। युरो २०२४ अन्तर्गत पोर्चुगलले चेक रिपब्लिक विरुद्ध खेल्दा क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउनेछन् ।
यसअघि नै युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाइसकेको रोनाल्डो लगातार छैटौं पटक युरो खेल्दैछन् ।
सन् २००४ मा पहिलो पटक युरो खेलेका रोनाल्डोले लगातार पाँच पटक युरो खेलेर कीर्तिमान बनाइसकेका थिए । क्रोएसियाका लुका मोडरिचले २००८ देखि २०२४ सम्म खेल्दै उक्त कीर्तिमान बराबरी गरेका थिए ।
तर मोडरिचले बराबरी गरेको केही दिनमै रोनाल्डोले लगातार छैटौं पटक युरो खेल्दैछन् ।
यस्तै रोनाल्डोले पाँच पटक युरो खेल्दा मुख्य प्रतियोगितामा सर्वाधिक २५ खेल खेलेका छन् । पोर्चुगलकै पेपे र जाओ माउटिन्होले समान १९ खेल खेलेका छन् । रोनाल्डोले छनोट प्रतियोगितासहित गरेर कूल ६० खेल खेलेका छन् । त्यसपछि इटलीका लेजेण्ड जियानलुजी बफोनले ५८ खेल खेलेका छन् ।
३९ वर्षीय रोनाल्डोले युरोको मुख्य प्रतियोगितामा सर्वाधिक १४ गोल गरेका छन् । उनले फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका थिए । यस्तै छनोटसहित गरेर रोनाल्डोले ४५ गोल गरेका छन् । रोनाल्डोले यसअघि खेलेका पाँचवटै संस्करणमा गोल समेत गरेका छन् ।
फ्रान्सका एन्टोइन ग्रिजमन र स्पेनका अल्भारो मोराटाले युरोको मुख्य प्रतियोगितामा ७-७ गोल गरेका छन् । दुवै खेलाडीले यस संस्करण पनि युरो खेलिरहेका छन् र मिचेल प्लाटिनीलाई उछिन्ने अवसर समेत छ ।
अन्य खेलाडीका लागि प्रेरणा रोनाल्डो
पोर्चुगलका डिफेण्डर रुबेन डियाजले लगातार छैटौं युरो खेल्ने क्रममा रहेका क्रिस्टियानो रोनाल्डो प्रेरणाको रुपमा रहेको बताएका छन् ।
२००४ देखि लगातार युरो खेल्दै आएका रोनाल्डोले जर्मनीमा भइरहेको युरोमा गोल गरेमा सबैभन्दा पाका गोलकर्ता समेत हुनेछन् ।
पोर्चुगलले समूह एफको पहिलो खेलमा लाइपजिगस्थित रेडबुल एरेनामा चेक रिपब्लिकसँग खेल्दैछ । उत्कृष्ट खेलाडीहरु रहेको पोर्चुगललाई युरो उपाधिको दाबेदारको रुपमा समेत हेरिएको छ ।
३९ वर्षको उमेरमा पनि रोनाल्डोले आफ्नो देशको नेतृत्व गर्दै युरो खेल्दा के अर्थ राख्छ भन्ने प्रश्नमा म्यानचेष्टर सिटीबाट खेल्ने डियाजले भने, ‘उनी हामीसँग हुनु खुसीको कुरा हो । उनले आफ्नो करियरको यो घडीमा पनि हामीसँग यहाँ रहन चाहन्छन् भन्ने कुरा जनाउँछ । उनी हाम्रा कप्तान हुन् ।’
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व फरवार्ड रोनाल्डो हाल अल-नासरबाट साउदी अरेबियामा लिग खेल्छन् । उनले युरो छनोटमा पोर्चुगलका लागि १० गोल गरेका थिए । छनोट चरणमा पोर्चुगलले शतप्रतिशत खेल जितेको थियो ।
युरोअघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्याण्डलाई ३-० ले पराजित गर्दा रोनाल्डोले दुई गोल गरेका थिए ।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेज सन् २०१६ पछि पहिलो पटक युरो च्याम्पियन बन्ने पोर्चुगलको लक्ष्यमा रोनाल्डोले धेरै योगदान दिन सक्ने बताएका छन् ।
पोर्चुगल र चेक रिपब्लिकबीचको खेल नेपाली समय अनुसार मंगलबार मध्यराति १२:४५ बजे हुनेछ ।