। बेलायतको आसन्न संसदीय निर्वाचन परिणामबारे अनौठा अनुमान गर्न थालिएको छ । अधिकांश सर्वेक्षणले सत्तारुढ कन्जर्भेटिभ पार्टीको हार हुने प्रक्षेपण गर्दैछन् । यी अनुमान सही सावित भए बेलायतको राजनीतिको शताब्दीऔं लामो शक्ति सन्तुलनमा नै उल्लेखनीय फेरबदल आउनेछ ।
तर, संसारका यस्ता धेरै चुनावी ‘सर्वेक्षण’ को दाबी अन्तिमसम्म सत्य सावित हुन सकेका छैनन् । त्यसको बलियो उदाहरण भर्खरै सम्पन्न भारतको लोकसभा चुनाव हुनसक्छ ।
कन्जर्भेटिभ पार्टी (अनौपचारिक रूपमा टोरी पनि भनिन्छ) सन् २०१० यता १४ वर्षदेखि निरन्तर सत्तामा छ । भलै कि प्रधानमन्त्री भने ५ पटक फेरिएका छन् । यसबीच टोरी नेताहरू क्रमशः डेबिट क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनक प्रधानमन्त्री भए । तथापि, टोरी दलको राजनीतिक संकट टरेजस्तो लाग्दैन ।
सन् २०१६ को ‘ब्रेक्जिट’ जनमत संग्रहपछि टोरी दलको राजनीतिक संकट शुरु भएको थियो । लोकप्रिय तथा युवा प्रधानमन्त्री डेबिट क्यामरुनले जनमत संग्रहको हारपछि नैतिकताका आधारमा पद त्याग गरेका थिए ।
उनी करिब ६ वर्षदेखि सत्तामा थिए । ब्रेक्जिट समस्या नआएको भए उनी अरु केही वर्ष सत्तामा बस्न सक्थे । तर, ब्रेक्जिटले टोरी दललाई पक्ष र विपक्षमा विभाजित गरिदियो । ब्रेक्जिटको पक्षमा रहेका बोरिस जोन्सनको चमत्कारिक उदय भयो । क्यामरुन बाहिरिए ।
बोरिस जोन्सन
तर, जोन्सन सोचे जति लोकप्रिय र सफल प्रधानमन्त्री हुन सकेनन् । कोभिड–१९ संकटको अवधिमा उनी निक्कै आलोचित भए । जोन्सनले आम अलोकप्रियता, पार्टीभित्रको असन्तुष्टि र दबाबको कारण सन् २०२२ को सेप्टेम्बरमा पदबाट राजीनामा गरेका थिए । ऋषि सुनकका लागि भने जोन्सनको संकट अबसर बन्यो ।
त्यसपछि टोरी नेता तथा प्रधानमन्त्री छनौट हुन पुगिन्– लिज ट्रस । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा ऋषि सुनकलाई पराजित गरेकी थिइन् । तर, तत्कालीक चुनौती सामना गर्न नसक्दा उनले ५० औं दिनमै राजीनामा गरिन् ।
यसरी ऋषि सुनकको प्रधानमन्त्री हुने बाटो खुलेको थियो । उनी जोन्सन सरकारका अर्थमन्त्री थिए । युवा उद्यमी तथा अर्थतन्त्रका ज्ञाताका रूपमा सुनकलाई जनताले स्वीकार गरेका थिए ।
ऋषि सुनकले बेलायती राजनीतिको इतिहासमा केही रोचक रेकर्ड बनाए । उनी पहिलो हिन्दू तथा भारतीय मूलको प्रधानमन्त्री बन्न पुगे । उनी देशको आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति समेत बन्न पुगे । प्रधानमन्त्री हुँदा उनी ४२ वर्षको मात्र थिए ।
सुनक अघि यो रेकर्ड टोनी ब्लेयर र डेविट क्यामरुनको नाममा थियो । ती दुवै ४३ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । उमेरभन्दा बढी ‘पहिलो हिन्दू र भारतीय मूलको प्रधानमन्त्री’का रूपमा ऋषि सुनक विश्वव्यापी चर्चामा रहे ।
भारतमा करिब १९० वर्ष बेलायतको उपनिवेशवादी शासन चलेको थियो । ऋषि सुनक प्रधानमन्त्री हुँदा ‘इतिहासले अंग्रेजहरूसँग बदला लियो’ पनि भनियो । उनले ‘गीता छोएर’ प्रधानमन्त्रीको सपथ खाए । प्रधानमन्त्री पदमा रहेर हिन्दू आचरण र व्यवहार सार्वजनिक रूपमै कायम राखे ।
