। आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले खेलेका सबै चार खेलमा जित निकाल्न नसकेपनि राम्रो प्रदर्शन गर्यो । समूह डी मा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको प्रदर्शनले विश्वभर चर्चा पाएको थियो ।
नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो भने श्रीलंकासँगको खेल वर्षाको कारण हुन नसकेपछि १–१ अंक बाँडेको थियो । दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा बंगलादेशसँग २१ रनले हारेको थियो ।
टी–२० विश्वकप क्रिकेटमा नेपालको प्रदर्शन, अनुभव, आगामी यात्रामा केन्द्रित रहेर कप्तान रोहित पौडेलसँग अनलाइनखबरका संवाददाता भुपेन्द्र जि.सी.ले गरेको कुराकानी :
विश्वकपमा नेपालले पहिलो खेल खेल्ने अघिल्लो रात तपाईंको मनमा के कुरा खेलेको थियो ?
धेरै कुरा खेलेको थियो, किनभने बच्चादेखि नै विश्वकप खेल्ने सपना थियो । सन् २०१४ को विश्वकपबाट प्रेरित भएर क्रिकेटमा लागेका थियौ । यू–१९ एसिया छनोटमा यूएईसँग एक रनले हार्दा विश्वकप खेल्न पाएनौं ।
गतवर्ष हामीले मूलपानी मैदानमा यूएईलाई हराउँदै विश्वकपमा पुग्यौं, त्यो एउटा सपना पूरा भएको थियो । नेदरल्यान्ड्ससँग खेल्ने अघिल्लो रात यस्तै कुरा खेलेको थियो ।
नेदरल्याड्ससँग टस हुने बेलामा कस्तो सोचाइ आएको थियो ?
अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जुन हिसाबमा नेपाली दर्शकहरु आउनुभएको थियो, त्यो हेर्दा नै त्रिवि क्रिकेट मैदान हो कि जस्तो महसुस भएको थियो । धेरै दर्शकहरु नेपालको जर्सीमा हुनुहुन्थ्यो, रमाइलो अनुभव भएको थियो ।
टस गर्दा खासै त्यस्तो विशेष अनुभूति भएन । जब राष्ट्रिय गान सुरु भयो, ठ्याक्कै अगाडि प्याराफिटमा हेर्दा नेपाली नै नेपाली थिए । त्यो बिग स्टेजमा गएर त्यो अनुभव । नेपालको राष्ट्रियगान पूरा विश्वले हेरेको छ । अलिकति भावुक क्षण थियो ।
मैदानमा छिरेपछि सबै कुरा भुलेर खेल्न थाल्यौं । किनभने खेल नै महत्वपूर्ण हो । सबैजना हेर्न आउनुभएको छ, उहाँहरुका अगाडि राम्रो खेल खेल्नुपर्ने जिम्मेवारी पनि थियो ।
त्यो खेलमा नेपालले धेरै डट बल खेल्यो नि, दबाब बढी भएर हो ?
नढाँटी भन्दा हामीलाई केही पनि दबाब थिएन । विश्वकप खेलेको अनुभव थिएन । तर कन्डिसन अलिकति चुनौतीपूर्ण थियो । अमेरिकामा भएका विश्वकपका खेलमा धेरै रन बनेन । खेलाडी भएपछि फरक कन्डिसनको चुनौती सामना गर्न एकदमै आवश्यक छ ।
ब्याटिङमा १०६ रन बनाएपछि जित्न सकिने विश्वास थियो ?
नेदरल्यान्ड्सले हामीलाई १०६ रनमा रोक्न सक्छ भने हामी पनि उसलाई रोक्न सक्छौं भन्ने विश्वास थियो । सुरुवात त्यही अनुसार गर्यौं । तर फिल्डिङ सोचेजस्तो भएन, म आफैंले क्याच छाड्न पुगे । रन आउटको अवसर गुमायौं । बलिङ युनिट एकदमै राम्रो गरेका थियौं ।
मैदानमा धेरै नेपाली समर्थक थिए । विदेशमा पनि यति धेरै समर्थन पाउँदा कस्तो अनुभूति भयो ?
