मुख्य समाचार
ज्ञानेन्द्रको साथले फेरिएको महिला क्रिकेटरको आत्मविश्वास
ज्ञानेन्द्रको साथले फेरिएको महिला क्रिकेटरको आत्मविश्वास

। नेपालले तीन सातापछि श्रीलंकामा एसीसी वुमन्स टी–२० एसिया कप खेल्दैछ । गत फागुनमा एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएका नेपाल र थाइल्यान्डलाई एसियन क्रिकेट काउन्सिलले उक्त अवसर दिएको हो ।

नेपालको समूह ए मा पाकिस्तान, भारत र यूएई छन् । नेपालको लक्ष्य राम्रो क्रिकेट खेल्ने र एक टेस्ट टोलीलाई स्तब्ध पार्ने छ । नेपालका पूर्वकप्तान तथा एक सफल ब्याटर ज्ञानेन्द्र मल्ल यस पटक महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा छन् । सदाबहार कमजोर ब्याटिङले निराश हुने खेलाडी ज्ञानेन्द्रको प्रशिक्षणमा उत्साहित छन् ।

क्रिकेटको न्यूनतम कुराबाट माथि उठ्न संघर्ष गरेको महिला टोलीमा ज्ञानेन्द्रको प्रभाव अभ्यासमा झल्किन्छ । रुविना, सीता र इन्दु मात्रै नभएर अन्य ब्याटरहरु खुलेर खेल्न थालेका छन् । खेलाडीको आत्मविश्वास फरक देखिन्छ ।

‘तयारी अहिलेसम्म राम्रो छ । पहिलाको कमीकमजोरीलाई हटाउन धेरै सहयोग गरेको छ । ब्याटिङमा ज्ञानेन्द्र आएर सबै सहयोग गर्नु भएको छ’, मुख्य प्रशिक्षक मनोज कटवालले भने ।

वागमतीमा उपलब्ध पुरुषतर्फ यू–१६ र यू–१९ टोलीका बलर राखेर मुलपानीमा महिला टोलीले तीन–चार अभ्यास खेल खेल्नुको साथै नेटमा पनि अभ्यास गरेको थियो ।

आगामी आइतबार नेपाल श्रीलंका जाने छ, त्यहाँ तीन वा चार अभ्यास खेल खेल्ने सम्भावना छ ।

‘उहाँले (ज्ञानेन्द्र मल्लले) हेरेपछि एकदमै फाइदा भएको छ । किनभने उहाँ एउटा राम्रो ब्याटर हुनुहुन्छ । कतिपय कुराहरु पहिला हामीले सिक्न पाएका थिएनौं । दाइबाट सिक्न पाएका छौं’, कप्तान इन्दु बर्माले भनिन् ।



टोलीकी सर्वाधिक अनुभवी अलराउण्डर सीता एसिया कप ठूलो अवसर भएको बताउँछिन् । ‘यो एकदमै ठूलो अवसर हो । ठूला टोलीहरुविरुद्ध खेल्न जान लागेको हुँदा सबैको आँखा परेको हुन्छ । पुरुष टोलीको विश्वभर सबैले तारिफ गरेका छन् । हामीलाई पनि विश्वले नै हेर्नेछ । यहाँ राम्रो गर्न सकियो भने विश्वभरका लिगहरु खेल्ने अवसर हाम्रा खेलाडीहरुलाई खुल्न सक्छ’, सीताले भनिन् ।

पछिल्लो पटक नेपालले खेलेको सन् २०१६ को एसिया कपमा प्रदर्शन सम्झन लायक थिएन । नेपाल पाकिस्तानसँग४७ रनमा अलआउट हुँदै ९ विकेट, श्रीलंकासँग २३ रनमा अलआउट हुँदै ८ विकेट र बंगलादेशविरुद्ध १३४ रनको लक्ष्य पछ्याउने क्रममा ४१ रनमा अलआउट हुँदै ९२ रनले हारेको थियो ।

यस्तै थाइल्यान्डसँग ६३ रनमा अलआउट हुँदै ६५ रनमा अलआउट भएको थियो । भारतसँग १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २१ रनमा अलआउट भएको थियो ।

नेपालले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाकी सीता नेपालको महत्वपूर्ण सदस्य हुन् । उनले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा ज्ञानेन्द्रसँग लामो समय अभ्यास गरेकी थिइन् । उनी ज्ञानेन्द्रलाई आफ्नो आइडल नै मान्छिन् ।

‘भन्दा त लाज हुन्छ । पहिला जुन हिसाबले हामीले अभ्यास गरेका थियौं र कसरी स्कोर गर्ने थाहा हुँदैन थियो । दाइले सिकाएर स्कोर गर्न अब एकदमै सहज भएको छ । समग्र क्रिकेट चाहिँ जान्ने हो भने सहजै रन बनाउन र पूरा गर्न सकिन्छ भन्ने सिकेका छौं, सीताले भनिन् ।



यस प्रतियोगितालाई ध्यानमा राख्दै चोटबाट फिट हुन रुविना क्षेत्रीले ललितपुर मेयर्स कप खेलेकी थिइनन् । गत फागुनमा मात्रै रुविनाले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध शतक हान्दै कीर्तिमान लेखाएकी थिइन् । रुविना नेपाली महिला क्रिकेट इतिहासमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने एक्लो खेलाडी हुन् ।

नेपालकी एक सर्वाधिक सफल अलराउण्डर रुविनाले ज्ञानेन्द्रको प्रशिक्षणमा धेरै परिवर्तन आएको बताइन् । ‘एउटा सिनियर खेलाडी र कप्तान जस्तो मान्छे हामीहरुकोमा आएर त्यसरी हेर्दाखेरी ब्याटिङमा धेरै ज्ञानहरु पायौं । धेरै कुराहरु थियो जहाँ हामीले गुमाएका रहेछौं । त्यो हामीले थप्न गर्न सक्यौं,’ रुविनाले भनिन्, ‘ज्ञानेन्द्र दाइले हरेक दिन सेसनहरु गराइराख्नु भएको छ । बोर्डमा लेखेर हरेक अवस्थामा यसरी जानुपर्छ भनेर कुरा भइराखेको छ ।’



पुरुष टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कुशल मल्ल लगायतका खेलाडीहरुसँग महिला टोलीले टीयुमा अभ्यासको क्रममा निरन्तर कुराकानी गरेका छन् । त्यसले पनि फाइदा पुगेको रुविनाले बताइन् ।

‘एसियाकप अवसर र निराशा दुबै हुनसक्छ । किनभने हाम्रो ग्रुपमा बलिया टोली छन् । सिनियर टोलीको ट्रेनर अब्दुल सरले तालिका पठाउनु भएको थियो । घरमै फिटनेस गरेर अभ्यासमा आएका थियौं । केही परिवर्तनहरु आएको छ । अब समग्र खेल हुँदा फरक टोली देखिन्छौं होला’, उनले भनिन् ।

नेपालले टेस्ट मान्यता पाउन महिला टोलीको सफलता अनिवार्य छ । कम्तिमा ८ वर्षमा एउटा विश्वकप खेल्नुपर्छ । अर्कोतर्फ महिला क्रिकेट टोलीले जुन हिसाबले विकास गर्नुपर्ने हो त्यो भएको छैन ।



त्यसैले नेपाल ‘ए’ का प्रशिक्षक ज्ञानेन्द्र, क्लासम अली, क्यानका सचिव पारस खड्का र जनरल म्यानेजर उत्सव ढुंगाना बसेर महिला क्रिकेटबारे छलफल गरेका थिए। मुख्य प्रशिक्षक मनोजलाई सहयोग चाहिएमा ए टोलीका प्रशिक्षक खाली हुँदा तयार भएको बताएका थिए । त्यसै अनुसार ब्याटिङ प्रशिक्षकको रुपमा उनी पुगेका हुन् ।

‘मलाई पहिलादेखि नै लागेको विश्वकप हामीलेभन्दा पहिला महिला टोलीले खेल्नुपर्ने थियो । थाइल्यान्डको ठाउँमा हामी हुनुपर्ने थियो । सीता र इन्दुसँग कुरा गर्दा त्यो एक्स्पोजर पुगेको जस्तो थिएन’, मल्लले भने ।

मल्लले थपे, ‘सबैजना मिहिनेती नै छन् । अगाडि बढ्नुपर्छ भन्ने एउटा भोक छ । तर क्रिकेटको ज्ञान, एक्स्पोजर खेललाई कसरी लगेर जाने पुरुषमा हामीलेदेखे जस्तो उहाँहरुले पाउनु भएको रैनछ । धेरै कुराहरु नपुगेको रैछन् भन्ने देखेँ । त्यो कुराहरुमा अझ बढी फोकस भयौं । खेल्ने शैली छ, तर कसरी प्रयोग गर्ने भन्ने सबै जना खाली जस्तो लाग्यो ।’

तर यो प्रयास एक महिनालाई मात्रै नभएको उनी बताउँछन् । ‘एक महिनामा सुधार भएको छ । तर यो प्रोगेसन एक महिना नतिजाको लागि होइन,’ उनले भने, ‘यहाँबाट अगाडि बढ्नलाई उनीहरुको मानसिकतादेखि क्रिकेटलाई हेर्ने कुरालाई न्यूनत सोच हो । एकै पटक नहुन सक्छ । निरन्तर समूहमा राखेर सिकाउनु पर्ने आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...