मुख्य समाचार
३०० दिनमा पूरा होला त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट ?
३०० दिनमा पूरा होला त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट ?

। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले सोमबार त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सक्ने निर्णय गर्‍यो । तर फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषदले गरेको बोलपत्र भने तेस्रो पटक पनि रद्द हुने अवस्थामा पुगेको छ ।

पछिल्लो पटक राखेपले ११ वैशाख २०८१ मा पहिलो पटक बोलपत्र आह्वान गरेको थियो । राखेपको पूर्वाधार शाखामा आरसीपीएल– एसएमएस जेभी, सूर्योदय –बुद्धिराज जेभी, एमएसआईपीएल–एएससी पावर जेभी र वानी इन्फोटेक– कार्की बन्धु जेभीले राखेपमा निवेदन पेश गरेका थिए । तर सबै कम्पनी अयोग्य ठहरिएको स्रोतको दाबी छ ।




‘चार कम्पनीमध्ये कुनैले पनि हामीले दिएको मापदण्ड पूरा गर्न नसक्दा यो टेन्डर पुनः अयोग्य भएकाले यसमा पुनरावलोकन समिति गठन गरेर छानबिन हुनेछ’, राखेप पूर्वाधार शाखाका एक अधिकारीले बताए ।

यसअघि पनि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भइसकेका छन् ।


पहिलो पटक ४ वैशाख २०८० मा राखेपले आह्वान गरेको बोलपत्रमा ५ वटा कम्पनीले निवेदन दिएका थिए । तर मूल्यांकन समितिले सबैलाई अयोग्य ठहर्‍याएको थियो ।

दोस्रो पटक साउन २०८० मा पनि बोलपत्र आह्वान गरियो । ५ वटा कम्पनीले निवेदन दिएकामा २१ कात्तिक २०८० मा एमएसआइपीएल–एएससी पावर जेभी फ्लडलाइट निर्माणका लागि छनोट भयो । तर उक्त बोलपत्रमा छनोट नभएका ४ कम्पनीले पूर्वाग्रह राखेर कम्पनी छनोट गरिएको भन्दै पुस २०८० मा सार्वजनिक खरिद अनुगमन कार्यलयमा निवेदन दिएका थिए ।

त्यसपछि कार्यालयले पुनः मूल्याङ्कन गर्न निर्देशन दिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त निर्देशनविरुद्ध टेण्डर पाएको कम्पनी एमएसआइपीएल–एएससी पावर जेभीले १९ पुस २०८० मा उच्च अदालतमा रिट दिएको थियो । १६ फागुन २०८० मा उच्च अदालतले टेण्डर रद्द गर्न आदेश दिएपछि दोस्रो पटकको टेण्डरबाट पनि कुनै कम्पनी छानिएनन् ।

१३ वैशाख २०८१ मा बोलपत्र आह्वान गरिएको डिजिटल स्कोर बोर्डको काम भने धमाधम भइरहेको छ । डिजिटल स्कोर बोर्ड निर्माणको जिम्मा पञ्चकन्या/हिमालयन जेभीले पाएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ अहिलेको बोलपत्र रद्द भएमा पुनः अर्को बोलपत्र आह्वान गर्ने बताउँछन् । ‘यो टेन्डर रद्ध भए हामी अर्को टेन्डर आह्वान गर्छौं, अब टेण्डर गर्दा २१ दिनको समयसीमा हुनेछ’, उनले भने ।

मन्त्रिपरिषदले ३०० दिनभित्र फ्लडलाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरे पनि यो चुनौतीपूर्ण छ । किनकी प्यारापिट निर्माणका लागि बजेटको बन्दोबस्त भएको छैन र बोलपत्र आह्वान गरिएको छैन ।

राखेप सदस्य सचिव घिसिङ प्रधानमन्त्रीले चाहेमा बन्न सक्ने बताउँछन् । ‘फ्लड लाइट र स्कोर बोर्ड बन्छ । प्यारापिटको लागि अहिलेसम्म बजेट तोकिएको छैन । त्यसकारण भन्न सकिँदैन । तर सम्माननीयज्यूले भनिसकेपछि बजेट पनि अवश्य हुनेछ’, उनले भने ।

घिसिङका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले अलग अलग ब्लक बनाएर सम्झौता गर्ने प्रस्ताव ल्याएको थियो । ‘त्यसो भएको खण्डमा ३०० दिनमा काम पूरा हुन सक्छ’, उनले अनलाइनखबरसँग भने ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कीर्तिपुर मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको प्रक्रिया अघि बढाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

मैदान स्तरोन्नतिका लागि १० करोड र फ्लडलाइट जडानका लागि १० करोड छुट्याएकामा फ्लडलाइटको १० करोड खर्च नभई फिर्ता भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...