मुख्य समाचार
हारेर पनि जितेको नेपाल
हारेर पनि जितेको नेपाल

: अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा नेपाल बलियो टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। समूह चरणको तेस्रो खेलमा पराजय बेहोरेसँगै नेपालको सुपर आठको यात्रा पनि सकिएको छ। नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग खेल्दै स्वदेश फर्किने छ।


शनिबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित किङ्सटनको अरनोस भाल रंगशालामा नेपालले झिनो अन्तरले खेल हारे पनि विश्व क्रिकेटका समर्थकहरूको मन भने जित्न सफल भएको छ। बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको नेपालले अन्तिम बलसम्म जितको आशा दिलाए पनि एक रनले पराजय बेहोर्न बाध्य भयो। नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक थियो। गुलसन झाले पहिलो र दोस्रो बलमा रन जोड्न सकेनन्। उनले तेस्रो बलमा चौका र चौथो बलमा दुई रन बटुलेका थिए। अन्तिम दुई बलमा नेपाललाई दुई रन चाहिएको थियो। ओटनिल बार्टम्यानले पाँचौं बलमा कुनै रन दिएनन्। त्यसपछि अन्तिम बलमा ठूलै सट हान्न खोजेका गुलसनले बललाई छुन सकेनन् र रन लिने क्रममा रन आउट हुन पुगे। यससँगै टेस्ट टोली दक्षिण अफ्रिकाले राहतको सास फेरेको थियो।

१ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १ सय १४ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। लामो समय क्रिजमा डटेका उनले ४९ बलमा एक छक्का र चार चौका हिर्काए। खेलको सुरुमै जीवनदान पाएका उनले त्यसपछि भने संयमतापूर्वक ब्याटिङ गरेका थिए। एक रन बनाएको अवस्थामा कागिसो रबाडाले उनको क्याच छोडेका थिए। केही सुस्त रन जोडेको नेपालले ६ ओभरको पावरप्लेमा ३२ रन जोडेको थियो। कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गरेका थिए। कुशल भुर्तेल १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए। उनले २१ बलमा एक छक्का र एक चौका प्रहार गरे। कप्तान रोहित पौडेलले भने खाता खोल्न सकेनन्। उनी ताबरेज साम्सीको बलमा शून्य रनमै बोल्ड भएका थिए।



सबै खेलाडीले आज उत्कृष्ट खेल खेले। बलिङ हाम्रो उत्कृष्ट थियो। ब्याटिङमा अन्तिम समयमा चुक्न पुग्दा जित सम्भव भएन। अर्को खेलमा अझै राम्रो खेल्ने छौं। हामीलाई समर्थकले ठूलो सपोर्ट गर्नुभएको छ। यो साथ र सहयोग आगामी दिनमा पनि दिनुहुन्छ भन्ने आशा राखेका छौं। रोहितकुमार पौडेल, कप्तान, नेपाल

त्यसपछि तेस्रो विकेटका लागि आसिफ र अनिल साहले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए। अनिलले २४ बलमा एक छक्का र तीन चौकाको सहयोगमा २७ रन बनाए। सोमपाल कामीले आठ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान ६ रन जोडे।

नेपाललाई ऐतिहासिक जितबाट रोक्न दक्षिण अफ्रिकाका बायाँ हाते लेग स्पिनर ताबरेज साम्सी बाधक बनेका थिए। उनी एक्लैले चार नेपाली खेलाडीलाई पेभेलियन पठाएका थिए। उनले आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका उने १९ रन खर्चिएर चार विकेट लिए। यस्तै एनरिज नोट्जे र अइडन मार्कमले एक÷एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन जोडेका थिए। उनले ४९ बलमा एक छक्का र पाँच चौका हिर्काएका थिए। यस्तै ट्रिस्टन स्टब्सले २७, कप्तान अइडन मार्कमले १५ र क्विन्टन डि ककले १० बनाए। नेपालका पार्टटाइम बलर कुशल भुर्तेलले चार विकेट लिए। निकै कसिलो बलिङ गरेका उनले चार ओभरमा १९ रन खर्चिए। कुशलले कप्तान अइडन मार्कम, मार्को जोनसेन, कासिगो रबाडा र हेनरिज क्लासेनलाई पेभेलियन पठाएका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट हात पारे। उनले चार ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए।

सन्दीपले विकेट लिन सकेनन्

अमेरिकाले भिसा नदिएका कारण सुरुवाती दुई खेल गुमाएका चर्चित स्पिनर सन्दीप लामिछानेले भने दक्षिण अफ्रिकाविरुद्ध विकेट लिन सकेनन्। सागर ढकालको स्थानमा मैदान प्रवेश गरेका सन्दीपले निकै कसिलो बलिङ गरेका थिए। उनले चार ओभरमा मात्रै १८ रन खर्चिएका थिए। चार बलर प्रयोग गरेको नेपालबाट सन्दीप र कुशल भुर्तेलले मात्रै चार ओभर बलिङ गरेका थिए।

