मुख्य समाचार
विश्वकपले नेपाली टिममा कन्फिडेन्स बढायो
विश्वकपले नेपाली टिममा कन्फिडेन्स बढायो

। आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले खेलेका सबै चार खेलमा जित निकाल्न नसकेपनि राम्रो प्रदर्शन गर्‍यो । समूह डी मा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको प्रदर्शनले विश्वभर चर्चा पाएको थियो ।

नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो भने श्रीलंकासँगको खेल वर्षाको कारण हुन नसकेपछि १–१ अंक बाँडेको थियो । दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा बंगलादेशसँग २१ रनले हारेको थियो ।

टी–२० विश्वकप क्रिकेटमा नेपालको प्रदर्शन, अनुभव, आगामी यात्रामा केन्द्रित रहेर कप्तान रोहित पौडेलसँग अनलाइनखबरका संवाददाता भुपेन्द्र जि.सी.ले गरेको कुराकानी :

विश्वकपमा नेपालले पहिलो खेल खेल्ने अघिल्लो रात तपाईंको मनमा के कुरा खेलेको थियो ?

धेरै कुरा खेलेको थियो, किनभने बच्चादेखि नै विश्वकप खेल्ने सपना थियो । सन् २०१४ को विश्वकपबाट प्रेरित भएर क्रिकेटमा लागेका थियौ । यू–१९ एसिया छनोटमा यूएईसँग एक रनले हार्दा विश्वकप खेल्न पाएनौं ।

गतवर्ष हामीले मूलपानी मैदानमा यूएईलाई हराउँदै विश्वकपमा पुग्यौं, त्यो एउटा सपना पूरा भएको थियो । नेदरल्यान्ड्ससँग खेल्ने अघिल्लो रात यस्तै कुरा खेलेको थियो ।

नेदरल्याड्ससँग टस हुने बेलामा कस्तो सोचाइ आएको थियो ?

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जुन हिसाबमा नेपाली दर्शकहरु आउनुभएको थियो, त्यो हेर्दा नै त्रिवि क्रिकेट मैदान हो कि जस्तो महसुस भएको थियो । धेरै दर्शकहरु नेपालको जर्सीमा हुनुहुन्थ्यो, रमाइलो अनुभव भएको थियो ।

टस गर्दा खासै त्यस्तो विशेष अनुभूति भएन । जब राष्ट्रिय गान सुरु भयो, ठ्याक्कै अगाडि प्याराफिटमा हेर्दा नेपाली नै नेपाली थिए । त्यो बिग स्टेजमा गएर त्यो अनुभव । नेपालको राष्ट्रियगान पूरा विश्वले हेरेको छ । अलिकति भावुक क्षण थियो ।

मैदानमा छिरेपछि सबै कुरा भुलेर खेल्न थाल्यौं । किनभने खेल नै महत्वपूर्ण हो । सबैजना हेर्न आउनुभएको छ, उहाँहरुका अगाडि राम्रो खेल खेल्नुपर्ने जिम्मेवारी पनि थियो ।

त्यो खेलमा नेपालले धेरै डट बल खेल्यो नि, दबाब बढी भएर हो ?

नढाँटी भन्दा हामीलाई केही पनि दबाब थिएन । विश्वकप खेलेको अनुभव थिएन । तर कन्डिसन अलिकति चुनौतीपूर्ण थियो । अमेरिकामा भएका विश्वकपका खेलमा धेरै रन बनेन । खेलाडी भएपछि फरक कन्डिसनको चुनौती सामना गर्न एकदमै आवश्यक छ ।

ब्याटिङमा १०६ रन बनाएपछि जित्न सकिने विश्वास थियो ?

नेदरल्यान्ड्सले हामीलाई १०६ रनमा रोक्न सक्छ भने हामी पनि उसलाई रोक्न सक्छौं भन्ने विश्वास थियो । सुरुवात त्यही अनुसार गर्‍यौं । तर फिल्डिङ सोचेजस्तो भएन, म आफैंले क्याच छाड्न पुगे । रन आउटको अवसर गुमायौं । बलिङ युनिट एकदमै राम्रो गरेका थियौं ।



मैदानमा धेरै नेपाली समर्थक थिए । विदेशमा पनि यति धेरै समर्थन पाउँदा कस्तो अनुभूति भयो ?

एकदमै ग्रेटफुल । किनभने अरु देशका त्यसरी आउदै आउदैनन् । हामीले जसरी सपोर्ट पायौं, अरुलाई यस्तो साथ हुँदैन । विश्वकप अघि नै धेरैले माया देखाउनुभएको थियो । होटलमै आएर भेटेर घुम्न जाउँ र डिनर गरौं भन्नुहुन्थ्यो । उहाँहरुलाई एउटा जित दिलाएर खुसी दिन पाए हुन्थ्यो भन्ने सोच थियो ।

विश्वकपमा हामीले जित्न सक्ने सबै भन्दा आशा गरेको खेल हारेपछि ड्रेसिङ रुमको माहोल कस्तो रह्यो ?

सुपर–८ मा जाने हाम्रो लक्ष्य हुँदा पहिलो खेल हार्दा अलिकति चिन्तित थियौं । विश्वकप खेल्न त्यहाँ पुगेको हुँदा हामीले राम्रो गर्न सक्छौं भन्ने विश्वास थियो । तीनमध्ये दुई खेल जिते सुपर–८ मा पुगिन्थ्यो । हारेपछि चिन्ता त हुन्छ । तर त्यहाँबाट अगाडि बढ्नुपर्छ । खेलकुदमा जहिल्यै जित्ने भन्ने हुँदैन । हारेपछि कसरी पुनरागमन गर्छ त्यसले टिमको परिचय दिन्छ । श्रीलंकासँग वर्षाको कारण खेल भएन । दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध राम्रो पुनरागमन गरे जस्तो लाग्छ ।

दक्षिण अफ्रिका टोलीमा क्विन्टन डि कक, डेविड मिलर, हेनरिक क्लासेन र एडेन माक्ररम जस्ता विश्वचर्चित ब्याटर थिए । एनरिच नोर्किया र कागिसो रबाडा जस्ता १५० माथिको गतिमा बलिङ गर्ने बलर थिए । यस्ता खेलाडीसँग खेल्नुअघि नेपालको तयारी कस्तो थियो ?

मेरो सोच स्कटल्यान्डले इंग्ल्यान्डलाई जित्न सक्छ, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराउछ र यूएईले न्युजिल्यान्डलाई हराउन सक्छ भने हामी पनि दक्षिण अफ्रिकालाई हराउन सक्छौं भन्ने थियो ।

हामी सबैमा जित्न सक्ने कन्फिडेन्स थियो । टी–२० क्रिकेटमा एक दुईजनाले राम्रो गर्दा, वा ब्याटिङ र बलिङ मध्ये एउटा क्षेत्रमा राम्रो गरेमा हामी जित्न सक्छौं भन्ने थियो ।

दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेपछि त जित्न सकिन्छ भन्ने थियो होला नि ?

टसअघि दक्षिण अफ्रिकालाई १५० को आसपासमा रोक्दा जितको सम्भावना हुन्छ भन्ने सोचेका थियौं । तर खेल सुरु भएपछि विस्तारै १५० भन्दा कममा रोक्न सकिन्छ भन्ने विश्वास आउन थाल्यो ।

११५ रनमै रोकेपछि जित्नेमा सबैजना एकदमै कन्फिडेन्स थिए । दक्षिण अफ्रिकालाई पनि त्यतिनै दबाब थियो । किनभने एउटा साझेदारी राम्रो भयो भने दक्षिण अफ्रिका बलरले पनि विकेट लिने प्रयास गर्थे । किनभने उनीहरुलाई पनि विकेट चाहिन्थ्यो ।



अन्तिम दुई बलमा दुई रन चाहिँदा डग आउटको माहोल कस्तो थियो ?

त्यो अवस्थाबाट धेरैजसो टोलीले जित्छ । त्यस्तो अवस्थाबाट अहिलेसम्म खेल हारेको मलाई याद छैन । डग आउटमा सबैजना ढुक्क थिए । गुलशनले जसरी हिट गरेको थियो । चौका र दुई रनपछि अब हामी खेल जित्छौं भन्नेमा स्पष्ट थियौं । हारपछि त्यो स्वीकार गर्न खेलाडी र सबैलाई धेरै गाह्रो भयो । तर क्रिकेटमा यो स्वीकार गर्नुपर्छ ।

यो विश्वकपबाट सबैभन्दा राम्रो के भयो ?

हामी सबैलाई के विश्वास आयो भने हामी यो स्तरमा खेल्न सक्छौं । यहाँबाट जानुअघि सबैको कन्फिडेन्स सुपर–८ मा पुग्ने थियो । तर उताबाट फर्किँदा हामी सुपर ८ मा पुग्नु पर्ने थियो भनेर झन् बढी कन्फिडेन्स आयो ।

तपाईंको विचारमा विश्वकपबाट नेपालले के पायो, के गुमायो ?

यस विश्वकपबाट हामीले विश्वास पायौं । दक्षिण अफ्रिकालाई जितेको भए त्यही कन्फिडेन्सका साथ बंगलादेशविरुद्ध जान्थ्यौं । त्यो खेलमा जे पनि हुनसक्थ्यो । त्यसपछि सुपर–८ मा पुग्थ्यौं ।

मलाई लाग्छ जित्न भन्दा पनि असफलताले बढी सिकाउँछ । योपालि असफलताले सिकायो जस्तो लाग्छ । यही प्रेरणाका साथ आगामी टी–२० छनोटमा जान्छौं । यो विश्वकपमा गुमाएको अर्को विश्वकपमा पाउँछौं ।

अलिकति राम्रो ब्याटिङ गरेको भए नेपाल अपराजित यात्राका साथ सुपर ८ मा पुग्ने रहेछौं । हामीले विदेशी भूमिमा राम्रो ब्याटिङ गर्न के गर्नुपर्छ होला ?

ब्याटिङमा हामीले मात्रै होइन सबै टिमले संघर्ष गरे । दक्षिण अफ्रिका हामीसँग ११५ रनमा रोकियो । दक्षिण अफ्रिका हामीभन्दा बढी अनुभवी र एक्सपोजर भएको टोली हो । त्यो कन्डिसनमा ब्याटिङ गर्न एकदमै गाह्रो थियो ।

विदेशी भूमिमा उत्कृष्ट ब्याटिङ गर्न एक्स्पोजर आवश्यक छ । टीयुमा हामी एकदमै जानकार छौं । अब बाहिर राम्रो टोलीसँग प्रतिस्पर्धा गर्न पायौं भने र ठूला टोलीहरुविरुद्ध निरन्तर सिरिज खेल्यौं भने ब्याटरहरुमा पनि कन्फिडेन्स आउँछ । अनि राम्रो ब्याटिङ हुन्छ ।

विश्वकप अघि र खेलेर फर्केपछि नेपाली क्रिकेट टोलीमा के फरक पाउनुभयो ?

विश्वकप खेलेर फर्केपछि धेरै फरक छ । पहिला भन्दा बढी मान्छेले हामीलाई चिन्न थालेका छन् । क्रिकेट समर्थक अझै बढेका छन् । समर्थकहरुमा नेपालले राम्रो टोलीविरुद्ध प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वास आएको छ ।

अबको १० वर्षमा टेष्ट मान्यता पाउने योजना छ । त्यसको लागि के चाहिन्छ ?

मलाई लाग्छ त्यसका लागि टेष्ट राष्ट्रहरुलाई निरन्तर हराउनुपर्छ । नम्बर–१ एसोसिएट टोली भएर विस्तारै विकास गर्दै जानुपर्छ । हाम्रो लक्ष्य २०२७ सम्म नम्बर वान एसोसिएट टोली हुनु हो । त्यसको लागि के के गर्नुपर्छ त्यो महत्वपूर्ण छ । भौतिक पूर्वाधार के के चाहिन्छ क्यानलाई थाहा होला ।

अब २०२६ को टी–२० विश्वकप खेल्न हामीले एसिया क्षेत्र छनोटको फाइनलमा पुग्नुपर्छ । त्यसको लागि नेपाली टोली अब कसरी अघि बढ्छ ?

मैले र मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देशाई)ले अहिले देखिनै तयारी सुरु गरेका छौं । किनभने हामी एक पटक मात्रै विश्वकप खेल्ने होइन, निरन्तर खेल्नुछ । बनाएको योजनाहरु लागु गर्नुपर्‍यो । यसमा सबैको साथ एकदमै आवश्यक पर्छ ।



कुनै एउटा यस्तो खेलाडी जो भएमा नेपाली टोलीलाई अर्को स्तरमा लैजान सकिन्छ भन्ने कुनै त्यो सोच छ ?

त्यस्तो केही पनि छैन । यो हाम्रो उत्कृष्ट युनिट हो । मैले जस्प्रित बुमराह र राशिद खान मागेर हुँदैन । अन्तिम दुई वर्षदेखि हाम्रो खेलाडीले जुन अनुभव पाएको छ त्यसलाई प्रयोग गर्ने समय आईसक्यो । नयाँ खेलाडीहरुलाई यो अनुभव पाउन एकदमै गाह्रो छ । नेपाली टोलीमा पर्न सबैको लागि ढोका खुल्ला छ । त्यही अनुसार मिहिनेत गरेर आउनुपर्‍यो ।

नेपाली क्रिकेटमा एउटा कप्तान र खेलाडीको रुपमा तपाईंको योजना के छ ?

मेरो अहिलेको लक्ष्य आगामी चार वर्षमा नम्बर वान एसोसिएट टोली बन्ने हो । यसअघि विश्वकप लिग–२ मा हामी तेस्रो स्थानमा थियौं । यो पटक लिग २ मा एक नम्बरमा पुग्नुपर्छ । त्यसपछि टी–२० विश्वकपमा निरन्तर सहभागी हुने लक्ष्य पनि छ ।

नेपालले सन् २०१४ मा विश्वकप खेल्दा टेलिभिजनमा हेर्ने तपाईं अहिले देशको नेतृत्व गर्नुभयो । ब्यक्तिगतमा यो कति महत्वपूर्ण उपलब्धी हो ?

एकदमै ठूलो र गर्व गर्नलायक । सानो हुँदा त्यही खेल टिभीमा हेरेर क्रिकेटतिर प्रभावित भएको हो । अअहिले त्यही टिमको कप्तानको रुपमा खेलेको छु । एकदमै लक्की र ग्रेटफुल महसुस गर्छु ।

सामाजिक सञ्जालमा समर्थकको प्रतिक्रिया हेर्नुहुन्छ होला, कस्तो लाग्छ ?

पछिल्लो दुई वर्षको अनुभवले धेरै सिकेँ भन्ने लाग्छ । मेरो फोकस सोसल मिडिया भन्दापनि टिम र मैदानमा हुनुपर्छ । समर्थक र क्रिकेटप्रेमीहरुको सोच फरक हुन्छ ।

हामी क्रिकेटिङ सोचका साथ अघि बढ्छौं । मैले सामाजिक सञ्जालमा कमेन्ट हेर्ने हो भने १०० मा ९० राम्रो र १० नराम्रो हुन्छ । तर म नराम्रो मात्रै पढ्छु । नेगेटिभ कमेन्ट हेरेर मुड अफ गर्न भन्दा टाढा बस्न आवश्यक ठान्छु ।

समर्थकले भने जस्तो खेलाडी परिवर्तन गर्ने हो भने हरेक भ्रमणमा फरक हुन्छन् । खेलाडीलाई ब्याक गर्न आवश्यक छ । हरेक सिरिजमा परिवर्तन गर्दा खेलाडीबाट प्रदर्शन राम्रो हुँदैन । पछिल्लो दुई वर्षदेखि सबै खेलाडीलाई सुरक्षा दिएर कन्फिडेन्स दिएका छौं ।

नेपाली क्रिकेट अब अर्को स्तरमा पुर्‍याउन सबैभन्दा पहिला के काम गर्नुपर्छ ?

खेलाडीलाई आर्थिकदेखि सबैको सुरक्षा दिनुपर्छ । सिनियर मात्रै होइन घरेलु क्रिकेट खेल्ने सबैलाई सुरक्षा दिनुपर्ने एकदमै आवश्यक छ । खेलाडी भएन भने क्रिकेट विकास नै हुदैन । पूर्वाधार हुँदा टेष्ट मान्यता प्राप्त देशहरु नेपालमा खेल्न आउन तयार हुन्छन् । किनभने हाम्रो समर्थक बेस धेरै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...