। अक्सर खेलाडीहरुलाई क्षमताअनुसार प्रयोग गर्ने र टिमलाई जित दिलाउन कप्तान हुन्छन् । सर्वश्रेष्ठ कप्तानले प्रशिक्षण र खेलका क्रममा वातावरण बनाउँछन्, अनि टिमको जितलाई पहिल्यै पहिलो प्राथमिकतामा राख्छन् ।
तर कप्तान नै सबथोक होइनन् । कुनै पनि टिमको प्रदर्शनमा प्रशिक्षक, टिम म्यानेजमेन्ट, छनोटकर्ता मात्र होइन, त्यहाँको क्रिकेट बोर्ड सबै त्यतिकै जिम्मेवार हुन्छन् ।
श्रीलंका क्रिकेटमा भने कप्तानमाथि बढी वात् लागेको छ । र क्रिकेट बोर्ड र छनोटकर्ता पनि आफ्नो कमजोरी लुकाउन कप्तान परिवर्तनको सहज बाटो हिंड्ने गरेका छन् ।
अनि टोलीको नतिजा विश्वकप च्याम्पियनदेखि छनोट खेल्नुपर्ने अवस्था आएको छ ।
एक दशकअघि अन्तर्राष्ट्रिय क्रिकेटमा राज गर्ने श्रीलंका अहिले आफ्नो अस्तित्व बचाउन संघर्ष गरेको छ । लगातार कप्तान परिवर्तन, आन्तरिक राजनीतिक, कमजोर घरेलु संरचना र स्टार खेलाडी नहुनु त्यसको कारण हो ।
एक समय श्रीलंकालाई हराउन विश्वका हरेक टोलीलाई मुस्किल पर्दथ्यो, जति बेला महेला जयवर्धने, कुमार संगाकारा, तिलकरत्ने दीलसान, सनाथ जयसूर्या लासिथ मलिङ्गा, मथैया मुरलीधरन र चामिन्डा भास जस्ता खेलाडीसँगै खेल्थे ।
सन् १९९६ को विश्वकप उपाधि जितेको श्रीलंका २००७ को फाइनलमा अष्ट्रेलियासँग ५३ रनले पराजित हुन पुगेको थियो । त्यो समय अष्ट्रेलिया विश्वको नम्वर वान टोली थियो । एडम गिलक्रिष्ट, म्याथ्यु हेडन, रिकी पोटिंग, शेन वाटसन, माइकल क्लार्क, ग्लेन म्याकग्राथ र शन टैट जस्ता खेलाडी थिए । सन् २०११ को फाइनलमा श्रीलंका घरेलु टोली भारतसँग ६ विकेटले पराजित भएको थियो ।
श्रीलंका सन् २००९ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानसँग ८ र २०१२ को टी–२० विश्वकप फाइनलमा वेष्टइण्डिजसँग ३६ रनले हार्न पुगेको थियो । तर २०१४ मा श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै टी–२० विश्वकप उपाधि जितेको थियो ।
योर्कर किंग लासिथ मलिङ्गा भाग्यशाली श्रीलंकन कप्तान हुन् । उनको कप्तानीमा श्रीलंकाले टी–२० विश्वकप उपाधि जितेको थियो । संगाकाराको कप्तानीमा श्रीलंकाले २००९ को टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप फाइनल खेलेको थियो ।
महेला जयवर्धनेको नेतृत्वमा २००७ को एकदिवसीय र २०१२ को टी–२० विश्वकप फाइनलमा श्रीलंका हार्न पुगेको थियो । फाइनलमा लगातार पराजित भएपछि कुमार र महेलाले आफूलाई केही अभागी ठाने । त्यसैले कुमारले २०११ र जयवर्धनेले २०१३ मा नेतृत्व छाडे ।
सन् २००३ को विश्वकपमा सनाथ जयसूर्याले कप्तानी गरेका थिए । त्यसपछि महेजा जयवर्धने र कुमार संगाकाराको कप्तानीमा श्रीलंकाले सानदार प्रदर्शन गरेको थियो ।
सन् २०१५ को एकदिवसीय विश्वकपको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकासँग हारपछि विश्वकै दुई सफल सफल ब्याटर संगाकारा र महेला जयवर्धनेले सन्न्यास लिए ।
यी दुई खेलाडी नभएपछि कप्तान मात्रै होइन पछिल्लो एक दशकमा श्रीलंका विश्व क्रिकेटमा दिनप्रतिदिन खस्किएको छ । विश्व स्टार ब्याटर पाउन सकेको छैन । म्याच विनर ब्याटर नहुँदा अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन पछिल्लो समय सम्झनलायक खासै छैन ।
सन् २०१५ पछि श्रीलंका कुनै पनि आईसीसी प्रतियोगिता नकआउटमा पुग्न सकेको छैन । श्रीलंका एकदिवसीय विश्वकप २०१९ मा छैटौं र २०२३ मा नवौं स्थानमा थियो । २०२३ को एक दिवसीय विश्वकपमा सोझै स्थान बनाउन नसकेपछि श्रीलंकाले छनोट खेलेको थियो । टी–२० विश्वकप २०१६, २०२१, २०२२ मा सुपर–१० तथा २०२४ मा समूह चरणबाटै बाहिरियो ।
कप्तान परिवर्तन र अस्थीर राजनीतिले दुर्गति
श्रीलंका क्रिकेट आन्तरिक राजनीतिमा नराम्रोसँग फसेको छ । त्यसको असर खेलाडी र टोली परिवर्तनमा परेको छ ।
गतवर्ष एकदिवसीय एसिया कपमा खराब प्रदर्शनपछि सरकारले हस्तक्षेप गरेको थियो । त्यसैको कारण आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई केही समय निलम्बन गरेको थियो ।
२०१७ यता टेस्ट, ओडीआई र टी–२० आईमा गरेर श्रीलंकाले कुल १७ खेलाडीलाई कप्तानी गरेका छन् ।
टेस्टमा २०१७ यता एन्जिलो म्याथ्युज, रंगना हेराथ, दीनेश चान्डिमल, सुरंगा लकमल, दीमुथ करुणारत्ने र धनन्जय डि सिल्भाले श्रीलंका टेस्टमा नेतृत्व गरेका छन् ।
२०१७ जनवरीमा तीन टेस्ट सिरिज दक्षिण अफ्रिकासँग ३–० ले हारेपछि उनको कप्तानी गएको थियो । त्यसपछि बंगलादेशविरुद्ध दुई टेस्ट सिरिजपछि दीनेश चान्डिमल पुनः कप्तान बनेका थिए । चान्डिमलले २०१७ देखि २१ सम्म १९ टेस्टमा नेतृत्व गरे ।
२०१८ मा सुरंगा लकमलले ५, दीमुथ करुणरत्नेले २०१९ देखि २०२३ सम्म ३० खेलमा नेतृत्व गरे । हाल कप्तान रहेका धनन्जय डि सिल्भाले तीन खेलमा नेतृत्व गरेका छन् ।
ओडीआईमा २०१७ यता एन्जिलो म्याथ्युज, दीनेश चान्डिमाल, लाहिरु थिरीमाने, उपुल थरंगा, चमारा कपुगेडारा, लासिथ मलिङ्गा, थिसेरा परेरा, दीमुथ करुणारत्ने, कुशल परेरा, दासुन शानका र कुशल मेन्डिसले श्रीलंका कप्तानी गरेका छन् ।
श्रीलंकाबाट २०१७ यता टी–२० आईमा एन्जिलो म्याथ्युज, दीनेश चान्डिमाल, लासिथ मलिङ्गा, उपुल थरंगा, थिसेरा परेरा, दासुन शानका, कुशल परेरा, सेहान अर्चाचिगे, वानिन्दु हसरंगा र चरिथ असलंकाले नेतृत्व गरेका छन् ।
टी–२० आईमा मलिङ्गाले २०१४ देखि २०२० सम्म २४ खेलम नेतृत्व गरेका थिए । उपुल थरंगा ६, कुशल परेरा ९, दासुन शानका ४८, कुशल परेरा ३, अर्चाचिगे १, हसरंगा १० र असलंकाले २ खेलमा नेतृत्व गरे ।
एन्जिलो म्याथ्युज र दीनेश चान्डिमल मात्रै तीनै संरचनामा २०१७ यता कप्तानी गर्ने श्रीलंका खेलाडी हुन् ।
गत डिसेम्बरमा टी–२० आईमा कप्तानमा नियुक्त भएका वानिन्दु हसरंगाले मात्रै १० खेलमा नेतृत्व गरेर छाडे । टी–२० विश्वकप २०२४ मा गरेको खराब प्रदर्शनसँगै उनले राजीनामा दिएका थिए ।
२०१७ यता सीमित ओभरमा दासुन शानका सर्वाधिक सफल मानिन्छन् । ओडीआईमा शानकाले २०२१ देखि २०२३ सम्म ४१ खेलमा नेतृत्व गर्दा २३ खेलमा जित हात पारेका थिए । उनीपछि उपुल थरंगाले २०१६/१७ मा ओडीआईमा सर्वाधिक २२ खेलमा नेतृत्व गर्दा मात्रै ४ खेलमा श्रीलंका विजयी भएको थियो ।
टी–२० आईमा शानकाले ४८ टी२० आईमा नेतृत्व गर्दा २२ मा जित दिलाएका थिए । श्रीलंकाले सुपर फोरमा भारत र फाइनलमा पाकिस्तानलाई हराउँदै २०२२ को एसिया कप टी–२० उपाधि जितेको थियो । श्रीलंकाले २०१४ को टी–२० विश्वकपपछि जितेको यहीँ एक मात्रै उपाधि हो ।
शानकाको कप्तानीमा श्रीलंका २०२३ को एसिया कप फाइनलमा भारतसँग ५० रनमा अल आउट भएको थियो । त्यसपछि उनले श्रीलंका नेतृत्व छाडेका थिए ।
वर्तमान श्रीलंका टोलीमा तीन फरक कप्तान छन् । टेस्टमा धनन्जय डि सिल्भा, ओडीआईमा कुशल मेन्डिस र टी–२० आईमा चरिथ असलंका छन् । लगातार कप्तान परिवर्तन गरेपनि श्रीलंकान टोलीले लय भने समाउन सकेको छैन ।
२०१७ यता श्रीलंका कप्तानहरु
१.एन्जिलो म्याथ्युज – ( टेस्ट, ओडीआई र टी–२० आई )
२.रंगना हेराथ( टेस्ट )
३.दीनेश चान्डिमल (टेस्ट, ओडीआई र टी–२० आई )
४. सुरंगा लकमल (टेस्ट)
५.दीमुथ करुणारत्ने (टेस्ट र ओडीआई)
६. धनन्जय डि सिल्भा (टेस्ट)
७ . लाहिरु थिरिमाने (ओडीआई)
८. उपुल थरंगा (ओडीआई र टी–२० आई )
९.चमारा कपुगेडेरा (ओडीआई)
१०. लासिथ मलिङ्गा (ओईआई र टी–२० आई )
११. कुशल परेरा (ओडीआई र टी२० आई )
१२. थिसेरा परेरा (ओडीआई र टी–२० आई )
१३. दासुन शानका (ओडीआई र टी–२० आई )
१४. कुशल मेन्डिस (ओडीआई
१५. सेहान अर्चाचिंगे (टी–२० आई)
१६. वानिन्दु हसरंगा (टी–२० आई)
१७. चरिथ असलंका (टी–२० आई )