हामीले खेल त जित्यौं। यो फरक कुरा हो। तर, हामीले राम्रो खेल्न भने सकेनौं। बल्ल–बल्ल जित निकाल्न सक्यौं, त्यो पनि अन्तिम बलमा। नेपालले धेरै राम्रो खेल्यो। बलिङ र ब्याटिङ दुवैमा हामीलाई दबाब दिइराख्यो। नेपालका खेलाडीको प्रदर्शन साँच्चै उत्कृष्ट छ। सबैले प्रसंशा गर्नै पर्छ। अइडेन मार्कम, कप्तान, दक्षिण अफ्रिका

भिसा नपाएका कारण सन्दीपले अमेरिकाको डालास र फ्लोरिडामा भएको खेल भने गुमाएका थिए। डालासमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। फ्लोरिडामा तय भएको नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका थिए। अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई वेस्ट इन्डिज पठाएको हो। सन्दीप सात महिनापछि राष्ट्रिय टोलीमा फर्किका हुन्। सन्दीप थपिएपछि नेपाली टोलीको मनोबल पनि बढेको थियो। आफ्नो पहिलो विश्वकपको पहिलो खेलमा सन्दीपले विकेट भने लिन सकेनन्। दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिएको भए टीट्वेन्टी अन्तर्राष्ट्रियमा उनको विकेट संख्या एक सय पुग्ने थियो। सन्दीपले एकदिवसीयमा भने एक सय विकेटको कोशेढुंगा पूरा गरिसकेका छन्।

दक्षिण अफ्रिका अन्तिम आठमा

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका सुपर आठमा पुगेको छ। यसअघि नै अन्तिम आठमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणका चारवटै खेलमा जित निकाल्दै आठ अंकका साथ अन्तिम आठमा पुगेको हो। समूहको दोस्रो स्थानमा रहेको बंगलादेशको चार र तेस्रो स्थानको नेदरल्यान्ड्सको दुई अंक छ। समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार बंगलादेशको सामना गर्ने छ।

आईसीसी टीट्वेन्टी विश्वकपको समूह चरणबाट बाहिरिएपछि नेपालले २०२६ को टीट्वेन्टी विश्वकपमा सोझै छनोट हुने अवसर गुमाएको छ। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा सुपर आठमा पुग्ने टोलीले सोझै विश्वकपमा स्थान बनाउने छन्। सुपर आठबाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने अन्य तीन टोलीले पनि सोझै विश्वकपमा स्थान बनाउने छन्।

आईसीसीको टीट्वेन्टी वरीयतामा नेपाल १८औं स्थानमा छ। वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभए नेपालले एसिया छनोट खेल्नुपर्ने छ।

अन्तर्राष्ट्रियस्तरमा नेपालको चर्चा

दक्षिण अफ्रिकासँग हार बेहोरे पनि नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने चर्चा बटुल्न सफल भएको छ। विश्वका चर्चित खेलाडी तथा टिमले नेपालको प्रसंशा गर्दै स्टाटस लेखेका छन्। भारतका पूर्वक्रिकेटर तथा कमेन्टेटर मोहमद कैफले अन्तिम चार ओभरमा नेपाल चुक्न पुगेको बताए। ‘नेपालले दक्षिण अफ्रिकालाई घुँडा टेकाएकै हो। अनुभवको कमीले मात्रै नेपाल चुक्न पुग्यो’, कैफले भने, ‘यो नेपाली क्रिकेटका लागि गर्विलो क्षण हो। वेल डन नेपाल !’ यसैगरी अर्का कमेन्टेटर सञ्जय मन्जेकरले आगामी १० वर्षमा नेपालको खेल हेर्नुपर्ने बताए। ‘नेपाल र दक्षिण अफ्रिकाबीचको खेल अनि ९४ प्रतिशत अनुमान नेपालको पक्षमा। बास्तवमै यो अविश्वसनीय छ’, उनले भने, ‘अबको १० वर्षमा नेपालको यस्तै अविश्वसनीय खेल हामीले धेरै हेर्नुपर्ने छ।’

यसैगरी भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले पनि नेपाली टोलीको प्रसंशा गर्दै ट्वीट गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाल भेरा मारी।’ भारतको चर्चित टेलिभिजन कार्यक्रम स्पोट्स यारीका सञ्चालक सुशान्त मेहताले यो हारमा पनि नेपालको जित रहेको बताए। ‘यो हारमा पनि नेपालको जित छ। केही वर्षअघि अफगानिस्तानको अवस्था पनि यस्तै थियो। तर, अहिले ऊ सुपर आठमा छ। दक्षिण अफ्रिका एउटा उलटफेरबाट बचे पनि घुँडा टेक्न बाध्य भएको छ’, सुशान्तले भनेका छन्, ‘आईसीसीले क्रिकेटको प्रमोसन गर्ने हो भने नेपालमा खेल राख्नुपर्छ।’ यस्तै इङ्ल्यान्डका पूर्वक्रिकेटर एलन विकिन्सले शुक्रबारको रात नेपालको भएको बताउँदै उत्कृष्ट खेल खेलेको पस्किएको बताए। ‘उत्कृष्ट खेल क्रिकेट। आजको रात नेपालको पक्षमा। खेल हारे पनि नेपालले विश्व क्रिकेटमा आफूलाई चिनाउन सफल भएको छ। बधाई नेपाल।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...