सर्वेक्षणहरूको अनौठो अनुमान के छ भने प्रधानमन्त्री सुनक आफैं समेत हार्न सक्ने भनिंदैछ । त्यसो भए प्रधानमन्त्री पदमा रहेर चुनाव हार्ने उनी बेलायती इतिहासकै पहिलो प्रधानमन्त्री हुनेछन् ।
सुनक सन् १९६० को दशकमा बेलायत पुगेको एक भारतीय जोडीका नाती हुन् । उनले भारतीय अर्बपति नारायण मुर्तिकी छोरी अक्षता मुर्तिसँग विवाह गरेका छन् ।
बेलायतमा २४ वर्षका विलियम पिट प्रधानमन्त्री भएको इतिहास छ तर त्यो सन् १७८३ को कुरा थियो ।
यसपटक चुनावको हतारो प्रधानमन्त्री सुनकले आफैं गरेका हुन् । संसदको कार्यकाल करिब ६ महिना, डिसेम्बरसम्म बाँकी थियो । नियमित निर्वाचन सन् २०२५ को जनवारीमा हुने अपेक्षा गरिएको थियो ।
तर, प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्दै उनले संसद भंग गरेर चुनाव जुलाई ४ मा अघि ल्याए । सन् २०२२ मा ‘फिक्स्ड टर्म इलेक्सन एक्ट’ खारेज भएपछि प्रधानमन्त्रीलाई यस्तो अधिकार दिइएको थियो । तसर्थ, ‘अर्ली इलेक्सन’ को विपक्षी दलहरूले कुनै विरोध तथा आलोचना गरेनन्, बरु उल्टै स्वागत गरे ।
करिब डेढ दशकदेखि सत्ता बाहिर रहेको लेबर पार्टीले यसलाई ‘सत्तामा छिटो फर्किने अवसर’ भन्यो । संसद भंग र नयाँ चुनावको घोषणा गर्दा लेबर नेता सर कियर स्टार्मरले खुशी हुँदै भनेका थिए– ‘टोरीहरू ६ महिना छिटो सत्ताबाट बिदा हुँदैछन्, यसलाई स्वागत गरिनु पर्दछ ।’
सन् २०१५ देखि ऋषि सुनक सांसद निर्वाचित हुँदै आएका हुन् । तर, प्रधानमन्त्रीका रूपमा भने उनी पहिलो आम निर्वाचन सामना गर्दैछन् । यो चुनावमा उनको कन्जर्भेटिभ पार्टीले राम्रो नतिजा हासिल गरे उनी फेरि प्रधानमन्त्री हुन सक्ने छन् । उनको राजनीतिक शक्ति बढ्न सक्नेछ ।
तर, माहौल र मत सर्वेक्षणले त्यस्तो देखाइरहेको छैन । विपक्षी लेबर नेता स्टार्मरको लोकप्रियता बढेको देखिएको छ । स्टार्मर अहिले ६१ वर्षका छन् । जेरेमी कोब्रिनपछि स्टार्मर सन् २०२० मा लेबर नेता निर्वाचित भएका हुन् । विपक्षी नेताका रूपमा स्टार्मरको धैर्यताको प्रशंसा हुने गरेको छ ।
विपक्षी लेबर नेता सर कियर स्टार्मर
द टेलिग्राफका अनुसार ऋषि सुनकको नेतृत्वमा कन्जर्भेटिभ पार्टी इतिहासमै सबैभन्दा बढी संकुचित हुन सक्नेछ । सन् २०१९ को चुनावमा कन्जर्भेटिभ पार्टीले ३६५ सिट पाएर बहुमतको सरकार बनाएको थियो ।
बेलायतको तल्लो सभा हाउस अफ कमन्स ६५० सदस्सीय हुन्छ । बहुमत प्राप्त गर्न ३२६ सिट आवश्यक पर्दछ ।
सर्वेक्षणले प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको कन्जर्भेटिभ पार्टीले ५३ सिट मात्र जित्ने अनुमान देखाउँदैछन् । सन् १८३५ यताको करिब २ सय वर्षमा टोरी दल यति थोरै सिटमा सीमित कहिल्यै भएको छैन । सन् १९९७ मा सबैभन्दा कम सिट हासिल गर्दा टोरी दलसँग १६५ सिट थियो ।
अझ सर्वेक्षणहरूको अनौठो अनुमान के छ भने प्रधानमन्त्री सुनक आफैं समेत हार्न सक्ने भनिंदैछ । त्यसो भए प्रधानमन्त्री पदमा रहेर चुनाव हार्ने उनी बेलायती इतिहासकै पहिलो प्रधानमन्त्री हुनेछन् ।
