै थिएनन् । तर उनलाई भाषा राम्रोसँग सिक्नु पर्छ भन्ने पहिले देखिनै लाग्थ्यो । जर्मनी भाषा सिक्न उनले पूरै ध्यान दिए।

भाषा अध्ययन पछि रामकुमारले आफूलाई स्टाफ नर्सको रुपमा स्थापित गराए । जसले उनलाई स्थानीय राजनीतिमा घुलमिल गर्न समेत सहज बनायो । कोरोना महामारीको समयमा पनि उनले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाए । जटिल खालका बिरामीहरुको स्याहार गर्नुपर्ने हुँदा त्यो बेला उनका लागि कठिन समय थियो ।

‘आफ्नो सय प्रतिशत दिएर नै काम गरें । त्यसैले पनि यहाँको स्वास्थ्य मन्त्रालयले मलाई सन् २०२० मा ‘कोरोना हिरोको उपाधिले सम्मान गर्‍यो । त्यसले झन् मलाई अघि बढ्न हौसला मिल्यो’, उनी सम्झिन्छन् ।

‘कोरोना हिरो’ बनेका रामकुमारको चर्चा स्थानीय मिडियामासमेत छाएको थियो ।

लोकप्रिय बनेपछि राजनीतिमा

स्वास्थ्यकर्मीको रुपमा लोकप्रिय बन्दै आएका रामकुमारलाई राजनीतिमा ढोका खुल्दै गयो । ‘मैले आफ्नो पेशामा राम्रो काम गरेर देखाएँ । सोसल डेमोक्र्याटिक पार्टीले मलाई अवसर पनि दियो’, उनले भने ।

स्टाफ नर्सहरूको संगठित समूहमा केन्द्रीय तहमा रहेर काम गर्ने रामकुमारलाई मौका मिल्यो । उनले भने, ‘मेरो क्षेत्रमा १२०० स्टाफ नर्सहरू छन् । तीमध्ये ७ जनाको कमिटी रहेको केन्द्रीय तहमा मैले काम गर्ने मौका पाएको छु ।’

सोसल डेमोक्र्याटिक पार्टीले सन् २०२२ मा उनलाई प्रदेश सांसद (ग्रोस रात मेम्बर) पदको उम्मेदवार बनाएको थियो । ग्राउबुन्डेन प्रदेशमा (क्यान्टोन) चुनाव लडेका रामकुमारको त्यतिबेला भने सांसद बन्ने सपना पूरा भएन । समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणालीमा ४ वर्षको कार्यकालका लागि १२० सदस्यहरू निर्वाचित भएका थिए।जहाँ सोसल डेमोक्र्याटिक पार्टी अफ स्विट्जरल्यान्डले (एसपी) २७ सिट जितेको थियो ।

पदमा बसेर आर्थिक लाभ उठाउँछु भन्ने मानसिकता सम्भवत: कसैको पनि नहुने उनको भनाइ छ ।



‘यहाँ सांसद बनेर जीवनमा ठुलो परिवर्तन आउने केही पनि होइन। नेपालमा जस्तै सांसद बनेपछि ठूलै मान्छे बनियो भन्ने पनि चलन हुँदैन,’ उनले थपे, ‘सांसदको हिसाबले केही बैठकहरूमा उपस्थित हुनुपर्छ । त्योबाहेक मुख्य काम त आफ्नो पेसामा नै आवद्ध रहनुपर्छ।’

प्रत्येक ३/३ महिनामा गरेर वर्षको चार पटक संसद बैठक बस्ने उनी बताउँछन् । प्रत्येक सेसनको बैठक पाँच दिनसम्मको मात्रै हुन्छ । ‘बैठकको भत्ता ४ सय स्विस फ्रान्क बाहेक अरु केही पाइँदैन । कुनै पनि तलब पनि हुँदैन’, उनले अघि भने, ‘सबैको आ-आफ्नै काम हुन्छ। सरकारी तलब भत्तामा कसैको पनि ध्यान जाँदैन ।’

नर्सको काम गर्दा आफूले दैनिकरुपमा २८५ स्वीस फ्रान्क कमाउने बताउँदै भत्तामा ध्यान दिन जरुरी नरहेको सुनाए ।

आप्रवासी समस्याबारे संसदमा आवाज उठाउने रामकुमारको योजना रहेको छ । ‘हप्ताको ५ दिन दैनिक ९ घण्टा म बिरामीकै स्याहारमा खट्ने छु । बाँकी प्रत्येक ३ महिनामा हुने संसद बैठकमा भने कामबाट छुट्टि मिलाएर बैठकमा सहभागी बन्नेछु’, उनले भने।

भाषा सिक्न र घुलमिल हुन अनुरोध

विदेशमा रहेका नेपालीहरुलाई आफू बसेको देशको भाषालाई अध्ययन गर्न र स्थानीय निकायसँग घुलमिल गर्न रामकुमारको सुझाव रहेको छ। विदेशमा बसेर यहाँकै राजनीति गर्नुपर्छ भन्ने नभए पनि कम्तीमा भाषा सिकेर स्थानीय निकायसँग घुलमिल गर्न सकेमा आफूले प्राप्त गर्ने आधारभूत आवश्यकता लिन भने सजिलो हुने उनको सुझाव छ ।

विदेशमा नेपालीहरुलाई भाषाको कारण थुप्रै समस्याहरु परेको भन्दै अध्ययनशील बन्न उनले अनुरोध गरेका छन् । भन्छन्, ‘थुप्रै आप्रवासीहरुको समस्या देखेको छु। त्यो सबै भाषासँगै जोडिएको छ । केही मेहनत गर्न सक्यौं भने कुनै न कुनै रुपमा फाइदा अवश्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...
: इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले 'युद्धका दौरान प्राप्त सामग्री' (IDF spoils)मा फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्‍याइएको जनाइएको छ। परिवारका अनुसार उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको ...
श्रद्धा र आत्मीयताका साथ इजरायलमा नेपालीहरूको दशैं
। विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । ...
। बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुईजना वृद्ध नेपाली पैदलयात्रुको निधन भएको छ । फ्लीट रोडमा बुधबार बिहान करिब ६ः३० तिर निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घट्नास्थलमै निधन भएको ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीले मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ...