मुख्य समाचार
यामल : स्पेनको आशा र भरोसा
यामल : स्पेनको आशा र भरोसा

। जम्माजम्मी १६ वर्षको उमेरमा देशका लागि मिनी वर्ल्डकप जस्तो ठूलो प्रतियोगिता । धेरैका लागि यो कल्पना हो, तर लमिन यामलले खेलिसके ।

खेलिसके होइन बबालै गरे, सनसनी मच्चाए । यही प्रदर्शनलाई लिएर उनी गोल्डन ब्वाइदेखि बालोन डी–ओर अवार्डको दाबेदारका रुपमा समाचार बनिसके ।

१६ वर्षका यामल, विपक्षी डिफेन्डरहरुलाई पेनाल्टी बक्सभित्र फनफनी घुमाउँदै चलाखीपूर्ण तरिकाले (बार्सिलोनाका पनि) टिममेट पेड्रीको खुट्टामा फुत्त बल दिन्छन् ।

पेड्रीले हल्का टच गर्दै अनुभवी मिडफिल्डर फाबियानो रुइजीलाई बल पास दिन्छन् । रुइजीले अविश्वसनीय ढंगले क्रोएसियाका ४ जना डिफेन्डरलाई बिट मार्दै गोल गर्छन् ।

रुइज खेलको म्यान अफ दी म्याच पनि चुनिए । तर सबभन्दा बढी चर्चा यामलको छ । रुइजको गोलका लागि यामलले बनाएको अवसरलाई लिएर क्रोएसियाका खेलाडीलाई १६ वर्षीय किशोरले ‘नचाएको’ ट्रोल समेत बनेका छन् ।

यति मात्रै होइन, पहिलो हाफको अतिरिक्त समयमा डाभी कार्भाहालले गरेको गोलका लागि यामालले नै डी–बक्स बाहिरको दायाँ साइडबाट बल क्रस गरेका थिए । अनि १६ वर्षको उमेरमै युरोकपमा डेब्यु गरेका यामलको नाममा रेकर्ड बन्यो, युरोकपको इतिहासमा कम उमेरमै असिस्ट गर्ने खेलाडी ।

शनिबार राति युरामा स्पेनले क्रोएसियाविरुद्ध ३–० को जित निकाल्दाका मुख्य खेलाडी हुन् यामल ।

यो खेलमा १६ वर्षका यामल र ३८ वर्षका लुका मोडरिच एकअर्काविरुद्ध खेलिरहेका थिए । जतिबेला यामलको जन्म भएको थियो, क्रोएसियाका मोडरिच २१ वर्षका भइसकेका थिए । देशका लागि १४ खेल खेलिसकेका थिए, क्रोएसियाली लिग जितिसकेका थिए । अहिले उनै मोडरिचविरुद्ध मैदान उत्रिएर यामलले इतिहास बनाए ।

युरोमा सनसनी मच्चाएका यामलको पूरा नाम लामिन यामल नस्राओई इबाना हो । ट्रिकी विंगर यामलले क्रोएसियाको डिफेन्सलाई निरन्तर दबाबमा राखे ।

पेड्रीले दिएको एउटा सुन्दर पासलाई यामलले उत्कृष्ट प्रहार गरेका थिए । तर डोमिनिक लिभाकोविचले उत्कृष्ट बचाउ गरेपछि गोलको रेकर्ड बनाउनबाट भने चुके ।

बार्सिलोनाको खेल पच्छ्याउनेहरुका लागि युरोकपमा यामलको प्रदर्शन स्वभाविक पनि मानिन्छ । यामलले बार्सिलोनाका लागि ५१ खेल खेलिसकेका छन्, जसमा ७ गोल गरेका छन् । त्यसैको उत्कृष्ट प्रदर्शन युरोकपमा देखाए ।



यामलको प्रेरणादायी खेलमा मोराटा, रुइज र कार्भाहालको गोलको मद्दतमा क्रोएसियाविरुद्ध ३–० को जित निकाल्दै स्पेन समूह ‘बी’ को शीर्ष स्थानमा छ । क्रोएसियाविरुद्ध ८६ मिनेट मैदानमा बिताएका यामलले एक असिस्ट गर्नुका साथै विपक्षीको पोस्टमा ३ सर्ट प्रहार गरे । उनको पास एक्युरेसी ८३ प्रतिशत थियो ।

‘कल्पना गर्न नसक्ने कुरा यामलले गरेर देखाउँछन्’

