मुख्य समाचार
मनसुन सुरु भएलगत्तै मेलम्चीको पानी बन्द गरिने
मनसुन सुरु भएलगत्तै मेलम्चीको पानी बन्द गरिने

: मेलम्ची खानेपानी आयोजनाको बाँध रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान क्षेत्रमा पानी पर्न थालेपछि काठमाडौंंमा पानी पथान्तरण बन्द गर्ने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ।


पानी परेपछि आउन सक्ने बाढी पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै गत वर्षजस्तै यसपटक पनि पानी बन्द गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए। ‘ठ्याक्कै यही मितिबाट पानी पथान्तरण बन्द हुन्छ भनेर यकिन त गरिएको छैन तर मनसुन सुरु हुन थालेपछि चाँही पानी बन्द गर्छौं’, लामिछानेले भने, ‘जल तथा मौसम विज्ञान विभागले असारको सुरुबाट पानी पर्ने जनाएपछि हामीले मुहान क्षेत्रको निगरानीका लागि कर्मचारी खटाएका छौं। उहाँहरूले पानी बन्द गर्नुपर्ने अवस्थाबारे जानकारी गराएपछि पानी बन्द गर्ने छौं।’

उनका अनुसार अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत गरी पाँचजना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको छ। बर्खा सुरु हुन लागेकाले पानी पथान्तरण गर्ने सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्नुपर्ने आयोजनाले जनाएको छ। मुहानमा सामान्य रूपको धमिलो आउँदासम्म पानी काठमाडौंं पठाउने योजना रहेको कार्यकारी निर्देशक लामिछानेले बताए। अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी काठमाडौंं पठाइँदै आइएको छ। सुरुमा १७ करोड लिटर पानी आइरहेको थियो। काठमाडौंमा पानीको माग धेरै भएपछि पछि थप गरेर २० करोड लिटर पु¥याइएको हो। ‘लगातार वर्षा भएमात्रै समस्या हुने हो नत्र दुईचार दिन पानी रोकिए पानी पठाउँछौं’, लामिछानेले भने।




बर्खा सकिएलगत्तै राजधानीवासीलाई पानी खुवाउनका लागि पनि बर्खामा पानी बन्द गर्नु पर्ने अवस्था आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

‘हामीले समयमै सुरुङको गेटहरू बन्द गरेनौं भने सुरुङभित्र लोदोहरू पस्न सक्ने हुन्छ। त्यो लेदो सफा गर्न ३÷४ महिना लाग्ने हुँदा बर्खायाम पछि तत्कालै काठमाडौंं पानी लैजान सकिँदैन’, उनले भने, ‘त्यसकारण बर्खायामको समयमा डेढ दुई महिना बग्ने धमिलो पानी पानी पठाउने काम बन्द गर्दा जोखिम कम हुने र बर्खालगत्तै पानी पठान्तरण गर्न सकिन्छ।’ बाढी आएर बाटो बन्द हुने खतरा रहेको ठाउँ नजिकै एक्स्काभेटर तयारी अवस्थामा राखिएको उनले जनाए। ‘अहिले एक्स्काभेटर राख्दा मनसुन कम भएपछि छिटोबाटो खोल्न सजिलो हुनेछ,’ उनले भने, ‘हामीले यो बर्खामा ढिलो बन्द गरेर सुक्खा लाग्नेबित्तिकै छिटो पानी पठाउने योजना बनाएका छौं।’ एक्स्काभेटर बर्खाभर त्यही राखिने उनको भनाइ छ।

पानी नदीतिर नफर्काउन चेतावनी

मेलम्ची खानेपानी विकास समितिले पानी बन्द गर्ने भनिरहँदा यता मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरुङ प्रवेश गराइएको पानी यसवर्षको बर्खायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन चेतावनी दिएका छन्।

उनीहरूले मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल असार १ र साउन १६ र १७ गते आएको भीषण बाढीका कारण आयोजनाको मुख्य हेडवक्र्सभन्दा तल्लो तटीय क्षेत्रका मुख्य सडक मार्गमा क्षति पुगेको भन्दै यो बर्खामा पानी राजधानी लैजानुपर्ने नत्र हिउँदमा पनि पानी लान नदिने बताएका छन्।

‘केही वर्षदेखि हिउँद सुरुवातसँगै तामझामका साथ पानी काठमाडौं प्रवेश गराउने र जब मनसुन सुरु हुन्छ त्यसपश्चात् पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो आपत्ति छ,’ मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पासाङ लामाले भने, ‘सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन हामीले आग्रह गरेको छौं। हाम्रो अनुरोध र अपीललाई कमजोरी ठान्दै जबरजस्ती नदीतिरै फर्काउने प्रयत्न गरिए हामी हिउँदमा पनि पानी लान दिँदैनौं।’

नागरिकका जीविकोपार्जनसँग जोडिएको हजारौं रोपनी खेतीयोग्य फाँटहरू, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौं व्यावसायिक फार्म ट्राउट, कुखुरा, च्याउ फार्म, घट्ट, मिल, हाते कागज, काष्ठ, ब्लक, स–मिल, फर्निचर, पसल, होटल, रिसोर्ट इत्यादि तहसनहस हुनुका साथै नागरिकको दैनिकी जीवन कहालीलाग्दो भएको भन्दै जारी विज्ञप्तिमा राज्यले यस्तो परिस्थितिलाई सहजता, समाधान उन्मुख र नागरिकका चोटहरूमा मलमपट्टी गर्न कुनै पहल नगरेको जनाइएको छ।

मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र त्यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी पानी नदीतिर नफर्काउन भने पनि बर्खामा पानी नदीतिर नफर्काए आयोजनामा ठूलो क्षति पुग्ने समितिका कार्यकारी निर्देशक लामिछानेले बताउँछन्। ‘नदीतिर नफर्काउन माग त आएको छ, तर पानी नफर्काए आयोजनामा क्षति पुग्छ, त्यसैले पानी बन्द गरी नदीतिरै फर्काउनुपर्ने बाध्यता नै छ,’ उनले भने।

उनीहरूको माग राज्यले धेरै हदसम्म पूरा गरिसकेको भन्दै आयोजनालाई घाटा हुने काममा स्थानीयले जबर्जस्ती गर्न नहुने उनले जानकारी दिए। ‘जुन उहाँहरूको माग बजेटले पनि सम्बोधन गरेको छ,’ उनले भने, ‘तर उहाँहरूले आयोजनालाई घाटा हुने विषयलाई लिएर बखेडा झिक्नु उचित होइन। उहाँहरूको बाँकी माग पनि राज्यले सम्बोधन गर्छ, यो कुरालाई ख्याल गर्नुपर्छ।’

हेडवक्र्स सार्ने तयारी सुरु

मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको हेडवक्र्सलाई सुरक्षित ठाउँमा सारिने भएको छ। आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख भएसँगै त्यसका लागि डिजाइन गर्ने गरी अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको तयारी थालिएको छ।

अहिलेको मुहान नजिकै सधैंं बगिरहने पहिरो भएकाले जतिबेला पनि हेडवक्र्समा क्षति पुग्ने भएकाले सार्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। ‘हेडवक्र्स सार्न मन्त्रिपरिषद्बाट सहमति भइसकेको छ’, उनले भने, ‘हेडवक्र्स राख्नका लागि पहिचान भएको नयाँ स्थानहरूको अब ‘डिटेल सर्भे’ गरिन्छ। सर्भेअनुसार हेडवक्सको डिजाइन हुन्छ र काम अगाडि बढ्छ।’ नयाँ हेडवक्र्सका लागि अहिलेको हेडवक्र्स भन्दा एक किलोमिटर माथि रहेको सर्कथली क्षेत्र उपयुक्त मानिएको पन्तले बताए।

बाह्रै महिना पानी लैजान नयाँ हेडवक्र्स जरुरी रहेको भन्दै उनले मंसिरसम्म परामर्शदाता छानिसक्ने र परामर्शदाताले ६ महिनाभित्र त्यसको डिजाइन दिने बताए। ‘हेडवक्र्स नयाँ बन्ने हो भने त्यसमा र थिग्राउने संरचना हुने हुँदा बाह्रै महिना काठमाडौंं पानी लैजान सकिन्छ’, पन्तले भने, ‘थिग्राउने संरचना हुँदा बर्खाको समयमा जति धमिलो पानी आए पनि त्यसलाई सफा बनाएर पठाउन सकिन्छ।’ अबको दुई वर्षभित्र यसको काम सुरु हुने उनको भनाइ छ। हेडवक्र्स सारेर नयाँ संरचनाबाट पानी सुरुङमा पठाउन थप एक किलोमिटर सुरुङ निर्माण गरिने पन्तले जानकारी दए।

विसं २०५५ मा सुरु भएको आयोजनाले पहिलोपटक २०७८ चैत १५ गते काठमाडौंं उपत्यकामा पानी वितरण थालेको थियो। तर, २०७८ साल असार र साउनमा मेलम्चीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पु¥यायो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौंं लगियो।

सरकारले पहिलाजस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी लैजान बन्द गरेको थियो। बर्खा सकिएपछि पनि समयमा पानी लैजान नसकिएपछि बन्द गरेको ६ महिना पछि मात्रै पानी काठमाडौंं पुग्यो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।

फेरि मेलम्ची खानेपानी विकास समितिले गत बर्खामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मत गर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द ग¥यो।

उक्त संरचना मर्मतपछि उपत्यकामा पानी पथान्तरण भयो। विकास समितिले बर्खामा पनि पानी जाने जनाएको थियो तर क्षति हुन नदिन भन्दै पुनः
बन्द गरियो।

नभन्दै गत वर्षको बाढीले पनि आयोजनामा क्षति पु¥यायो। क्षति मर्मतपछि अहिले भने पानी वितरण भइरहेको छ तर अस्थायी रूपमा मात्रै। मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवक्र्स सार्न सुझाव दिएको थियो। सोही सुझाव अनुरूप हेडवक्र्स सार्न सरकार तयार भएको हो।

कति सुरक्षित ठाउँमा छ नयाँ ‘हेडवक्र्स’ ?