सर्वेक्षणले लेबर दलको भने ५१६ सिटसम्म आउन सक्ने देखाएका छन् । यसो भए यो लेबरका लागि पनि इतिहासकै सबैभन्दा ठूलो विजय हुनेछ । गत चुनावमा लेबर दलले जम्मा २०२ सिट मात्र जितेको थियो ।
लेबर पार्टीको जन्म उन्नाइसौं शताब्दीको अन्त्यतिर मजदूर आन्दोलनबाट भएको थियो । यो दलले सबैभन्दा बढी सिट सन् १९९७ मा ४१८ सिट जितेको थियो ।
अर्को आश्चर्यजनक अनुमान के गरिंदैछ भने लोकप्रिय मतमा तेस्रो ठूलो लिवरल पार्टीले यसपटक राम्रो उन्नति गर्न सक्ने छ । गत आम चुनावमा ११ सिट मात्र पाएको यो दलले ५२ सिट जित्न सक्ने अनुमान गरिंदैछ ।
लेबरको उदय हुनु अघि यो दल दुई ठूला दलमध्ये एक मानिन्थ्थो । जसरी कन्जर्भेटिभ पार्टी ‘टोरी दल’ को उत्तराधिकार हो, त्यसै गरी लिवरल पार्टी ‘ह्वीग्स’ दलको उत्तराधिकार हो ।
आसन्न निर्वाचनमा टोरी दल पराजित भएमा त्यसको सबै अपजस ऋषि सुनकले बोक्नुपर्ने छैन । किनकि सन् २०१९ यता कन्जर्भेटिभ पार्टीको लोकप्रियता निरन्तर घट्दो छ । यसबीचका १० उपनिर्वाचनमा कन्जर्भेटिभ पार्टीका उम्मेदवार लगातार पराजित भए ।
सिटमा तेस्रो स्थानमा रहेको स्कटल्याण्डको क्षेत्रीय दल एसएनपी पनि संकुचन हुने सम्भावना देखाइँदैछ । गत चुनावमा ४८ सिटमा विजयी यो दलले ४० सिटको ह्रास व्यहोर्न पर्ने अनुमान गरिंदैछ । यसो भए स्कटल्याण्डको पृथकतावादी आन्दोलनलाई धेरै ठूलो झड्का लाग्नेछ ।
सन् २०१४ मा स्कटल्याण्डमा ‘स्वतन्त्र देश’ बन्ने कि बेलायतमै रहने भन्ने विषयमा जनमत संग्रह भएको थियो । स्वतन्त्रता पक्षधरहरू पराजित भएका थिए । तर, उनीहरूले करिब ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।
स्कटल्याण्ड नेसनालिष्ट पार्टी (एसएनपी) यही आन्दोलनको उपज थियो । जनमत संग्रहमा स्वतन्त्रता पक्षधरहरू पराजित भए पनि एसएनपी एक बलियो क्षेत्रीय दलका रूपमा उदाएको थियो ।
आसन्न निर्वाचनमा टोरी दल पराजित भएमा त्यसको सबै अपजस ऋषि सुनकले बोक्नुपर्ने छैन । किनकि सन् २०१९ यता कन्जर्भेटिभ पार्टीको लोकप्रियता निरन्तर घट्दो छ । यसबीचका १० उपनिर्वाचनमा कन्जर्भेटिभ पार्टीका उम्मेदवार लगातार पराजित भए ।
ब्रेक्जिटको विजय र बोरिस जोन्सनको उदय कति उचित थियो भनेर बेलायतले समीक्षा गर्न खोजेजस्तो देखिन्छ । बेलायतको बहिर्गमनले युरोपेली संघलाई खासै फरक परेन । ‘संघ’ अझै मजबुत हुँदै गएको छ । बेलायतले आफूले आफैंलाई संकुचन गरेको र अवसर गुमाएको छ त हैन ? यो कोणबाट पनि बहस हुने गरेको छ ।
सन् २०१६ मा बेलायत युरोपियन युनियनबाट बाहिर निस्केको थियो । बेलायत बाहिरिएपछि युरोपियन युनियन कमजोर हुने ठानिएको थियो । तर, त्यसो भएन ।
फ्रान्स, जर्मनी र इटालीले युनियनलाई बलियो काँध हाले । बेलायतमा बाँकी युरोपबाट एक्लिंदै गयो । यस्तो भावनाको राजनीतिक लाभ लेबर पार्टीलाई हुनेछ ।
सुनकको नेतृत्वकालमा कन्जर्भेटिभ पार्टीले शर्मनाक हार व्यहोर्न परे उनीमाथि चर्को नैतिक तथा राजनीतिक दबाब पर्नेछ र उनको राजनीतिक भविष्य नै संकटमा पर्न सक्नेछ ।