युरोकपमा यसअघि कान्छा खेलाडी पोल्याण्डका कापर काजोलोस्की थिए । उनले १७ वर्ष २४६ दिनको हुँदा सन् २०२१ मा स्पेनविरुद्ध नै युरोकपमा डेब्यू गरेका थिए ।

तर क्रोएसियाविरुद्ध उत्रिँदा स्पेनका यामल जम्मा १६ वर्ष ३३८ दिनका मात्रै भएका छन् । एक अपूर्व प्रतिभा यामल युरोकप फाइनलको अघिल्लो दिन १३ जुलाइमा १७ वर्षको हुनेछन् । त्यसैले आउँदा दिनमा यामलको नाममा अझ धेरै रेकर्ड बन्नसक्छ ।

‘उनले के काम गर्छन्, त्यो हामीले सोचेका पनि हुँदैनौं’, यामललाई जुनियर लेभलमा प्रशिक्षण गराएका इभान कारास्कोले भनेका छन्, ‘म यामललाई एउटा प्रतिभा भएको मात्रै होइन, त्यसमा धेरै सचेत रहेको खेलाडीको रुपमा पनि चिन्छु । प्रतिभाशाली खेलाडीहरु धेरै स्वार्थी देखिन्छ, तर यामलमा त्यो छैन ।’

बार्सिलोनाका पूर्व रिपोर्टर तथा हाल स्पोर्ट टिभीका पत्रकार जौमी मार्सेट पनि यामलमा अद्भुत कला रहेको बताउँछन् ।

‘मैले ग्रासरुट फुटबलमा देखेको सबैभदा उत्कृष्ट प्रदर्शन यामलकै हो । क्याटलुनिया क्याडेटको फाइनलमा यमालले अविश्वसनीय प्रदर्शन गरेको स्मरण गर्दै उनले भनेका छन्, ‘ग्रासरुटमा मैले मेस्सीको प्रदर्शन देखेँ, तर आफूभन्दा सिनियर खेलाडीहरुमाझ यामलको जस्तो प्रदर्शन देखेको थिइनँ ।’

‘आशाको किरण’

यामलको सेलिब्रेसन शैली पनि युनिक छ । उनी दुई हातलाई छाती अगाडि क्रस बनाएर बायाँ हातका तीन औलामाथि ठड्याएर बुढी औंला र चोर औलाले ‘जिरो’ आकार बनाउँछन् । अनि दायाँ हातको बुढी औंला लुकाउँदै चार औंला उठाउँछन् ।

अर्थात यामलले सेलिब्रेसनमा ३०४ बनाउँछन् । यसको अर्थ निकै भावनात्मक छ ।

उनी बार्सिलोनाकै छिमेकी शहर रोकाफोन्डामा हुर्किएका हन् । रोकाफोन्डा धेरै सेवाहरुबाट बञ्चित ठाउँ हो । रोकाफोन्डाको पोस्टल नम्बर ०८३०४ हो । आफू हुर्केको ठाउँलाई श्रद्धापूर्वक सम्मान गर्दै रोकाफोन्डाको झल्किने गरी पोस्टलको अन्तिम तीन अंक ३०४ झल्कने सेलिब्रेसनलाई टेर्डमार्क बनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट खेलिरहेका यामलका बाबुआमा भने स्पेनिस होइनन् । उनको बाबु मोरक्कोका हुन् भने आमा गुएनाकी हुन् । १३ जुलाइ २००७ मा स्पेनमा जन्मिएका यामलले २०१२ देखि बार्सिलोनाको युथ टिमबाट खेलेका थिए । ५ वर्षको हुँदा उनी बार्सिलोनाको एकेडेमीमा पुगेका थिए ।

रोकाफोन्डाको पहाडमा निकै कलात्मक तरिकाले फुटबल खेल्दै गरेको देखेपछि बार्सिलोनाले यामलमाथि आँखा लगाएको थियो । त्यसपछि उनका बाबुले बार्सिलोना पुर्‍याए ।

यामलका बाबुले त्यतिबेला सोधे– के आफ्नो छोरा बार्सिलोनाबाट खेलोस् भन्ने चाहनुहुन्छ ?