एकदमै ग्रेटफुल । किनभने अरु देशका त्यसरी आउदै आउदैनन् । हामीले जसरी सपोर्ट पायौं, अरुलाई यस्तो साथ हुँदैन । विश्वकप अघि नै धेरैले माया देखाउनुभएको थियो । होटलमै आएर भेटेर घुम्न जाउँ र डिनर गरौं भन्नुहुन्थ्यो । उहाँहरुलाई एउटा जित दिलाएर खुसी दिन पाए हुन्थ्यो भन्ने सोच थियो ।
विश्वकपमा हामीले जित्न सक्ने सबै भन्दा आशा गरेको खेल हारेपछि ड्रेसिङ रुमको माहोल कस्तो रह्यो ?
सुपर–८ मा जाने हाम्रो लक्ष्य हुँदा पहिलो खेल हार्दा अलिकति चिन्तित थियौं । विश्वकप खेल्न त्यहाँ पुगेको हुँदा हामीले राम्रो गर्न सक्छौं भन्ने विश्वास थियो । तीनमध्ये दुई खेल जिते सुपर–८ मा पुगिन्थ्यो । हारेपछि चिन्ता त हुन्छ । तर त्यहाँबाट अगाडि बढ्नुपर्छ । खेलकुदमा जहिल्यै जित्ने भन्ने हुँदैन । हारेपछि कसरी पुनरागमन गर्छ त्यसले टिमको परिचय दिन्छ । श्रीलंकासँग वर्षाको कारण खेल भएन । दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध राम्रो पुनरागमन गरे जस्तो लाग्छ ।
दक्षिण अफ्रिका टोलीमा क्विन्टन डि कक, डेविड मिलर, हेनरिक क्लासेन र एडेन माक्ररम जस्ता विश्वचर्चित ब्याटर थिए । एनरिच नोर्किया र कागिसो रबाडा जस्ता १५० माथिको गतिमा बलिङ गर्ने बलर थिए । यस्ता खेलाडीसँग खेल्नुअघि नेपालको तयारी कस्तो थियो ?
मेरो सोच स्कटल्यान्डले इंग्ल्यान्डलाई जित्न सक्छ, नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराउछ र यूएईले न्युजिल्यान्डलाई हराउन सक्छ भने हामी पनि दक्षिण अफ्रिकालाई हराउन सक्छौं भन्ने थियो ।
हामी सबैमा जित्न सक्ने कन्फिडेन्स थियो । टी–२० क्रिकेटमा एक दुईजनाले राम्रो गर्दा, वा ब्याटिङ र बलिङ मध्ये एउटा क्षेत्रमा राम्रो गरेमा हामी जित्न सक्छौं भन्ने थियो ।
दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेपछि त जित्न सकिन्छ भन्ने थियो होला नि ?
टसअघि दक्षिण अफ्रिकालाई १५० को आसपासमा रोक्दा जितको सम्भावना हुन्छ भन्ने सोचेका थियौं । तर खेल सुरु भएपछि विस्तारै १५० भन्दा कममा रोक्न सकिन्छ भन्ने विश्वास आउन थाल्यो ।
११५ रनमै रोकेपछि जित्नेमा सबैजना एकदमै कन्फिडेन्स थिए । दक्षिण अफ्रिकालाई पनि त्यतिनै दबाब थियो । किनभने एउटा साझेदारी राम्रो भयो भने दक्षिण अफ्रिका बलरले पनि विकेट लिने प्रयास गर्थे । किनभने उनीहरुलाई पनि विकेट चाहिन्थ्यो ।
अन्तिम दुई बलमा दुई रन चाहिँदा डग आउटको माहोल कस्तो थियो ?
त्यो अवस्थाबाट धेरैजसो टोलीले जित्छ । त्यस्तो अवस्थाबाट अहिलेसम्म खेल हारेको मलाई याद छैन । डग आउटमा सबैजना ढुक्क थिए । गुलशनले जसरी हिट गरेको थियो । चौका र दुई रनपछि अब हामी खेल जित्छौं भन्नेमा स्पष्ट थियौं । हारपछि त्यो स्वीकार गर्न खेलाडी र सबैलाई धेरै गाह्रो भयो । तर क्रिकेटमा यो स्वीकार गर्नुपर्छ ।
यो विश्वकपबाट सबैभन्दा राम्रो के भयो ?
हामी सबैलाई के विश्वास आयो भने हामी यो स्तरमा खेल्न सक्छौं । यहाँबाट जानुअघि सबैको कन्फिडेन्स सुपर–८ मा पुग्ने थियो । तर उताबाट फर्किँदा हामी सुपर ८ मा पुग्नु पर्ने थियो भनेर झन् बढी कन्फिडेन्स आयो ।
तपाईंको विचारमा विश्वकपबाट नेपालले के पायो, के गुमायो ?
यस विश्वकपबाट हामीले विश्वास पायौं । दक्षिण अफ्रिकालाई जितेको भए त्यही कन्फिडेन्सका साथ बंगलादेशविरुद्ध जान्थ्यौं । त्यो खेलमा जे पनि हुनसक्थ्यो । त्यसपछि सुपर–८ मा पुग्थ्यौं ।
मलाई लाग्छ जित्न भन्दा पनि असफलताले बढी सिकाउँछ । योपालि असफलताले सिकायो जस्तो लाग्छ । यही प्रेरणाका साथ आगामी टी–२० छनोटमा जान्छौं । यो विश्वकपमा गुमाएको अर्को विश्वकपमा पाउँछौं ।
अलिकति राम्रो ब्याटिङ गरेको भए नेपाल अपराजित यात्राका साथ सुपर ८ मा पुग्ने रहेछौं । हामीले विदेशी भूमिमा राम्रो ब्याटिङ गर्न के गर्नुपर्छ होला ?
ब्याटिङमा हामीले मात्रै होइन सबै टिमले संघर्ष गरे । दक्षिण अफ्रिका हामीसँग ११५ रनमा रोकियो । दक्षिण अफ्रिका हामीभन्दा बढी अनुभवी र एक्सपोजर भएको टोली हो । त्यो कन्डिसनमा ब्याटिङ गर्न एकदमै गाह्रो थियो ।
विदेशी भूमिमा उत्कृष्ट ब्याटिङ गर्न एक्स्पोजर आवश्यक छ । टीयुमा हामी एकदमै जानकार छौं । अब बाहिर राम्रो टोलीसँग प्रतिस्पर्धा गर्न पायौं भने र ठूला टोलीहरुविरुद्ध निरन्तर सिरिज खेल्यौं भने ब्याटरहरुमा पनि कन्फिडेन्स आउँछ । अनि राम्रो ब्याटिङ हुन्छ ।
विश्वकप अघि र खेलेर फर्केपछि नेपाली क्रिकेट टोलीमा के फरक पाउनुभयो ?
विश्वकप खेलेर फर्केपछि धेरै फरक छ । पहिला भन्दा बढी मान्छेले हामीलाई चिन्न थालेका छन् । क्रिकेट समर्थक अझै बढेका छन् । समर्थकहरुमा नेपालले राम्रो टोलीविरुद्ध प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वास आएको छ ।
अबको १० वर्षमा टेष्ट मान्यता पाउने योजना छ । त्यसको लागि के चाहिन्छ ?
मलाई लाग्छ त्यसका लागि टेष्ट राष्ट्रहरुलाई निरन्तर हराउनुपर्छ । नम्बर–१ एसोसिएट टोली भएर विस्तारै विकास गर्दै जानुपर्छ । हाम्रो लक्ष्य २०२७ सम्म नम्बर वान एसोसिएट टोली हुनु हो । त्यसको लागि के के गर्नुपर्छ त्यो महत्वपूर्ण छ । भौतिक पूर्वाधार के के चाहिन्छ क्यानलाई थाहा होला ।
अब २०२६ को टी–२० विश्वकप खेल्न हामीले एसिया क्षेत्र छनोटको फाइनलमा पुग्नुपर्छ । त्यसको लागि नेपाली टोली अब कसरी अघि बढ्छ ?
मैले र मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देशाई)ले अहिले देखिनै तयारी सुरु गरेका छौं । किनभने हामी एक पटक मात्रै विश्वकप खेल्ने होइन, निरन्तर खेल्नुछ । बनाएको योजनाहरु लागु गर्नुपर्यो । यसमा सबैको साथ एकदमै आवश्यक पर्छ ।
कुनै एउटा यस्तो खेलाडी जो भएमा नेपाली टोलीलाई अर्को स्तरमा लैजान सकिन्छ भन्ने कुनै त्यो सोच छ ?
त्यस्तो केही पनि छैन । यो हाम्रो उत्कृष्ट युनिट हो । मैले जस्प्रित बुमराह र राशिद खान मागेर हुँदैन । अन्तिम दुई वर्षदेखि हाम्रो खेलाडीले जुन अनुभव पाएको छ त्यसलाई प्रयोग गर्ने समय आईसक्यो । नयाँ खेलाडीहरुलाई यो अनुभव पाउन एकदमै गाह्रो छ । नेपाली टोलीमा पर्न सबैको लागि ढोका खुल्ला छ । त्यही अनुसार मिहिनेत गरेर आउनुपर्यो ।
नेपाली क्रिकेटमा एउटा कप्तान र खेलाडीको रुपमा तपाईंको योजना के छ ?
मेरो अहिलेको लक्ष्य आगामी चार वर्षमा नम्बर वान एसोसिएट टोली बन्ने हो । यसअघि विश्वकप लिग–२ मा हामी तेस्रो स्थानमा थियौं । यो पटक लिग २ मा एक नम्बरमा पुग्नुपर्छ । त्यसपछि टी–२० विश्वकपमा निरन्तर सहभागी हुने लक्ष्य पनि छ ।
नेपालले सन् २०१४ मा विश्वकप खेल्दा टेलिभिजनमा हेर्ने तपाईं अहिले देशको नेतृत्व गर्नुभयो । ब्यक्तिगतमा यो कति महत्वपूर्ण उपलब्धी हो ?
एकदमै ठूलो र गर्व गर्नलायक । सानो हुँदा त्यही खेल टिभीमा हेरेर क्रिकेटतिर प्रभावित भएको हो । अअहिले त्यही टिमको कप्तानको रुपमा खेलेको छु । एकदमै लक्की र ग्रेटफुल महसुस गर्छु ।
सामाजिक सञ्जालमा समर्थकको प्रतिक्रिया हेर्नुहुन्छ होला, कस्तो लाग्छ ?
पछिल्लो दुई वर्षको अनुभवले धेरै सिकेँ भन्ने लाग्छ । मेरो फोकस सोसल मिडिया भन्दापनि टिम र मैदानमा हुनुपर्छ । समर्थक र क्रिकेटप्रेमीहरुको सोच फरक हुन्छ ।
हामी क्रिकेटिङ सोचका साथ अघि बढ्छौं । मैले सामाजिक सञ्जालमा कमेन्ट हेर्ने हो भने १०० मा ९० राम्रो र १० नराम्रो हुन्छ । तर म नराम्रो मात्रै पढ्छु । नेगेटिभ कमेन्ट हेरेर मुड अफ गर्न भन्दा टाढा बस्न आवश्यक ठान्छु ।
समर्थकले भने जस्तो खेलाडी परिवर्तन गर्ने हो भने हरेक भ्रमणमा फरक हुन्छन् । खेलाडीलाई ब्याक गर्न आवश्यक छ । हरेक सिरिजमा परिवर्तन गर्दा खेलाडीबाट प्रदर्शन राम्रो हुँदैन । पछिल्लो दुई वर्षदेखि सबै खेलाडीलाई सुरक्षा दिएर कन्फिडेन्स दिएका छौं ।
नेपाली क्रिकेट अब अर्को स्तरमा पुर्याउन सबैभन्दा पहिला के काम गर्नुपर्छ ?
खेलाडीलाई आर्थिकदेखि सबैको सुरक्षा दिनुपर्छ । सिनियर मात्रै होइन घरेलु क्रिकेट खेल्ने सबैलाई सुरक्षा दिनुपर्ने एकदमै आवश्यक छ । खेलाडी भएन भने क्रिकेट विकास नै हुदैन । पूर्वाधार हुँदा टेष्ट मान्यता प्राप्त देशहरु नेपालमा खेल्न आउन तयार हुन्छन् । किनभने हाम्रो समर्थक बेस धेरै राम्रो छ ।