मुख्य समाचार
कोशी अस्पतालमा बेथिति : मर्मतका नाममा मनपरी
कोशी अस्पतालमा बेथिति : मर्मतका नाममा मनपरी

: विराटनगरको कोशी अस्पतालमा स्त्री रोग तथा प्रसूति विभागको माथिल्लो तलामा सुत्केरीलाई राख्न ‘पोस्टनेटल वार्ड’ बनाउने योजना अनुरूप ट्रस निर्माण गरियो। सुत्केरीलाई राख्ने ठाउँको अभाव भएपछि ट्रस निर्माण गरेर एकपटकमा ४० जनासम्म अटाउन सकिने हल निकालिएको छ। अस्पतालले अघिल्लो आर्थिक वर्षमै ट्रस निर्माणको ठेक्का लगाएको थियो। लक्ष्मण कन्स्ट्रक्सनले ६५ लाखमा ठेक्का पायो।


ठेकेदार कम्पनीले जस्तापाताको छानो र फल्स सिलिङसहित ट्रस निर्माण सकेर हल तयार गरी चालु आर्थिक वर्षको पुसमा अस्पताललाई हस्तान्तरण गर्‍यो। ट्रसको भुइँमा टायल्स बिछ्याइएको थियो। तर, ५ महिनासम्म हल प्रयोगमा ल्याइएको छैन।
सुत्केरीलाई भने राख्ने ठाउँको अभाव छ। बच्चा जन्माइसकेका कतिपय महिलालाई भुइँमा राख्नु परिरहेको बताइन्छ। तर, हालसम्म प्रयोगमै नल्याइएको उक्त हल मर्मतका नाममा ठूलो रकम खर्च गर्ने तयारी भइरहेको पाइएको छ। मर्मत गर्ने तयारी स्वरूप भुइँमा बिछ्याइएका टायल्सहरु उक्काइसकिएको छ।




यसअघि लगाइएका टायल्स उक्काएर भुइँमा पुनः नयाँ टायल्स लगाउने तयारी रहेको स्रोतले बतायो। स्रोतका अनुसार निर्माण सकिएपछि प्रयोगमै नल्याइएको हललाई आवश्यकताविपरीत मर्मत गर्ने भनेर आर्थिक चलखेल गर्न खोजिएको हो। यसले सरकारी अस्पतालभित्र भइरहेको बेथिति र मनपरीलाई प्रष्ट पार्छ। डा. फरवार्ड सिलवाल नेतृत्वको अस्पताल विकास समितिको स्वार्थमा प्रचलित नियम मिचेर जथाभावी र मनोमानी गरिएको छ।

विकास समितिले मर्मत सम्भारका नाममा मनपरी गरिरहँदा अस्पताल प्रशासन भने बेखबरजस्तै देखिन्छ। अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट केही दिनअघि फेरिएका छन्। यसअघि डा. चन्द्रभाल झा मेसु थिए। उनकै पालामा हलको टायल्स उक्काइएको हो। अहिले डा. रविनराज सिंह निमित्तको जिम्मेवारीमा छन्। डा. सिंहले भर्खरै जिम्मेवारी पाएकाले धेरै कुरा आफूलाई थाहा नभएको बताए। बुझेर मात्रै भन्न सक्ने उनी बताउँछन्।

तर, स्वार्थपूर्ण र अनआवश्यक हिसाबले अस्पताललाई व्ययभार पर्ने गरी कोटेसनमा विकास समिति निकटका व्यवसायी दिनेश ढकाललाई काम दिने तयारी छ। डा. सिलवालको नेतृत्वमा विकास समिति बनेपछि चालु आर्थिक वर्षमा अस्पतालभित्र काटेसनमा भएका सबैजसो काम ढकालले नै पाएका छन्। तर, पछिल्लो कोटेसनसँग सम्बन्धित कुनै प्रक्रिया अहिलेसम्म अघि बढाइएको छैन।

प्रक्रिया नै अघि नबढाइकन सरकारी अस्पतालभित्रको हलको भुइँमा बिछ्याइएको टायल्स उक्काइसकिएको छ। ‘अस्पताल विकास समितिले नयाँ टायल्स लगाउनुपर्ने भनेर मलाई काम दिनु भयो। त्यसपछि पुरानो टायल्स उक्काएँ। उक्काएको १५ दिनजति भयो होला,’ ढकाल भन्छन्, ‘तर, अहिलेसम्म ‘फाइनल स्टिमेट’ आएको छैन। कागजपत्र मिलाउँदै हुनुहुन्छ होला। अरु कुरा मलाई थाहा नहुने हुँदा कोशी अस्पतालसँगै सोध्नु।’