बार्सिलोनाले सटिक जवाफ दियो– हजुर ।

‘ठीक छ, त्यसो भए उसलाई शिक्षित पनि पार्नुहोस्’, यामलका बाबुले भनेका थिए ।

जतिबेला यामल आफ्नो झोला प्याक गरेर ला मासियाका लागि तयार भइसकेका थिए, त्यसबेला आफूले भने ‘यो केटोलाई ला मासियामा कसरी टिकाउने’ भनेर सोचेको बार्सिलोनाका पूर्व निर्देशक जाभी मार्टिनले एक अन्तर्वार्तामा सुनाएका छन् ।

तिनै यामल हरेक फुटबलप्रेमी बच्चाहरुका लागि आशाका किरण बनेको मार्टिन बताउँछन् । आफ्नो सपना साकार पार्न सम्भव छ भन्ने उदाहरणमध्ये एक यामल भएको उनी बताउँछन् ।

यामलको यो सफलतामा उनको धेरै लगानी छ । बाआमाको काखमा बिताउने समय उनले फुटबलसँग बिताए । ‘मैले घरमा भन्दा बढी समय मैदानमा बिताएँ । जब म सडकमा पाइला राख्थेँ, फुटबलमात्रै सम्झन्थेँ’, यामलले आफ्नो अनुभवबारे भनेका छन् ।

रेकर्डको चाङ

यमालले युरोकप २०२४ मा एकैदिन सबभन्दा कम उमेरमा डेब्यु गर्ने र असिस्ट गर्ने दुई रेकर्ड आफ्नो नाममा लेखाए । यतिमात्रै होइन, उनी रेकर्ड नै रेकर्डले घेरिएका छन् ।

२९ अप्रिल २०२३ मा रियल बेटिसविरुद्ध ला–लिगामा डेब्यू गर्दा यामल १५ वर्ष २९० दिनका थिए । यससँगै उनले बार्सिलोनाबाट सबभन्दा कम उमेरमा ला–लिगा खेल्ने खेलाडीको रेकर्ड बनाए ।

यामल ८४ औं मिनेटमा गाभीलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए, जुन खेल बार्सिलोनाले ४–० ले जित्यो ।

९ अक्टोबर २०२३ ला लिगामै ग्रानाडाविरुद्ध गोल गर्दै ला लिगाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान यामलले आफ्नो नाममा लेखाए । त्यतिबेला उनी जम्मा १६ वर्ष ८७ दिनका थिए ।



लेफ्ट फुटेड, राइट विंगर यामलले सिजन २०२३/२४ मा भिल्लारियल विरुद्ध मैदान उत्रिँदा लेवान्डोस्की र गाभीलाई असिस्ट प्रदान गर्दै ला लिगामा असिस्ट गर्ने सबभन्दा कान्छो उमेरमा खेलाडीको नाममा रेकर्ड बनाएका थिए । त्यतिबेला उनी जम्मा १६ वर्ष १५ दिनका मात्रै थिए ।

उनले च्याम्पियन्स लिगमा पनि रेकर्ड राखे । ५ अक्टोबरमा च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब पोर्तोविरुद्ध सुरुवाती क्रममै मैदानमा उत्रिए । १६ वर्ष ८३ दिन उनले सबैभन्दा कम उमरेका सुरुवाती रुपमै मैदान उत्रिने खेलाडीको रेकर्ड बनाए ।

ला लिगा र च्याम्पियन्स लिगमा राम्रो प्रभाव पारेपछि उनलाई स्पेनको सिनियर राष्ट्रिय टिममा डाकिएको थियो ।

१६ वर्ष ५७ दिनको उमेरमा सिनियर राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनको सिनियर राष्ट्रिय टोलीका सबभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा राखे ।

यतिमात्रै होइन, राष्ट्रिय टिमबाट सबभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड पनि यामलकै नाममा छ ।

युरोकप छनोट अन्तर्गत सेप्टेम्बर ८ मा जर्जियाविरुद्ध गोल गर्दै स्पेनको सिनियर टिममा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । उक्त खेल स्पेनले ७–१ गोलले जितेको थियो ।

अद्भुत प्रदर्शनसँगै मानिसहरुले यामललाई लिओनल मेस्सीसँग पनि तुलना गर्न थालेका छन् । आगामी वर्षको वालोन डीओरका लागि प्रतिस्पर्धा गर्ने खेलाडीहरुबारे सोधिएको प्रश्नमा मेस्सीले पनि यामलको नाम लिएका छन् ।

तर यमाल भने यसमा प्रष्ट छन् । मेस्सीसँग गरिएको तुलनाबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘अब अर्को कोही मेस्सी जस्तो हुने छैनन् ।’

सायद उनी सही हुनसक्छन् । तर पछिल्ला दिनमा बार्सिलोनाको घरेलु खेलहरुमा एउटा ब्यानर देखिन्छ, जहाँ यामलको ३०४ सेलिब्रेसनको तस्वीरसँगै लेखिएको हुन्छ, भविष्यले पर्खिने छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...