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछाने नयाँ ठाउँमा सारेर सुरक्षित बनाउन यसअघिको भन्दा फरक किसिमको संरचना तयार गर्न लागिएको बताउँछन्। ‘यसअघिको जस्तो खोलानै थुनेर बनाइएको बाँधको ठाउँमा अब खोलाको छेउमा पानी थुन्ने संरचना बनाउँछौं र सुरुङभित्र नै हेडवक्र्सका सबै संरचनाहरू बनाउँछौं,’ उनले भने, ‘साइड इन्टेक बनाउँदा खोलामा बाढीको दबाब भएको समयमा पनि बाँध भत्काउने जोखिम हुँदैन।’

सुरुङभित्रै हेडवक्र्सका संरचना बनाउँदा काठमाडौंंमा पानी लैजाने सुरुङ एक किलोमिटर लामो हुने र पानी दीर्घकालीन रूपमा ल्याउन सकिने विकास समितिको दाबी छ। ‘अहिले भएका भन्दा ठूला भवितव्य आएनन् भने बाह्रै महिना पानी लैजान सकिन्छ’, लामिछानेले भने, ‘परामर्शदाताले त्यहाँँको भौगर्भिक अध्ययन पनि गरेर प्रतिवेदन दिएको छ, हामी त्यही अनुसार नै काम गछौं।’

भविष्यमा आउनसक्ने बाढीबाट सो स्थलमा हुनसक्ने जोखिम कम गर्न खोलामा ठूलो बाँध नबनाइने विकास समितिको भनाइ छ। ‘छेउमा सानो सुरुङबाट भित्र ठूलो सुरुङभित्र नै गेग्रानहरू छान्ने संरचना बनाउँछौं। पानीलाई हामीले स्वचालित प्रणालीबाट सुरुङमा हाल्ने व्यवस्था मिलाउँछौं’, उनले भने, ‘सेन्सरहरू जडान गरेर पानी निश्चित भन्दा धेरै धमिलो भयो भने आफैं सुरुङ बन्द हुने व्यवस्था हुन्छ, त्यसो हुँदा सुरुङ र मुहानमा क्षति हुँदैन।’

तर सरकारले नयाँ ठाउँमा सार्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अझैपनि जोखिममुक्त क्षेत्रमा नरहेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा पर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन्। सरकारले प्रस्ताव गरेको नयाँ ठाउँ सुरक्षित हुनेबारे आफूहरूलाई विश्वस्त बनाउन नसकेको उनले बताए। शेर्पा मेलम्ची खानेपानी विकास समितिका सदस्य समेत हुन्।

‘अहिलेको भन्दा अब सार्न लागिएको ठाउँमा ठूलो जोखिम छ। त्यहाँँ झन् चारैतिर पहिरो आउने ठाउँ छ’, शेर्पाले भने, ‘एशियाली विकास बैंकले दिएको ठाउँमा हामीले एक पटक पनि पुगेर नहेरी ठीक छ भन्यौं। म आफैं विकास समितिमा भए पनि त्यहाँँ यसबारे छलफल गरिएन।’

उनले आफूसहितका स्थानीयले प्रस्तावित नयाँ स्थल उचित नभएकाबारे ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए। ‘नयाँ ठाउँ के कारणले सुरक्षित छ भनेर हामीलाई उहाँहरूले बुझाउन सक्नुभएको छैन,’ उनले भने, ‘अर्बौँ खर्च गरेर नयाँ ठाउँमा सारेपछि बाह्रै महिना पानी आउँछ र सुरक्षित हुन्छ भनेर उहाँहरूले जिम्मा लिन सक्नुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्। कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,' उनले भने। महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई ...
: संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्न कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे,राष्ट्रिय ...
: आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाका लागि छुट्टै सिट निर्धारण गर्र्नुपर्ने माग विपक्षी कांग्रेसमा उठेको छ। नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रममा नेताहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिनै पार्टीहरूले कञ्जुस गरिरहेको भन्दै महिलाका लागि अब अलग्गै सिट निर्धारण गर्नुपर्ने बताए। संसद्मा महिलाको उपस्थिति व्यवहारमै बढाउनका लागि यस्तो व्यवस्था गर्नैपर्नेमा कांग्रेसका नेताहरूले जोड दिए। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन्। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्। 'आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो,पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले ...
: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ। काठमाडौंमा आज सुरु भएको १६ औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि ...