मुख्य समाचार
ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन
ब्याटिङको पुरानै समस्याले टी–२० विश्वकपमा जितविहीन

। आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल जितविहीन हुँदै बाहिरिन पुग्यो । कम्तीमा दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालको विदेशी भूमिमा खराब ब्याटिङ यसपटक पनि दोहोरियो ।

त्यसैले समूह डी मा नेपालले खेलेका ४ मध्ये तीन खेलमा हार व्यहोर्‍यो र वर्षाका कारण टस पनि हुन नसकेकाले श्रीलंकासँग १–१ अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा नेपाली बलरहरुले सन्तोषजनक प्रदर्शन गरे भने ब्याटरहरु कमजोर देखिए ।

विश्वकप २०२४ मा नेपालपछि ओमान, आयरल्यान्ड र पपुवा न्युगिनी मात्रै जितविहीन हुँदै बाहिरिएका छन् । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकाविरुद्ध १ रन र बंगलादेशसँग २१ रनले पराजित भयो ।

नेपालको तीनै खेलमा हारको मुख्य कारण खराब ब्याटिङ हो । विश्वकपको अतिरिक्त दबाब, खराब सट छनोट र कमजोर टिमको मानसिकता पनि कारक हुन् ।

प्रतियोगितामा नेपालबाट ओपनर तथा विकेटकिपर आसिफ शेखले ३ खेलमा सर्वाधिक ६३ रन बनाए । आसिफले दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४२ र कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्ध बनाएको ३५ रन एकै खेलमा नेपाली ब्याटरको उच्च स्कोर रह्यो ।

प्रतियोगिताभर कुशल मल्लले ५२ बलमा ३७, रोहित पौडेल ४५ बलमा ३६, दीपेन्द्रसिंह ऐरी ४८ बलमा ३२, कुशल भुर्तेल ३९ बलमा २४, गुल्सन झा २५ बलमा २०, सोमपाल कामीले ११ बलमा ८ र सन्दीप जोराले ८ बलमा १ रन बनाए ।

नेपालले टी–२० विश्वकप खेले पनि प्रदर्शन ओडीआईमा जस्तै गर्न पुग्यो । करण केसीले १४१.६६ (एक इनिङमा १२ बलमा १७ रन) र अनिल साहले १०० (तीन इनिङ ३८ बलमा ३८ रन) को स्ट्राइकरेटमा ब्याटिङ गरे । अन्यको स्ट्राइकरेट ९० भन्दा माथि छैन ।



टी–२० विश्वकप २०२४ मा अमेरिका र वेष्टइण्डिजको कन्डिसनमा ब्याटिङ गर्न चुनौतीपूर्ण थियो । तर नेपालको जस्तो एक रन नै बटुल्न कठिन पर्ने खालको होइन ।

नेदरल्याण्ड्सविरुद्ध १९.२ ओभरमा १०६ रनमा अलआउट हुँदा नेपालका खेलाडीले ६६ बल डट खेलेका थिए । उक्त लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभर ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालले दक्षिण अफ्रिकालाई २० ओभरमा ११५–७ को अवस्थामा रोकेको थियो । स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए ।

क्वीन्टन डि कक, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता विश्वप्रसिद्ध टी–२० ब्याटरविरुद्ध नेपाली बलरको बलिङद सामान्य थिएन । तर ब्याटिङमा भने नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्ध १८ बलमा १८ रन चाहिँदा र हातमा ७ विकेट भएको अवस्थाबाट नेपालले हारेको थियो । अन्तिम दुई बलमा गुल्सन झा रन जोड्न चुकेका थिए । नेपाली ब्याटरले ६८ बल डट खेल्न पुगेका थिए ।

सोमबार नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमा अल आउट गर्‍यो । टेस्ट मान्यता प्राप्त टोलीमाथि पहिलो जित हात पार्ने नेपाललाई ऐतिहासिक अवसर थियो । तर नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो । यो खेलमा नेपाली ब्याटरले ८० बल डट खेलेका थिए ।

डट बलको ५० प्रतिशत मात्रै सिंगल रन जोड्न सकेको भए नेपालले तीनै खेलमा विजयी हुनसक्ने आधार देखिन्छ ।

नेपाली ब्याटरले ३ खेलमा कुल ३५८ बल खेल्दा ३०५ रन बनाए । २१४ डट बल छ । करण केसीले २, आसिफ सेख, अनिल साह, कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्र, गुल्सन र सोमपाल कामीले १/१ छक्का हाने ।

आसिफले ९, अनिल र रोहितले ५–५ चौका हाने । कुशल भुर्तेल ३, कुशल मल्ल र दीपेन्द्रले २/२ तथा गुल्सनले १ चौका हानेका थिए ।

नेपाली खेलाडीले बाउन्ड्रीमा जोखिम लिन सकेनन् । लगातार डट र दबाबमा आएर खराब सट खेल्दै विकेट गुमाउन पुगेका थिए ।

विश्वकपमा नेपालका दीपेन्द्रले ६, रोहितले २, कुशल भुर्तेलले ४, सोमपालले ३, सन्दीप लामिछानेले २ र अभिनाश बोहराले १ विकेट लिए । १८ मध्ये १४ विकेट स्पिनरले लिएका थिए । टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध बलिङ विश्वले तारिफ गरेको छ ।



यस विश्वकपमा नेदरल्यान्ड्सका म्याक्स ओडाउड बाहेक अन्य कुनैपनि ब्याटरले नेपालविरुद्ध अर्धशतक हान्न सकेनन् । बलरले नेपाललाई सहज जितको आधार तय गरेका थिए । तर खराब ब्याटिङले जित निकाल्न सकेन । घरेलु मैदान त्रिवि बाहिर नेपाली ब्याटरको प्रदर्शन बिर्सनलायक नै छ ।

विश्वकपको झण्डै एक महिना अघि आएर नेपालले अमेरिका र सेन्ट भिन्सेन्टमा अभ्यास गरेको थियो । तर ब्याटिङमा सुधार भएन ।

विशेषगरी दक्षिण अफ्रिकाविरुद्ध प्रदर्शनले नेपालको विश्वभर चर्चा चुलिएको छ । पूर्व क्रिकेटरहरुले खुलेर तारिफ गरेका छन् । नेपाली समर्थकको माया र उपस्थितिले विश्वको ध्यान केन्द्रित गरेको छ ।

तर दक्षिण अफ्रिकाविरुद्ध १ रनको हारले नेपाली टिमले आलोचना ब्यहोर्नुपर्‍यो भने समर्थकमा पनि चोट परेको छ ।

खराब ब्याटिङको प्रमुख कारण कन्डिसन अनुसार खेल्न नसक्नु रहेको क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन् ।

‘बीचमा बसेर सिंगल डबल खेल्नुपर्ने क्षमता राख्नुपथ्र्यो । त्यसमा खेलाडीहरु हतारिए । अनुभवको कमी अर्काे कारण हो’, रविले भने ।

त्यसैमा उनले थपे, ‘विपक्षीले सधैं दबाबमा राखे । त्यसमा नेपाली ब्याटर चढेर खेल्न सकेनन् । खासमा हामी घरभन्दा बाहिर निकै कम क्रिकेट खेलेका छौं । ब्याटिङ गर्न कन्डिसनले गाह्रो भएको हो ।’

नेपालका कप्तान रोहित पौडेल ठूला टोलीहरुसँग निरन्तर खेल्नुपर्ने बताउँछन् ।

‘यस विश्वकपमा धेरै सकरात्मक पक्षहरु छन् । जसमा प्रतियोगिताभर राम्रो बलिङ गर्‍यौं । यो टोलीमा धेरै क्षमता छ । राम्रो देश जस्तै बंगलादेश, श्रीलंका जस्तादेशसँग निरन्तर खेल्ने हो भने सुधार हुनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डसँग एउटै समूहमा पर्‍यो नेपाल, सबै खेल मुम्बईमा
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित बार्सिलोनामाथि ३-० को जित हासिल गरेको हो । चेल्सीको जितमा इस्तिभाओ र लियाम डेलापले १-१ गोल गर्दा एक गोल बार्सिलोनाका जुलियस कुन्डेबाट आत्मघाती भएको थियो । पहिलो हाफको २७औं मिनेटमा ...
। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग ...
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...