ट्रसको हल मर्मत गर्नलाई अहिलेसम्म आफूसँग अस्पतालले सम्झौता नगरेको र मौखिक कुराकै भरमा काम थालेको उनी बताउँछन्। ‘म त २ पैसा कमाएर गरिखाने मान्छे हुँ। मलाई काम र पैसा चाहिएको हो। म आफूलाई फाइदा हुने काम गर्छु,’ ढकालले भने, ‘कोशी अस्पतालको सबैजस्तो काम सम्झौता नभइकन सुरु हुन्छ। कोटेसनमा गर्नुपर्ने भएकाले हतारहतार गर्नुपर्छ। त्यही भएकाले विश्वासकै भरमा सम्झौता नगरिकन टायल्स उक्काइसकेको छु।’

अस्पतालको स्त्री रोग तथा प्रसूति विभाग प्रमुख डा. अञ्जु देवका अनुसार अहिले दैनिक १० जनाभन्दा बढी गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराइन्छ। अब शल्यक्रिया गराउनुपर्ने संख्या दिन प्रतिदिन बढ्ने उनले बताइन्। २५ जनाजतिले सामान्य प्रसूतिमार्फत बच्चा जन्माउने गरेको उनको भनाइ छ।

‘ट्रस निर्माण गरेर हल बनाइए पनि बच्चा जन्माइसकेका सुत्केरीलाई राख्न उपयुक्त थिएन। ठेकेदारले टायल्स लगाएको ठाउँमा सिमेन्ट मुछेर फोहोर बनाएका थिए। सिमेन्ट दलेर भुइँ खस्रो बनाएर छाडिदिएछन्,’ डा. देवले भनिन्, ‘सुत्केरीलाई राख्नका लागि उपयुक्त हल बनाउन मैले नै प्रस्ताव गरेको हुँ। काम कसरी अघि बढ्दैछ भनेर थाहा भएन। ठेकेदारले चैं अति बदमासी गरेको पाइयो।’ सार्वजनिक खरिद ऐनअनुसार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको १ वर्षसम्म मर्मत सम्भार गर्नु परेमा ठेकेदार नै जिम्मेवार हुन्छन्।

त्यो अवधिभित्र मर्मत गर्ने नाममा सम्बन्धित निकायले खर्च गर्न नपाउने नियम छ। ठेकेदारको धरौटीवापतको रकम तत्काललाई फिर्ता गरिएको हुँदैन। ठेकेदारले लापरबाही गरेमा र मर्मतमा ध्यान नदिएमा धरौटी जफत गर्ने अधिकार सम्बन्धित निकायलाई हुन्छ। तर, ठेकेदारलाई मर्मत गराउनुपर्नेमा त्यसलाई बेवास्ता गरी कोटेसनमा काम अघि बढाउन गत चैतमै ‘लागत स्टिमेट’ तयार पारेको पाइएको छ। अस्पतालका सिभिल इन्जिनियर सुवास कर्णले ९ लाख ९८ हजार ५ सय ११ रूपैयाँको ‘लागत स्टिमेट’ तयार पारेका हुन्। त्यसपछि नायव सुब्बा प्रकाश राउतले टिप्पणी उठाएर रायका लागि लेखा फाँटमा पठाएका थिए।

कोटेसनमा काम गर्नुपर्ने भएमा कार्यालय प्रमुखले दररेट माग्ने, सम्झौता गर्ने र कार्यादेश दिएर काम लगाउन पाउने नियम छ। अहिलेसम्म ‘लागत स्टिमेट’ तयार पारेर टिप्पणी उठाउने काम मात्रै भएको छ। अरु प्रक्रिया सुरु नै नभएको नासु राउत बताउँछन्। उनका अनुसार यसअघिको टायल्स ‘रफ’ देखिएकाले चिल्लो टायल्स लगाउने योजना छ। तर, दररेट, सम्झौता र कार्यादेशको प्रक्रिया पूरा नहुँदै यसअघिको टायल्स उक्काइसकिएको छ।

१० लाख मुनिको काम कोटेसनमा गर्न पाइन्छ। त्योभन्दा माथि लागत निस्किएमा टेण्डर आह्वान गरेर ठेक्का लगाउनुपर्ने हुन्छ। ट्रसको हलभित्र ‘आल्मुनियम पार्टेसन’ पनि गर्ने तयारी छ। त्यो कामसमेत कोटेसनमा गराउनलाई ९ लाख ९५ हजारमाथिको ‘लागत स्टिमेट’ तयार पारिएको स्रोतले बतायो।

‘एउटै हलभित्र पुरानोलाई उक्काएर नयाँ टायल्स लगाउने र ‘पार्टेसन’ गर्ने तयारी अनुरुप अलगअलग ‘स्टिमेट’ तयार गरिएको छ। २० लाख हाराहारीको भएकाले यी दुवै काम एकैपटक टेण्डरमार्फत गर्न सकिन्थ्यो,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘आर्थिक चलखेल गर्ने उद्देश्य राखी विकास समितिले आफूनिकटलाई कोटेसनमा काम दिन एउटै हलभित्रको योजना टुक्राएको छ। यो सरासर गलत हो।’ टेण्डर लगाउँदा एकैपटक काम सकिनेमा टायल्स र ‘पार्टेसन’को काम नै आफूनिकटबाट अलगअलग कोटेसनमा गराउन खरिद टुक्राउनु बेथिति एवं अनियमितताको पराकाष्ठा भएको ती चिकित्सकको भनाइ छ।

उनका अनुसार विकास समितिमा रहेकाहरु अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन छाडेर पैसा कमाउनेतर्फ केन्द्रित छन्। समितिमा रहेकाहरु काम गरेजस्तो देखाएर अस्पताललाई अनावश्यक व्ययभार थप्ने र आफू कमाउने ध्याउन्नमा सक्रिय हुँदा सरकारी अस्पताल दिन प्रतिदिन धराशायी बनिरहेको उनले बताए।

ती चिकित्सकका अनुसार तत्काललाई टायल्समा लागेको फोहोर सफा गरी हल प्रयोगमा ल्याउन सकिनेमा आर्थिक वर्ष सकिन लाग्दा मनोमानी खर्च गर्न खोजिएको छ। ‘अस्पतालको मर्मतमा विकास समितिको हात हुँदैन। निर्णय गर्ने अधिकार अस्पताल प्रशासनलाई हुन्छ,’ उनले भने, ‘तर, यहाँ त विकास समितिको रजगज चलिरहेको छ। प्रशासनबाट निर्णय नभइकन नियमविपरीत काम गराएर भुक्तानीका लागि दबाब दिइन्छ।’

अस्पतालकी सूचना अधिकारी इन्दिरा यादव सुत्केरीलाई राख्न बनाइएको वार्डको भुइँमा सिमेन्ट दलिएर खस्रो भएकाले नयाँ टायल्स लगाउन खोजिएको हुनसक्ने बताउँछिन्। ‘ठेकेदारले जिम्मा लगाएको १ वर्षसम्म मर्मतमा अस्पतालले पैसा खर्च गर्न पाउँदैन। मर्मतको जिम्मा ठेकेदारकै हुन्छ,’ उनले भनिन्, ‘मैले पनि अनुगमनमा जाँदा टायल्स उक्काएको देखें। तर, कसले उक्काएको हो, भनेर अस्पतालका कर्मचारीले जवाफ दिन सक्ने अवस्था छैन।’

अस्पताल विकास समितिका अध्यक्ष डा. सिलवाल आवश्यकताका आधारमा मर्मत गर्न खोजिएको बताउँछन्। ‘सुत्केरीलाई राख्न ठाउँको अभाव भयो। त्यही भएकाले मर्मत गर्ने सल्लाह भएको थियो,’ उनी भन्छन्, ‘तर, अहिले काम हुने देखिँदैन। टायल्स चैं कसले उक्कायो भनेर मलाई पनि थाहा भएन।’ डा. सिलवालले अस्पताल आकस्मिक ठाउँ भएकाले तत्काल बिरामीलाई व्यवस्थापन गर्नुपर्ने हुँदा सबै काम नियमसंगत रूपमा गर्न सम्भव नहुने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कपिलवस्तु कारागारबाट १४ वर्षअघि सुरुङ खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। २०६६ माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदी सुरुङ खनेर भागेका थिए। पक्राउ परेका खान ...
: चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ। निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट ...
: सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई गरिएको कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै कारवाही अगाडि नबढाउन भनेको हो। सर्वोच्चले देवकोटालाई पदमुक्त गर्नुको कारण पनि सोधेको छ। ' यसमा के,कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुन नपर्ने हो ? ...
: नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सिंहदरवार जलाउने अभिव्यक्ति दिएकोप्रति कडा प्रतिकार गरेका छन्। उनले सिंहदरवारले नै प्रद्यत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन्। 'प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार ...
: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख सानी चौधरीले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्। पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उपप्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा ...