मुख्य समाचार
‘युक्रेन–रूस संकट दुई राज्य बीचको द्वन्द्व होइन’
‘युक्रेन–रूस संकट दुई राज्य बीचको द्वन्द्व होइन’

विना कुनै अतिरञ्जना भन्नु भर्दा आज रूस र संसारभरि कैयौं महत्वपूर्ण मोडहरू आए । त्यसैले वैश्विक र क्षेत्रीय मामिलामा वर्तमान अवस्थाको मूल्यांकन र उपयुक्त विदेश नीति सहितका कामहरू तय गर्नु जरूरी छ । ती सबै हाम्रो मुख्य लक्ष्यको अधीन छन्, ती हुन्– रूसको दिगो विकासका लागि परिस्थिति बनाउने, यसको सुरक्षा सुनिश्चित गर्ने र रूसी परिवार कल्याणको अवस्था सुधार्ने ।

आधुनिक, कठिन र तीव्र रूपमा बदलिइरहेको यथार्थका बीच यो दिशामा काम गर्नका लागि हामी सबैको अझ बढी प्रयास, पहल, दृढताले विद्यमान चुनौतीको जवाफ दिने क्षमता मात्र राख्दैन, बरु आफू स्वयंको र दीर्घकालीन रूपमा एजेन्डा तयार गर्ने, सहभागिताका साथ एक खुला र रचनात्मक छलफलको ढाँचाभित्र ती आधारभूत सवालहरूको हल गर्ने विकल्पको प्रस्ताव र छलफल गर्नुपर्ने आवश्यकता छ जस बारे हामी मात्र होइन, सिंगो विश्व समुदाय नै चिन्तित छन् ।




हामीले अन्तर्राष्ट्रिय समुदायले पनि सरोकार राख्ने आधारभूत सवालको सम्भावित समाधान प्रस्ताव गर्नुपर्दछ । संसार द्रुत गतिमा परिवर्तन हुँदैछ । विश्व राजनीति, अर्थतन्त्र र प्राविधिक प्रतिस्पर्धा पहिले कहिल्यै नभएको अवस्थामा छ ।

धेरै देशहरू आफ्नो सार्वभौमसत्ता, आत्मनिर्भरता, राष्ट्रिय तथा सांस्कृतिक पहिचान बलियो बनाउन प्रयासरत छन । ग्लोबल साउथ र पूर्वका देशहरू अगाडि आउँदैछन् । अफ्रिका र ल्याटिन अमेरिकाको भूमिका बढ्दै छ । सोभियतकालदेखि नै हामीले यी क्षेत्रको भूमिकालाई स्वीकार गरेका हौं ।




तर, आजको गतिशीलता विल्कुलै बदलिएको छ, यो महत्वपूर्ण हुँदैछ । युरेसियामा परिवर्तनको गतिले उल्लेखनीय रूपमा तीव्र भएको छ, जहाँ धेरै ठूला–ठूला एकीकरण परियोजनाहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेका छन् ।

नयाँ राजनीतिक तथा आर्थिक वास्तविकताले उदीयमान बहुधु्रवीय र बहुपक्षीय विश्वको जगको काम गरेको छ । र, यो एक अपरिहार्य प्रक्रिया हो । कृत्रिम एकीकरणका सबै प्रयासका बाबजुद यसले सांस्कृतिक र सभ्यताको विविधतालाई प्रतिबिम्बित गर्दछ, जो मानवताको स्वाभाविक अंश हो ।

बहुध्रुवीयता र बहुपक्षीयताको स्थापना आशा र आशावादितालाई प्रेरित गर्ने प्रणालीगत परिवर्तन हुन् । यसले राज्यहरू बीच साझा कल्याण र सुरक्षाको पारस्परिक तथा लाभदायिक सम्बन्ध र सहयोग निर्माण गर्न सम्भव बनाउँछ ।

भविष्यका लागि यस्तो दृष्टिकोण बहुसंख्यक देशहरूको आकांक्षासँग मेल खान्छ । हामीले अध्यक्षता गरिरहेको संस्था ब्रिक्समा हामीले यसको उपयोग गर्नुपर्दछ । अक्टोबरमा हुने कजान ब्रिक्स शिखर सम्मेलनलाई हामी बहुध्रुवीय विश्व व्यवस्थाको एक मुख्य नियामक संस्था बनाउने छौं ।

हाम्रो दृष्टिकोण यो हुनेछ कि कसैको सुरक्षाको सुनिश्चितता कसैको सुरक्षाको मूल्यमा आधारित हुन सक्दैन । बीसौं शताब्दीको अन्त्यतिर सघन सैन्य र विचारधारात्मक भिडन्तको अन्त्यपछि अन्तर्राष्ट्रिय समुदायलाई दिगो र न्यायपूर्ण सुरक्षा व्यवस्था निर्माण गर्ने अद्वितीय अवसर थियो ।

यसका लागि धेरै ठूलो फेरबदल आवश्यक थिएन । सबै इच्छुक पक्षको राय सुन्ने क्षमता र विचारलाई ध्यानमा राख्ने आपसी इच्छा भए पुग्थ्यो । हाम्रो देश यस प्रकृतिको कार्यमा संलग्न हुन कटिबद्ध थियो ।

यद्यपि फरक दृष्टिकोण प्रचलित थिए । अमेरिकी नेतृत्वमा भएका पश्चिमा देश यो विश्वास गर्थे कि उनीहरूले शीतयुद्ध जितेका हुन् र अबको विश्वलाई कसरी व्यवस्थित गर्ने भन्ने निर्णय लिने अधिकार उनीहरूलाई छ । यस दृष्टिकोणको व्यावहारिक अभिव्यक्ति नेटोको असीमित विस्तार योजना थियो । युरोपको सुरक्षाका लागि त्यस योजनाको वैकल्पिक विचार अस्तित्व र उपाय थिए । तर, त्यतातिर ध्यान दिइएन ।

उनीहरूले हाम्रो जायज सरोकारको उत्तर नेटो विस्तारको उद्देश्य रूसमाथि आक्रमण गर्नु नभएको भन्ने दिंदै आए । तर, उनीहरूले सन् १९८० को दशकमा सोभियत संघ र सन् १९९० को दशकमा त्यसपछिको रूसलाई दिएको नेटोका नयाँ सदस्य नथप्ने आश्वासन बिर्से । त्यो आश्वासनलाई उनीहरूले कानुनी रूपमा बाध्यकारी नभएको मौखिक आश्वासनको रूपमा खारेज गरे ।

तर, रूसले त्यो आश्वासन सम्झाइरह्यो र त्यस्तो गल्ती नगर्न भनिरह्यो । हामीले युरोपेली सुरक्षाको वैकल्पिक उपायको प्रस्ताव पनि गर्‍यौं । सन् २००८ को युरोपेली सुरक्षा सन्धिको विचार त्यस्तै एउटा प्रस्ताव थियो ।

हामी बाल्कन त्रासदी सम्झौं । युगोस्लाभियाका आन्तरिक समस्या थिए । तर, नेटोको हस्तक्षेपले तिनलाई झनै खराब बनाए । त्यसपछि इराक, सिरिया, लिविया, अफगानिस्तानमा पनि त्यस्तै भयो । नेटोले कुनै पनि देशको आन्तरिक मामिलामा प्रवेश गर्ने छैन भन्ने आफ्नो मूल सिद्धान्त नै उल्लंघन गर्‍यो ।

यी हस्तक्षेपले समस्यालाई घटाउने हैन, बढायो । लाखौं मानिसले जीवन गुमाए । ती राज्यहरू तहसनहस भए । आज पश्चिमले मध्यपूर्व मामिलामा निर्लज्जतापूर्वक हस्तक्षेप गर्न खोजिरहेको छ ।

दुई वर्ष अघिको नेटो म्याड्रिड शिखर सम्मेलनमा युरो–एट्लान्टिक मात्र नभई एशिया–प्रशान्त क्षेत्रमा समेत प्रवेश गर्ने भनियो । यो पनि सम्झना गरौं कि वासिङ्गटन एकपक्षीय रूपमा क्षेप्यास्त्र विरोधी प्रतिरक्षा सन्धिबाट पछि हट्यो ।

पश्चिमा देशहरूको आत्मकेन्द्रित र अहंकारले आज हामीलाई अत्यन्तै खतरनाक अवस्थामा पुर्‍याएको छ । सबैभन्दा ठूलो आणविक हतियार भण्डार रूसलाई रणनीतिक रूपले पराजित गर्ने तिनको आह्वानभित्र चरम लपरवाही छ ।

हामी युरो–एट्लान्टिक क्षेत्रको सुरक्षा पुनर्संरचनाका लागि युरेसियन क्षेत्रमा आफ्नै रणनीति स्थापित गर्न चाहन्छौं । भर्खरैको चीन भ्रमणमा राष्ट्रपति सी जिनपिङ र मैले यस विषयमा छलफल गरेका छौं । रूसका प्रस्ताव चीनको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ सँग अन्तरविरोधी हैन, पूरक छन् ।

दोस्रो कुरा-यो प्रस्ताव भविष्यमा यसमा सामेल हुन चाहने सबै युरेसियन देशका लागि खुल्ला छ । ती युरोपेली र नेटो देश पनि हुन सक्दछन् । हामी मिलेर बस्नु, बाँच्नु र काम गर्नुपर्छ । हामीलाई थाहा छ, महाद्वीप साझा छ, भूगोल परिवर्तन हुन सक्दैन ।

यो सत्य हो कि धेरै युरोपेली देशसँग हाम्रो सम्बन्ध बिग्रेको छ । तर, त्यसका लागि हामी मात्र दोषी छैनौं । युरोपको असुरक्षा र खतरा रूसबाट सुरु हुँदैन । युरोपको खतरा बरु अमेरिकामाथि बढ्दो निर्भरता हो ।

अमेरिकाले आफ्नो फाइदाका लागि युरोपको शोषण गर्ने गरेको छ । आज अमेरिका आफ्नो युरोपेली साझेदारलाई युक्रेनलाई थप हतियार र बजेट सहयोग गर्न दबाब दिंदैछ ।

यदि युरोप यो धर्तीमा आफ्नो सांस्कृतिक तथा सभ्यतागत अस्तित्व र पहिचान कायम राख्न चाहन्छ भने रूससँग मित्रवत् हुनुपर्दछ । अमेरिकाले युरोपलाई कथित उदार विचारधाराका लागि प्रयोग गर्र्दैछ भन्ने युवा पुस्ताका युरोपेली राजनीतिज्ञले बुझ्नुपर्दछ ।

युरेसियन देशहरूले भने आफ्नो मार्ग तय गरिसकेका छन् । युरेसियन सहायता, सुरक्षा र आर्थिक सहकार्यको प्रारूप बन्दै गएको छ । हामी युरेसियन संघमा मध्यपूर्व र दक्षिणपूर्वी एशियाली देशलाई थप्ने सोचिरहेका छौं । एक्काइसौं शताब्दीमा बहुध्रुवीयता र युरेसियन विविधताको दूरदृष्टि प्रस्तुत भइसकेका छन् ।

युक्रेन युरेसियन सुरक्षा प्रणाली र व्यवस्थाको एक महत्वपूर्ण सवाल हो । म यो प्रष्ट गर्न चाहन्छु कि युक्रेनसँग जोडिएको संकट दुई राज्य वा दुई देशका जनताबीचको समस्याबाट उत्पन्न द्वन्द्व हैन । यदि त्यसो हुन्थ्यो त साझा इतिहास, संस्कृति, आध्यात्मिक मूल्य र लाखौं पारिवारिक तथा मानवीय सम्बन्ध भएका रूसी र युक्रेनीले कुनै पनि विवाद र असहमतिको निष्पक्ष समाधान भेट्टाउन सक्थे भन्ने कुरामा कुनै शंका छैन ।

तर, यो द्वन्द्वको जरा द्विपक्षीय नभएकोले यस्तो अवस्था आएको हो । युक्रेनको घटना बीसौं शताब्दीको उत्तरार्ध र एक्काईसौं शताब्दीको प्रारम्भिक विश्व र युरोपेली घटनाक्रमको प्रत्यक्ष परिणाम हो । पश्चिमाहरूले शीतयुद्ध जितेको भानमा जुन विश्व व्यवस्था बनाउन खोजे, त्यसैको नतिजा हो ।

तिनले सोभियत संघका विघटन र रूसको विभाजनलाई जायज ठहर्‍याउने प्रयत्न गर्दै आएका छन् । नेटोको विस्तारबाट रूसलाई घेर्ने र हाम्रो नजिकका क्षेत्रलाई सैन्य तथा राजनीतिक रूपमा अवशोषित गर्ने लक्ष्यसँग हामी यो लडाइँ लडिरहेका छौं ।

तिनले हाम्रो अन्तर–राज्य सम्बन्धलाई कमजोर पार्न, हामीलाई विभाजित गर्न र हाम्रा मान्छेहरूलाई एकअर्का विरुद्ध प्रयोग गर्न सम्भव सबै उपाय गरे । युक्रेन बृहत् रूसको एक हिस्सा थियो । तर, १९९१ को युक्रेनी स्वतन्त्रताले पनि तिनको चित्त बुझेन ।

युक्रेनी राष्ट्रपति र राष्ट्रपतिका आकांक्षीले भोटका लागि दक्षिणपूर्वी युक्रेनका लाखौं जनतालाई ढाँटे । तर, जितेपछि ‘युरोपेली छनोट’ को कुरा गर्न थाले । दक्षिणपूर्वी युक्रेनी जनता संस्कृति, इतिहास र मनोभावनाले रूसी परिवार जस्तै हुन् । जातीय हिसाबले ती फरक भए पनि एउटै भाषिक समुदाय हुन् । ती हाम्रै समुदाय हुन् । तिनीहरूमाथि युक्रेनी अतिराष्ट्रवादीद्वारा उपद्रो, हत्या र हिंसा थोपरियो ।

अन्ततः कट्टरपन्थी राष्ट्रवादीहरूले किभको सत्ता कब्जा गरे । उनीहरूका आक्रामक नारा र नाजी गुन्डागर्दीको पुनस्र्थापनालाई राज्यको विचारधारा बनाइयो । तिनले राज्य र समाजमा रूसी भाषा समाप्त पार्ने नीति लिए । अर्थोडक्सी अनुयायीलाई दबाबमा राखेर चर्चमाथि हस्तक्षेप गरे । यस्ता सबै कामलाई रूस विरुद्ध हुन् भनेर अनुमति दिइयो ।

सबैलाई थाहा छ– युक्रेनका लाखौं मानिस, विशेषतः पूर्वी क्षेत्रका जनता यसको विरुद्ध विद्रोहमा आए । तिनीमाथि आतंक, दमन र हिंसा थोपरियो । आफ्नै जनतामाथि एक प्रकारको भीषण आन्तरिक युद्ध लादियो । किभ अधिकारीहरूले रूसी भाषी क्रिमियालीमाथि आक्रमण गर्न थाले ।

क्रिमिया सन् १९५४ मा कानुन र प्रक्रियाका सबै मापदण्ड उल्लंघन गर्दै त्यतिबेला सोभियत संघमा प्रभावी भएको बाट युक्रेनमा हस्तान्तरण गरिएको थियो । हामी क्रिमिया र सेभेस्तोपुलका मानिसलाई विना सुरक्षा सताइनका लागि छोड्न सक्दैनथ्यौं ।

उनीहरूकै छनोटले क्रिमिया र सेभेस्तोपुल सन् २०१४ को मार्चमा रूसमा एकीकरण भयो ।

खार्कोभ, खेर्सान, मारियोपुल, जापोरेज्ये, दोनेस्क र लुहान्स्कमा भएका शान्तिपूर्ण विरोधी प्रदर्शनलाई किभ प्रशासनले दमन गर्‍यो । त्यहाँ किभ शासन र अतिराष्ट्रवादी समूहको आतंक थियो । ती क्षेत्रमा के भएको थियो भनेर मैले सम्झाइरहनुपर्दैन, सबैलाई थाहा छ ।

सन् २०१४ को मेमा लुहान्स्क र दोनेस्क गणराज्यले जनमत संग्रह आह्वान गरेका थिए । बहुसंख्यक स्थानीय जनताले स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा मतदान गरे । यसले निम्न प्रश्नहरू उठाउँछ–

के मान्छेले यसरी आफ्नो इच्छा व्यक्त गर्न र स्वतन्त्रताको घोषणा गर्न सक्दछन् ? सम्भवतः यस्तै अधिकारलाई अन्तर्राष्ट्रिय कानुन र मापदण्डमा आत्मनिर्णयको अधिकार भनिन्छ । संयुक्त राष्ट्रसंघ वडापत्रको धारा–१ को अनुच्छेद २ ले यस्तो अधिकार दिन्छ ।

एकपटक हामी कुख्यात कोसोभो उदाहरण सम्झौं । सन् २००८ मा सर्वियाबाट कोसोभो यसरी नै छुट्टिएको थियो र पश्चिमाहरूले त्यसलाई मान्यता दिएका थिए । त्यसोभए के दोनेस्क र लुहान्स्क गणतन्त्रलाई आफ्नो स्वतन्त्रता घोषणा गर्ने अधिकार थिएन ? यदि समानताका मापदण्ड हुन्छन् भने यो विषयलाई उनीहरूले फरक गरी हेर्न मिल्दैन ।

तर, किभ सरकारले त्यो बेला के गर्‍यो त ? उसले जनताको छनोटलाई पूरै बेवास्ता गर्‍यो र डोनबास विरुद्ध युद्ध नै चलायो । त्यसपछि डोनबासका मानिसले आफ्नो जीवन, जमिन र आवासको अधिकार रक्षाको लागि हतियार उठाए ।

पश्चिमाहरूले उल्टो हल्ला फिंजाए कि रूसले युद्ध सुरुवात गरेको हो । रूसले युद्ध सुरु गरेकै हैन । यो शत्रुता त किभ सरकारले सुरु गरेको हो । रूसले त त्यो बेला किभ र विद्रोही गणराज्य बीच वार्ताको आह्वान गरेको थियो । सन् २०१५ को मिन्स्क सम्झौता त्यसैको नतिजा थियो । हामी हैन, किभ शासनको युद्ध संयन्त्रलाई सहयोग गर्नेहरू वास्तविक आक्रमणकारी हुन् ।

हाम्रो अपेक्षा थियो कि डोनबासका जायज र वैधानिक स्वार्थलाई किभले पूरा गर्दछ र युक्रेनको अक्षुण्णता कायम राख्नेछ । त्यो क्षेत्रको आधारभूत जनअधिकार सुनिश्चित गर्नेछ ।

हामीले त्यसका लागि धेरै पटक सम्झौता र समाधान प्रस्तुत गर्‍यौं । किभले यस्ता सबै संभावना अस्वीकार गर्‍यो र अन्ततः मिन्स्क सम्झौता उल्लंघन गर्‍यो । आज पनि डोनबास क्षेत्रका जनतासँग किभले ‘दोस्रो दर्जाको नागरिक’ र ‘उपमानव’ सँग जस्तो व्यवहार गरिरहेको छ ।

यो एक्काइसौं शताब्दीमा युरोपको मुटुमा भइरहेको नरसंहार नभएर के हो ? लुहान्स्क र दोनेस्क क्षेत्रमा किभ र उसका पश्चिमा परिचालकहरूले जातीय संहार मच्चाए । त्यसपछि हामीले बुझ्यौं कि अब समाधान छैन । अब हामीले लुहान्स्क र दोनेस्क गणतन्त्रलाई मान्यता दिनुपर्दछ ।

किभ कुनै न कुनै प्रकारको सम्झौतामा आउला भनेर हामीले अघिल्ला ८ वर्ष प्रतीक्षा गर्‍यौं । तर, त्यसो भएन । अन्ततः सन् २०२२ फेब्रुअरी २१ मा लुहान्स्क र दोनेस्क गणतन्त्रसँग मैत्री सन्धि गर्दै उनीहरूको स्वतन्त्रतालाई मान्यता दियौं ।

मैले फोन गरेर किभलाई आफैंले भनें यदि युक्रेनी टुकडी डोनबासबाट फिर्ता हुन्छ भने यो सबै कुरा यहीं समाप्त हुन्छ । तर, उनीहरूले मानेनन् । त्यसपछि फेब्रुअरी २४ मा हामीले विशेष सैन्य कारबाही सुरु गर्‍यौं ।

मैले यो सैन्य कारबाहीको उद्देश्य प्रष्ट भाषामा भनेको छु । यसको उद्देश्य डोनबास क्षेत्रका जनताको सुरक्षा, शान्ति पुनस्र्थापना, निसैन्यीकरण र युक्रेनको निनाजीकरण हो ।

हामीले त्यसपछि पनि किभ प्रशासनसँग सम्झौताको प्रयत्न गर्‍यौं । बेलारुस र तुर्केयमा त्यस्ता प्रयास भए । तिनले भने– हुँदैन, हामी लड्छौं । यो तिनका पश्चिमा मालिकले सिकाएको कुरा थियो । इस्तानबुल वार्तामा कुरा मिलिसकेको पनि हो । तर, त्यसपछि युके प्रधानमन्त्री किभ भएर सम्झौता नगर्न भने ।

पश्चिमाहरूले आज पनि त्यही काम गरिरहेका छन् । हाम्रा हितहरूको बेवास्ता गर्दै किभलाई हतियार आपूर्ति र सहायता गरिरहेका छन् । उनीहरूले कुनै प्रकारको सम्झौता नगर्न भनेका छन् ।

युक्रेनको संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने भनेको छ । चुनाव ढिलो गर्ने कुनै प्रबन्धन छैन । तर, यस वर्ष हुनुपर्ने चुनाव समेत त्यहाँ रोकिएको छ । चुनावबाट सत्ता परिवर्तन र समस्याको शान्तिपूर्ण समाधान होला भनेर पश्चिमाहरूले चुनाव नगराउने सुझाव दिएका छन् ।

म हाम्रो दृढ अडान दोहोर्‍याउन चाहन्छु– युक्रेनले एक तटस्थ, असंलग्न, आणविक हतियार मुक्त निसैन्यीकृत र निनाजीकृत राज्यको हैसियत स्वीकार गर्नै पर्दछ । यी मानक इस्तानबुल वार्तामै स्वीकार्य भइसकेका हुन् ।

युक्रेनमा रूसी भाषी जनताको नागरिक अधिकार पूर्णतः संरक्षित हुनै पर्दछ । नयाँ स्थिति अनुरूप क्रिमिया, सेभेस्तोपुल, दोनेन्स्क, लुहान्स्क, खेर्सान र जापोरोज्ये क्षेत्र रूसी महासंघका भाग हुन् भनेर मान्यता दिइनुपर्दछ ।

कुनै अन्तर्राष्ट्रिय सम्झौता मार्फत यी चिज स्थापित हुन्छन् भने युद्ध रोकिन्छ । अर्को कुरा– युक्रेनमा छिरेर पश्चिमाहरूले रूस विरुद्ध कुनै काम गर्नुहुँदैन, ती फिर्ता जानुपर्दछ । यी कुरा हुने हो भने युक्रेन युद्ध रोकेर फेरि शान्ति, मित्रता र सहकार्यको नयाँ युग सुरु गर्न सकिन्छ ।

(रूसी राष्ट्रपति पुटिनको जून १४ को भाषणको सम्पादित तथा संक्षेपीकृत भावानुवाद, क्रेमलिन डटकमबाट)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतका अर्बपति गौतम अडानीको सेयर मूल्यमा एकै दिन १९ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिकामा धोकाधडीको आरोप लागेपछि बिहीबार अडानीको कम्पनीका सेयर मूल्य ह्वात्तै घटेको हो। बम्बे स्टक एक्सचेन्जका अनुसार अडानीका तीन कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो। अडानीको एनर्जी सोलुसन्स लिमिटेडको १९.५० प्रतिशत, अडानी इन्टरप्राइजेजको १८.७६ प्रतिशत र अडानी पोर्ट्सको ११.९४ प्रतिशत सेयर मूल्य ...
: कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले नकम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्त्रर चार लाख बढी रहेको छ। राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल ...
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्। स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। 'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ ...
: अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, 'यो प्रतिबन्ध सामाजिक सञ्जाल एक्स(टिकटक), फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो कार्य सामाजिक सञ्जालबाट हुने हानिबाट बालबालिकालाई बचाउनको लागि गरिएको हो।' अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको ...
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...